सवारी हाँक्नेमा निगरानी बढ्दै, गाँजा खाएर सवारी चलाए पनि कारबाही

काठमाडौं ३०, कात्तिक । मादक पदार्थ सेवन गरेर मात्र होइन, गाँजालगायत लागुऔषध सेवन गरेर सवारी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्न थालेको छ । मदिराभन्दा लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको सम्भावना अझ बढी हुने भएकाले प्रहरीले उनीहरूलाई पनि कारबाही गर्न थालेको हो । नगरकोट सडक क्षेत्रमा गाँजा सेवन गरेर सवारी चलाउनेको संख्या धेरै रहेको खुलेपछि प्रहरीले कारबाही गर्न थालेको हो । ‘धेरैले गाँजा सेवन गरेर सवारी चलाउने र दुर्घटनामा पर्ने गरेको देखियो,’ महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले भनिन्, ‘गाँजा खाएर सवारी चलाउनेलाई पनि हामीले पक्राउ गरी कारबाही गर्न थालेका छौँ ।’ काठमाडौं उपत्यकाका धेरै युवायुवती गाँजा तथा अन्य लागुऔषध सेवन गर्न नगरकोट पुग्ने गरेको खुलेको छ । लागुऔषधमा लट्ठिएर उनीहरू सवारीसाधन चलाएर फर्कने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । हाल एक दिन थुनेर अभिभावकलाई जिम्मा लगाइएको एसपी बज्राचार्यले बताइन् । लागुऔषध सेवनकर्तालाई लागुऔषध मुद्दामा छुट्टै कारबाहीसमेत हुन सक्छ । नगरकोट क्षेत्रमा जाने युवायुवतीमाथि प्रहरीले निगरानी बढाएको छ । नगरकोटका कतिपय होटेलकै कर्मचारीले गाँजा बिक्री गर्ने सूचना प्रहरीले पाएको छ । गत ११ असोजमा चाँगुनारायणमा भएको बस दुर्घटना चालकले गाँजा पदार्थ सेवन गरेकै कारण भएको खुलेको थियो । दुर्घटनामा एकको मृत्यु र २२ जना घाइते भएका थिए । सजिलो बाटोमा चालकको लापरबाहीका कारण बस दुर्घटना भएको थियो । बसचालक गाँजा दुव्र्यसनी भएको प्रहरीले जनाएको छ । मदिराभन्दा लागुऔषधको नशा कडा हुन्छ, जसका कारण सवारी चलाउँदा दुर्घटनामा पर्ने धेरै सम्भावना हुन्छ । तर, नेपालको कानुनअनुसार लागुऔषध सेवन गरी सवारी चलाउँदा जरिवाना हुने प्रावधान छैन । ‘लागुऔषध सेवन गरेर सवारी चलाएको कसरी थाहा पाउनु रु’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्ल भन्छन्, ‘लागुऔषध सेवन गरेर सवारी चलाउँदा जरिवाना र कारबाही गर्ने हाम्रो कानुनी प्रावधान पनि छैन ।’ नयाँ पत्रिका दैनिकबाट ।

होन्डा नाभी नेपाली बजारमा आगमनसंगै टेस्ट राईड सम्पन्न

काठमाडौं, २९ कात्तिक । नेपालमा होन्डा मोटरसाइकल, मोटर र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होन्डा नाभीको नेपाली बजारमा आगमनसंगै स्याकार सेफ्टी राइडिंग ट्रेनिङ्ग सेन्टर, ग्वार्कोमा नाभी एक्पिरेन्स इभेन्टको आयोजना गरेको छ । सो इभेन्टमा होन्डा नाभी मोटर साइकलहरुलाई टेस्ट ड्राइभको लागि जीम खानामा आधारित ट्रयाकमा राखिएको थियो । यसले नेपाली टु व्हीलर सेग्मेन्टमा नयाँ सेग्मेन्टको शुरुवात गरेको छ र युवा ग्राहकहरुलाई आर्कषित गर्ने अपेक्षा गरिएको छ । नाभी साधारण मोटरसाईकल र एडभेन्चर बाईक बीचको क्रस जस्तो देखिन्छ । यो ब्राण्डका मोटरसाइकल विभिन्न ५ वटा कलर अप्सनहरुमा उपलब्ध छ । स्ट्रीट, एडभेन्चर र अफ रोड भेरियन्टहरुमा उपलब्ध नाभीमा विभिन्न कस्टमाइज्ड अप्सनहरुमा रहेको छ । यसको मेकानिकल र सफा डिजाईनले बाईक चलाउनेलाई आराम र परफरमेन्स दुवै दिने कम्पनीले जनाएको छ । होन्डा नाभी ११० सीसी सिंगल सिलिन्डर ट्रान्समिसनमा छ जसलाई अटोमेटिक गियरबक्ससंग मेटेड गरिएको छ । १५६ एमएमको हाई ग्राउन्ड क्लियरेन्स रहेको छ । यसले खाल्डाखुल्डी भएको सडकमा बाइक ठोक्निे जोखिम कम हुन्छ । बाईकको तौल १०१ केजी र फ्युल ट्यांक क्यापसिटी ३.८ लिटर रहेको छ । अधिकतम पावर ७००० आरपीएममा ७.८ बीएचपी छ ।

नेपाली बजारमा टेलिम्याटिक सिस्टमको जेसीबी लाइभलिंक सार्वजनीक

काठमाडौं, २९ कात्तिक नेपालको लागि ‘जेसीवी हेभी मेसिन’को आधिकारीक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भूउपग्रहका माध्यमले मेसिनहरुको निगरानी र हेरचाह गर्ने अत्याधुनिक प्रविधि ‘जेसीवी लाइभलिंक’ सार्वजनीक गरेको छ । उक्त प्रविधिले ‘टेलिम्याटिक सिष्टम’बाट जेसीवीका मेसिनहरुलाई टाढै बाटपनि नियन्त्रण गर्न सक्ने भएकोले महत्वका साथ नेपाली बजारमा पहिलो पटक सार्वजनीक गरिएको हो । जेसीवी लाइभलिंक अत्याधूनिक टेलिम्याटिक मनिटरिङ सिस्टमबाट चल्ने भएकाले मेसिनहरुको निगरानी गर्न र मेसिनको उत्कृष्ट प्रयोगलाई ब्यवस्थित गर्न सक्ने कम्पनीले जनाएको छ । यो प्रविधिले जेसीवी मेसिनहरुको सर्भिस, अपरेसन र सेक्यूरिटीबारे महत्वपूर्ण जानकारी दिने कम्पनीका प्रबन्ध निर्देशक विष्णु अग्रवालले जानकारी दिए । उनले भने– ‘यस प्रविधिमार्फत उपभोक्ताले मेसिनलाई प्रभावकारी र सुरक्षित तरिकाले प्रयोग गर्न सक्नेछन् । साथै यसको प्रयोगले मेसिनको अनधिकृत प्रयोग र चोरी हुनबाट समेत बचाउँछ ।’ जेसीवी लाइभलिंक पहिल्यै संचालनमा रहेका जेसीवी ब्याकहो लोडरहरुमा पनि रेट्रोफिटिङ गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लाइभलिंकको प्रयोगले जेसीवीका मेसिन चोरीएको खण्डमा भूउपग्रहका माध्यमबाट सजिलै ट्रयाक गर्न सकिनेछ । यसले मेसिन रहेको वास्तविक स्थान पहिचान गरी भूउपग्रह र मोवाइल फोन प्रविधिमार्फत सूचना उपलब्ध गराउँछ । यसको प्रयोगले तोकिएको परिधिभन्दा बाहिर गएर  मेसिन संचालन भएको खण्डमा प्रयोग अवधि, इन्धन खपत, इन्जिनको लोडलगायतका बारेमा सूचना दिनेछ । जसले गर्दा न्युनतम संचालन खर्चमा अधिकतम उत्पादकत्व हासिल गर्न सक्ने कम्पनीले दावी गरेको छ । नेपालमा जेसीवीका ब्याकहो लोडर, ह्वील लोडिङ शोभेल, ट्रयाक्ट एक्साभेटर, भाइब्रेटरी कम्प्याटर, स्किड स्टिर लोडर र डिलर जेनसेटलगायतका उत्पादनहरु उपलब्ध रहेको जनाइएको छ । सन् २००३ मा वेलायती हेभी इक्विपमेन्ट ब्राण्ड जेसीवीलाई एमएडब्लु अर्थमुभर्सले आभिकारीक डिलरसिप लिएर नेपालमा भित्र्याएको थियो । नेपालमा जेसीवीका साढे दुईसय जना कर्मचारीहरु छन् भने दुई हजार भन्दा बढीलाई अपरेटर तालिम दिएर दक्ष जनशक्ति तयार पारिसकेको छ । जेसीवीले बिक्रिलाई नभइ बिक्रिपछिको सेवालाई बढी जोड दिएका कारण आफुलाई नेपालकै नम्वर वान हेभी इक्विपमेन्ट ब्रण्डका रुपमा स्थापित गर्न सफल भएको कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए । उनका अनुसार एमएडब्लु अर्थमुभर्सले ११ वटा शाखामार्फत जेसीवीका ग्राहकलाई देशभरी सेवा पु¥याइरहेको छ ।