निर्माण सम्पन्न नहुँदै भत्कन थाल्यो सडक, ठेकेदारले कमसल सामानको प्रयोग गर्दा सडक निर्माण कमजोर

काठमाडौं ५, कात्तिक । कन्ति लोकपथअन्तर्गतको लेले टिकाभैरव–भट्टेडाडा सडक खण्ड निर्माण सम्पन्न नहुदै भत्कन थालेको छ । पीआर निर्माण सेवाले निर्माण गरेको सडकको लप्से खण्डमा भत्कन थालेको हो । ‘ठेकेदारले सडक निर्माणकोक्रममा कमसल सामानको प्रयोग गरेको स्पष्ट देखिन्छ,’ उनले भने, ‘आवश्यक छानविन गरि दोषीलाई कारबाही गर्नुपर्यो ।’शुक्रबारको आजको कान्तिपुरमा समाचार छापिएको छ । उनका अनुसार उक्त बाटो भएर विद्यालय जाने बालबालिकासमेत मर्कामा परेका छन् । कान्ति लोकपथ सडक योजना प्रमुख दिपक केसीले मर्मतका लागि ठेकेदार कम्पनीलाई पत्र पठाइसकिएको बताए । ‘ठेकेदारले बर्खाको पानीको भेलले गर्दा भत्किएको भनी स्पष्टिकरण दिएको छ,’ उनले भने, ‘दसै र तिहारका बीचमा कामदार नपाएकाले काम रोकिएको हो ।’ उनले बर्खाका कारण निर्माणाधीन सडक भत्कनु सामान्य भएको बताए । ‘भट्टेडाडामा पनि भएको थियो,’ उनले भने, ‘त्यहाँ मर्मत भइसकेको छ ।’हेटौडालाई काठमाडौं जोड्ने छोटो, भरपर्दो वैकल्पिक लोकमार्गमा गत आर्थिक वर्षभित्र मालवाहक सवारी साधान गुड्न सक्ने गरि स्तरोन्नती गरिसक्ने सरकारी योजना थियो । तर मिनीबस पनि सञ्चालन हुन गाह्रो छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार अलपत्र, सम्पन्न हुनुपर्ने समयमा १६ प्रतिशत मात्रै काम

काठमाडौं ५, कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना सम्पन्न हुनुपर्ने समयमा करिब १६ प्रतिशत काम मात्र भएको छ । स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले ठेक्का पाएको यस आयोजनाको पहिलो चरणको काम मार्च २०१६ मा नै सम्पन्न भइसक्नुपर्ने थियो । आयोजनाको काम मार्च ०१३ मा सुरु भएको थियो । तर, अहिले ठेकेदारले काम रोकेको छ, आयोजना अलपत्र अवस्थामा छ । ‘आयोजनास्थलमा कहिलेकाहीँ एक–दुईजना मानिस आएर काम गरेजस्तो देखिन्छ,’ त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘तर, कामले गति लिएको पाइँदैन । आयोजनाका लागि करिब २० लाख घनमिटर माटो बाहिरबाट ल्याउनुपर्ने हुन्छ । त्यसमध्ये हालसम्म चार लाख घनमिटर मात्र माटो ल्याइएको छ । ठेकेदार कम्पनीले पशुपति क्षेत्र विकास कोषको जग्गाबाट माटो ल्याएर काम गरिरहेको थियो । तर, उक्त माटोको ठेक्का दिने क्रममा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि माटो ल्याउने काम अवरुद्ध भएको थियो । त्यसपछि भूकम्प, नाकाबन्दीजस्ता घटनाले काममा अवरोध गरेको थियो । पशुपति क्षेत्र विकास कोष भने अब आयोजनालाई माटो नदिने निष्कर्षमा पुगेको छ । ठेकेदार कम्पनीले पशुपतिकै माटो नपाए आयोजना कार्यान्वयन गर्न नसक्नेसमेत बताएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । निर्माण कम्पनीले समयमै आयोजना कार्यान्वयन गर्न नसकेपछि उसको कार्यशैलीप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण तथा लगानीकर्ता एसियाली विकास बैंकसमेत सन्तुष्ट छैनन् । तर, काम नगर्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जानसमेत यी निकाय हच्किरहेका छन् । ‘ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा समय र लागत दोब्बर हुन्छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अर्कोतर्फ प्रक्रिया पूरा नगरी हतारमा निर्णय गर्दा पछि कानुनी झमेलामा फस्न सक्ने डर छ ।’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार ठेकेदार कम्पनीले प्राधिकरणबाट माग गरिएबमोजिम स्पष्टीकरण दिएको छ । कम्पनीसँगको ठेक्का सम्झौताको अवधि भने अक्टोबरसम्म छ । त्यसपछि मात्र ठेक्काले निरन्तरता पाउने या रद्द हुने भन्ने सम्बन्धमा निर्णय हुने क्यानका अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट ।

कार्कीलाई जोगाउन कूटनीतिक संयन्त्र सक्रिय, रअको सक्रियता बढ्यो

काठाडौं ५, कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् । उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) राजधानीमा सक्रिय भएको छ । उक्त विङले भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्रभावमा राख्न सक्ने केही कूटनीतिज्ञ, राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई समेत उपयोग गरिरहेको अधिकारीहरूले बताए । करिअरको त्रास, राजनीतिक पद र आर्थिक प्रलोभन देखाएर यस्ता प्रयास भइरहेको ती अधिकारीले जनाएको समाचार कान्तिपुरमा छापिएको छ । कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनासाथ रअका नेपाल स्टेसन प्रमुख विवेक जोहरी राजनीतिक भेटघाटमा संलग्न हुन थालेका छन् । उनले विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूलाई भेटेका छन् । उनले मधेसी दलका नेताहरूदेखि सरकारमा रहेका तराई भेगका नेताहरूसँग बिहीबार दिनभर भेटघाट गरेको गृह मन्त्रालय उच्च स्रोतले बतायो । यसैबीच भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार बेलुका नै भेटेर लोकमान प्रकरणबारे जिज्ञासा राखेका छन् । उनले कांग्रेस सभापति शेरबहदुर देउवासँग पनि टेलिफोन सम्पर्क गरेर यस विषयमा जिज्ञासा राखेका छन् ।