सबै ट्याक्सीमा ६ महिनाभित्रै बिलिङ प्रणाली, यात्रु ठगिन नियन्त्रण हुने

काठमाडौं १३, पुस । सरकारले साउनको पहिलो साताभित्रै बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन जडान गर्ने भएको छ। मंसिर २३ गतेबाट बिलिङ प्रणाली सुरू गरे पनि नापतौल तथा गुणस्तर विभागको ट्याक्सी तथा टेम्पो एकाइले पुस १७ गतेबाट आलोपालो सिस्टम लगाउँदै प्रिन्टर मेसिन जडानका लागि समय तालिका सार्वजनिक गरेको छ। एक सातामा पाँच सयवटा ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन गर्ने गरी तालिका प्रकाशन गरिएको छ । अन्नपूर्ण पोष्टबाट।

तोसिबाको नयाँ एलइडी टिभी सार्वजनिक, मूल्य २४ हजारदेखि एक लाख १० हजार रुपैयाँ

काठमाडौं, १० पुस । चौधरी समूहको ईओएल प्रालीद्धारा तोसिबाको एलईडी टिभी र रेफ्रिजेरेटर नेपाली बजारमा सार्वजनिक भएको छ । तोसिबाको एल ५६ सिरिज, एल ३६ सिरिज र एल २६ सिरिज गरि तीन नयाँ एलईडी टिभी बजारमा सार्वजनिक भएको हो । कम्पनीका अनुसार एल ५६ सिरिजको टिभीमा इन्टर्नल मेमोरी प्रयोग बिनै सबै एप्सहरु कोल्ड सर्भरमा स्टोर हुनेछन् । त्यस्तै, एल ३६ र एल २६ सिरिजमा फाईभ स्टार सुरक्षा, २० वाट साउण्ड आउटपुट रहेको छ । साथै, मोबाईललाई टिभीमा कनेक्ट गरेर मोबाईलको फङ्सनहरु टिभीमा चलाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी टिभीहरु वातावरण सुहाउँदो रहेको छ । साथै, यी तीनै एलईडी टिभी तोसिबाको फाईभस्टार सुरक्षा, उच्च गुणस्तरको पिक्चर र साउण्ड प्रविधि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बजारमा टिभी २४ ईन्च देखि ५५ ईन्च सम्मका रहेका छन् । नेपाली बजारमा उक्त टिभीको मूल्य २४ हजार रुपैयाँ देखि एक लाख १० हजार रुपैयाँ सम्म पर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले एलइडी टिभीका साथै वाशिङमेसिन र रेफ्रिजेरेटर पनि बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार तोसिबाको घरायसी सामानले थोरै बिजुलीको खपत गर्दछ । साथै, तोसिबाका सबै सामानमा एक वर्षको वारेन्टी समेत रहेको कम्पनीले जनाएको छ ।

सवारी चालक अनुमति पत्रको फाराम आइतबारदेखि अनलाइनबाटै भर्न सकिने

काठमाडौँ, ९ पुस । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने भएको छ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले राससलाई जानकारी दिए । “कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम हुन्छ”–उनले भने । यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ । रासस