कोरोना महामारीभन्दा पनि भोकको चिन्ता

घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएका छन् । “हामीसँग कुनै काम छैन, पहिलाजस्तो देह व्यापार पनि सबैले गर्दैनन्, गाउँपालिकाले दिएको १५ किलो चामल सकिएको धेरै भयो, हामी भोकले मर्नुपर्ने अवस्थामा आइसकेका छौं”, बादी समुदायमा बस्दै आएकी यमुना बादीले भने, “हामीले हाम्रा लागि सरकार छ भनेर कसरी सोच्ने १५ किलो चामल, अलिकति दाल, नुन दिएर गएको हाम्रो स्थानीय सरकार फेरि हाम्रो अवस्था बुझ्न कहिले आएन ।” उनीहरुका अनुसार गाउँमा भएका युवा पनि कमाउनका लागि भारत गएका उतै रोकिएका छन् । यहाँ केटाकेटी र महिला छन् । एक बादी महिलाले भनिन्, पुरानो पेशा परिवर्तन गर्न निकै सङ्घर्ष गरेर टोलमै सानो चिया पसल चलाउँदै आएको थिएँ, तर अहिले त्यो पनि बन्द भयो । लामो समय बन्दाबन्दी भएका कारण आउने बाटो कहीँकतै भएन, भएको खाद्यान्न खाइसक्याैं अब भोकै बस्नुपर्ने अवस्था छ । लामो समयको सङ्घर्ष र चेतनापछि हाम्रो समुदायका केही मानिसमा पहिले–पहिले गरिआएको देहव्यापार सही नभएको र विकल्पमा अर्को कुनै श्रमलाई मुख्य पेशाका रूपमा अङगाल्नुपर्ने सोचको विकास भएको थियो । तर अहिलेको यो विषम परिस्थितिले यस्तो अवस्था सिर्जना गरिदियो कि भोकभन्दा अर्को ठूलो कुनै सङ्कट छैन । हामीलाई राज्यले कि काम दिन कि माम दिन पर्याे होइन भने हाम्रो पुरानो पेशालाई सञ्चालन गर्न दिनपर्यो भन्ने आवाज समुदायमा उठ्न थालेको सुनिता बादीले बताइन् । “हामीलाई अहिले विश्वभर फैलिएको कोरोनाको भन्दा बढी चिन्ता भोकको छ । हाम्रा केटाकेटीले पेटभरि खान पाउँदैनन्, हामी कयौं दिन भोकै सुतेका छौं ।” यस्तोमा हामीलाई सरकारले हेर्दैन भने कसले हेर्छ ? भनेर सरकारलाई प्रश्न गर्छिन् सितला बादी । “सबैले कोरोना रोगले मर्छन् भन्थे । यहाँ त खाना खान नपाएर भोकले मरिएलाजस्तो हुन थालिसक्यो”, सितलाले भने, “थोरै भएको अन्न दिन बिराएर खाऊ भने पनि दुई दिनलाई छैन विजचार गरौं भोकै कति दिन बाँच्न सकिन्छ ।” आफूहरू रोगभन्दा भोकको शोकले पिरोलिएको सितलाको गुनासो छ । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरी गाउँपालिकाको तर्फबाट बादी समुदायले पहिलो चरणको राहत पाइसकेको बताए । बन्दाबन्दी लम्बिँदै गएका कारण अन्न सकिएको पनि होला तर फेरि दोस्रो चरणको राहत वितरणका क्रममा बादी समुदायमा पनि बुझ्ने र आवश्यक परे राहत प्रदान गर्ने अध्यक्ष चौधरी बताए । गाउँपालिकामा कोही जनता भोकै नरहुन् भन्ने सोचका साथ आफूहरू लागिपरेको चौधरी जानकारी दिए ।

बन्दाबन्दीमा अफिस जाँदै हुनुहुन्छ ? यसरी कम गर्न सकिन्छ कोरोनाको जोखिम

काठमाडाैं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य विज्ञले बताएका छन् । मास्क, पञ्जा, चस्मालगायतको उचित प्रयोग गरेमा रोग लाग्ने सम्भावना कम गर्न सकिने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले बताए । कार्यस्थलमा जानु पहिले राम्रोसँग मास्क र चस्मा लगाउन उनले सुझाव दिए । माक्स बाहिरबाट हावा नपस्नेगरी लगाउनुपर्छ । आँखाका माध्यमबाट पनि भाइरस सर्ने हुँदा आफूसँग भएकै आँखा ढाकिने चस्मा प्रयोग गर्न सकिन्छ । उनले भने, ‘कतिपय व्यक्तिले घाँटीमा त कतिले नाक नै नछोपिनेगरी लगाएको पाइन्छ, तर सुरक्षाका लागि यसको सही प्रयोग गर्न खाँचो छ ।’ कार्यालय जाँदा गोजीमा सेनिटाइजर बोकेर हिँड्न उनले सबैलाई सल्लाह दिए । सम्भव भएसम्म हात धुने र साबुनपानी उपलब्ध नभएका स्थानमा सेनिटाइजर प्रयोग गरेर पनि हातमा भएका सङ्क्रमण नष्ट गर्न सकिन्छ । पञ्जाको प्रयोग गर्दा हातबाट नाक वा मुखसम्म सङ्क्रमण फैलन पाउँदैन । कार्यालय वा फिल्डमा पनि सामाजिक दूरी कायम गर्दा जोखिम कम हुने डा पाण्डेले बताए । कुनै पनि व्यक्तिसँग ६ फिटको दूरी कायम राख्नुपर्छ । कतिपय अवस्थामा कामका लागि नजिक जानुपर्दा लामो समयसम्म नजिक नबस्न उनको सुझाव छ । उनले भने, ‘कुनै पनि व्यक्तिको नजिक कतिबेर बस्यो भन्ने कुराले पनि अर्थ राख्छ, नजिक बस्नैपर्दा पनि जति छोटो समयका लागि बस्यो त्यति राम्रो हुन्छ ।’ कार्यालयमा कामका सिलसिलामा किताब, कापी, टेबुल, कुर्सीलगायतका सामग्री पनि पटक पटक छुइने गरेको छ । यसले मानिसबाट मानिसमा जसरी सजिलै नसर्ने पनि उनले बताए । कार्यालयकै कर्मचारीले पनि आपसमा दूरी कायम गरेर काम गर्दा जोखिम कम हुने उनको भनाइ छ । कार्यालय बाहिर जाँदा पनि भीडभाड हुने ठाउँमा नजान उनले सुझाव दिनुभयो । उनले भने, ‘मानिसहरु भेट्नुपर्दा कसरी दूरी कायम गर्ने भन्ने तय गर्न खाँचो छ ।’ हामीमध्ये अधिकांशको पटक पटक हात, नाक, मुख, आँखालगायतका अङ्गमा लैजाने बानी हुन्छ । एउटा व्यक्तिले औसत दिनको ९० पटक हात अनुहारमा लैजाने बताइन्छ । कोभिड-१९ विश्वबाटै हराउने समय लाग्ने विश्व स्वास्थ्य सङ्गठनले बताइरहँदा हामीले यीलगायतका व्यवहारमा परिवर्तन ल्याउन खाँचो छ । मास्क लामो समयसम्म लगाउँदा चिलाए पनि त्यसलाई जुनसुकै समयमा हातले छुन नहुने उनले बताए । उनले भने, ‘चिलाउँदा पनि सहनुपर्छ हातमा सङ्क्रमण हुनसक्ने भएकाले झिक्ने वा चिलाउने गर्नु हुँदैन ।’ कार्यालयमा हुँदा पनि पटक पटक साबुनपानीले हात धोएर हातलाई सङ्क्रमणमुक्त गर्न सकिन्छ । खानेकुरा खानु पहिले उपलब्ध भएसम्म हात धोएर खानुपर्ने डा पाण्डेको सुझाव छ । साबुन र पानी उपलब्ध नहुने ठाउँमा हातमा सेनिटाइजर लगाएर चम्चाले खान सकिन्छ । अहिलेसम्म नेपाल र विश्वमा हेर्दा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कोभिड-१९ ले आक्रमण गरेको पाइएको छ । आमनागरिकसँगै बन्दाबन्दीका समयमा काम गर्नुपर्ने पेशाका व्यक्तिले पनि पोषिलो खाना र व्यायाममा ध्यान दिनुपर्ने उनको सुझाव छ । कार्यालय आउन/जानका लागि प्रयोग गर्ने सवारी साधनमा सावधानी अपनाउँदा पनि सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ । अहिले सडकमा जाम नहुने भएकाले कुनै एउटा सवारीमा हिँडेको व्यक्ति सडकमा अरुसँग नजिक हुने सम्भावना कम छ । यो समयमा आफ्नो मोटरसाइकल र स्कुटरमा हिँड्न त्यति डर नहुने उनले बताए । कार्यालयका गाडी, एम्बुलेन्सलगायत सवारी साधनलाई पनि हरेकपटक प्रयोग गरेपछि निसङ्क्रमित बनाउनुपर्छ । बिहान साबुनपानीले पखाल्ने र सोडियम पानीले सफा गर्न सकिन्छ । हरेकपटक प्रयोग गरेपछि सवारी साधनलाई निसङ्क्रमित गर्नुपर्ने उनले बताए । यस्तो समयमा कार्यालयको सवारी साधन असाध्यै जरुरी भएका व्यक्तिमात्रै चढ्दा अत्यावश्यक व्यक्तिलाई समेत जोखिम कम हुन्छ । सवारी चालकले पनि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘चालकले मास्क, चस्मा र पञ्जा प्रयोग गरेर आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित गर्न सक्छ ।’ कार्यालयबाट घर फर्किएपछि हात खुट्टा धुने र लगाएका सबै कपडा धोएर घाममा सुकाउनुपर्ने उनको सुझाव छ । अहिले कतिपय डाक्टर, नर्स, कर्मचारीलगायत फ्रन्टलाइनमा बसेर काम गरिरहेकाहरु घरमै सेल्फ क्वारेन्टाइन बसिरहेका छन् । आफू बाहिर काम गर्ने व्यक्तिले आफूबाट परिवारको सदस्यमा सङ्क्रमण नफैलियोस् भनी सजग हुनुपर्ने उनको सुझाव छ । परिवारमा ज्येष्ठ नागरिक र दीर्घरोगी छन् भने उनीहरुको सम्पर्कमा आउनुहुँदैन । उनले भने, ‘घरमा बिरामी, रोगी हुनुहुन्छ भने उनीहरुको सम्पर्कबाट टाढा बस्नुपर्छ, घरभित्र पनि दूरी कायम गरेर बस्नुपर्छ ।’ रासस

व्यासीको कथा : सुन्दरताभित्र गुम्सिएको पीडा

दार्चुला । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेखे, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवन : सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा) ।” चारैतिर डाँडाकाँडा र हिमालले घेरिएको गाउँ । उत्तरतिर भएर बग्ने काली र दक्षिण भएर बग्ने तिङ्कर खोलाको सुसाइ । हिमाली क्षेत्रको चिसो हावा र बिहान घामको झुल्कोसँगै यहाँको प्राकृतिक सौन्दर्य । शान्त वातावरण । सुनसान जङ्गलभित्रको घनाबस्ती । गाउँ वरिपरि फूलझैँ फक्रिएका सल्लाका रुखहरु । यो ठाउँमा बस्नेलाई लाग्छ, ‘हामी स्वर्गको नजिकै छौं।’ आकाश खुलेपछि अरु गाउँ देख्न सकिँदैन, त्यही अपिनाम्पा हिमालका चुचुरा । कैलाश मानसरोवरको दर्शन । कैलाश गुफा र अपिनाम्पा संरक्षण क्षेत्रभित्र रहेको प्राकृतिक सुन्दरताले यहाँ पुग्ने जो कोहीलाई स्वर्गको अनुभूति हुन्छ । सदरमुकाम खलङ्गाबाट ९० किलोमिटर टाढाको बस्ती । बिहान घामको राप र बेलुकी बत्तीको उज्यालोले झिलीमिली । गाउँभरि ठड्याइएका बिजुलीका पोलहरु । बाटोहरु चिटिक्क परेका चिल्ला । वर्ष दिनलाई पुग्ने गरी दाउराको जोहो । पहाडका खोँचमा निर्माण गरिएका अग्ला घरहरु माटोले चिटिक्क परेका र टल्किएका । खेती गर्न हाते ट्र्याक्टर । सङ्घसंस्थाका बोर्डहरु । सीमापारि भारतीय क्षेत्र र उत्तरपट्टि चीनको ताक्लाकोट शहर नजिकै । ५/६ घण्टाको सीमासम्मको हिँडाइपछि चीनसम्मको सहज यात्रा । घोडा खच्चड, याक र चौँरीहरु । यसरी हेर्दा लाग्छ यो बस्ती विकट छैन । दुर्गमताको आभास छैन । लहरै फलेका स्याउ, हरियो तरकारी, उवा, फापर, आलू फल्ने ठाउँ छ । फूलैफूलको संसारमा बसेको अनुभूति जो कोहीलाई पनि हुन्छ । तर जति सुन्दर देखिन्छ यो क्षेत्र, त्यहाँ बसोबास गर्नेको पीडा त्योभन्दा कम छैन । १० दिनदेखि सौका कुञ्चा बाटोमै व्यास गाउँपालिका–१ छाङ्रुका अञ्जु बोहरा सदरमुकाम खलङ्गाबाट गाउँ जान हिँडेको १० दिन भयो । नेपालकै बाटो भएर गाउँ जाने सोचसहित पशुचौपाया लिएर गएका थिए । सामान्यतया नेपालकै बाटो भएर बढीमा ५ दिनमा गाउँ पुगिन्छ । एक सातासम्मको तयारी गरी रासन बोकेर गएका बोहरा १० दिनसम्म गाउँ पुग्नु त कता आधा बाटो नि पुग्न सकेनन् । नेपालतिरै बाटो बन्ला भन्ने आशामा गएका छाङ्रुका कुञ्चा १० दिनसम्म पनि तम्बाकु क्षेत्रमै अड्किएका छन् । गाउँपालिकाले यो क्षेत्रमा गाेरेटोबाटो मर्मतको काम गरिरहेको थियो तर तम्बाकु मौरा भेल क्षेत्रका कडा चट्टानमा बाटो बनाउन नसक्दा व्यासी कुञ्चाले माथि उक्लिन नसकेका हुन् । भारतीय बाटो भएर यही जेठ ८ गते हिँडेको कुञ्चा गव्र्याङ पुगेको छ । नेपालतिर बाटो खुल्ने अवस्था नभएपछि रङ समुदायले भारतीय सरकारसँग पहल गरेर महाकाली नदीमा अस्थायी काठेपुल लगाएर नेपाल भएर गएका कुञ्चा पनि भारत हुँदै गाउँ जाँदैछन् । दुवैतर्फको आपसी सम्बन्धको हिसाबमा भारतीय क्षेत्रमा रहने सौका समुदायले जिम्मेवारी लिने गरी छाङ्रुका कुञ्चालाई भारतीय बाटोमा प्रवेश दिइएको व्यास–१ का स्थानीय विमल बोहराले बताए । भारतबाट स्वास्थ्यकर्मीसहितको टोली पठाएर उनीहरुको स्वास्थ्य परीक्षण गर्दै भारत प्रवेश गराइएको छ । तम्बाकुमा महाकाली नदीमाथि अस्थायी काठेपुल लगाइएको छ । छाङ्रुका कुञ्चा तम्बाकुभन्दा माथि जान नसक्ने अवस्था आएपछि भारतीय क्षेत्रमा रहेका सौका समुदायमार्फत पहल गरिएको बोहरा बताए । भारतको धार्चुला हुँदै गएका तिङ्कर समुदायका पशुचौपाया आइतबार बेलुकी बुदी पुगेका छन् । विगतमा वडाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले दिएको अनुमति भारतीय एसडिएम कार्यालयमार्फत स्वीकृत भएपछि मात्रै व्यास जान पाइन्थ्यो तर यो पटक बन्दाबन्दीका कारण अनुमतिबिनै उनीहरु गाउँ गएका हुन् । भारतीय विधायक हरिशसिंह धामी तथा भारतीय रङ समुदायले सहजीकरण गरेपछि उनीहरु गाउँ जान पाउने भएका हुन् । भारतको छायालेकभन्दा माथिल्लो क्षेत्र ‘नोटिफाइ’ क्षेत्र हो । यो क्षेत्रमा प्रवेशका लागि भारतीय पक्षले सहजीकरण गरिदिएको बोहरा बताए । उनले भने, “अब दुई दिनपछि सबै कुञ्चा व्यास पुग्छन् । उनीहरु नेपाल भारत जोड्ने सीतापूल हुँदै गाउँ प्रवेश गर्नेछन् ।” व्यासी सौका समाजका अध्यक्ष यशोदा तिङ्करी व्यासीहरुले यो पटक जस्तो गाउँ पुग्न दुःख कहिल्यै भोग्नु नपरेको बताए । “हाम्रा जनताले गाउँ पुग्न पाएका छैनन्,” उनले भने, “जनता बीच बाटोमै अलपत्र छन्, सरकारले नेपालतिर बाटो खोल्छ भन्छन् तर कहिले खोल्ने हुन् ?” नेपालले आफ्नो भूमि भएर गाउँ जान बाटो नबनाउँदा केही नागरिक भारतीय बाटो भएर गए । एकसाताका लागि बन्दोबस्ती रासन लिएर गएका कुञ्चाले खान पाएका छैनन् । दुम्लिङ आएर रासन खान बाध्य छन् । “सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्नु ठिक हो”, उनले भने, “तर आफ्ना जनता गाउँ पुगेका छन कि छैनन् भनेर र हेर्नुपर्छ कि पर्दैन? पुर्खादेखि जनताले भूमि रक्षा गरेका छन् । अहिले केही भारतबाट व्यास गएका छन् केही नेपालबाट गएकाहरु बीच बाटोमै समस्यामा छन् ।” उनका अनुसार अहिले सम्बन्धका हिसाबले सात आठ महिनापछि गाउँ जान पाउँदैछन् । “खेतपाती लगाउने समय सकियो । यार्सा सङ्कलनमा रोक लगाइएको छ । सीमा नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प छ । यस्तो अवस्थामा व्यासवासीले गाउँमा कसरी बस्ने ? के खाने ? सरकारले तत्काल खाद्यान्न आपूर्ति व्यवस्था गर्नुपर्छ”, उनले भने । कसरी बन्यो बाटो, के खान्छन् व्यासी ? हेर्दा स्वर्ग झैँ लाग्ने व्यास–१ छाङ्रु र तिङ्करका नागरिकहरुको जीवन कसरी चलेको छ ?  धेरैले यसतर्फ सोधिखोजी गरेका छैनन् । आफ्नो भूमि भएर जाने बाटो बन्द भएको डेढ दशक भयो । व्यासका स्व बहादुरसिंह ऐतवाल नगेन्द्रप्रसाद रिजाल मन्त्रिमण्डलमा सहायक राज्यमन्त्री थिए । दार्चुलाको व्यासी सौका समुदायबाट मन्त्री हुने पहिलो व्यक्ति ऐतवालले दार्चुलादेखि व्यासको तिङ्करसम्म गाेरेटो बाटो निर्माणको शुरुआत गरे । त्यो बेला पञ्चायती व्यवस्था हुँदा शुरु भएको गाेरेटो बाटो सशस्त्र द्वन्द्वको समय अघिसम्म राम्रै चलेको थियो । झण्डै ०४०।४५ सालसम्म यो बाटो भएर भारतीय नागरिकहरु समेत आवतजावत गर्थे । भारतका सात गाउँ बुदी, गव्र्याङ, नपलचु, गुञ्जी, नावी, राकाङ, कुटी तथा कैलाश मानसरोवर दर्शन गर्न जाने यात्री र व्यापारीहरुसमेत नेपालकै बाटो प्रयोग गर्थे । नेपालतिर महाकाली नदी किनारै किनार घोरेटो बाटो थियो । चीनको ताक्लोकोटसँग सीधा व्यापार सम्पर्क थियो । “सजिलै ताक्लोकाटको सामान खलङ्गा आइपुग्थो,” सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय व्यासमै जागिर गरेका पूर्व कर्मचारी भवानसिंह ठगुन्नाले भने, “गाेरेटोबाटो कहीँ अवरुद्ध थिएन ।” पञ्चायत कालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रममार्फत गाेरेटो बाटो निर्माण भएको हो । बाटो राम्रो थियो । द्वन्द्वकाल अघिसम्म व्यापारको हिसाबले पनि यो बाटो राम्रो थियो । तर द्वन्द्वपछि भन्सार कार्यालय हट्यो । बाटोमा हिँड्न डर थियो । गाेरेटोबाटो मर्मत हुन सकेन । अहिले आएर यो बाटो पूर्णरूपमा बन्द हुन गएको ठगुन्ना बताए । यही बाटो भएर ताक्लाकोटको सामान ०५८ अघिसम्म दार्चुलासम्म पुग्थ्यो । त्यो बेला तिङ्करदेखि खलङ्गासम्मको भाडा मात्रै १ सय रुपैयाँ प्रतिकिलो थियो । अहिले नेपालतिर बाटो नै छैन । यहाँका स्थानीयवासीले चीन र भारतबाट खाद्यान्न निर्यात गर्दै खाने गरेका छन् । पैसा हुनेले ६ महिनाका लागि पुग्नेगरी खलङ्गाबाटै घोडा खच्चडमा खाद्य सामग्री लैजाने गरेको व्यासका स्थानीयवास विमल बोहरा बताए । “गरिबलाई खाद्यान्नको निकै समस्या छ । भारतीय सरकारले गर्दा केही राहत थियो । अहिले त्यो अवस्था रहन्छ रहँदैन थाहा छैन”, उनले निराशा व्यक्त गरे । उनका अनुसार विगतमा भारतीय पक्षसँगको सुमधुर सम्बन्धमा खाद्यान्न किनिन्थ्यो । चीनले दिने अनुदान सहयोगमा खाद्यान्न पुग्थ्यो तर तीन चार वर्षयता चीनले दिने सहायता रोकेको छ । अहिले नेपालतिर खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । “बाटोघाटो बन्यो भने घोडा खच्चडमार्फत ढुवानी गर्न मिल्ने हो,” उनले भने, “हामीसँग अहिले उवा फापर थोरै हुन्छ । अहिलेको समयमा भने व्यासीले के खाने कसरी जीविका चलाउने चिन्ता छ ।” व्यासी सौका समाजका अध्यक्ष तिङ्करी राज्यले व्यासमा तत्काल खाद्य डिपो स्थापना गर्नुपर्ने बताउँछन्  । “अहिलेसम्म हामीले चीन र भारतबाट किनेर खायौं, अहिले बन्दाबन्दीले त्यो क्षेत्रबाट ल्याउन सकिने अवस्था पनि छैन । सरकारले नागरिक गाउँ गएपछि तत्काल खाद्यान्न ढुवानी गर्नुपर्छ”, उनले भने । अहिलेको अवस्थामा खाद्यान्न पुर्याउन नसके व्यासी नागरिकलाई खाद्यान्न समस्या हुने उनको भनाइ छ । यो क्षेत्रमा वर्षमा एक पटक मात्रै खाद्यबाली लगाइन्छ । यो क्षेत्रमा आलु, फापर, निप्पल, कोदो, उवा जस्ता खाद्यबाली उब्जनी हुने गरेको छ । व्यास–१ छाङ्रुमा १ सय १५ तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ । यो क्षेत्रमा १ हजार २ सयको हाराहारीमा जनसङ्ख्या रहेको छ । सात महिनापछि गाउँको ढोका खुल्दै गत कात्तिक अन्तिमतिर छाङ्रु र तिङ्करका स्थानीयवासी पशुचौपायासहित खलङ्गा झरेका थिए । हिमपात हुन थालेपछि खलङ्गा झरेका व्यासीहरु वैशाख महिनामै व्यास उक्लनुपर्ने हो तर यो पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल र भारत दुवैतर्फ सीमानाका बन्द भएपछि उनीहरुको कुञ्चा जेठ पहिलो साता मात्रै सरेको छ । बन्दाबन्दीका कारण सीमानाका नखुल्दा उनीहरुको कुञ्चा ढिलाइ भयो । नेपालतिर बाटो छैन । बाटो मर्मत गर्न शुरु गरे पनि अहिले कुञ्चा सर्न सक्ने अवस्था रहेन । व्यास तिङ्करको कुञ्चा भारतीय मार्ग हुँदै गाउँ गएको छ भने छाङ्रुको कुञ्चा नेपालको आधा बाटो र त्यसपछि महाकाली तरेर भारत हुँदै गाउँ उक्लिएको हो । “कुञ्चा गाउँ नजिकै पुग्दैछ”, कुञ्चा जानुभएका दानसिंह तिङ्करीले भन्नुभयो, “एक दुई दिनमै गाउँ पुग्छौँ ।” पशुचौपाया र लालाबालासहित उनीहरु गाउँ गएका हुन् । गाउँबाट फर्किँदा ढोकामा ताला लगाएर आएका हुन् व्यासीहरु । “पूरै गाउँ भगवान् भरोसामा छोडिएको हुन्छ”, तिङ्करी भन्नुहुन्छ, “गाउँभरि एक जनामात्रै गाउँ हेरालु हुन्छन् । हिमपातले गर्दा पूरै गाउँ ढाकिएको हुन्छ । अहिलेसम्म चोरी भएको छैन ।” यही जेठ ८ गते दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल भएर छाङ्रु र तिङ्करका १ सय १४ पुरुष, ७३ महिला र आठ बालबालिका गरी १ सय ९५ जना गाउँ फर्किएका छन् । उनीहरूसँगै २ सय ८४ पशुचौपाया गाउँ गएका छन् । व्यास छाङ्रुको पशुचौपाया र केही स्थानीयवासी भने नेपालकै बाटो भएर गाउँ गएका छन् । उनीहरुको तथ्याङ्क प्राप्त भएको छैन । व्यासीको सडक सपना व्यासीहरुलाई नेपालकै बाटो भएर गाउँ जाने रहर भने अहिलेदेखिको होइन । आर्थिक वर्ष ०६४।०६५ मा दार्चुला–तिङ्कर सडक शुरु भएसँगै व्यासीहरुलाई आफ्नो भूमि भएर गाउँ जाने सपना थियो । सडक बन्ला, व्यासमा फलेको स्याउ दार्चुला र तराई क्षेत्र जाला, आलु, उवा, फापर बजारमा लगेर र खलङ्गाबाट स्वदेशकै बाटो भएर खाद्यान्न ढुवानी गर्ने व्यासीहरुको सपना थियो । व्यासका स्थानीयवासी जीतबहादुर बोहरा नेपालको सडक शुरु भएपछि आफूले व्यासमा स्याउ खेती शुरु गरेको सम्झिए । उनले भारतको हिमाञ्चल प्रदेशबाट बिरुवा ल्याएर स्याउ खेती गरेका हुन् । अहिले उनकै मात्र ३० क्विन्टलभन्दा बढी स्याउ फल्छ । हजारौं बोट स्याउ व्यासमा फलेका छन् तर सडक नहुँदा बर्सेनि स्याउ कुहिएर जान्छ, उत्पादनले बजार पाएको छैन । अहिले व्यास क्षेत्रमा अन्य व्यक्तिले पनि स्याउ खेती शुरु गरेका छन् । नेपालको सडक बनेपछि यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने भन्दै उनले लाखौं रकम खर्च गरेर काठै काठबाट निर्मित घरहरु बनाए । कैलाश मानसरोवर दर्शन गर्न जाने बाटोमै उनको घर पर्छ तर उनले सोचेअनुसार सडक बनेको छैन । सडक नबन्दा उन मात्र होइन सम्पूर्ण व्यासी निराश छन् । सडक निर्माण शुरु भएको १२ वर्षसम्म पनि सडकले गति लिएन । सदरमुकाम खलङ्गाबाट व्यास गाउँपालिका सुनसेरासम्मको ४० किलोमिटर सडकको ट्र्याक खुल्न १२ वर्ष लाग्यो । व्यासको सडक सपना अधुरै रह्यो । अहिले सरकारले गत वैशाख १४ गते व्यास–२ माल नजिकैबाट चीनको ताक्लाकोट जोड्ने गरी निर्माण हुने महाकाली लोकमार्गअन्तर्गत दार्चुला–तिङ्कर सडकको ८७ किलोमिटर सडक नेपाली सेनामार्फत बनाउने जिम्मेवारी दिएको छ । सेनालाई बाँकी सडकको काम दिएपछि व्यासीमा व्यासम्म सडक पुग्ने विश्वास जागेको छ । अहिले सेना व्यासको घाँटीबगर क्षेत्रमा बाटो निर्माणमा जुटेको छ । सेनाले छिट्टै सडक निर्माणको काम पनि शुरु गर्ने तयारी गरेको छ ।  रासस