१७ अर्ब डलरको मोबाइल गेम बजार, पब्जीको विकल्प भनिएकाे अक्षय कुमारको फौजी कस्तो छ ?
काठमाडौं । एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी जस्तै’ मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यो गेमको उदेश्य बजारमा खाली देखिएको स्थान भर्नु हो, जुन लोकप्रिय चिनियाँ एप पब्जीमाथि भारतले प्रतिबन्ध लगाएपछि सिर्जना भएको छ । बैंगलुरुमा रहेको एनकोर गेम्स नामक कम्पनीले यस्तो एउटा गेम बनाउँदैछ, जुन सिधै पब्जीको प्रतिस्पर्धी मानिएको छ । कम्पनीले यो गेमको नाम फौजी दिएको छ । यो गेम अंग्रेजी महिनाको आगामी अक्टोम्बरसम्ममा बजारमा आउने बताइएको छ । कम्पनीका सहसंस्थापक विशाल गोडलले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा यो गेमको नाम ‘फेयरलेस एण्ड युनाइटेड गार्ड्स (फौजी) रहेको बताए । उनका अनुसार यो गेम बनाउनका लागि केही महिनादेखि नै काम भइरहेको थियो । यो गेमको पहिलो लेवल गलवान उपत्यकामा आधारित रहेको उनको भनाइ छ । गलवान उपत्यकामा नै चीन र भारतका सैनिकबीच गत जुन महिनामा पहिलो पटक झडप भएको थियो । सो झडपमा भारतका कम्तिमा पनि २० सैनिकको मृत्यू भएको बताइएको थियो । त्यही समयदेखि वास्तविक नियन्त्रण रेखालाई लिएर भारत र चीनबीच तनाव भइरहेको छ । यही गतिरोधको बीचमा भारतले लोकप्रिय गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीले बताएका १ सय १८ अन्य मोबाइल एपमाथि गत बुधबार प्रतिबन्ध लगाएको थियो । पब्जी (प्लेयर अननोन्स व्याटलग्राउण्डस्) गएको केही वर्षदेखि भारमा असाध्यै लोकप्रिय मोबाइल गेम बनेको छ । भारतीय युवामा यो गेमप्रति असाध्यै लगाव रहेको बताइएको छ । त्यसैकारण पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति सामाजिक संजालमा तिब्र आलोचना पनि भएको छ । आलोचकका अनुसार फौजीको मद्दतबाट भारतीय कम्पनी एनकोर गेम्स जनताको देशभक्तिकाको भावनामा भुलाउने प्रयास गरिरहेको छ । ‘यो मोबाइलबाट हुने कुल आम्दानीको २० प्रतिशत रकम भारतका लागि सहिद हुने सैनिक परिवारलाई प्रदान गरिनेछ,’ कम्पनीका सहसंस्थापक विशाल गोडलले भने । फौजी गेम बनाउनका लागि अभिनेता अक्षय कुमारको सहयोग रहेको बताइएको छ । यो गेमको फौजी नाम पनि अक्षय कुमारले नै राखेको कम्पनीले बताएको छ । अभिनेता अक्षय कुमारले पनि हिजो (गत शुक्रबार) फौजी गेमसँग सम्बन्धी ट्वीट गरेका छन् । यो गेम सुरु भएको केही दिनमा नै करिब २० करोड मोबाइल युजरले यो गेम डाउनलोड गर्ने कम्पनीको अनुमान छ । के हो पब्जी ? पब्जी एक लोकप्रिय मोबाइल गेम हो, जुन विश्वव्यापी रूपमा खेल्ने गरिएको छ । भारतमा पनि यसका प्रशंसकहरू धेरै छन् । यो गेम एक जापानी थ्रिलर फिल्म ‘व्याटर रोयल’बाट प्रभावित भएको हो, जसमा सरकारले विद्यार्थीहरूको एउटा समूहलाई जबरजस्ती मृत्युदण्ड दिन पठाउँछ । पब्जीमा, करिब १ सय खेलाडीहरू टापुमा प्यारासुटको सहायताले झर्छन्, हतियारहरू फेला पार्छन र एक अर्कालाई तबसम्म मार्छन्, जबसम्म तीमध्ये एक मात्र बाँकी हुन्छ । सुरुमा यो गेम दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोलले बनाएको हो । यसको डेस्कटप भर्सन दक्षिण कोरियाली कम्पनीले बनाएको थियो । पछि चिनियाँ कम्पनी टेनसेटले नयाँ नाम र केही परिवर्तनका साथ मोबाइल संस्करण बजारमा ल्यायो । विश्वमा पब्जी खेल्नेमध्ये भारतमा करिब २५ प्रतिशत रहेको बताइन्छ । चीनमा १७ प्रतिशत र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ता छन् । धेरै जनाले एकैपटक खेल्न मिल्ने यो खेलमा केही पैसा खर्च गर्नुपर्ने हुन्छ । र, नयाँ हतियार किन्नको लागि कुपन खरीद गर्नु पर्छ । गेम यस्तो तरिकाले डिजाइन गरिएको छ कि तपाईं जति धेरै खेल्नुहुन्छ, त्यति रमाइलो हुनेछ । थप खेल्नको लागि कूपन र हतियारहरू खरीद गर्नुपर्छ, जसले गेम अझ रोमान्चक बनाउँछ । यो गेममा फ्रि रुम पनि हुन्छ । यसका विभिन्न लेवलहरु छन् । फरक ठाउँमा बस्ने मानिसहरूले यो गेम एकै साथ खेल्न सक्छन् र एकैसाथ स्ट्रिमिङ पनि हुन्छ । गेम बजार सन् २०१९ मा विश्वभर १६ अर्ब ९० करोड अमेरिकी डलर बराबरको यस्तो गेमको बजार थियो । यसमध्ये चीनको मात्रै ४ अर्ब २० करोड अमेरिकी डलर बराबरको हिस्सेदारी रहेको बताइन्छ । दोस्रो स्थानमा अमेरिका, तेस्रोमा जापान र त्यसपछि बेलायत र दक्षिण कोरिया रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यो तथ्यांक स्टाटिस्टाडटकमको हो । यो उद्योग भारतमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । तर अहिले पनि यो १ अर्ब डलरभन्दा कम छ । राजस्वको हिसाबले भारत विश्वको ५औं देशभित्र पनि पर्दैन । तर, बाँकी देशहरुका लागि निश्चय नै उदीयमान बजार हो । (बीबीसी हिन्दीको सहयोगमा)
चिकित्सकको सल्लाहविना अधिक मात्रामा जडिबुटिको प्रयोग नगराैं
चितवन । कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव छ । बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुरलगायत जडिबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमताअनुसार मात्रा मिलाएर प्रयोग गर्न उनीहरुले सुझाएका हुन् । कोभिड–१९ को विश्वव्यापी महामारीसँगै नेपाललगायत विभिन्न मुलुकमा जडिबुटी एवं आयुर्वेदिक औषधिको प्रयोग बढेको छ । मानिसले घरघरमा यसको आफूखुसी प्रयोग गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आफूखुशी जडिबुटीको प्रयोग गर्नु उचित नहुने बताउँछिन् । उनका अनुसार आयुर्वेदमा आहार द्रव्य (खानाको रुपमा) र औषध द्रव्य (औषधिको रुपमा) यसको प्रयोगको स्पष्ट भिन्नता दिइएको छ । खानामा मसलाको रुपमा प्रयोग गरिने बेसार, अदुवा, टिमुर, मरिच मौसम, परिकारको गुण परिणाम, भौगोलिक परिवेश, हावापानी, व्यक्तिको प्रकृति, रोग अवस्थाअनुसार मात्रा विचार गरेर प्रयोग गर्नुपर्ने उनी सुझाउँछिन् । सामान्य रुपमा तरकारी, दाल, अचार, चियामा गर्मी ठाउँमा कम र चिसो ठाउँमा ठिकै मात्रामा यस्ता मसलाजन्य जडिबुटीको नियमित प्रयोग गर्न सकिन्छ । उनका अनुसार बेसार उचित मात्रामा प्रयोग गरेमा छालाको रोग, नाकको एलर्जी, घाँटीको सङ्क्रमण, ब्रोङ्काइटिस, नेत्राभिष्यंद (आँखा पाक्ने), जीर्ण व्रण (पुरानो घाउ खटिरा), ढुसीजन्य सङ्क्रमण, क्यान्सर विरुद्ध लड्ने क्षमता बढाउने काम गर्दछ । विभिन्न अनुसन्धानबाट पुष्टि भएअनुसार हरिद्रा (बेसार) को प्रयोग हेपाटाइटिस बि भाइरस, पारा इन्फुल्एन्जल भाइरस टाइप ३, रेस्पिरेटरि सिनसाइटल भाइरस, इन्फुल्एन्जल भाइरस विरुद्ध प्रभावकारी रहेको पाइएको उनले बताइन् । उनले भनिन्, “यसमा विशेष गरी कर्कुमिन (रासायनिक तत्व) लगायत रासायनिक सक्रिय तत्वको मुख्य भूमिका रहेको हुन्छ । जसले शरीरमा भाइरसको वृद्धि एवं प्रभावलाई निस्तेज पार्दछ ।” पित्त थैलीको पत्थरी भएका, एस्पीरिन, वार्फारिनको नियमित सेवन गर्ने व्यक्तिले बेसारको सेवन सावधानीपूर्वक कम मात्रा गर्नुपर्ने उनको सुझाव छ । त्यसैगरी पित्त प्रकृति (गर्मी शरीर) हुने व्यक्तिले बेसारको प्रयोग कम मात्रामा गर्नुपर्ने उनको भनाइ छ । सामान्यता नेपालीको खानामा प्रयोग गरिने बेसारले शरीरलाई आवश्यक पर्ने मात्रा पुग्ने गरेको उनी बताउँछिन् । त्यसबाहेक राति सुत्नु अगाडि तातो दूधमा एक ग्राम बेसार राखेर पिउनु राम्रो हुने उनको भनाइ छ । यसरी पिउँदा बढीमा २१ दिनसम्म मात्र पिउनु राम्रो हुने अधिकारीले सुझाव दिइन् । गुर्जाे विशेषतः रसायन एवं शरीरमा बल दिनको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि प्रयोग गरिने उनको भनाइ छ । तीर्खा लाग्ने, घाउखटिरा, मधुमेह, रुघाखोकी, दम, एनिमिया, जण्डिस, छालाको रोग, युरिक एसिड, ज्वारोलगायत अन्य रोगमा आवश्यकताअनुसार प्रयोग गरिन्छ । समय समयमा देखापर्ने डेङ्गु ज्वरो, स्वाइन फ्लु, एवं अन्य भाइरसजन्य रोग (रुघा, खोकी, ज्वोरो), रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टीभाइरल विरुद्ध यसको प्रयोग गरिने उनको भनाइ छ । उनले भनिन्, “यो आफैँमा मधूमेहको औषधि भएकाले रगतमा चिनीको मात्रा कम भएका र सुगरको औषधि खाइरहेका व्यक्तिहरुले चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र गुर्जाेको सेवन गर्नु उपयुक्त हुन्छ । लामो समयसम्म प्रयोग गर्दा यसले उच्च रक्तचाप कम हुने सम्भावना रहन्छ ।” पाँच ग्राम गुर्जाेको चूर्ण पानीमा उमालेर मिश्री मिलाएर चियाको रुपमा पिउन सकिन्छ । उनले भनिन्, “ताजा गुर्जोको रस २०–२५ मिलिग्राम दिनमा एकपटक र ताजा गुर्जोको डाँठ थिचेर साँझ पानीमा भिजाएर मिश्री मिलाएर राख्ने बिहान छानेर ५० मिलिग्राम पिउने गर्नाले फाइदा हुने गर्दछ ।” यसरी खाँदा पनि २१ दिनसम्म मात्रै सेवन गर्नु उत्तम हुने उनको भनाइ छ । तुलसी, ज्वानो, टिमुर, अदुवा जस्ता जडिबुटी रुघा, खोकी, ज्वोरो, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टी भाइरल विरुद्ध प्रयोग गर्न सकिने भए पनि यसको सेवन मात्रा मिलाएर सात दिन मात्रै गर्नुपर्ने उनको सुझाव छ । टिमुर र अदुवा पाइल्स, फिसरको रोगी, पित्त प्रकृतिको व्यक्तिले सेवन गर्न नहुने उनले बताइन् । आयुर्वेदका चिकित्सक पि एन भुसाल जेसुकै पनि मात्रा मिलाएर नखानु मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउँछिन् । उनले बेसार, गुर्जाेलगायत जडिबुटी मात्राअनुसार मात्रै प्रयोग गर्न सुझाव दिइन् । औषधिका रुपमा प्रयोग गरिने जडिबुटीको प्रयोग जथाभावी धेरै मात्रामा गरेमा त्यसको नकारात्मक प्रभावहरु देखिने उनले बताइन् । यसको प्रयोग गर्नु अघि आयुर्वेदिक चिकित्सकसँग परामर्श गर्न पनि उनले सुझाव दिइन् । रासस
तातोपानीले मात्र कोरोना जितिन्न: भाइरोलोजिष्ट सुदीप खड्का
बलेवा । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेका थिए, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराएकी उनलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “स्वास्थ्यकर्मीको व्यवहार, आफ्नो आत्मबल र खानपानको व्यवस्थापनले नै कोरोना जित्यौँ ।” आइतबार दिउँसोसम्म बागलुङमा सङ्क्रमितको सङ्ख्या २८६ पुगेको छ । तीमध्ये २६१ जना आइसोलेसनमा बसेर निको भएपछि घर फर्किए । कोरोनाका कारण एक जनाको ज्यान गयो । निसीखोलाका पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो । जिल्लाका आइसोलेसन र प्रि–आइसोलेसनको तथ्याङ्कअनुसार निको भएका अधिकांशमा कोरोना सङ्क्रमणको लक्षण नै थिएन । उनीहरु कसैले पनि न त खोपको प्रयोग गरे न औषधि नै । सबैले भन्ने एउटै हो, “ढुक्कले बसेँ, समाचार पढेँ, तातोपानी खाएँ, कोरोना जितेँ ।” यद्यपि आइसोलेसनमा बसेर तातोपानी खाँदैमा वा आत्मबल बढाउँदैमा कोरोना नजितिने विशेषज्ञको धारणा छ । “निको हुन्छ, ९८ प्रतिशतमा ग्यारेन्टीका साथ निको हुन्छ त्यसमा दुईमत रहेन”, अमेरिकामा रहेका जीवाणु वैज्ञानिक (भाइरोलोजिष्ट) सुदीप खड्का भन्छन्, “कोरोनाको न त कुनै औषधि प्रमाणित छ न खोप, तातोपानी र आत्मबलले निको हुने रोग होइन, खेलबाड नगरौँ ।” उहाँ इबोला भाइरसको सुई पत्ता लगाउने वैज्ञानिकमध्येको एक सदस्य छन् । लक्षण नदेखिएका अधिकांश बिरामी निको हुने भएकाले तातोपानी, आत्मबल र जडीबुटीको भ्रम परेको उनको जिकिर छ । “कोरोना लागे पनि तातोपानीले जितिन्छ भनेर भ्रममा नपरौँ, यो गलत हो”, खड्का भन्छन्, “लक्षण भएका र जोखिममा रहेका बिरामीलाई कठिन हुन सक्छ ।” अरु भाइरसभन्दा कोरोनाकोे फैलावट धेरै भएकाले यो रोगसँग खेलबाड गर्न नहुने उनको तर्क छ । नेपालमा पछिल्लोपटक समुदायमा फैलिएको सङ्क्रमणले थप खतराको सङ्केत गरेको भन्दै इबोलाभन्दा कम मृत्युदर भएको कोरोनाले धेरैको मृत्यु निम्त्याउने उनले बताए । “एक तिहाइ मान्छेलाई यसको लक्षण नै देखिँदैन, जुन खतरनाक हो”, खड्का भन्छन्, “अहिले हामीले सबै निको हुन्छ भनेर हेलचेक्र्याईं गर्दा दुई प्रतिशतमा पर्ने उमेर पुगेको समूहलाई निकै कठिन हुन्छ ।” उनले कोरोनाको औषधि वा खोप तयार भएर तत्काल आउने सम्भावना नरहेको समेत बताए । रासससँगको टेलिफोन संवादमा खड्काले भने, “इबोलाको खोप सबैभन्दा छोटो समयमा बनेको हो, जसका लागि दुई वर्ष लाग्यो ।” कोरोनाका तयार भएका खोप तेस्रो परीक्षणमा रहेको भए पनि त्यसको उपलब्धता अझै कठिन रहेको उनको भनाइ छ । “खोप बने पनि त्यसको उत्पादन सबैलाई पुग्ने गरी बनाउन कति समय लाग्ला ?”, प्रतिप्रश्न गर्दै उनले भने, “त्यसैले हामीले सतर्कता अपनाउनुको विकल्प नसोचौँ ।” विदेशमा जस्तो नेपालमा सङ्क्रमण फैलिँदैन भनेर चलेका हल्लासमेत भ्रम भएको भन्दै उनले आगामी दिन थप खतरनाक भएको सङ्केत गरे । अस्पताल, भेन्टिलेटर र आइसियु लक्षण भएका बिरामी र कोरोनाका कारण कठिन अवस्थामा रहेका बिरामीको लागि तयार राख्नुपर्ने खड्काको सुझाव छ । रासस