सन नेपाल लाइफ इन्स्योरेन्सको एमएल र सीएफटी तालिम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लन्डरिङ तथा आतङ्कवादी वित्तीयकरण नियन्त्रण सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । नगरकोटस्थित रत्नागिरि रिसोर्टमा आयोजित तालिममा कम्पनीका कानुन विभाग प्रमुख सुबास भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्नेमा जोड दिए । साथै, एमएल र सीएफटीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशन र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत जानकारी दिए । कार्यक्रममा कोशी, मधेश र बागमती प्रदेशका शाखा प्रमुखहरू, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईँसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४३ शाखामार्फत जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको स्रोतले बताएको छ । ओझाको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् । त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेको थियो । गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएलगत्तै सोमबार पदमुक्त गर्ने निर्णय गरेको हो । बीमा प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसारको योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायतका विषयमा प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको स्रोतको भनाइ छ । ओझालाई अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा सरकारले गत फागुन १२ गते प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।
शिखर इन्स्योरेन्सले नेपालमै पहिलो पटक २० लाखसम्मको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने
काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ को सुरुवात गरेको छ । सोमबार मेडिसिटी अस्पतालमा एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बीमाको औपचारिक सुभारम्भ गरिएको हो । कम्पनीका अनुसार व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरूको बीमा गर्न मिल्ने यस स्वास्थ्य बीमा योजनामा २० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न सकिनेछ । हाल नेपालको स्वास्थ्य बीमाको क्षेत्रमा सिमित रकमसम्मको मात्र बीमा सेवा प्राप्त भइरहेको परिप्रेक्षमा शिखर स्वास्थ्य सुरक्षामार्फत २० लाख सम्मको बीमा गर्न सकिने भएकोले हालको बढ्दो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रूपमा रहन जाने विश्वास कम्पनीको रहेको छ । यस स्वास्थ्य बीमामा शिखर इन्स्योरेन्ससँग आवद्ध रहेका नेपालका अस्पतालमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बीमांक रकमको १० प्रतिशत रकम (अधिकतम १ लाखसम्म) को बहिरंग उपचारको समेत बीमा दाबी प्राप्त गर्न सकिनेछ । नगदरहित स्वास्थ्य उपचार सेवा अन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गराउँदा बीमाको रकम बराबरसम्मको उपचारको लागि बीमितले अस्पतालमा बिल भुक्तानी गर्नु पर्ने छैन, शिखर इन्स्योरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बीमा दाबी भुक्तानी गरिनेछ । नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकोले शिखर स्वास्थ्य सुरक्षामार्फत बीमितले झन्झट रहित स्वास्थ्य सेवा प्राप्त गर्न कम्पनीले जनाएको छ । शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिनसम्मको प्री हस्पिटलाइजेसन र ६० दिन सम्मको पोष्ट हस्पिटलाइजेसन खर्चको समेत बीमा दाबी पाइन्छ । अस्पताल भर्ना नभई गर्न सकिने उपचारअन्तर्गत १५० भन्दा बढी डे केयर उपचारको समेत बीमा सुरक्षण प्राप्त हुन्छ । साथै भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बीमा सुरक्षण प्राप्त गर्न सकिन्छ । यो बीमा सेवा नेपालमा बस्ने नेपालीको साथै नेपालमा बस्ने विदेशी नागरिकले समेत प्राप्त गर्न सक्नेछन् ।