सोल्टी होटलमा रातभरी हिमानीसँग नाचे पारस, हिमानीको जन्मदिन सोल्टीमा
काठमाडौं १६, असोज । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र शिमानीलाई नचाउने पात्र पाहुनाहरु नै थिए । फाइल तस्बिर सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए । पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए । नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो । पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट ।
दसैंका लत्ताकपडा हवाईजहाजमा, तातोपानी र रसुवागढी नाका बन्द हुँदा हवाईजहाजबाट समान ल्याउनुपर्ने वाध्यता
काठमाडौं १६, असोज । चीनबाट सामान ल्याउन प्रयोग हुने तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यापारीले हवाईजहाजबाट सामान ल्याउन थालेका छन् । राजधानी तथा अन्य क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने व्यापारीले अन्तर्राष्ट्रिय उडान भर्ने जहाज कम्पनीमार्फत सामान आयात गर्न थालेका हुन् । गत वर्षको भूकम्पपछि तातोपानी नाका बन्द भएको थियो भने विभिन्न खाले चिनियाँ अवरोधले रसुवागढी नाकामा समस्या थियो । ‘तातोपानी बन्द भएपछि एक पटक रसुवागढीबाट सामान ल्याउँदा धेरै समस्या भयो,’ दसैं अफरको फाइल तस्बिर न्युरोडको आरबी कम्प्लेक्समा तयारी पोसाकको पसल चलाउने लोप्साङ गुरुङले भने, ‘त्यसपछि ‘एयर लिफ्ट’ गरेर सामान ल्याइरहेको छु । ’ उनले दसैं–तिहारलाई लक्षित गर्दै केही साताअघि मात्र ग्वान्जाउबाट थाई एयरमा तयारी पोसाक ल्याएको बताए । ‘ग्वान्जाउबाट बैंकक हुँदै आउने जहाजमा सामान ल्याएँ,’ उनले भने, ‘बैंककबाट पनि सामान थपेको थिएँ ।’ उनका अनुसार अहिले धेरै नेपालीले चीनबाट सीधै काठमाडौं उडान भर्ने कम्पनीमार्फत सामान ल्याउने गरेका छन् । तयारी पोसाक, चस्मा, सौन्दर्य सामग्री, झोला, फुटवेयर, मोबाइल, तयारी गहना, सजावटका सामानलगायत वस्तु अहिले जहाजबाटै आउन थालेका छन् । तयारी पोसाक र सौन्दर्य सामग्री भने थाइल्यान्डबाट समेत ‘एयर लिफ्ट’ गरेर ल्याइने गरेको छ । ‘भूकम्पपछि धेरैले जहाजबाट सामान ल्याउन थालेका छन्,’ नेपाल चेम्बर अफ कमर्सका सचिव एवं आरबी कम्प्लेक्सकै व्यापारी पर्शुराम बस्नेतले भने, ‘उत्तरी नाकाको अवरोधले सीमित सामान ल्याउने व्यापारीको रोजाइ जहाज भएको हो ।’ चीनबाट आयात हुने लत्ताकपडालगायत सामानको आयात उत्तरी नाकाबाट हुँदै आए पनि गह्रुँगा वस्तु एवं औद्योगिक उपकरणको आयात भने समुद्री मार्ग हुँदै कोलकाताबाट आउने गरेको छ । कान्तिपुर दैनिकबाट ।
दसैँको वेला यातायात व्यवसायीको दादागिरी,सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउनुपर्ने
काठमाडौं १६, असोज । दसैँमा घर जान टिकट बुकिङ खुलाएका व्यवसायीले मनपरी गर्न नपाउने सरकारको निर्णयपछि बुकिङ बीचैमा बन्द गरे, यसकारण करिब आठ लाख यात्रुले अझैँ घर जान टिकट पाएका छैनन् । सिटअनुसार गाडी चलाउँदा घाटा हुने भन्दै व्यवसायीले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउनुपर्ने नत्र एकतर्फी भाडा सरकारले दिनुपर्ने माग गरेका छन् । दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । नागढुंगा नाकाबाट नियमितभन्दा १० हजार बढी यात्रु बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सामान्य अवस्थामा २५–२६ हजार यात्रु बाहिरिन्थे,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका सइ गुणनिधि खकुरेलले भने, ‘शुक्रबारदेखि बढेको छ, शनिबार करिब ३५ हजार बाहिरिएका छन् । दक्षिणकाली, जगाती तथा बालाजु हुँदै बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । यातायात व्यवसायीले अनेक माग राखेर मनपरी गर्न खोजेपछि सरकारले वैकल्पिक व्यवस्था गर्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैँको यातायात समस्या समाधान गर्न सरकारी गाडी लामो दूरीमा यात्रु बोक्न सञ्चालन गर्ने तयारी थालेको छ । यही विषयमा छलफल गर्न मुख्यसचिव डा. सोमलाल सुवेदीले आइतबार बिहान सचिवहरूको बैठक बोलाएका छन् । सबै सरकारी बसको विवरण संकलन गरी सञ्चालनको योजना बनाउन लागिएको हो । प्रहरी तथा सेनाको बसलाई समेत दसैँमा यात्रु बोक्न सञ्चालन गर्ने योजना पनि सरकारको छ । यातायात व्यवस्था विभागले दसैँमा घर जाने यात्रु ओसार्न स्कुल तथा कलेजका बस प्रयोग गर्ने तयारी गरेको छ । विभागले प्याब्सन, एनप्याब्सन तथा प्लस टु कलेज सञ्चालकको संस्था हिसानका अधिकारीहरूलाई आइतबार छलफल गर्न बोलाएको छ । ‘राजधानीका स्कुल–कलेजका पनि तीन–चार सय बस छन्,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भन्छन्, ‘व्यवसायीले बस नथपे स्कुल–कलेजको बसमार्फत धेरै यात्रु घर जान सक्नेछन् ।’आइतबारको पत्रिका दैनिकदैनिकबाट ।