उपत्यकामा गुड्ने ५२ प्रतिशत सवारी प्रदुषण जाँचमा फेल, डिजेल गाडीमा बढी समस्या
काठमाडौँ । उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक दण्डमा मात्रै सीमित छ । उसले एक हजार तिरेर मर्मतसम्भार गरी ठीक बनाएपछि हरियो स्टिकर पाउने व्यवस्था छ । हरियो स्टिकर पाएका कारण प्रदूषण फेल भएका गाडी पनि उपत्यकामा निर्वाधरुपमा सञ्चालन भइरहेको छ तर नियन्त्रणको प्रभावकारी उपाए भने अपनाउन नसकिएको तीतो यथार्थ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो तीन महीना उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियान सञ्चालन गर्दा आधाभन्दा बढी गाडी प्रदूषण फेल भएको भेटिएको छ । अभियानमा तीन हजार ५६ वटा गाडीको प्रदूषण जाँच भएकामा एक हजार ७१० गाडी प्रदूषण फेल भएको भेटियो । यसको अर्थ ५२ प्रतिशतभन्दा बढी दूषित धुवाँ फ्याँक्ने गाडी उपत्यकामा चल्ने गरेका छन् । “डिजल र पेट्रोलबाट चल्ने गाडी बराबर जस्तो नै प्रदूषण फेल भएको पाइयो, त्यसैले आगामी दिनमा अझै प्रदूषण जाँचलाई कडाइ गर्नेछौँ,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले भने । ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षण कार्यालयको संयुक्त प्रयासमा यहाँका विभिन्न क्षेत्रमा प्रदूषण अनुगमन तथा जाँच गरिँदै आइएको छ । सवारी परीक्षण कार्यालय काठमाडौँका अनुसार पेट्रोल गाडी करीब ३० प्रतिशत र डिजेलका गाडी ४० प्रतिशतको हाराहारीमा प्रदूषण फेल भएको पाइएको छ । कार्यालयका प्रमुख रामचन्द्र पौडेलले यसरी प्रदूषण फेल भएका गाडीलाई एक हजार रुपैयाँ जरिवाना गराउने गरिएको र प्रदूषण मापनअनुसार ठीक बनाएपछि गाडीलाई हरियो स्टिकर दिने गरिएको बताए । उनका अनुसार पेट्रोलबाट सञ्चालित गाडीले फ्याँक्ने धुवाँमा तीन प्रतिशतभन्दा बढी कार्बन मोनोअक्साइट हुनु हुँदैन । हाइड्रोकार्बन एक हजार पिपिएमभन्दा बढी हुनुहुँदैन । डिजेलबाट चल्ने गाडीले फ्याँक्ने धुवाँमा स्मोक डेनसिटी ६५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । उपत्यकामा यस्ता गाडी प्रयोग गर्ने क्रम भने बढ्दो क्रममा रहेको छ । गाडीलाई राम्ररी मर्मत गरेर चलाउने हो भने सबै दृष्टिकोणले सुरक्षित हुने भए पनि चालकले यसमा बेवास्ता गर्दा गाडीलेसमेत वायु प्रदूषणलाई थप टेवा पुर्याइरहेको छ । मुलुकको राजधानी काठमाडौँ धुलो धुवाँबाट आक्रान्त छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्य हुने वर्षौैंदेखिको समस्या हो । धुलो र हिलो रोक्न धेरै प्रयास नभएका होइनन् । काठमाडौँ महानगरपालिकाले ब्रुमर ल्याएर सडक सफा गर्ने अभियानसमेत चलायो । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक जामको समस्या उस्तै छ । त्यसमाथि प्रदूषण फेल भएका गाडी निर्वाधरुपमा सञ्चालन हुनुले थप समस्या निम्ति रहेकोतर्फ भने ध्यान कम छ । ट्राफिक प्रहरीले काठमाडौँमा तीन महीने अभियानअन्तर्गत करिडोर तथा अण्डरपास व्यवस्थापन, सवारी प्रदूषण नियन्त्रण, सडक रेखाङ्कन, फुटपाथ व्यवस्थापन, दुईपाङ्ग्रे सवारीलाई घुम्ती शिक्षा तथा बस रोक्ने, ओराल्ने तथा उकाल्ने स्थानको नियमन गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । यही अभियानका क्रममा भएको जाँचमा यतिधेरै सवारी प्रदूषण फेल भएको पाइएपछि यसलाई थप कडाइका साथ लैजाने योजना बनाइएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए ।
ओपोको एफ ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी, ज्वेलरी ह्वाइट चाँडै उपलब्ध हुने
काठमाडाैं । वैश्विक ब्राण्डका रुपमा परिचित चिनिया स्मार्टफोन निर्माता कम्पनीओपोले गत अप्रिल महिनामा आफ्नो एफ ११ सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप मोडलहरु सार्वजनिक गरेको छ। उपभोक्ता माझ निकै लोकप्रिय प्रमाणित हुन सफल एफ ११ प्रो अन्तर्गत कम्पनीले लगतै एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड इडिशन पनि सार्वजनिक गरेको हाे । कम्पनीले ओपो एफ११ पनि नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । ओपोका अनुसार चाँडै नै कम्पनीले एफ११ लाई ज्वेलरी ह्वाइट रंगमाउपलब्ध गराउने तयारी थालेको छ । रु. ३७ हजार ९ सय ९० मूल्य निर्धारण गरिएको एफ ११ हाललाई मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमा उपलब्ध छन् । सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ रंगको एफ ११ लाई पनि उपभोक्ताले पछिल्ला मोडललाई झैँ रुचाइ उत्तिकै माया दिने कम्पनीको दृढ विश्वास छ । कार्यक्रममा बोल्दै नेपालमा प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने “वैश्विक ब्राण्डका रुपमा ओपोले आफ्ना उपभोक्ताका माग र आवश्यकतालाई विशेष प्राथमिकताका साथ बुझ्न सदैव तत्पर रहन्छ । उत्पादन मार्फत तिनलाई मिल्ने सन्तुष्टि नै हाम्रालाई प्रमुख प्राथमिकताको विषय हो । व्यक्ति पिच्छे मानिसको ब्यक्तित्व फरक हुन्छन् । रंगले पनि एक वा अनेक तवरमा तिनको व्यक्तित्व झल्काउने गर्छ ।” कम्पनीका अनुसार नयाँ रंगको एफ ११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा प्रमुख विक्रेता मार्फत मध्य जुलाई देखि सर्वत्र उपलब्ध हुनेछ ।
‘इजीट्याक्सीनेपाल’ एप्स, ५ मिनेटमै घरमा आउँछ ट्याक्सी
काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सीसेवा दिन शुरु गरेको छ ।उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको शुरुवात गरेको हो । प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै समाजले मोबाइल एप्स ‘इजीट्याक्सीनेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परीक्षण गर्दै आएको छ । अब भने समाजले इजीट्याक्सीनेपाल मार्फत आबद्ध ट्याक्सीहरुमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको हो । इजीट्याक्सीनेपाल ट्याक्सी सेवा हाल काठमाडौं उपत्यका भरी संचालनमा आईसकेको छ । यसको लागि ‘इजीट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नुपर्दछ । यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोही एप्समार्फत सो अनुरोधलाई स्वLकार गर्नेछन् । त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले-‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा शुरु भएको छ । सरकारले पर्यटकहरु नेपाल भित्र्याउन भिजिट नेपाल २०२० अभियान गर्दैछ भने इजीट्याक्सीनेपाल एप्सले पनि सोहि अभियानलाई साथ दिन प्रचास प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरुलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं ।’