६ महिनामा व्यापार घाटा ४३० अर्ब, सवारी साधनको आयात १६८ प्रतिशतले वृद्धि, सवारी कर्जा नियन्त्रणमा थप दवाव

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम छ महिनामा नेपालले ४ खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ बराबरको बैदेशिक व्यापार घाटा बेहोरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.३ प्रतिशतले बढी हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार छ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई  रु.५०२.३७ अर्ब पुगेको छ । केन्द्रका अनुसार यातायातका साधन र तिनका पार्टपुर्जाको आयात १६८.२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ४६ अर्ब ९२ करोड रुपैयाँ बराबरको सवारी र तिनको पार्टपुर्जा आयात भएको छ । सवारी साधन खरिद गर्न बैंकहरुले बढी कर्जा लगानी गरेको भन्दै बैंकर्सहरुले आलोचना खेपिरहेको समयमा तथ्याङ्कले पनि सवारीको आयात उच्चदरले बढेको देखाएको छ । सवारी साधन सँगै पेट्रोलियम पदार्थको आयात पनि  १४१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा ५१ अर्ब ८१  करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यस्तै, फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ९५.३ प्रतिशतले वृद्धि भएको छ । सो अबधिमा फलाम, स्टील र तिनको उत्पादन ५० अर्ब ६५ करोडको आयात भएको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ५९.४ प्रतिशतले वृद्धि भएको छ । औषधीको आयात १९.८ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा ११.४७ अर्बको औषधी आयात भएको छ । यस अवधिमा ३८ अर्ब २२ करोड रुपैयाँको मेशिनरी तथा पार्ट्स आयात भएको छ जुन गत आर्थिक वर्षको तुलनामा १२६.४ प्रतिशतले वृद्धि भएको छ । यस्तो आयात उत्पादन वृद्धिमा सहयोग गर्छ । दूरसञ्चारका सामाग्रीहरुमा ४९.८ प्रतिशतले वृद्धि भई रु. १५ अर्ब ८२ करोडको आयात भएको छ । समीक्षा अवधिमा  ११ अर्ब ८० करोड बराबरको सुन र ४ अर्ब १६ करोड बराबरको चाँदी आयात भएको छ । रु. २ अर्ब ५६ करोड बराबरको हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर ८ अर्ब ९७ करोड, भटमासको कच्चातेल ६ अर्ब ५१ करोड, तयारी पोशाक ७ अर्ब ११ करोडको आयात भएको छ । सरकारले कृषि उत्पादन वृद्धि भएको बताईरहेको समयमा अन्न १९ अर्ब २ करोड आयात भएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.२ प्रतिशत र ९२.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले वृद्धि भइ रु ३६.३२ अर्ब तथा कुल पैठारीमा ६४.३  प्रतिशतले बृद्धि भई भई रु. ४६६.०५ अर्ब पुगेको छ । उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि  प्रमुख रहेका छन् । नेपालको निकासी  व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क  आदि प्रमुुख रुपमा रहेका छन् ।

यामाहा स्कुटर टेस्ट राइड गर्दा आईफोन ७ जित्ने मौका

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एक महिना लामो एक्स्क्ल्युसिभ स्कुटर क्याम्पेन सुरु गरेको छ । यो अवधिमा यामाहाको फेसिनो र रे जेडआर स्कुटरको टेस्ट राइड गर्ने एक जना भाग्यशालीले आईफोन ७ जित्ने मौका पाउने कम्पनीले जनाएको छ । एमएडब्लुले यो योजना अवधिभर यामाहा स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकलाई टिसोट, गुच्ची, बोस ओरेन्ज, जिर्गियो अर्मानी र गाइ लोरेचे लगायत ब्रान्डका प्रिमियम घडि, सनग्लास, पफ्र्युम र ब्याग उपहार दिने घोषणा गरेको छ । ‘यामाहासँग विभिन्नखाले बाइक र स्कुटरहरु छन् । स्कुटरप्रेमीहरुका लागि हामीसँग फेसिनो, रेजेडआर र रेजी छन्,’ एमएडब्लु इन्टरप्राइजेजका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट एजीएम दिपक रौनियारले भने ‘यामाहा स्कुटरहरु नेपालमा धेरै रुचाइएका छन् । वास्तवममा यामाहा स्कुटरहरु प्रिमियम स्कुटरमा गनिन्छन् ।’ यामाहाले बिक्री गर्दै आएको फेसिनो, रे जेडआर र रेजीलाई प्रिमियम स्कुटरको छवि बनाउन सफल छन् । एक सय १३ सीसी एअर कुल्ड इन्जिनजडित फेसिनो निकै सुन्दर स्कुटर हो जसमा ब्लुकोर टेक्नोलोजी रहेको छ । यसले गर्दा नै यसले ६६ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । रेट्रो स्टाइल र क्वालिटी बिल्ट–अप र ट्युबलेस टायर यसका विशेषताहरु हुन् । त्यसैगरी, यामाहा रे जेडआर रेजीको अपडेटेड भर्सन हो । यसको हेडलाइट, ब्लिंकर, र फ्रन्ट फेन्डर रिडिजाइन गरिएको छ भने एनालग मिटर कन्सोललाई स्टाइलिस बनाइएको छ । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइने कम्पनीले जनाएको छ ।

उपत्यकाबाट टेम्पो र माइक्रोबस विस्थापन हुँदै, साना सवारी हटाएर ठूला यात्रुबस संचालन गरिदैँ

काठमाडौं ।  राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ। साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको व्यवस्थापन गर्न लागेको छ। पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनामंगल रुटका टेम्पो र माइक्रोबस हटाएर त्यहाँ ठूला सवारीसाधन सञ्चालन गरिनेछ। फाइल तस्बिर राजधानीको प्रदूषण र ट्राफिक जाम नियन्त्रण गर्न यातायात व्यवस्था विभागले चरणबद्ध रूपमा सार्वजनिक साना सवारीसाधन विस्थापन गरी ठूला सञ्चालन गर्ने योजना बनाएको विभागका सूचना अधिकारी डा. टोकराज पाण्डेले बताए। पहिलो चरणमा गोंगबु–सिनामंगल रुटका ३५ टेम्पो र २६ माइक्रोबस हटाइनेछ। ६१ वटा सवारीसाधन हटाई तिनका ठाउँमा १७ वटा ठूला बस सञ्चालन गरिनेछ। यी बस नयाँ बसपार्क, सामाखुसी, जमल, ज्ञानेश्वर, मैतीदेवी, पुरानोबानेश्वर, सिनामंगल हुँदै एयरपोर्टसम्म गुड्नेछन्। ‘काठमाडौं दिगो सहरी यातायात आयोजनाु अन्तर्गत साना सवारी व्यवस्थापन गर्न लागिएको हो। चलिरहेका टेम्पो र माइक्रोबस कम्पनी दर्ता गरेर आए ठूला सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ऋण र १५ प्रतिशत सिड मनी दिने व्यवस्था रहेको जानकारी सूचना अधिकारी पाण्डेले दिए। आयोजनालाई एसियाली विकास बैंक ९एडीबी० ले आर्थिक सहयोग गरेको छ। विभागका अनुसार गोंगबु(सिनामंगल रुटमा यो कार्यक्रम सफल भएपछि राजधानीका अन्य रुटमा पनि साना सवारीसाधन विस्थापन थालिनेछ। टेम्पो व्यवसायी संघ सिनामंगलका कोषाध्यक्ष नरेन्द्र अधिकारीले सरकारी योजनाको सराहना गर्दै माइक्रोबस सञ्चालक संघ, सामाखुसी यातायात र सिनामंगल सफा टेम्पो संघ मिलेर नयाँ ठूला बस खरिद गर्न कम्पनी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। अहिले देशभर दुई हजार दुई सय १६ माइक्रोबस र दुई हजार पाँच सय २८ टेम्पो सञ्चालनमा छन्। तीमध्ये अधिकांश माइक्रोबस र टेम्पो राजधानीमै छन्। यी दुई प्रकारका साना सवारीसाधनलाई व्यवस्थित गर्दा राजधानीको करिब ३० प्रतिशत ट्राफिकभार कम हुने विभागको विश्वास छ। सरकारले फागुन १७ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई देशभरबाटै हटाउने भएको छ। २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशन गरी सरकारले आउँदो फागुन १७ देखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको थियो। पुराना सवारीसाधन नवीकरण नगरेका सवारीधनीलाई राजस्व तिराएर त्यस्ता सवारी पत्रु गराउने तयारी विभागको छ। २० वर्ष पुराना सवारीको नवीकरण नहुने र वातावरणमैत्री हरियो स्टिकर नपाउने हुँदा त्यस्ता सवारी स्वतः हट्ने विश्वास विभागले लिएको छ। विभागका अनुसार काठमाडौं उपत्यकामा मात्र अहिले ९ लाख ६३ हजार ५ सय ८ वटा सवारीसाधन दर्ता भए पनि राजधानीबाहिर दर्ता भएका समेत गरी यहाँ करिब १० लाख सवारीसाधन गुड्छन्। यीमध्ये २० वर्ष पुराना सवारीको संख्या १ लाख ५ हजार ५ सय ६२ छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजधानीमा प्रदूषण र ट्राफिक जाम बढ्नुको मुख्य कारक २० वर्ष पुराना गाडी भन्दै हटाउने निर्णय गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐनले सवारी सञ्चालनयोग्य भएनभएको जाँच्न परीक्षण मापदण्ड बनाएको छ। सवारीको यान्त्रिक स्थिति, लम्बाइ, चौडाइ, उचाइ, बनोट वा स्वरूप, सवारीबाट हुनसक्ने प्रदूषण, सवारी चलाउन सकिने अवधिलाई प्राथमिकता दिई परीक्षण मापदण्ड निर्धारण गरिएको छ। सवारी सञ्चालनयोग्य भएको प्रमाणपत्र दिने क्रममा जाँचपास गर्ने/नगर्ने, सवारी दर्ता गर्ने÷नगर्ने अधिकार विभागमा निहित भएकाले सोही आधारमा पुराना सवारी हटाउन लागिएको हो। अन्नपूर्ण पोस्टबाट ।