देशैभरि चार्जिङ स्टेशन खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले विद्युत खपतलाई बढाउन र विद्युतीय सवारीलाई प्रोत्साहित गर्न देशभरि नै चार्जिङ स्टेशन संचालन गर्ने भएको छ । पछिल्लो समय देशमा उत्पादित विद्युत बढदै गएको तथा इन्धन आयातका कारण व्यापार घाटा चुलिन थालेपछि सरकारले यस्तो योजना अघि सारेको हो । गत पुसमा सरकारले ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो । उक्त विद्युतीय बस संचालन गर्न देशैभरि चार्जिङ स्टेशन स्थापना गर्न गृहकार्य अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले बताए । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा भन्दा विद्युतीय सवारी साधानमा कम खर्च लाग्ने उनले बताए । विद्युतीय बस संचालन गर्दा मुलुकबाट इन्धनका लागि बाहिरिने रकम जोगिन्छ,’ उनले भने-‘हामी अब विद्युतमा विस्तारै आत्मनिर्भर बन्दैछौं ।’ चालु आवको अन्त्यसम्म राष्ट्रिय प्रसारण प्रणालीमा थप एक हजार २०० मेगावाट भन्दा बढी विद्युत् जोडिदै छ । विद्युत खपत बढाउन सके इन्धन खर्चमा केही कटौती हुने थियो । अब किनेर इन्धनबाट सवारी चलाउनु भन्दा वातावरणमैत्री सवारी साधानमा जोड दिन यो कदम अघि सारिएको हो । ‘त्यसो त सरकारले विद्युतीय सवारी साधन खरिदमा कर छुट समेत दिएको छ,’ उनले थपे । सरकारले साझा यातायात खरिद गर्नका लागि ३ अर्ब रुपैयाँ समेत विनियोजन गरेको छ । सरकारले यस अघि चालु आर्थिक वर्षभित्रै काठमाडौं उपत्यकाको २० स्थानमा विद्युतीय सवारी साधनका लािग चार्जिङ स्टेशन निर्माण गर्ने भएको जनाइएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिएको छ, मन्त्री पुनले थपे । चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक प्रक्रिया शुरु गरिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माणका लागि प्राधिकरणले काम शुरु गरिसकेको छ । सरकारले चार्जिङ स्टेशन खोल्न गृहकार्य अघि बढाएपनि चार्ज गर्दा तिर्नुपर्ने महशुलको विषयमा भने हालसम्म निर्णय गर्न सकेको छैन । यस विषयमा प्राधिकरणले छिट्टै निर्णय गर्न सक्नेछ ।

हुन्डाईको फेस्टिभ डिलाइट योजना, लक्की ड्र मार्फत कार जित्ने अवसर

काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि(हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारिक विक्रेता)ले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । यो योजनाको अवधि भदौ २ गतेदेखि कात्तिक १६ गते सम्म रहेको छ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित ल्याइएको कम्पनीले जनाएको छ । योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क वीमा पाउने छन् । साथै स्क्रयाच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुट, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात-५ दिनको दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई स्यान्ट्रो एक थान र हुन्डाई भेन्यू एक थान जित्न सक्ने छन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुने जनाइएको छ ।

सिप्रदीले गर्यो एनएलजी, प्रिमियर र ओरियन्टसँग क्यासलेस बीमासम्बन्धी सम्झौता

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।काठमाण्डौँ स्थित सिप्रदी टेड्रिङ प्रालिको मुख्य कार्यालयमा आयोजित एउटा समारोहका माझ उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सिप्रदी कम्पनीजका उपाध्यक्षसौरभराज थपलिया, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा सिप्रदी कम्पनीजका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक एम.डी नायरले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो योजना मार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् । सिप्रदीले हालसम्म चारवटा बीमा कम्पनीहरूसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र आगामी दिनमा अझ धेरै ग्राहकहरूलाई सेवा उपलब्ध गराउने उद्देश्य सहित अन्य बीमा कम्पनीहरूसँग सहकार्य गर्ने योजना रहेको जनाएको छ ।