‘प्रभु स्मार्ट फण्डले लगानीकर्तालाई २५५ प्रतिशत प्रतिफल दिन्छ’

प्रभु क्यापिटलले आजदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ । प्रभु क्यापिटलले बिक्री गरेको म्युचुअल फण्डका बारेमा चिफ इन्भेष्टमेन्ट अफिसर दुर्गानन्द झासँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । झा प्रभु क्यापिटलमा साढे २ वर्षदेखि कार्यरत छन् । यसअघि उनले भारतको केपीएमजिमा ९ वर्षभन्दा बढी काम गरेका थिए । इन्भेष्टमेन्ट बैंकिङ्ग र मर्चेन्ट बैंकिङ्गमा अनुभवि झाले मर्कर र इनफोसिसमा समेत काम गरेका थिए । उनले एमबिए, सीएफए र एफआरएमको योग्यता पनि हासिल गरेका छन् । प्रभु म्युचुअल फण्ड अन्तर्गतको प्रभु स्मार्ट फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको फण्ड हो ? प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित सामुहिक लगानी योजना हो । प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको रहेको छ । फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तिय औजार अर्थात फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ । यसका लागि हामीले बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रयास गर्नेछौं । हामीले बजारमा रहेका उत्कृष्ट स्टकहरुलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित गर्छाैं । यस अघि नै हामीले प्रभु म्युचुअल फण्ड अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फण्ड ल्याएर सञ्चालन गरिरहेका छौं । उक्त योजनामा बढिमा ३० वटा स्टकमा लगानी गर्ने भनेर उत्कृष्ट ३० वटा स्टकहरुलाई छनोट गरेका छौं । तर, प्रभु स्मार्ट फण्डलाई भने हामीले थप लचकदार बनाएका छौं । यसमा लगानी आवश्यकता र बजारको उतारचढावलाई मध्यनजर गर्दै स्टकहरु छनोट गर्छाैं । साथै सूचिकृत कम्पनीहरुको प्रस्तुतिका आधारमा हाम्रो लगानी रणनीतिको अन्तरगत रहेर उच्चतम प्रतिफल हासिल हुने गरी लगानी रणनीतिलाई अवलम्बन गर्ने छौं । लगानी गर्नको लागि अहिले कस्तो समय हो ? बजारलाई कसरी हेरीरहनुभएको छ ? अहिले लगानी गर्नका लागि उचित समय हो । लगानीकर्ताहरु अहिले मार्केट भोलाटाइल भएका कारण लगानीका लागि दुविधामा रहेको अवस्था छ । बजारमा देखिएका्े अनिश्चित प्रकारको उतारचढावका कारण अधिकांश लगानीकर्ताले ठूलो जोखिम व्यहोर्नु परेको छ । नेप्से ३२ सय अंक हुँदा बजारमा थुप्रै नयाँ लगानीकर्ता प्रवेश गरेका थिए । तर यसबीचमा बजारमा गिरावट आएका कारण ती नयाँ लगानीकर्ताहरुले घाटा बेहोर्नुपरेको छ । राजनीतिक, आर्थिक तथा नियामकीय नीतिको कारणबाट सेयर बजारमा सिर्जित अनिश्चतता अझै पनि सकिएको छैन । यो अझै केही समय लामो हुने देखिन्छ । यस्तोमा दिर्घकालिन लगानी गर्न चाहने विभिन्न प्रकारका लगानीकर्ताहरुले कम जोखिम लिई उच्च प्रतिफलका लागि यस्तो म्युचुअल फण्डमार्फत लगानी गर्नु उपयुक्त हुन्छ । यसै परिप्रेक्ष्यमा लगानीकर्ताहरुको आवश्यकताको व्यवस्थापन गर्न सक्नेगरी प्रभु क्यापिटल अगाडि आएको छ र बजारमा दिर्घकालिन रुपमा लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो लगानीबाट कम जोखिममा उत्कृष्ट मुनाफाका लागि प्रभु स्मार्ट फण्ड योजनाको शुरुवात गरेको छ । यसमा हाम्रा आम सर्वसाधारण लगानीकर्ताहरुले थोरै जोखिम लिई दिर्घकालिन प्रतिफलको लागि लगानी गर्न सक्नुहुनेछ । प्रभु स्मार्ट फण्डका विशेषता क–के हुन् ? प्रभु स्मार्ट फण्डको आकार ८० करोडको छ । यो एउटा बन्दमुखी योजना हो । यस फण्डलाई नेप्सेमा सूचिकृत गरिने हुनाले लगानीकर्ताहरुले यसलाई प्राथमिक निष्काशन पश्चात पनि पुनः नेप्सेबाट कारोबार गर्न सक्नुहुनेछ । यस योजनामा प्रभु बैंकले १४ प्रतिशत अर्थात् ११ करोड २० लाख र प्रभु क्यापिटलले ८० लाख इकाई बीज पूँजी खरिद गर्न पाउँछ । बाँकी ८५ प्रतिशत लगानी हामीले बजारबाट उठाउनेछौंं । यो योजना इक्विटी ओरियन्टेड भएकाले यसले सूचिकृत कम्पनीहरुको सेयरमा ३५ प्रतिशतदेखि ९० प्रतिशतसम्म लगानी गर्नेछं । यस्तै, फिक्स्ड इन्स्ट्रुमेन्टमा न्यूनतम ५ प्रतिशतदेखि ३५ प्रतिशत लगानी गर्नेछ । लगानीकर्ताले फण्डमा न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नुहुनेछ । प्रभु स्मार्ट फण्डले वार्षिक औसत २५.५८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ । १० वर्षको अवधिमा यस योजना लगानी गर्ने युनिट होल्डरहरुलाई कूल २५५.७५ प्रतिशत प्रतिफल दिने लक्ष्य राखिएको छ । साथै, हामीले लाभांश दर पनि स्थीर राख्ने कोसिस गरिरहेका छौं । दोस्रो र तेस्रो वर्ष १०/१० प्रतिशत, चौंथो वर्षदेखि १० वर्षसम्म १२ प्रतिशत स्थिर लाभांश दिने प्रक्षेपण गरेका छौं । फण्डको सुपरभाइजर शुल्क न्याभको शुन्य दशमलव १ प्रतिशत, फण्ड म्यानेजमेन्ट शुल्क १.५ प्रतिशत, डिपोजिटरी शुल्क शुन्य दशमलव २ प्रतिशत रहनेछ । यदि माग गरेको भन्दा बढी आवेदन परेमा २० प्रतिशत वृद्धि गरेर फण्डको आकार १ अर्ब पुर्याउँछौं । सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ । यो बेला फण्ड बिक्री हुन सक्छ ? बजारमा तरलता अभाव भएको अवस्था छ र यो बेलामा लगानीकर्ताको मनोबल लगानीका लागि कम भएको अवस्था छ । तर, वास्तमा भन्नुपर्दा लगानीकर्ताहरुले यस्तै बजार घटेर तल्लो तहमा रहेको बेलामा नै दीर्घकालका लागि लगानी गर्न उचित हुन्छ । दिर्घकालिन रुपमा लगानी गर्नका लागि लगानीकर्ताहरुले विभिन्न प्रकारका लगानी औजारहरुमा लगानी गर्न सक्नुहुन्छ । धितोपत्रको दोश्रो बजारमा लगानी गर्दा अत्याधिक जोखिम हुने भएको हुँदा कम जोखिम लिन रुचाउनुहुने लगानीकर्ताहरुले दीर्घकालमा राम्रो प्रतिफल पाउनका लागि म्युचुअल फण्डमा लगानी गर्न सक्नुहुन्छ । लगानीकर्ताको म्युचुअल फण्डमा आकर्षण घटेको स्वभाविक हो । दोश्रो बजार जोखिमयुक्त रहेको र उतारचढाव पनि अत्याधिक रहेको हुँदा हिजोहाज लगानीकर्तामा ट्रेडिङ गर्ने मानसिकता बढि रहेको देखिन्छ । त्यसैले लगानीकर्ताहरुमा आजको भोलि रिटर्न खोज्ने प्रवृत्ति बढेको हुँदा म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण देखिँदैन । यसका साथै सरकारले पनि म्युचुअल फण्डमा सर्वसाधारणको लगानी अभिवृद्धिका लागि ट्याक्स छुट लगायतका नीति अवलम्बन गर्नुपर्नेमा त्यस्तो केही भएको देखिँदैन । यद्यपि दीर्घकालमा हेर्ने हो भने मुद्दती तथा कर्पोरेट डिबेन्चरको भन्दा धेरै प्रतिफल म्युचुअल फण्डले दिएका छन् । हालसम्म परिपक्क भएका म्युचुअल फण्डहरुको वार्षिक प्रतिफल औसत १९ प्रतिशतभन्दा बढी रहेको देखिन्छ । वाणिज्य बैंकहरुको मुद्दती खाताको औषत रिटर्न ९ प्रतिशतको हाराहारीमा छ । अहिलेको जस्तो बजार घटेको बेलामा म्युचुल फण्ड आउनुलाई लगानीकर्ताले दिर्घकालिन लगानीको अवसरका रुपमा लिनुपर्छ । किनभने यो बेलामा आएका फण्डहरुले युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सक्ने क्षमता राख्छन् । कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्ने भन्नुहुन्छ भने कसैले घटेको बेला । यसले लगानीकर्तामा दुविधा पार्दैन ? बजार माथि गएको बेलामा लगानीकर्ताको लगानी मनोबल उच्च रहने गर्दछ जसका कारण लगानीकर्ताहरुको सहभागिता उच्च हुन्छ भने घटेको बेलामा सहभागिता समेत कम भएको देखिन्छ । तर, ठूला ठूला लगानीकर्ताले बजार घटेकै बेलामा सेयर खरिद गरेका हुन्छन् । आम लगानीकर्ताले बुलिस सेन्टिमेन्ट राम्रो भएको बेलामा प्रवेश गर्छन् । जसले गर्दा उनीहरुको अत्याधिक जोखिम लिइराखेका हुन्छन् । यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो पोर्टफोलियोलाई विविधिकरण (डाइभर्सीफाइड) गर्नुपर्ने हुन्छ । म्युचुअल फण्डमा आकर्षण बढाउन लगानीकर्ताको सचेतना फैलाउन जरुरी छ । नियामक निकायले पनि म्युचुअल फण्डमा लगानी गर्नुपर्छ भनेर सचेतनामुलक कार्यक्रमको आयोजना गर्नुपर्ने हुन्छ । म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढाउनलाइ सरकारद्वारा करमा सुबिधा लगायतका विषयमा लचक हुने व्यवस्था गर्नुपर्छ । यस्तो हुन नसक्दा म्युचुअल फण्डको रोजाइ कम हुने गरेको छ । हाल सञ्चालनमा रहेका म्युचुअल फण्डको लाभांश दर घटेको छ । जसले आकर्षण पनि घट्दो छ । लगानीकर्तालाई आकर्षित गर्न के गर्नुहुन्छ ? अहिले अधिकांश म्युचुअल फण्डहरु इक्विटी ओरियन्टेड छन् । यस्ता फण्डहरुले इक्विटीमा मात्रै लगानी गरेका हुन्छन् । इक्विटीको रिटर्न मार्केट अनुसार लाभांश वितरण गरिन्छ । बजारको अवस्था बढेको छ भने रिजर्भ पनि राम्रो हुन्छ । त्यो बेलामा उनीहरुले धेरै लाभांश दिन सक्छन् । अहिले सबै क्षेत्रले बजारलाई प्रभाव पार्ने काम गरेको छ । विदेशमा पनि स्थिती गाह्रो छ । रसिया र यूक्रेन युद्धले मुद्रास्फिती बढेको छ । विश्वव्यापी रुपमा ब्याजदर बढेको छ । तरलता अभाव कायम छ । यसबाट नेपाल पनि प्रभावित हुन पुगेको छ । जसले गर्दा बजार घटेको हो । गत वर्षसम्म अर्थतन्त्रका सूचकहरु नकारात्मक थिए । तर पछिल्लो समय विस्तारै सुधारोन्मुख छ । ब्याजदर पनि घट्दै गएको देखिन्छ । ब्याजदर घटेपछि र वाह्य पक्ष सकारात्मक भएपछि बजारले माथि जान्छ । बैंकको ब्याजदर घटेपछि मुद्दती भन्दा म्युचुअल फण्डमा आकर्षण बढ्छ । बजार उच्च हुँदा म्युचुअल फण्डले शतप्रतिसम्म लाभांश वितरण गरे । बजार घटेको बेला लाभांश नै वितरण गरेनन् । त्यसैले पनि बजार बढेको बेला लगानी गर्नुपर्छ भन्ने मानसिकता छ नि ? इक्विटी ओरियन्टेड फण्डहरुले बजार बढेको बेलामा नै बढी प्रतिफल दिन्छन् । बजार बढेको बेला लाभांश वितरण गर्ने क्षमता बढी हुन्छ । बजार घटेको बेला फण्डको न्याभ पनि घट्छ । न्याभ घटेको बेला प्रतिफल पनि कम हुन्छ । इक्विटी ओरियन्टेड स्किम भएकाले बजार बढेको बेलामा मार्केटलाई बिट गरेर राम्रो प्रतिफल दिएका हुन् । किनभने म्युचअल फण्ड म्यानेजरहरुमा लगानी व्यवस्थापन दक्षता राम्रो हुन्छ । जसका कारणबाट उनीहरुले व्यवस्थापन गर्ने म्युचुअल फण्डबाट बढि मात्रामा पूँजीगत लाभ प्राप्त गर्ने क्षमता राख्दछन् । हाम्रो उदाहरण हेर्नुहुन्छ भने पनि हामीले व्यवस्थापन गरेको पहिलो म्युचुअल फण्ड प्रभु सेलेक्ट फण्डको व्यवस्थापन उच्चतम रुपमा भएको देख्न सक्नुहुनेछ । हामीले बजार उच्च विन्दुमा रहेको बेलामा निष्काशन भएता पनि अहिले बजार सो विन्दुबाट घटेर झण्डै २६ प्रतिशतले तल रहेको अवस्थामा पनि यसको न्याभ अर्थात खुद सम्पत्ति मुल्यलाई ४.८० प्रतिशतले सकारात्मक बनाएर राखेका छौं । अर्थात यदि लगानीकर्ताहरुमध्ये कसैले त्यसबेला नेप्सेमा १०० रुपैयाँ लगानी गर्नुभएको थियो भने घटेर सो लगानी घटेर ७४ रुपैयाँमा आएको बेलामा पनि प्रभु सेलेक्ट फण्डमा १०० रुपैयाँ लगानी गर्नुभएको थियो भने सो लगानी अहिले पनि १०४ रुपैयाँ ८० पैशा भएको अवस्था हो । त्यसैले हाम्रो लगानी रणनीति अनुसार बजार बढेको बेलामा मात्रै होइन बजार घटेको बेलामा पनि हामीले लगानीकर्ताहरुको हामी प्रतिको विश्वासलाई टुट्न दिएका छैनौं । त्यसैले हामी के भन्छौं भने बजार उच्च भएका बेलामा यदि कसैले सूचीकृत सेयरमा लगानी गरेको छ भने बजार घटेर आउँदा ठूलो घाटा हुने सम्भावना बढी हुन्छ । त्यसैले लगानी व्यवस्थापन क्षमता र दक्षता भएका म्युचुअल फण्ड म्यानेजरले व्यवस्थापन गर्ने म्युचुअल फण्डहरुमा दीर्घकालमा उच्च प्रतिफल प्राप्त गर्ने उद्देश्य बोकेका लगानीकर्ताहरुले लगानी गर्नु उपयुक्त हुन्छ । प्रभु स्मार्ट फण्डले कुन–कुन क्षेत्रमा लगानी गर्छ ? फण्डबाट संकलन भएको रकमलाई रणनीति अनुसार लगानी गर्छाैं । धितोपत्र बोर्डका निर्देशिकाहरुले तोकेको क्षेत्रमा फण्डको लगानी गर्छाैं । फिक्स्ड इनकम इन्स्ट्रुमेन्ट, मुद्दती र ऋणपत्रमा कति राख्ने भनेर सीमा तोकिएको हुन्छ । इक्विटीमा पनि न्यूनतम यति गर्नुपर्छ भनेर सीमा तोकिएको हुन्छ । इक्विटी बढी चार्मिङ हुने भएकाले त्यसतर्फ धेरै लगानी गर्छाैं । इक्विटीमा ३५–९० प्रतिशत लगानी गर्ने योजना छ । यसमा लगानी गर्दा जोखिम उच्च हुन्छ । कम जोखिम भएका निश्चित प्रतिफल प्रदान गर्ने इन्स्ट्रुमेन्टमा ५–३५ प्रतिशत लगानी गर्छाैं । जसमध्ये १५ प्रतिशत मुद्दती, २० प्रतिशत ऋणपत्र र १–२५ प्रतिशत आईपीओ तथा अलपकालीन उपकरणमा लगानी गर्छाैं । प्रभु सेलेक्ट फण्ड चर्चा गर्नु भयो यसको अहिलेको अवस्था कस्तो छ ? प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटलको पहिलो म्युचुअल फण्ड हो । हामीले यो फण्ड बुलिस ट्रेण्डमा हुँदा बिक्री गरेका थियौं । त्यो बेला बजारमा चमक धेरै थियो । तर, फण्ड निष्काशन गरेको केही समय पछि बजार निकै तल झर्याे । फण्ड निष्काशनदेखि अहिलेसम्म बजार २६ प्रतिशत घटेको छ । तर, प्रभु क्यापिलटले फण्डको न्याभ सकारात्मक नै मेन्टेन गर्न सफल भएको छ । माघ महिनाको न्याभ १०.४८ प्रतिशत छ । फण्ड करिब ५ प्रतिशत सकारात्मक छ । बजार २६ प्रतिशत घट्दा पनि फण्डलाई जोगाएका छौं । हामीसँगै आएको अन्य फण्डको तुलना गर्ने हो भने प्रभु सेलेक्ट फण्ड एकदमै राम्रो अवस्थामा रहेको देखिन्छ । बजार घटेको हुँदा प्रभु सेलेक्ट फण्डले लाभांश वितरण गर्न सकेको छैन । अहिले फण्डको न्याभ जोगाउनु नै ठूलो कुरा हो । बजारले साथ दियो भने राम्रो रिजर्भ श्रृजना गरेर अगामी दिनमा राम्रो लाभांश दिन्छौं । अधिकांश म्युचुअल फण्डको न्याभ घटेको छ । तर, प्रभु सेलेक्ट फण्डले कसरी सकारात्मक राख्न सफल भयो ? प्रभु क्यापिटलको अनुसन्धान टिम रोबोस्ट छ । स्टक स्क्रिनिङ्गदेखि लिएर सेक्टर एलोकेसन, स्टक सेलेक्सन सबैलाई ब्यालेन्स राखिएको छ । फण्ड निष्काशन गर्दाखेरी नै बजारको अवस्था हेरेर लगानी गरिएको छ । त्यसैले फण्डलाई सकारात्मक राख्न सफल भएका छौं । लगानीकर्ताको सम्पत्ति जोगाउन सफल भएका छौं । जब बजारले उकालो यात्रा तय गर्छ तब राम्रो लाभांश वितरण गर्न सक्छ भन्ने हामीलाई विश्वास छ । प्रभु स्मार्ट फण्डले १० वर्षमा २५५ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यो कसरी सम्भव हुन्छ ? हामीले हाम्रो लगानी व्यवथापन कुशलता र बजारको चाल अनुसार हासिल हुन सक्ने किसिमको वास्तविक प्रक्षेपण गरेका हौं । अन्य म्युचुअल फण्डको प्रक्षेपणको तुलनामा हामीले बजार प्रति सकारात्मक हुँदै गर्दा पनि सन्तुलित ढंगले प्रतिफल प्रदान गर्ने लक्ष्य राखेका छौं । त्यसै अनुसार नै हामीले लाभांश दर वार्षिक १०/१२ प्रतिशतसम्म कायम राख्ने लक्ष्य राखेका छौं । अहिले बजार बियरिस मार्केट ट्रेण्डमा छ र अझै भन्नु पर्दा बजारको न्यूनतम तहको नजिक रहेको अनुमान हामीले गरेका छौं । यहाँबाट अबको एकदुई वर्षमा हामीले पुनः अर्को बुल मार्केट देख्न सक्ने अपेक्षा गरेका छौं । त्यसैले हामीले यस फण्डको १० वर्षको अवधिमा कम्तिमा २ वटा बुल मार्केटको सामना (फेस) गर्ने प्रक्षेपण लिएका छौं । यसैले हामीले १० वर्षको अवधिमा यो फण्डमा १० रुपैयाँ लगानी गर्ने युनिट होल्डरले लगानीको २.५ गुणा अर्थात २५ रुपैयाँ ५० पैशा सम्मको प्रतिफल प्रदान गर्ने लक्ष्य राखेका छौं । म्युचुअल फण्डको लाभांश किन स्थीर हुँदैन ? शेयर बजारमा आउने उतारचढावसँगै सामुहिक लगानी योजनाहरुले हासिल गर्ने पूँजीगत लाभ तथा लाभांशको अवस्थामा पनि फेरबदल भइरहेको हुन्छ । अझ हाम्रो बजारमा सामुहिक लगानी योजनाहरुले अधिकांश लगानी सूचिकृत कम्पनीहरुको सेयरमा गर्ने भएको हुँदा र शेयर बजारमा विभिन्न नियामक निकायहरुबाट लिइएको नीतिले बजारको गतिलाई जहिले पनि अस्थिर बनाइराख्ने भएको हुँदा त्यसको असर म्युचुअल फण्डको प्रतिफलमा समेत पर्ने गर्दछ । यसै कारण म्युचुअल फण्डको लाभांश पनि घटबढ भइरहन्छ । प्रभु क्यापिटलले अन्य कुनै फण्ड ल्याउने योजना बनाएको छ ? प्रभु स्मार्ट फण्ड एक बन्द मुखी योजना हो । यो योजनाको निष्काशन पश्चात् हामी खुलामुखी फण्ड निष्काशनको तयारी मा छौं । उक्त फण्ड निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छौं । धितोपत्र बोर्डले स्वीकृति दियो भने हामी यस पश्चात तुरुन्तै सो खुलामूखी फण्ड निष्काशन गर्नेर्छाैं । अहिलेको समयमा अधिकांश फण्ड व्यवस्थापकसँग ३/४ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् । हाम्रो यी दुई वटा फण्ड पश्चात हामी अर्काे फण्ड पनि निष्काशन गर्छाै । ग्राहकहरुसँग प्रभु क्यापिटलको छुट्टै लिगेसी छ । आगामी दिनमा पनि राम्रो प्रतिफल दिन सक्ने फण्ड ल्याउने योजना छ । खुलामुखी फण्डबाट हामी लगानीकर्ताको माझमा गएर व्यवस्थित लगानी रणनीति बनाउँछौं । म्युचुअल फण्डको भविष्य कस्तो देख्नु भएको छ ? म्युचुअल फण्डको भविष्य राम्रो छ । म्युचुअल फण्ड राम्रो प्रतिफल दिने क्षेत्र हो । यद्यपि हाम्रो बजारमा अल्पकालिन लाभको लागि मात्रै सोच्ने लगानीकर्ता हावी भएको हुँदा वर्तमान समयमा यसप्रति उत्ति चासो रहने गरेको पाइन्न । यसको एउटा प्रमुख कारण भनेको यसको बारेमा उचित जानकारी तथा ज्ञान विस्तार नहुनु हो । यसका साथै अहिलेसम्म बजारले थप लगानी औजारहरुको साथै बजार विकासका औजारहरुको विकास राम्रोसँग गर्न नसकेका कारण समेत त्यसको असर यसमा परेको देखिन्छ । यसका साथै सरकारले लगानीकर्ताहरुलाई म्युचुअल फण्डमा लगानीका लागि प्रोत्साहन गर्ने नीति लागू नगरेका कारण पनि म्युचुअल फण्डको शुरुवात गर्दा जुन उद्देश्य राखिएको हो त्यसको पूर्ण रुपमा प्राप्ति हुन सकेको देखिँदैन । यद्यपि हामीलाई के विश्वास छ भने यो सबै अवस्था क्षणिक हो । विस्तारै सबै कुराहरुको विकास हुँदै जानेछ र हामीले खोजेको जस्तै पूँजी बजारको अवस्था बन्नेछ । त्यसकारण आगामी दिनहरुमा म्युचुअल फण्डको भविष्य थप राम्रो हुने विश्वास हामीले लिएका छौं । म्युचुअल फण्डमा लगानीकर्ताहरुलाई आकर्षित गर्न नियामक निकायदेखि सरकारले अझै सहयोग गर्नुपर्छ । लगानीकर्तालाई म्युचुअल फण्डमा आकर्षित गर्न भूमिका निर्वाह गर्नुपर्छ । अहिले म्युचुअल फण्डको आकार ३०/३२ अर्बको पुगेको छ र ५/७ वर्षपछि यो आकार दोब्बर हुनेछ ।

बीमा कम्पनीहरु धरासायी बन्न सक्छन्, बैंकको ब्याज बढ्नु स्वभाविक हो : पाण्डेसँगको अन्तर्वार्ता

नेपाली उद्योग व्यवसाय क्षेत्रमा सीमित घराना र व्यवसायी सफल भएका छन् । कतिपय उद्योग व्यवसाय गर्न नसकेर बिचमै पलायन हुन्छन्, कतिपय जीवभनर व्यवसयामा लागेर सफलता हासिल गर्दैनन् त कतिपयले एकताका निकै सफलता हासिल गरेर बिचमै विभिन्न बदमासीहरुको कारण यो क्षेत्रबाटै पलायन हुन बाध्य हुनु पर्छ । यस्ता उदाहरणहरु नेपाली उद्योग व्यवसाय क्षेत्रमा व्याप्त छन् । तर, आफुले नेपाली उद्योग व्यवसायको क्षेत्रमा एक फरक किसिमको योगदान र आफु पनि सफल उद्योगी व्यवसायीका रुपमा स्थापित हुन सफल भएको दाबी गर्छन् प्रदिपजंग पाण्डे । नेपालको औद्योगिक विकासमा वयस्कदेखि नै लागेर ७५ वर्षको उमेरसम्म पनि सक्रिय रुपमा काम गरिरहेका पाण्डेले छोराहरुसँगै तेस्रो पुस्तालाई पनि व्यवसायमै स्थापित गराउन प्रयास गरिरहेका छन् । लोमश ग्रुपका अध्यक्ष पाण्डे एक सालिन र सभ्य व्यवसायीको छवि भएका उद्योगीका रुपमा परिचित छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका उनले बैंक तथा वित्तीय क्षेत्र, स्वास्थ्य, बीमा, सिमेन्ट, जलविद्युत लगायत क्षेत्रमा लगानी गरेका छन् । उनै पाण्डेसँग विकासन्युजका लागि सन्तोष रोकाया र सीआर भण्डारीले उनको व्यवसायिक जीवन र समसामयिक उद्योग व्यवसाय क्षेत्रको विषयमा कुराकानी गरेका छन् । जीवनको उत्तरार्धमा पनि व्यवसायमा सक्रि देखिनुहुन्छ, तपाइको दैनिकी कसरी बितिरहेको छ ? आफूले रोपेका, उमारेका अथवा सुरु गरेका व्यवसायहरुलाई अब्बल गर्ने काम गरिरहेको छु । सरकारको नियम कानुनभित्र रहेर आर्थिक क्षेत्रमा टेवा पुग्ने गरी व्यवसायमा संलग्न कर्मचारी र मजदुरहरुको हकहित कायम राखेर नयाँ प्रविधि र सिस्टम विकास गरेर आफ्नै क्षेत्रमा अघि बढिरहेको छु । हिमालयन बैंक ६ करोड र सिटिजन्स बैंक ५६ करोड पुँजीमा स्थापना भएका हुन् । सिभिल बैंकलाई राम्रो सिनिर्जी दिने गरी हिमालयनसँग मर्ज गरायौं । ४ जना सञ्चालकको १४ करोडका दरले ५६ करोडमा स्थापना स्थापना गरिएकोमा अहिले १४ अर्बको पुर्याएका छौं । आफूले रोपेका बोटविरुवा (व्यवसाय)हरु राम्रोसँग प्रगति गराउन कानुनी रुपमा काम गरिरहेका छौं । भद्रगोल गरेर मनपरी नगर्ने र सरकारको नियम कानुन भित्र रहेर अर्थनीतिलाई टेवा पुर्याउने मेरो संस्कार हो । साथै, मजदूर र कर्मचारीको हीतलाई मध्यनजर गरेर नविनतम् प्रयास गरिरहेको छु । पछिल्लो समय अर्थतन्त्रको विषयमा विभिन्न चिन्ता चासो तथा वहस हुन थालेको छ, तपाईंको विश्लेषण के छ ? एउटा गोठमा भएका गाइ वस्तु र बाख्राहरुलाई स्वतन्त्र छाड्ने हो भने अर्काको बारीमा गएर बिगार्न सक्छन् । कहिलेकाँही डिलमा गएर लड्न पनि सक्छन् । त्यसैले गोठालो आवश्यक पर्छ । गोठालो भएपछि डिलमा जान दिँदैन र अर्काको बाली खान दिँदैन । कुनैपनि संरचनाहरुले तलमाथि गर्याे, नियम संगत काम गरेन, सरकारको नीति नियम अनुसार काम गर्न सकेन भने राष्ट्र बैंकले सुपरभिजन गर्नुपर्छ । डा. युवराज खतिवडा गभर्नर हुँदा हाउजिङमा धेरै लगानी भएकाले नियन्त्रण गर्नुभयो । यदि त्यही बेला नियन्त्रण नगरेको भए अर्थतन्त्र उतिबेला नै बिग्रिसक्थ्यो । डा. खतिवडाले राम्रोसँग परिचालित गरेर हाउजिङलाई व्यवस्थित गर्नुभयो । उहाँ अर्थमन्त्री हुँदा बिग्रेको अर्थतन्त्र सम्हाल्नु भयो । उहाँकै पहलले गर्दा अर्थतन्त्र अहिले पनि सही ट्रयाकमा छ । तर, अर्थतन्त्र फुत्किन सक्ने अवस्थामा पुगेको छ । नियम कानुनभन्दा बाहिर जाँदा सरकारको आम्दानी घटेको छ । किनभने उत्पादन गर्ने वातावरण श्रृजना भएको छैन । उत्पादन नभएपछि आयात बढेको छ । आयात बढ्दा मुद्रा बाहिरिन्छ । त्यसपछि काम गर्ने वातावरण पनि घट्दै जान्छ । उत्पादन नहुँदा बैंकको लगानी गर्ने क्षेत्र पनि घट्दै जान्छ । फेरी कोरोना महामारीले पनि ठूलो असर गरेको छ । होटलहरु एक/दुई वर्ष बन्द भए । उत्पादन क्षेत्रमा ठूलो असर गर्याे । कृषिमा सरकारले जतिसुकै अनुदान दिएपनि सही ठाउँमा पुगेको छैन । टाँठाबाँठाले मात्रै अनुदान खाएर वास्तविक कृषकमा अनुदान पुग्न सकेन । किसानले समयमा मल पाउन सकेका छैनन् । किसानले आफूले उत्पादन गरेका वस्तुहरुको बजार पाएका छैनन् । किसानले सिँचाइको सुविधा पाएका छैनन् । बैंक तथा वित्तीय संस्थाबाट सहजै कर्जा पाउन सकिरहेका छैनन् । छिमेकी देश भारतमा हेर्ने हो भने किसानलाई धेरै सहज छ । जसले गर्दा हाम्रो उत्पादन भन्दा भारतीय उत्पादन सस्तो भएर आउँछ । अन्य उत्पादनमा पनि लागत धेरै छ । लागत धेरै भएपछि भारतको सामानले नेपालको बजार कब्जा गरेको छ । खुला अर्थतन्त्रमा प्रतिस्पर्धा हुनु स्वभाविक हो । तर, हामीले प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं । कुखुराका चल्ला र अण्डा बाहिरबाट ल्याउने गरिएको छ । आफ्नै देशमा भएको चल्ला र अण्डा नष्ट गर्ने बानी परेको छ । राष्ट्रिय उद्योगलाई टेवा पुर्याउन र दीगो गर्नका लागि सरकारले संरक्षण गर्नु पर्छ । आम नागरिकले पनि यो हाम्रो उत्पादन हो भनेर खरिद गर्ने वातावरण श्रृजना गर्नुपर्छ । स्वदेशी वस्तुहरु प्रयोग गर्ने भावना बनाउनु पर्छ । सरकार र आम नागरिकको सोचाइ परिवर्तन गर्न जरुरी छ । त्यसपछि मात्रै भएका संरचना, उद्योग, कृषि जन्य वस्तुहरु जोगिन्छन् । अहिले जोगिन सक्ने अवस्था नै छैन । कृषि र उत्पादन क्षेत्रलाई जोगाउन कठिन भएको छ । सबै क्षेत्रलाई जोगाउने हो भने रोजगारी वृद्धि, आर्थिक चलायमान, आयात न्यूनीकरणर निर्यात बढाउन सकिन्छ । यदि यी सबै काम भयो भने देश बलियो हुन्छ । सरकारको राजश्वमा पनि वृद्धि हुन्छ । आर्थिक विकास र उत्पदानशीलता ह्रास आएकाले आजभन्दा भोलि गाह्रो र भोलिभन्दा पर्सी गाह्रो हुने देखिन्छ । त्यसैले समयमा सजग हुन पर्छ । अर्थतन्त्रमा सकस पर्दा उद्योगी व्यवसायीहरु टिक्नै गाह्रो भयो भनेर गुनासो गरिरहेका छन्, अहिले साच्चिकै चिन्ताजनक अवस्था हो ? संरचनाको बागडोर सम्हालेपछि टिकाउने काम पनि गर्नुपर्छ । उसले गर्न सक्छु भनेर बागडोर सम्हालेको हुन्छ । सरकारले गर भनेर जबरजस्ती गर्न लगाएको हुँदैन । आफुले जिम्मेवारी लिएपछि लागत कम गर्ने, गुणस्तरलाई वृद्धि गर्ने र बजारमा स्थायीत्व कायम गर्न सक्नुपर्छ । त्यो गर्न नसक्ने बाहिरिएका छन् । बाहिर जाँदा पनि सीप नहुँदा समस्या खेप्नु परेको छ । कस्ट अफ प्रडक्सन मँहगो छ । किनभने सरकारले दिने सेवा सुविधाहरु ढिला सुस्ती छ । जस्तो सरकारले दिने विदा (छुट्टि) पनि धेरै छन् । यति धेरै विदा अन्य देशमा हुँदैन । जस्तो कुनै सामान आयात गर्नुपर्याे हप्ता दिन कुर्नु पर्ने हुन्छ । सामान भन्सारबाट छुटाउँदा खेरी सरकारले विविधिमा २ प्रतिशत लिने गरेको छ । त्यो पैसा हामीले फोकटमा जम्मा गर्नु परेको हो । भन्सारमा सक्कली कागज लिएर जाँदा ३÷४ दिन पछि सामान छुट्छ । आज विदा, भोलि विदा पर्सी पनि विदा हुँदा समयमा काम हुन सकिरहेको छैन । जसले गर्दा ट्रक भाडा पनि महँगो तिर्नुपरेको छ । नियम कानुनहरु जटिलै जटिल छन् । यसरी नेपालमा उद्योगहरु दीगो हुन सक्दैनन् । अहिले सबै अनलाइनबाट गर्न सकिन्छ तर अझै पनि भन्सारमा अनलाइनबाट काम हुन सकिरहेको छैन । साथै, मजदूरका समस्या पनि उत्तिकै छन् । काम अनुसारको ज्याला पाएका छैनन् । विकृति मात्रै बढेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेका कारण ढुवानी भाडा अचाक्लि बढेको छ । भारतमा ५ लाख रुपैयाँ पर्ने गाडी नेपालमा २५ लाख रुपैयाँ पर्छ । भारतको ट्रक खुलम खुला नेपालमा आउँछन् भने नेपालका ट्रकहरु जान पाउँदैनन् । ट्रकहरुलाई पनि मर्का परेको छ । बिना क्वारेन्टाइन भारतीय सामानहरु आयात भइरहेका छन् तर नेपालको सामान निर्यात हुनै सकिरहेका छैनन् ।उत्पादन क्षेत्र बढाउन ढुवानी भाडा सस्तो, सरकारी सेवा सहज, मजदूरको इफिसेन्सी, सरकारको कर प्रणाली राम्रो हुनुपर्छ । यो सबै भएन भने उत्पादन क्षेत्रलाई असर पर्छ । त्यसैले पनि उद्योगीहरु झण्झट देखेर विदेश जाने गरेका छन् । कृषिमा लगानी गर्याे भने लागत पनि उठ्दैन । उद्योगमा लगानी गर्ने वातावरण छैन । एकदुई जना खराब हुन सक्छन् । तीनिहरुलाई नियमसंगत कारवाही गरे हुन्छ । तर, सबैलाई एउटै बास्केटमा राखेर एउटै नजरले हेर्न मिल्दैन । सरकारकै कारण मनोबल पनि कमजोर बन्दै गएको छ । पछिल्लो समय उद्योगी–व्यापारीहरु बैंकको ब्याज उच्च भयो भनेर आन्दोलनमा छन्, तपाईं आफै पनि बैंकको सेयरधनी हो, विभिन्न उद्योग व्यवसायमा पनि संलग्न हुनुहुन्छ, अहिले बैंकहरुले उद्योगी व्यवसायीलाई समस्यामा पार्ने काम गरेकै कुन् ? राष्ट्र बैंकले साढे ११ प्रतिशत ब्याज दिइरहेको छ । यो भनेको आधार दर कायम भए सरह हो । राष्ट्र बैंकले दिने ब्याजमा कर पनि तिर्नु पर्दैन । बैंकले दिने ब्याजमा कर पनि तिर्नुपर्छ । बिना करको साढे ११ प्रतिशत दिएपछि बैंकहरुले पनि ब्याजदर बढाउनु स्वभाविक हो । ब्याजदर महँगो भएको स्वभाविक हो । किनभने हामीसँग पैसाको अभाव छ । बैंकहरुमा निक्षेप नै जम्मा हुँदैन । मुद्दती खातामा १२ प्रतिशत ब्याज दिन्छु भन्दा पनि निक्षेप आउनै सकेको छैन । नेपाली सेना, प्रहरी अक्षय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थासँग मात्रै पैसा छ । एक्सचेञ्ज कम्पनीहरुसँग पनि पैसा छ । तर, सर्वसाधारणको निक्षेप जम्मा गर्ने क्षमता नै कम हुँदै गएको छ । बाँकी जोसँग पैसा छ उनीहरुले ब्याज बढि पाइने भएकाले सहकारीमा जम्मा गरेका छन् । वाणिज्य बैंकहरुले १३ प्रतिशत दिँदा सहकारीले १५ प्रतिशतभन्दा बढी ब्याज दिन्छन् । सरकारले सहकारीलाई नियन्त्रण गर्न सकेको छैन । सहकारीले पनि जम्मा गर्न राखेको पैसा खाएर भागेका छन् । उद्योगीहरुसँग निक्षेप नभएर ऋण मात्रै हुन्छ । कहिल्यै पनि उद्योगी व्यवसायीहरुले राख्दैनन् । रेमिट्यान्सबाट आएको रकमले मात्रै धान्न सक्दैन । धेरै तलव खानेहरु विदेशमा नै सेटल भएर बसेका छन् । उनीहरुले नेपालको घरजग्गा पनि बेचेर गइसके। पढ्न गएका विद्यार्थीहरुले पनि अर्बाै रुपैयाँ बाहिर लगेर गए । जति पैसा विदेशबाट आउँछ त्यो भन्दा बढी शिक्षाका लागि विदेश गइरहेको छ । बैंकमा पैसा नआएपछि ब्याज बढाउनु स्वभाविक हो । अधिकांश बैंकहरुले घरघरमा गएर पैसा लिएर आउ भनिरहेका छन् । जति हुन्छ त्यो सबै पेसा लिए आउन निर्देशन दिइरहेका छन् । २५ प्रतिशत सहकारीमा राखेको पैसा डुबेको छ । सरकारले सहकारी क्षेत्रलाई नियन्त्रण गर्न नसक्दा चुकेको छ । स्वास्थ्य सेवा पनि अचाक्ली महँगो छ । यदि कोही मान्छे विरामी परेको छ भने सामान्य उपचार गराउन एक÷डेढ लाख रुपैयाँ खर्च हुन्छ । खेती किसानी र बाख्रा बेचेर घर खर्च चलाउने व्यक्तिको एक÷डेढ लाख रुपैयाँ खर्च गर्न क्षमता हुँदैन । त्यसपछि उनीहरुले बाध्य भएर घरजग्गा बिक्री गरेर सुकुम्बासी हुनु परेको छ । तल्लो तहसम्म पुग्ने हो भने कहाली लाग्दो अवस्था छ । अहिले उठेको आवाज पनि यही हो । यदि यो आवाजलाई समसमा कम गरेन भने यसले विकराल रुप लिन सक्छ । मेचीदेखि महाकालीसम्मको अवस्था नाजुक छ । कतिपय मानिसहरुलाई गुन्द्रुक र भात खानलाई पनि धौँधौँ छ । अधिकांश मान्छेहरु विदेश गएर उतै बसेका छन् भने कतिपयको लाश मात्रै आउने गरेको छ । नेपाल फर्किदा श्रीमान एक्लै हुन्छ, श्रीमती घरमा हुँदैन । अहिले युवाहरु विदेशिने प्रवृति बढी छ, धेरै उद्योगी व्यवसायीहरुका छोराछोरीहरु र उच्च सरकारी कर्मचारीहरुका छोराछोरी पनि सुविधा सम्पन्न देशमा छन्, अनि देश बनेन भनेर तपाईंहरुले कराएर हुन्छ ? नेपालीहरु विदेश गएका छन् भने बाहिरका मान्छेहरु पनि यहाँ आउँछन् । तर, हामीले त्यो दिन सेवा सुविधा दिन सक्नुपर्छ । पारदर्शी, सुशासन, पुर्वाधार, विकास, खानेपानी लगायतका सबै सेवा दिन सक्नुपर्छ । नेपालमा सबै कुराहरु महँगो छ । हामीले विष खाएको हुन्छौं । हामीले खाने कुराहरुको जाँच हुँदैन । सरकारले शिक्षाको गुणस्तर बढाएर विदेशी मान्छेहरुलाई अध्ययनका लागि भित्र्याउन सक्नुपर्छ । बङ्गलादेश, भारतका विहार र उत्तर प्रदेश, भूटान लगायतका देशको शैक्षिक गन्तव्य नेपाललाई बनाउन सक्नुपर्छ । अहिले पनि कयौं मान्छेहरु डाक्टर, इन्जिनियर पढ्न बाहिर गएका छन् । दुई÷तीन वर्ष राम्रोसँग काम गर्ने हो भने कायापलट गर्न सकिन्छ । अहिले अस्थीरता बढेको छ । व्यवसायीलाई हेर्ने नजर र व्यवहार राम्रो छैन । व्यवसायीहरुलाई सहानुभूति र चाँडै काम हुने हो भने धेरै परिवर्तन हुनसक्छ ।पर्यटनमा पनि संसारभरका मान्छेहरु नेपालमा आउँछन् । नेपालमा अवसर धेरै छन् । विदेशमा मरुभूमिमा खेती गरिरहेका छन् । भारतले दिल्लीबाट मुम्बइ १२ घण्टामा पुग्ने गरी सडक विस्तार गर्याे । तर, नेपालमा जहाँ त्यहीँ खाल्डाखुल्डी मात्रै छन् । बाटोमा राम्रोसँ हिड्न मिल्दैन । सही ठाउँमा पानी खान पाइँदैन । हाम्रा सन्तानहरु विदेश पलायन हुने सम्भावना छ । अहिले गाउँमा प्लस टू पढ्ने विद्यार्थी छैनन् । कलेजहरुमा एक जना पनि पढ्ने विद्यार्थी छैनन् । फार्मेसी कलेजहरु बन्द गर्नुपर्ने अवस्थामा छन् । तपाईंको लगानी पर्यटन, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, बीमा, सिमेन्ट लगायत क्षेत्रमा छ, यति धेरै क्षेत्रमा लगानी गर्दा तपाईंलाई सन्तुष्ट कुन क्षेत्रबाट मिलेको छ ? म सबै क्षेत्रमा सन्तुष्ट छु । मैले नकारात्मक कहीँ पनि देखेको छैन । आफूले गर्ने काममा सन्तुष्ट हुन सक्नु पर्छ । सिभिल बैंकले राम्रो काम गरेको हुँदा कर्मचारी, संस्थापकहरु, सेयरधनीहरु सबैलाई फाइदा हुने गरी हिमालयन बैंकसँग मर्ज भएको छ । म सिटिजन्स लाइफको अध्यक्ष भएको ५ वर्ष भयो । जीवन बीमा कम्पनीहरु धरासयी हुने सम्भावना छ । किनभने जीवन बीमा गर्ने संख्या घट्दो छ । किनभने पहिला खानु पर्याे त्यसपछि ओखती गर्नुपर्छ । तर, खानलाई पैसा छैन । खानलाई पैसा नभएपछि बीमा कम्पनीहरु धरासयी बन्छन् । विगत ९÷१० महिनाको तथ्याङ्क हेर्ने हो भने सरेण्डर गर्नेको संख्या बढेको छ । बीमा सरेण्डर गरेपछि नयाँ विजनेश आउँदैन । आर्थिक संकट आउँदा अमेरिकामा बैंकहरु बन्द भएका थिए । त्यस्तै अवस्था नेपालमा पनि आउन सक्छ । नाफाका हिसावले अहिले कुनै पनि क्षेत्र राम्रो छैन । पहिला बैंकिङ्ग क्षेत्र राम्रो थियो । एउटा सेयरको मूल्य ३÷४ हजारभन्दा बढी थियो । तर, अहिले १ सय रुपैयाँको सेयर १ सय रुपैयाँमा नै पाइन्छ । जे पहिला थियो त्यो सबै भयो अब प्रतिस्पर्धा हुन थालेको छ । अहिले दीगो हुनेगरी खरो प्रतिस्पर्धा गर्नुपरेको छ । अहिले बाच्न सक्यो भने पछि पनि नाफा कमाउन सकिन्छ । अहिले नै कोल्याप्स भयो भन त भोलि नाफाको के आश गर्नु । त्यसैले एक÷डेढ वर्ष अझै टिक्न सकियो भने पछि पनि राम्रो नाफा कमाउन सकिन्छ । अहिले बैंकहरु धमाधम कर्जरमा गइरहेका छन्, तपाईं सिटिजनस बैंकको पनि लगानीकर्ता हो, तर सिटिजन्स मर्जरमा जान सकेको छैन, तपाईंहरु मर्जरमा नजाने रणनीतिमा हो ? बेस ठूलो हुँदैमा सबै कुरा ठूलो हुन्छ भन्ने हुँदैन । सिटिजन्स बैंकको १४ अर्बको पुँजी छ । बैंकको पुँजी बढाएपछि दोब्बर प्रतिफल दिन सक्नुपर्छ । १४ अर्बमा नै राम्रो प्रतिफल दिन सक्षम छ । तर, ३०÷३५ अर्ब पुँजि भएका बैंकले कम पुँजी भएका बैंक जति पनि लाभांश दिन सकिरहेका छैनन् । जस्तो स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुँजी थोरै छ तर प्रतिफल धेरै दिन्छ । पुँजी धेरै गरेर नम्बर वान बन्ने होडवाजी छ । ३८ अर्बको पुँजी भएपछि प्रतिफल धेरै दिन सक्नु पर्याे । ग्राहकहरुलाई गुणस्तरीय सेवा दिएर सन्तुष्ट बनाउनु पर्याे । होडवाजी गरेर पुँजी बढाउन जरुरी छैन । तर, राष्ट्र बैंकको नियमलाई आत्मसात गरिरहेका छौं । भोलिका दिनमा न्यूनतम पुँजी २० अर्ब पुर्याउन निर्देशन दियो भने विकल्प खोज्छौं । राष्ट्र बैंकको नीति अनुसार सिटिजन्स बैंकले ४÷५ वटा संस्थालाई प्राप्ति गरिसकेको छ । राष्ट्र बैंकको आवश्यकतालाई परिपुर्ती गर्ने गरी राष्ट्रका लागि टेवा पुर्याउने काम हामीले गर्छाै । त्यसैले मर्जरमा जाने योजना सिटिजन्स बैंकको छैन ।तपाईं द्यो ग वाणिज्य महासंघको अध्यक्ष भइसकेको व्यक्ति, महासंघको निर्वाचन नजिकिँदैछ, निर्वाचनप्रति चासो कतिको बढेको छ ? मलाई महासंघको चुनाव कत्ति पनि लागेको छैन । म आफ्नो काम गर्छु । म आफू आवद्ध भएका कर्मचारी र मजदूरहरुको हकहित हेर्छु । राष्ट्रका लागि योगदान गर्छु । खराब भएको बेलामा राम्रो होस् भन्ने मेरो चिन्तन हुन्छ । महासंघमा राजनीति धेरै भयो । हामीले निजी क्षेत्रका समस्यालाई खरो रुपमा राख्न सक्नुपर्याे । सरकारलाई उपयुक्त समयमा सही सल्लाह दिएर भएका कमीकमजोरीलाई हटाउन सक्नुपर्छ । काम गर्न सक्ने वातावरण श्रृजना गर्नुपर्छ । आफूआफू झगडा गरिरहेका छन् । प्रतिस्पर्धा गरिरहेका छन् । यो मलाई पटक्कै चित्त बुझ्दैन । त्यसैले म यो महासंघको चुनावबाट टाढा छु । आजका दिनसम्म च्याउ सरह संस्थाहरु दर्ता भएका छन् । उनीहरुको हकहितका लागि काम गर्न सकिएको छैन । महासंघको अध्यक्षमा जो आएपनि केही नि गर्नसक्दैनन् । महासंघको नेतृत्वमा पुग्नेले आफ्नो मात्रै हित हेर्छन् । महासंघको नेतृत्व सम्हाल्ने मान्छेले आफ्नो भन्दा राष्ट्र र अर्थतन्त्रको हित हेर्नुपर्छ । म महासंघको अध्यक्ष हुँदा कहिल्यै पनि औषधीको नाम लिएन । कुनै व्यक्ति सांसद हुन्छ भने उसले निर्माण मात्रै हेरेको देखिन्छ । ठेकेदार मान्छे नेतृत्वमा जान्छ भने उसले ठेक्काको मात्रै काम गरेको छ । महासंघले ग्रासरुट लेभललाई बलियो बनाउन सकेको छैन । ग्रासरुटलाई बलियो बनायो भने अर्थतन्त्र आफै बलियो हुन्छ । जग बलियो बनाउनु भन्दा पनि माथि मात्रै बलियो भयो । व्यक्तिगत स्वार्थभन्दा पनि संस्थाको हित हेर्नुपर्छ । राजनीति चाहिन्छ तर स्वस्थ राजनीति हुनुपर्छ । राष्ट्रिय हित, अर्थतन्त्रको विकास, उद्योगीव्यवसायीहरुको हितका लागि राजनीति आवश्यक छ । अहिले देशभरी नै विरोध भइरहेको छ । उद्योग व्यवसाय पनि जोगाउनु आवश्यक छ । तपाईंका छोराहरु पनि महासंघको राजनीतिसँगै आफ्नो व्यवसाय गरिरहनु भएको छ, तपाईंसँगै उहाँहरु सक्रिय रुपमा व्यवसायमा लागिरहनु भएको छ, महासंघको राजनीतिको विषयमा उहाँहरुलाई के सुझाव दिनु हुन्छ ? राजनीति भन्दा पर रहेर आफ्नो व्यवसाय अगाडि बढाउनुपर्छ । मैले कहिल्यै पनि राजनीति गरेन । म २ टर्म औषधी उत्पदाक संघको निर्विरोध अध्यक्ष बनें । मेरो कार्यकालमा राम्रो काम पनि गरेको थिए । स्वदेशी उत्पादनलाई प्रमोट गरेको थिए । आयातकम गर्ने काम गरेको थिए । खुला प्रतिस्पर्धा भएपनि राम्रोसेवा र सर्वसुलभ सेवामा जोड दिनु पर्छ । सिभिल बैंकलाई सही व्यवस्थापन गर्न सकियो । मैले दिएको संस्कारले त्यो सम्भव भयो । अहिले धेरै उद्योगहरु धरासयी भएका छन् । तर, लोमस फर्मास्यूटिकल्स राम्रै चलिरहेको छ । अहिले नाफा कम भएपनि संस्थालाई दीगो गर्नुपर्ने बाध्यता छ । लोमसको व्यापार कस्तो छ ? लोमसको व्यापार राम्रो र सस्टेन गर्न सकेका छौं । तर, जति गर्नुपर्ने हो त्यो गर्न सकिएको छैन । कोरोना भन्दा अघि हामीले निर्यात गरिरहेका थियौं । कोरोनाले गर्दा बाहिरको सम्बन्ध नै बन्द भयो । क्षमता अनुसार उत्पादन गर्न सकिएको छैन । तैपनि हामी लोमसबाट सन्तुष्ट छौं । हामीले गत वर्ष मजदूरलाई सवा ५ महिनाको बोनस दियौं । अरु कुनै पनि उद्योगले यति धेरै बोनस दिएको छैन । यस वर्षसाढे ३ महिनाको बोनस दिने क्षमता छ । नाफा कमाएको १० प्रतिशत मजदूरलाई वितरण गर्दै आएका छौं । आगामी वर्षमा यी क्षेत्र बाहेक अन्य कुनै क्षेत्रमा लगानी गर्ने योजना बनाउनु भएको छ ? जनकपुरमा नयाँ उद्योग सञ्चालनमा ल्याएका छौं । सलान पानी उत्पादन जनकपुरबाट भइरहेको छ । जनकपुरबाट पनि नयाँ काम भइरहेका छन् । सील भएको पुरानो फ्याक्ट्रिलाई हामीले लिएको हो । त्यसलाई हामीले पुनः सञ्चालनमा ल्याएको हो । आफ्नो क्षेत्रभन्दा बाहिर लगानी गर्ने सोच छैन । अन्य क्षेत्रमा लगानी गर्नका लागि अरुलाई पनि स्थान दिनुपर्छ । सिमेन्ट उद्योगमा लगानी थियो । तर, त्यसलाई जोगाउनै गाह्रो भइरहेको छ । जुन क्षेत्रमा मैले लगानी गरेको छु त्यो क्षेत्रमा म सफल भएको छु । मैले गरेको प्रयास र मेहेनतले सफल भएको छु । म अरुसँग प्रतिस्पर्धा नै गर्दिन । म आफैसँग प्रतिस्पधौ गर्छु ।

बैंकले गरिबलाई नपत्याएको बेला लघुवित्तले पत्याए, ब्याज एकल अंकमा हुनु पर्छ : सीईओ बोहरा

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाहरुविरुद्द देशव्यापी आन्दोलन चर्किएको छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा मिनाह हुनु पर्ने भन्दै देशभर लघुवित्तविरुद्द आन्दोलन पनि भइरहेको छ । लघुवित्तहरुले लिने ब्याज तथा सेवा शुल्कको विषयमा ऋणीहरुले आन्दोलन गरिरहेका छन् । योसँगै लघुवित्त वित्तीय संस्थाहरुमा मर्जरको पनि लहर छ । चालू आर्थिक वर्षको हालसम्म डेढ दर्जन लघुवित्तले मर्जरका लागि सम्झौता गरेका छन् । यी विभिन्न विषयमा केन्द्रित रहेर हामीले धौलागिरी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मीन बहादुर बोहरासँग कुराकानी गरेका छौं । अहिले लघुवित्तहरुको ब्याज, सेवा शुल्क र यसले आम सर्वसाधारणलाई दिएको दुखको विषयको विषयमा चर्चा छ । लघुवित्तको अस्तित्वमाथि पनि प्रश्न उठिरहेको छ, तपाईंहरुले यसरी सर्वसाधारणलाई पेल्न मिल्छ ? लघुवित्त वित्तीय संस्था कसैलाई दुःख दिन आएका संस्था होइनन् । लघुवित्त संस्थाहरु मान्छेहरुलाई सहयोग गर्न आएका संस्था हुन् । समाज, घरपरिवार, दाजुभाई, इष्टमित्र लगायत कसैले पनि पत्याएका थिएनन् । ठूलाठूला बैंकहरुमा धितो राखेर कर्जा माग्न जाँदा समेत पत्याएका थिएनन् । तर, लघुवित्त संस्थाहरुले बिना धितो, सामुहिक जमानीमा कर्जा दिने गरेका छन् । हामी लघुवित्तकर्मीले सहजकर्ताको भूमिका मात्रै निर्वाह गर्ने हो । कसलाई कति पैसा दिने र कति लिने भनेर समूहमा छलफल हुन्छ । जस्तो ५ जनाको समूह छ । यदि समूहमा कुनै व्यक्तिलाई कर्जा दिनु पर्छ भने कति कर्जा दिने भनेर छलफल गरेर निर्णय गरिन्छ । हामी लघुवित्तकर्मीहरुले रेकर्ड गर्ने, हिसाब राख्ने, कागज बनाउने, पैसा बैंकमा राख्ने, बैंकबाट निकालेर घर दैलोमा पुर्याउने काम गर्ने हो । लघुवित्त संस्था बैंक मात्रै होइनन्, सामाजिक अभियान पनि हुन् । समाजमा रहेका सबैभन्दा कमजोर वर्ग, विपन्न वर्ग जहाँ कुनै पनि वित्तीय पहुँचु छैन । त्यस्ता दूरदराजको ठाउँमा पुगेर लघुवित्तकर्मीले काम गरिरहेका छन् । आजका दिनसम्म ६० लाख मान्छेहरु लघुवित्तमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी भएका छन् । देशका २५ हजार भन्दा बढीले रोजगारी पाएका छन् । ५ हजारभन्दा बढी शाखा कार्यालय सञ्चालनमा छन् । ती ५ हजार भन्दा बढी घरधनीहरुले घर भाडाबाट आफ्नो जीवन चलाएका छन् । २०४६ सालपछि व्यवहारिक रुपमा लघुवित्त संस्थाहरु सञ्चालनमा आएका हुन् । नेपालको लघुवित्तका पिता डा. हरिदेव पन्तको संयोजनमा शेरबहादुर थापा लगायतका विज्ञ व्यक्तिहरुले लघुवित्त अभियान चलाउनुभयो । वि.स २०४६ सालमा प्रजातन्त्र पुर्नवहाली भयो । गरिब तथा विपन्न वर्गहरुमा वित्तीय पहुँच पुर्याउन तत्कालीन सरकारको मुख्य एजेण्डा लघुवित्त कार्यक्रम थियो । गरिब तथा विपन्न वर्गका मान्छेहरुमा पैसा पुर्याएर कारोबार क्षमता बढाउने र दुःखहरु कम गर्न लघुवित्तको अवधारणा ल्याइएको थियो । जुन प्रजातन्त्रको सबैभन्दा लोकप्रिय कार्यक्रम हो, लघुवित्त कार्यक्रम । तर, पछिल्लो समय लघुवित्तविरुद्दका घटनाहरु बढेका छन् । पूर्वपश्चिम उत्तरदक्षिण चारैतिर विरोध भइरहेका छन् । लघुवित्तका सदस्यहरु, अन्य क्षेत्रका मान्छेहरु, माननियज्यूहरु लगायत सबैकले लघुवित्तका बारेमा कुरा उठाउनु भएको छ । यसरी लघुवित्तविरुद्द आवाज उठाउनु भनेको प्रजातन्त्रमाथि हमला गर्नु हो । लघुवित्त कार्यक्रम संसारका अधिकांश देशहरुमा सफल भएको छ । विश्वमा नै सबैभन्दा सस्तो ब्याजदर नेपालमा छ । बङ्गलादेशमा २४ प्रतिशत, भारतमा २४ प्रतिशत भन्दा बढी, इण्डोनोशियामा अझै धेरै महँगो छ । लघुवित्त वित्तीय संस्थाहरु सर्वसाधारण जनताको आर्थिक अवस्था उकास्नका लागि स्थापना भएका हुन् । लघुवित्तहरुले बैंकबाट पैसा लिएर सर्वसाधारणलाई कर्जा लगानी गर्छन्, हुनेखाने वर्गले वाणिज्य बैंकबाट सस्तोमा कर्जा लिन्छन् । तर, हुँदा खाने वर्गले लघुवित्तबाट महँगोमा ब्याज तिरेर कर्जा लिन्छन् ? यो अवधारणा अव्यवहारिक भएन र ? गरिबलाई कर्जा दिँदा ब्याजदर एकल अंकमा हुनुपर्छ । संसारमा सबैभन्दा सस्तो ब्याजदर नेपालमा छ । बैंकबाट कर्जा लिएर गाडी किन्नु पर्याे भने ७ प्रतिशत र घर बनाउनु पर्याे भने १२ प्रतिशत ब्याज तिर्नुपर्छ । लघुवित्तलाई १५ प्रतिशत लिन्छन् । अहिले व्यक्ति व्यक्ति मिलेर संस्था खोलिएका छन् । राष्ट्र बैंक आफै जान नसकेका कारण संस्थालाई लाइसेन्स दिएको हो । संस्थाको सञ्चालक समितिले ऋण खोजेर लगानी गरेको हुन्छन् । लघुवित्तको काम गर्ने प्रक्रिया धेरै महँगो छ । किनभने हामी ३/४ घण्टा हिँडेर जानु पर्छ । राती बास बसेर पनि काम गर्नुपर्छ । त्यसैले लघुवित्तमा लागत उच्च भएको हो । तर, अन्य संस्थामा एउटा कर्मचारीले टेबलमा बसेर सयौं काम गरे जस्तो लघुवित्तमा हुँदैन । लघुवित्त संस्थाहरु भौतिक रुपमा उपस्थित हुनै पर्छ । लघुवित्तको जुन अहिलेको अवधारणा छ, यो अवधारणा परिवर्तन गर्नु पर्छ जस्तो लाग्दैन ? यसको ‘नेचर’ परिवर्तन हुनुपर्छ भन्ने अनुभुति हुन्छ । लघुवित्त संस्थाहरु हाइवे केन्द्रित छन् । नेपालको हाइवेमा मात्रै लघुवित्त संस्थाहरु सञ्चालित छन् । एउटा लघुवित्तको सदस्य जुन ‘कोर’ लघुवित्तमा काम गर्छ । संस्थाका लागि भन्दा पनि समाजका लागि उसले बढी मेहेनत गरेको हुन्छ । समाजमा वित्तीय साक्षरता दिएको हुन्छ । ऋणीहरुलाई कर्जा दिँदा ब्याज यति तिर्नुपर्छ, सही ठाउँमा लगानी गर्नुपर्छ, बाख्रा, भैँसी किन्नुपर्छ, तरकारी लगाउनुपर्छ भनेर सिकाएको हुन्छ । बचतको महत्व सिकाएको छ । बचतको महत्व सिकाउँदा सिकाउँदै बडा मुस्किलले १५/२० वर्षमा १ लाख रुपैयाँ लिने हैसियत बनाइएको छ । तर, पछिल्लो समय लघुवित्त संस्थाहरु अदक्ष र क्षमता नभएको मान्छेहरुको हातमा पुगे । यो कुरा राष्ट्र बैंकको जानकारीमा पनि छ । उहाँहरुले पहिलो वर्ष ३ लाख रुपैयाँ, दोस्रो वर्ष ५ लाख रुपैयाँ, तेस्रो वर्ष ७ लाख रुपैयाँ लगानी गर्नुभयो । तर, ऋणीको क्षमता १ लाख रुपैयाँ हुन्छ । केही लघुवित्त संस्थाहरुले क्षमताभन्दा बढी कर्जा दिए । १ लाख क्षमता भएको व्यक्तिलाई ३, ५ र ७ लाख लगानी गरे । उनीहरुले पैसालाई डाइभर्ट गरे । ऋणीहरुले चाहिएको ठाउँमाभन्दा पनि घरायसी काम विवाह, न्वारन लगायतका काममा प्रयोग गरे । पछि उनीहरुले समयमा किस्ता तिर्न सकेनन् । कोरोना महामारीले सबै जना एकै ठाउँमा बसेर सुखदुख साँट्न पाईएन । कारोना महामारी अघि कसलाई कति पैसा दिने र लिने भनेर समूहमा छलफल हुन्थ्यो । जस्तो मैले १ लाख रुपैयाँ लिन्छु भन्दा अर्काे मान्छेले अहिले व्यापार राम्रो छैन १ लाख रपैयाँ नलिनु भन्थे । सबै जना एकै ठाउँमा बसेर छलफल गर्न पाइन्थ्यो । कोरोनाले गर्दा सबै जना एकै ठाउँमा बस्न पाईएन । समूहमा छलफल नुहँदा कम्युनिकेसन ग्याप भयो । त्यसपछि हामी एक्लाएक्लै काम गर्न थाल्यौं । त्यो प्रभाव पर्न अहिले थालेको छ । साथै लघुवित्तको आम्दानी पनि भएन । कोरोनाको मार तरलतामा पर्याे । यो नेपालमा मात्रै नभएर विश्वको समस्या हो । अमेरिकामा १२ प्रतिशत मुद्रास्फिती पुगेको छ । अमेरिकामा पनि हजारौं मान्छेहरु बेरोजगार बनेका छन् । कम्पनीले कर्मचारी हटाउनु परेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजकै कारण र तिनीहरुले दिएको दुःखको कारण नै धेरैले आत्महत्या गरे, गाउँ छोडेर नै जान विवश बनाए भन्ने खालका समाचारहरु पनि आउँछन्, अहिले लघुवित्तहरुका लागि बिजनेस ठूलो कि मानवियता ? अहिलेको समयमा मानवियता नै ठूलो हो । समाज र राष्ट्रको अवस्था हेर्दा अहिले मानवियता नै ठूलो हो । तर, जे पनि भएका छन् ती सबै लघुवित्तका कारण भएको भन्ने कुरामा सहमत छैन । समस्याको जरा पत्ता लगाउनु पर्याे । यसका भित्रि रहस्य के हुन् भनेर पत्ता लगाउन आवश्यक छ । कुनै मान्छेले आत्महत्या किन गर्छ भन्ने कुरामा अनुसन्धान हुनुपर्छ । ६० लाख मान्छेहरु संलग्न भएकोमा एकदुई जनाले गलत गरेको हुन सक्छ । सबैले लघुवित्तका कारणले आत्महत्या गरेका होइनन् । यसमा अन्य पनि कारण हुन सक्छन् । राज्यले यसमा अनुसन्धान गर्न जरुरी छ । घटना एउटा कारणले हुन्छ । अनि पत्रकारहरु गएर तपाइ लघुवित्तमा आवद्ध हुनु हुन्छ की हुनु हुन्न भनेर सोध्नुहुन्छ । ६० लाख मान्छेहरुमा लघुवित्तमा आवद्ध नुहने कुरा हुँदैन । उनीहरुले एउटा लघुवित्तको नाम लिएपछि मिडियाले हेडलाइन बनाउँछन् । लघुवित्तमा भएको पैसा जनताको पैसा हो । लघुवित्तका सञ्चालकको मात्रै होइन । लघुवित्तले लुट्यो भन्नु गलत हो । किनभने लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैनन् । लघुवित्तका सदस्यहरु एक वर्षका लागि कर्जा लिनुहुन्छ । हाम्रो सदस्य अन्य संस्थामा जानु भन्दा १५ प्रतिशतमा थप कर्जा दिइन्छ । नियमले सेवा शुल्क घटाउनु भनेको छैन । जसमा सेवा शुल्क प्लस भएको हुन्छ । सेवा शुल्क प्लस हुँदा एक वर्षमा २ पटक सेवा शुल्क लियो भन्ने भ्रम फैलाइयो । तर, त्यो हाम्रो कारणले भएको होइन । सदस्यका कारणले समस्या आएको हो । राष्ट्र बैंकले अब गर्न पाईंदैन भनेर रोक लगाइसकेको छ । नेपालमा सबैभन्दा बढी तालिम दिने संस्थाहरु लघुवित्त हुन् । अहिले कोरोनाले गर्दा सदस्यहरुसँग लघुवित्त पुग्न सकेका छैनन् । तर, अव विस्तारै तालिम दिन सुरु भइसकेको छ । लघुवित्तहरुले नाफा गरेर सेयरधनीहरुलाई ७६ प्रतिशतसम्म लाभांश दिने अनि ग्राहकले अहिले समस्या छ, केही समयपछि ऋण तिर्छु भन्यो भने तपाईंहरु किन पत्याउनु हुन्न ? यस विषयमा म असहमत छु । यस्ता विषयमा राष्ट्र बैंक आफै स्पष्ट हुन आवश्यक छ । आज भन्दा १० वर्ष अघि कुनै संस्था सञ्चालनमा आउँछ । लगानीकर्ताले १० वर्षसम्म गरेको थप हुँदै जान्छ । १० वर्षको कमाइ पनि थपिएको हुन्छ । सबै प्रक्रिया पुर्याएर १० वर्षपछि आईपीओ जारी गर्छ । त्यसपछि १० वर्षसम्म जम्मा भएको पैसा वितरण गर्दा लघुवित्तका कसरी गल्ति हुन्छ ? तर, २०७८ साउनदेखि २०७९ असारसम्मको नाफाबाट कुनै लघुवित्तले ७८ प्रतिशतसम्म लाभांश दिएका छन् भने त्यो गलत हो ।किनभने त्यति धेरै आम्दानी नै भएको छैन । अहिले मार्जिन न्यून छ । तर, ७६ प्रतिशत लाभांश त विगत वर्षदेखि जोडिदै आएको पैसा हो नी । कहिलेकाँही जोडिँदै जाँदा १ सय प्रतिशन पनि पुग्छ । आईपीओ जारी गरेपछि मात्रै सेयरधनीहरुलाई लाभांश वितरण गर्न पाइने व्यवस्थाछ । राष्ट्र बैंकका सबै नियम पुर्याएर लाभांश वितरण गरेका हुन् । सामाजिक सुरक्षा कोष, ग्राहक संरक्षण कोष, कर्मचारी बोनस लगायत सबै पुर्याएको हुन्छ । नेपाल राष्ट्र बैंकले बुझ्न सकेको छैन । राष्ट्र बैंकमा पनि हामी जस्तै मान्छेले काम गरेको हुन्छन् । उहाँहरु पनि हाम्रै समाजको मान्छे हो । उहाँहरुले पनि कुनै कम्पनीमा १ लाख रुपैयाँ लगानी गर्नु भएको थियो । त्यो एक लाखले एक वर्षमा ५ हजार रुपैयाँ आम्दानी गरेको थियो । १० वर्षमा ५० हजार रुपैयाँ पुग्छ । १० वर्षपछि ५० हजार रुपैयाँ वितरण गरेको हुन्छ । त्यो पाउने की नपाउने? यो कुरा स्पष्ट हुन जरुरी छ । अहिले लघुवित्तको ५ प्रतिशत पनि दिन सक्ने क्षमता छैन । यो वर्ष रिजर्भमा भएको रकम वितरण गरेका हुन् । सेयरधनीहरुले पनि यो कुरा बुझ्न जरुरी हुन्छ । कुनै पनि संस्थाले कसरी दियो भन्ने विगत हेर्न आवश्यक छ । सेयरधनीहरुले पनि सञ्चालक समितिलाई अनावश्यक दबाव दिएको हुन्छ । जस्तो कुनै संस्थाले ५० प्रतिशत बाँड्यो तपाईंहरु १५ प्रतिशत पनि बाँड्न सक्नु हुन्न भनेर सेयरधनीहरुले दबाब दिएको हुन्छन् । राष्ट्र बैंकले पनि परिपत्र नै जारी गरेर लघुवित्तहरुले अब १५ प्रतिशत बढी लाभांश वितरणमा कडाइ गरेको छ, लघुवित्तको भविष्य र यो क्षेत्रमा आम सर्वसाधारणहरुको आकर्षण कस्तो होला ? राष्ट्र बैंकले यो व्यवस्था गर्दा अब लघुवित्त क्षेत्र सुध्रिएला ? जनताको घरदैलोमा मात्रै जाने संस्थालाई यो अधिकार दिनु पर्छ । हाम्रा कोर सदस्य लघुवित्त विरुद्धमा कोही पनि छैनन् । हामीले बनाएका सदस्य कोही पनि हाम्रा विरुद्ध छैनन् । हिजोका दिनमा हामीले क, ख लेख्न सिकाएको हो । चेक, पैसा, कति कर्जा लिने लगायत कुराहरु हामीले सिकाएका थियौं । अहिलेका विरोधीहरु ठूल्ठूला साहुहरु छन् । कुनै साहुले बैंकबाट कर्जा लिएका छन् भने ब्याजदर तिर्नका लागि लघुवित्त ऋण लिने गरेका छन् । उसले लघुवित्तबाट कर्जा लिएर बैंकको ब्याजदर तिरेको छ । यसरी कर्जाको ब्याज तिर्दा बैंकको गुड क्लाइन्ट हुन्छ । वाणिज्य बैंक र लघुवित्तमा खेल्ने व्यक्तिको समस्या देखिएको छ । यो हटाउनै पर्छ । पछिल्ले समय जुन खालको लघुवित्त विरुद्द विरोध भइरहेको छ, यसमा संलग्न को छन् ? ग्रामीण क्षेत्रका जनताहरु सोझा छन् । अहिले कञ्चनपुरदेखि झापासम्म समस्या देखिएको हो । लघुवित्तका कारण पनि समस्या देखिएको हुन सक्छ । कर्मचारीको व्यवहार राम्रो नभएरसमस्या आएको हुन सक्छ । पहाडका ठाउँमा पनि फाट्टफुट्ट समस्या आएको छ । तर, विशेषगरी पूर्वी तराई देखि पश्चिम तराइमा यो समस्या आएको हो । जुन ठाउँमा खुला सीमा छ । अनुसन्धान गर्ने हो भने धेरै कुराहरु पत्ता लाग्छन् । किनभने १५/२० जनाको रेडिमेट समूह बनाइएका छन् । उद्योगीहरुलाइ लघुवित्तबाट ऋण निकालिदे १० हजार तपाइ राख्नुस ९० हजार म लिन्छु । पछि १ लाख रुपैयाँ आफै तिर्छु भनेर यस्तो समस्या आएको हो । उहाँहरुले लिएको पैसा बाँडिदिनु भयो । सर्टेन समयमा त्यो किस्ता तिरेको हुँदैन । अहिले ती समूहले लघुवित्त ठिक छैन भनेर विरोध गरेका हुन् । जसलाई हामीले जन्माएका छौं उनीहरु लघुवित्तका विरुद्धमा आएका छैनन् । उनीहरले पुस्तान्तरण गरेका छन् । कसैले नपत्याएकोव्यक्तिलाई लघुवित्तले पत्याएको थियो । लघुवित्तबाट कर्जा लिएर घर खर्च चलाएर, छोराछोरीलाई शिक्षा÷दिक्षा दिएर समाजमा आफ्नो हैसियत बनाएका छन् । उहाँहरुले लघुवित्तलाई बिर्सिनु भएको छैन । बैंक वित्तीय संस्थाको ब्याजदरको विषयलाई लिएर व्यवसायीहरुले पनि आन्दोलन गरिरहेका छन्, यसतर्फ तपाईंहरुको दृष्टी गएको छ वा छैन, यो आवश्यक हो वा अनावश्यक ? लघुवित्त संस्था हाम्रो नियन्त्रणमा छन् । लघुवित्तलाई कसरी चलाउने, कसरी सहुलियत दिने, हाम्रो हातको कुरा हो । बैंक तथा वित्तीय संस्थाहरुको आयातको समस्या हुनसक्छ । उनीहरुको प्रचय गर्ने क्रय शक्तिको समस्याले विजनेश नचलेको हुन सक्छ । हिजोका दिनमा हजारौ पर्यटक नेपाल आउँथे । तर, अहिले पयर्टक आउने संख्या पनि घटेको छ । समस्या आउनु भनेको समाधान गर्न सकिन्छ । व्यापारीहरुले पनि आफ्ना समस्या स्पष्ट रुपमा राख्नु पर्छ । उहाँहरु राष्ट्र बैंक र सरकारसँग बसेर छलफल गर्नुपर्ने हुन्छ । सरकारले पनि सपोर्ट गर्न फण्डको व्यवस्था गर्नु पर्याे । लघुवित्तले दिएको कर्जा गलत ठाउँमा प्रयोग भएको देखिन्छ नी ? विजनेश र कर्जा लिएर सदुपयोग गरेकाहरुले गलत ठाउँमा प्रयोग गरेका छैनन् । एउटै व्यक्तिले १०/१२ संस्थाबाट कर्जा लिनु ऋणीको गलत हो की लघुवित्तको ? यो समस्या दुर्गम ठाउँमा छैन । दुर्गममा टाउको फुटाएपनि पैसा लिँदैनन् । एउटा दुर्गम गाउँमा १२ वटा संस्थासँग अन्तरक्रिया गर्दा लगानी नभएको गुनासो गर्नु भएको थियो । त्यहाँको मान्छेहरुले पैसा लिँदैनन् । उनीहरुको क्षमता हेर्नुपर्ने हुन्छ । किनभने उनीहरुको आम्दानी नै हुँदैन । जुन ठाउँमा व्यापार छन् । एक लाख रुपैयाँ लिइदिनुस् १० हजार तपाईं राख्नुस ९० हजार मलाइ दिनुस । भोलिका दिनमा १ लाख म तिर्छु भनेर लोभ देखाउने ठाउँमा समस्या देखिएको छ । हामीले दिएका ऋणीहरुले भने सही ठाउँमा कर्जा लगानी गरेका छन् । सबैको घरमा चमक देखिन्छ । सबैको श्रीमानश्रीमको मिलेर बसेका छन् । समाजमा उनीहरुको राम्रो प्रतिष्ठा छ । दिदीबहिनीहरुले पनि कर्जा दिँदा हुन्छ भन्नु हुन्छ । जुन घरमा कर्जा लिँदा छलफल हुन्छ त्यहाँ पैसा डुब्दैन । तर, जुन घरमा घरमुलीले एकाधिकार गर्छ त्यहाँ समस्या देखिन्छ । लघुवित्तको मर्जरको विषय पनि ब्यापक उठिरहेको छ, तपाईंको व्यक्तिगत विचारमा लघुवित्तमा मर्जर आवश्यक हो वा होइन ? लघुवित्त संस्थाहरु धेरै हुँदा राष्ट्र बैंकलाई सुपरभिजन गर्न गाह्रो भयो ।लघुवित्तमा ५ दिन मात्रै सुपरभिजन हुन्छ । त्यो ५ दिनले पुग्दैन । बैंक तथा वित्तीय संस्थामा जस्तो एक क्लिक गर्दैमा सबै तथ्याङ्क लघुवित्तमा देखिँदैन । लघुवित्तको सुपरभिजन गर्नका लागि गाउँ–गाउँमा जानुपर्ने हुन्छ । लघुवित्तका लागि कम्तिमा १५ दिन सुपरभिजन चाहिन्छ । अहिले सञ्चालक समिति र सीईओहरुले गरेका निर्णयहरु नमूना गरिएको छ । यतिले मात्रै पुग्दैन । मेरो विचारमा त लघुवित्तको संख्या बढी भएका छैनन् । अछाम, बाजुरा, डोटी लगायतका दुर्गम जिल्लामा लघुवित्त संस्थाहरु पुगेका छैनन् । लघुवित्त संस्थाहरु हाइवेमा मात्रै सञ्चालित भएका छन् ।लघुवित्तको मर्जरभन्दा पुँजीलाई बढाउनुपर्छ । एकल अंकमा ब्याज हुुनुपर्छ । लघुवित्तका लागि सरकारसँग मैले योजना नै पेश गरेको थिए । सरकारले २ प्रतिशतमा लघुवित्तलाई सापटि दिने र लघुवित्तले ६/७ प्रतिशतमा ग्राहकलाई कर्जा दिनुपर्छ । मर्जरले दक्ष र सीपयुक्त जनशक्तिलाई बेरोजगार बनायो, दक्ष जनशक्ति यो क्षेत्रबाट बाहिरियो भने त लघुवित्त क्षेत्रमा अर्को किसिमको समस्या नआउला भन्न सकिन्न नी ? मर्जरले गर्दा दक्ष जनशक्ति बाहिरिएर संकट पर्ने भन्ने हुँदैन । तर, त्यसको उत्पत्ति कसरी भयो भन्ने हेर्नुपर्छ । म फिल्ड सहायकबाट उत्पत्ति भएर संस्थाको सीईओ भएको हो । अन्य संस्थाको पनि सीईओ बने । मैले त्यस्तै खालको मान्छे उत्पादन गरिरहेको छु । जो माथिबाट टक्क आएर संस्थाको सीईओ बनेका छन् उनीहरुले त्यहि किसिमको संस्कार विकास गरेका हुन्छन् । रिटायरमेन्टको समय अवधि १२ वर्षको हुनुपर्छ भन्ने मान्यता राख्छु । २५ वर्षमा जागिर खाने मान्छेले ४० वर्षमा रिटायर हुनुपर्छ । त्यसपछि उसले आफ्नो गाउँमा सेवा गर्न सक्छ । आफूले जानेको कुरा समाजमा योगदान गर्न सक्छ । म यसअघि पनि आफ्नो गाउँमा गएर समाज सेवा गरेको थिए । तर, पुनः यहि क्षेत्रमा काम गर्नु पर्ने अवस्था आयो । म अहिले यो क्षेत्रबाट स्वस्फूर्त रुपमा बाहिरिन लागेको हो । आगामी योजना के–के छन् ? हामी दुर्गम क्षेत्रमा जन्मिएका व्यक्तिहरु हौं । जहाँ सरकार, सांसद, स्थानिय निकाय र प्रदेश सरकारको पहुँच पुगेको छैन । डोटी, अछाम, बझाङ, मनाङ, मस्ताङ जस्तो ठाउँमा गएर सेवा दिनुपर्छ । आजका दिनमा पनि गाउँमा बत्ति, सडक, स्वास्थ्यचौकी, विद्यालय पुगेका छैनन् । एउटै व्यक्ति १० वर्ष सांसद भएर पनि कुनै विकास गर्न सकेका छैनन् । यो विडम्बना हो । बत्तिको व्यवस्था भयो भने संसार हेर्न सकिन्छ । सञ्चारको सुविधा भयो भने मात्रै चेतना आउँछ । दुर्गममा स्मार्ट फोन चार्ज गर्नका लागि बत्ति नै छैन । अब गाउँमा गएर सामाजिक कार्यमा अग्रसर हुन्छु । डोटी र कैलालीको बीचमा मेरो गाउँ छ । कैलालीको क्षेत्र नम्बर ४ को निगाली, तत्कालिन खैराला, मोहन्याल लगायतका क्षेत्रमा बत्ति पुर्याउन पहल गर्छु । वित्तीय पहुँचविस्तारमा जोड दिन्छु । कृषिमा फोकस गर्छु । गाउँमा एउटा घरमा २ सय भन्दा बढी बाख्रा र ५० वटा गाई पाल्ने कृषक थुप्रै छन् । उनीहरुले फर्म दर्ता गराएपनि अनुदान पाएका छैनन् । जो वास्तविक किसान होइन उसले त्यो अनुदान पाएको छ । राजनीतिमा लाग्ने कुनै योजना छ ? पहिला त गाउँमा गएर आफूलाई प्रमाणित गर्नुपर्नेछ । जसरी म फिल्ड सहायकबाट आफै संघर्ष गरेर सीईओसम्म पुगे । भोलिका दिनमा २/४ वर्ष गाउँमा गएर कुनै एउटा मात्रै नमुना काम गर्न सके भने राजनीतिक दलले अफर गर्न सक्छ भन्ने आशा छ ।