स्वास्थ्य र खर्च संकटमा सारथी बन्दै सन मेडिकेयर

काठमाडौं । विश्वव्यापी रूपमा हृदयघातका कारण हरेक वर्ष लाखौं मानिस प्रभावित हुन्छन् । यस्तै, अन्य आकस्मिक स्वास्थ्य उपचार समयमै नपाएर धेरैको निधनसमेत हुने गरेको छ । अझै पनि कयौं मानिस समयमै उपचार नपाएर ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्य उपचारसम्बन्धी विकास भएपनि आर्थिक रूपमा भने अझै कयौं मानिस अस्पतालसम्म जान नसक्ने अवस्थामा छन् । आर्थिक र स्वास्थ्यसम्बन्धी उपचारमा सहयोग पुर्‍याउने हेतुले सन नेपाल लाइफ इन्स्योरेन्सले सन मेडिकेयर योजना ल्याएको छ । स्वास्थ्यसम्बन्धी समस्याको समाधान गर्ने गरी कम्पनीले आपतमा राहत प्रदान गर्ने गरी सन मेडिकेयर विशेष योजना ल्याएको हो । यस्ता समस्याबाट अनाहकमा ज्यान गुमाउन नपरोस् भनेर कम्पनीले एक अचुक उपाय अर्थात् सन मेडिकेयर योजना ल्याएको जनाएको छ । आकस्मिक स्वास्थ्य समस्यालाई सन मेडिकेयर योजनाले समेट्नेछ । साथै सडक दुर्घटना, घर वा कार्यस्थलमा दुर्घटना, विषाक्तता, डुबान, गम्भीर चोटपटक, मानसिक स्वास्थ्यको समस्या, स्ट्रोक, हृदयाघात जस्ता जीवन रक्षाका घटनामा परेका व्यक्तिलाई सन मेडिकेयर योजनाले समेट्ने छ । यस्तै, ग्यास्ट्रोइन्टेस्टाइनल ब्लिडिङ, इलेक्ट्रिकल बर्न्स, ट्रम्याटिक ब्रेन इन्जुरी, एक्टोपिक प्रेग्नेन्सीलगायत रोगलाई यस योजनामा समेटिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त योजनामा आवद्ध भइसकेपछि दावी भुक्तानीको अनौठो विधि छ । सन मेडिकेयरले अस्पतालको बिल बमोजिम भुक्तानीभन्दा पनि अस्पतालमा भर्ना भएको आधारमा दाबी भुक्तानी प्रदान गर्ने बताएको छ । सस्तो, प्रभावकारी र भरपर्दो रहेको यस योजनाले वार्षिक १ हजार ३९३ रुपैयाँमा १ लाख रुपैयाँसम्मको आर्थिक राहत प्रदान गर्ने कम्पनीको भनाइ छ । अप्रत्यासित तथा आकस्मिक चिकित्सा खर्चको बोझ कम गर्न सन मेडिकेयर योजना साथी बन्ने कम्पनीले जनाएको छ । विश्वासिलो सेवा भएकाले सबैले सन मेडिकेयर रोज्ने कम्पनीको अपेक्षा छ । यस योजनाबाट आकस्मिक स्वास्थ्य समस्याहरूले वित्तीय अवस्थामा असर नगर्ने, दावी प्रक्रिया सजिलो, छिटो र पारदर्शी रहेको कम्पनीले जनाएको छ । अस्पताल खर्चको तनाव नलिई उपचारमा केन्द्रित हुने सुविधा रहेको कम्पनीको भनाइ छ ।

बीमा कम्पनीहरूले वित्तीय विवरणमा छुट्टै राख्दैनन् ‘सर्भेयर फी’को हिसाब

काठमाडौं । मानिसहरूले कुनै पनि भैपरि आउने दुर्घटनाबाट हुने धनको क्षतिको सुरक्षानका लागि बीमा गरेका हुन्छन् । मानिसहरूले विपदबाट हुने क्षतिबाट बच्न आफ्नो घर, भवन, सवारीसाधन, स्टक सामग्रीहरूलगायतको बीमा गर्ने गर्दछन् । कुनै पनि कारणले बीमा गरिएको सम्पत्तिमा क्षति पुगे त्यसका लागि अध्ययन गर्न बीमा कम्पनीहरूले सर्भेयरलाई खटाउँछन् । बीमा कम्पनीले सर्भेयरलाई उक्त क्षतिको मूल्याङ्कन गर्न खटाउने गर्छन् । सर्भेयरले गरेको मूल्याङ्कनका आधारमा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन्छन् । सर्भेयरले सर्भे गर्न घटनाको प्रकृतिअनुसार समय लगाउने गर्दछन् । सामान्य एउटा मोटरसाइकल आगलागी भएको सर्भे गर्दा ४/५ दिनमा नै उनीहरूले सर्भे गरिसक्छन् भने कुनै १० अर्बको हाइड्रोपावरमा बाढी पसेर क्षति भयो भने त्यसका लागि महिनौ‌ंमम समय लाग्छ । सर्भेयरले यसरी ससानादेखि ठूल्लठूला क्षतिको मूल्याङ्कन गरेवापत बीमा कम्पनीहरूले उनीहरूलाई निश्चित शुल्क (सर्भेयर्स फी) भुक्तानी गर्ने गर्दछन् । सर्भेयरहरूले सर्भे रिपोर्टमा उल्लेख भएको आधारमा बीमा कम्पनीले बीमितलाई दाबी भुक्तानी दिने गर्छन् । र सोही रकमको आधारमा सर्भे शुल्क लिने गर्दछन् । यसर्थ कुनैपनि बीमा कम्पनीले एक वर्षमा सर्भेयर्स फीवापत ठूलो रकम खर्च गरेको हुन्छ । तर, त्यसरी भुक्तानी गरेको रकम कम्पनीहरुले आफ्नो वित्तीय विवरणमा उल्लेख भने गरेका हुँदैनन् । जीवन बीमा कम्पनीहरूले बीमा अभिकर्तालाई दिएको कमिसन स्पष्टरूपमा विवरणमा उल्लेख गरेपनि निर्जीवन कम्पनीहरूले भने सर्भेयरलाई भुक्तानी गरेको रकम उल्लेख नै गर्दैनन् । कम्पनीहरूले उक्त रकम दाबी भुक्तानीमा समावेश गरेर विवरण सार्वजनिक गर्ने गरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले सर्भेयर फी कम्पनीहरूले दाबी भुक्तानी शीर्षकमा नै समावेश गरेर सार्वजनिक गर्ने गरेको बताए । तर, यसले गर्दा बीमितले पाएको र कम्पनीले भुक्तानी गरेको रकममा ठूलो भिन्नता आउने गर्दछ । मानौं कुनै एउटा घरको आगलागीवापत बीमा कम्पनीले १ करोड क्षति दिने निधो गर्‍यो । त्यसमा ५ लाख रुपैयाँ सर्भेयर फी पनि सो रकममा जोड्दा दाबी भुक्तानी १ करोड ५ लाख रुपैयाँ हुने भयो । बीमितले १ करोड रुपैयाँ पाँउछ तर कम्पनीले १ करोड ५ लाख रुपैयाँ दिएको देखिन्छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका वाग्लेले बीमितलाई दाबी भुक्तानी दिलाउने प्रक्रियाअन्तर्गतकै कार्यभित्र सर्भे पर्ने भएकाले सर्भे फीलाई दाबी भुक्तानीमा नै समावेश गरिएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय अभ्यास पनि यही रहेको भन्दै विश्वको बजारअनुसार नेपालको पनि बीमा बजार अगाडि बढिरहेकाले नेपालमा पनि सर्भेयरको फी दाबीमा नै समावेश गरिएको पनि स्पष्ट पारे । यसका साथै उपनिर्देशक वाग्लेले विश्वमा एउटै फर्म्याटकाे लेखामान होस् भन्ने मान्यता रहेकाले र एनएफआरएसमा पनि सोहीअनुसार सर्भेयर फीका लागि छुट्टै शीर्षक सृजना नगरिएको जनाए । उनका अनुसार बीमा कम्पनीहरूले दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनीहरूसँग विवरण पेश गर्ने गर्दछन् । यसरी विवरण पेश गर्दा उनीहरूले सर्भेयर फीलाई पनि दाबी शीर्षक नै उल्लेख गरेर पेश गर्दछन् । र सोहीअनुसार पुनर्बीमा कम्पनीहरूले दाबी भुक्तानीवापतको रकम भुक्तान गर्दछ । यस सन्दर्भमा यदि सर्भेयर फीलाई दाबी शीर्षकमा नराख्ने हो भने सर्भेयर फीवापतको रकम पुनर्बीमा कम्पनीसँग दाबी गर्न पाइँदैन । यसले गर्दा पनि सर्भेयर फीलाई दाबी शीर्षकमा नै राखिएको हुनसक्ने उनको अनुमान छ । उनले भने, ‘यसमा पहिलादेखि नै त्यस्तै व्यवस्था छ । सोही व्यवस्थाअनुसार हामीले काम गरेका छौं ।’ यदि सर्भेयर फीलाई दाबी भुक्तानी शीर्षकमा देखाउँदा केही समस्या आएको खण्डमा त्यसलाई प्राधिकरणले सच्याउन पनि सक्ने उनको भनाइ छ । यस्तै, निर्जीवन बीमाका विज्ञ नूरप्रकाश प्रधानले पनि सर्भेयरको फी दाबी भुक्तानी शीर्षकमा उल्लेख गर्नु विश्वव्यापी मान्यता भएको बताए । उनले भने, ‘विश्वका देशहरूमा सर्भेयर फीलाई दाबी भुक्तानी शीर्षकमा नै उल्लेख गरेर विवरण सार्वजनिक गर्ने चलन छ । त्यही चलन नेपालमा पनि छ ।’ तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका प्रधानका अनुसार लेखाको सिद्धान्तअनुसार नै दाबी भुक्तानी शीर्षकअन्तर्गत सर्भेयर्स फीलाई समावेश गरिएको हो । एनएफआरएसमा पनि सर्भेयर फी दाबी भुक्तानी शीर्षकमा नै समावेश हुने उनले बताए । ‘सर्भेयर फी’मा कति हुन्छ खर्च ? बीमा कम्पनीहरूले बीमितलाई दिएको दाबी भुक्तानीका आधारमा र सर्भे रिपोर्टमा उल्लेख भएको रकमका आधारमा सर्भेयरलाई शुल्क भुक्तान गर्दछन् । मोटर बीमा अन्तर्गत बीमितले पाउने दाबी भुक्तानीका आधारमा सर्भेयरले शुल्क पाउने गर्दछन् भने अन्य पोर्टफोलियोमा सर्भे रिपोर्टमा उल्लेख भएको रकमका आधारमा सर्भेयरको शुल्क भुक्तानी हुन्छ । मोटरको हकमा बीमितले ५० हजार रुपैयाँ भुक्तानी पाएको अवस्थामा सर्भेयरले २ हजार ५ सय रुपैयाँ पाउँछ । यसैगरी ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म बीमितले पाएको अवस्थामा सर्भेयर शुल्क ५ हजार रुपैयाँ पर्दछ । सोही क्रमअनुसार यदि ६० लाख रुपैयाँभन्दा धेरै भुक्तानी भएको खण्डमा ४० हजार रुपैयाँ सर्भेयर शुल्क लाग्छ । यसका साथै सर्भेयरले क्षति भएको स्थानमा जाँदा दूरीअनुसार लाग्ने शुल्क, होटलमा बसेको खर्च, फोटोग्राफवापतको खर्च, रिमाेट क्षेत्रमा गएर सर्भे गरेको खर्च आदि शीर्षकमा छुट्टै भत्ता पनि पाउँछन् । मोटरबाहेकका पोर्टफोलियोमा ५० हजार रुपैयाँसम्मको क्षति भएको रिपोर्ट आएको खण्डमा सर्भेयरले ७ हजार ५ सय, ५० हजार १ रुपैयाँदेखि १ लाख १ रुपैयाँसम्म दाबी आएको अवस्थामा ९ हजार ७५० रुपैयाँ र ३.९० प्रतिशत सर्भेयरले शुल्क पाउँछन् । सोही क्रमअनुसार १ करोड १ रुपैयाँभन्दा धेरै दाबी पेश भएको खण्डमा सर्भेयरले २ लाख ३५ हजार १७० रुपैयाँ र दाबी पेश भएको रकमको ०.६५ प्रतिशत रकम सर्भेयरले शुल्क पाउँछ । यसका साथै, होटल खर्च, फिल्ड भिजिट, फोटोग्राफलगायतको भत्ता छँदै छ ।

सलिकोको दुई दिने कर्मचारी अभिवृद्धि तालिम सम्पन्न

इटहरी । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले यही पुस १९ र २० गते इटहरीको होटल बरण्डामा कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको छ । सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षता र क्षमता वृद्धि गर्ने उद्देश्यसाथ तालिम आयोजना गरिएको हो । कार्यक्रममा प्रतिष्ठित अतिथिहरूको उपस्थित थियो, जसमा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोदकुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक कविराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम थिए । तालिम प्रशिक्षकहरूमा बजार विभागका नायब महाप्रबन्धक कविराज पौडेल, दाबी विभागका प्रमुख सुभाष दीक्षित, कोशी प्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ विभागका प्रमुख दिवस तिमल्सिन र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा थिए । प्रशिक्षकहरूले बीमा क्षेत्रका साथै अन्य समसामायिक विषयहरूमा जानकारी दिएका थिए भने नेपाल बीमा प्राधिकरणका विनोदकुमार पोख्रेलले बीमा तथा परिपालनसम्बन्धी आफ्नो धारणा राखेका थिए । इनहाउस तालिममा कोशी प्रदेशका सम्पूर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए, जसले सबै सहभागीहरूलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गर्‍यो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।