बहुराष्ट्रिय कम्पनीको वेवसाईट नेपालीमा, सरकारी कम्पनीको वेवसाईट अंग्रेजीमा
२ चैत । सर्वसाधारण नागरिकलाई जानकारी दिन भनेर खोलिएका सरकारी स्वामित्वका संस्थानहरुकै वेबसाइट नेपाली भाषामा उपलब्ध छैनन् । सर्वसाधारणसँग सरोकार राख्ने यस्ता संस्थानहरुले नेपालीमा वेबसाइट बनाउनुपर्छ भन्ने सुझाव कतैवाट पनि नआएकोले अहिलेसम्म अंग्रेजीमै बनाइएको अधिकारीहरुको भनाइ छ । नेपालको सवैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको वेबसाइट नेपाली भाषामा छैन । यस्तै सरकारी स्वामित्व रहेका बाणिज्य बैंकहरु नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकको वेबसाइट पनि नेपाली भाषामा छैन । नीजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले नेपाली भाषामा पनि वेबसाइट बनाएको छ । यस्तै नेपाल र भारतको संयुक्त लगानीको नेपाल एसबीआइ बैंकले नेपाली भाषामा पनि वेबसाइट निर्माण गरेको । नेपाल राष्ट्र बैंककै वेबसाइटमा अधिकांश जानकारी र सुचनाहरु नेपाली भाषामै राख्ने गरिएपनि नेपाली भाषामा छुट्टै वेबसाइट भने बनाएको छैन । सबै मन्त्रालयहरुले नेपाली भाषामा पनि बेवसाइट बनाउने गरेका छन । नेपालमा भाषामा पनि वेबसाइट चाहिन्छ भन्ने आवाज नउठेकोले अहिलेसम्म अंग्रजी भाषामा मात्रै बनाइएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए । ‘नेपाली भाषामा पनि वेबसाइट बनाउँ भनेर कसैले पनि भनेको छैन,’ आचार्यले भने– त्यतातिर हामी आफ्नै पनि सोच पुगेको रहेनछ । अब चाढै नै नेपाली भाषामा पनि बेबसाइट बनाइने आचार्यको भनाइ छ । टेलिकम क्षेत्रमा प्रयोग हुने शब्दाबली अंग्रेजी भाषाका हुने भएकोले अंग्रेजी भाषामै वेवसाइट बनाइएको भए पनि अब भने नेपालीमा पनि बनाउने आचार्यले बताए । जबकी नेपाल टेलिकमको प्रतिस्प्रर्धी एनसेलको वेवसाईटमा नेपाली र अग्रेजी दुबै पेज राखिएको छ । राष्ट्रय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा पनि नेपालीमा वेबसाइट बनाउने सुझाव नआएकाले अंग्रजी भाषामा मात्रै बनाइएको बताए । ‘नेपालीमा पनि वेबसाइट बनाऔं भनेर कसैले पनि सुझाव दिएको थिएन,’ आचार्यले – तपाइले राम्रो कुरा उठाउनु भयो, अब हामी नेपाली भाषामा पनि बनाउने गरी प्रक्रिया अगाडि बढाउछौं । पछिल्लो समयमा इन्टरनेट पहुच बढेकोले आफ्नो बैंकको वेबसाइट नेपाली भाषामा पनि बनाउन आवश्यक देखिएको शर्माको भनाइ छ । विकासन्युज/काठमाडौं । सरकारी स्वामित्व रहेको कृषि विकास बैंकले पनि नेपाली भाषामा वेबसाइट बनाएको छैन । सोमवार विहान मात्रै आफ्नो वेबसाइटलाई कसरी बढी बैज्ञानिक र जानकारीमुलक बनाउने भन्ने विषमा छलफल भएकोले सम्भब देखिए नेपाली भाषामा पनि बनाइने बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले जानकारी दिए । ‘अहिलेको वेवसाइट त्यति प्रभावकारी र जानकारीमुलक नभएकोले अर्काे बनाउने भनेर छलफल गरिरहेका छौं,’ सिटौलाले भने– तपाइले नेपाली भाषाको पनि कुरा उठाउनु भएकोले सम्भब हुने रहेछ भने नेपाली भाषामा पनि बनाइन्छ । यस्तै सरकारी स्वामित्वको एनआइडीसी डेभलपमेन्ट बैंकको वेबसाइट पनि अंग्रजी भाषामा मात्रै छ । सरकारी स्वामित्वकै नेपाल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थानको वेवसाइट पनि अंग्रजी भाषामा मात्रै छ । यति मात्रै होइन, नियामक निकाय धितोपत्र बोर्डको वेबसाइट पनि अंग्रेजी भाषामा मात्रै छ । यस्तै नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ हाउसको वेबसाइट पनि अंग्रेजी भाषामा मात्रै बनाइको छ ।
३० हजार कित्ता नक्कली सेयर बजारमा, जीएनजीका सञ्चालकको संग्लनता
हालै खुलासा भएको फर्जी सेयरको कारोबारमा जीएनजी कम्पनीको संलग्नता रहेको प्रारम्भिक अध्ययनमा भेटिएको छ । कम्पनी सञ्चालक गोविन्द घिमिरेको डिजाइनमा उनीसंगै छत्र थापा, भरतबहादुर थापा, रामहरी अर्याल, अर्यालकी श्रीमती लगायतले एक वर्षदेखि नै सेयरको फर्जी कारोबारमा संलग्न रहेको भेटिएको स्रोतले जानकारी दिएको छ । ‘करिब ६ महिनाअघि नै छत्र थापाले नेशनल हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबार गरेको खुल्न आएपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो,’ स्रोतले भन्यो । उनलाई त्यतिखेर जीएनजी कम्पनीका सञ्चालक अर्यालले जमानतमा छुटाएका थिए । अरुण सेक्युरिटीजमा समेत काम गरेका थापा श्रीहरी सेक्युरिटीजमा कार्यरत रहँदा पक्राउ परेका थिए । तर पछिल्ला दिनमा चिलिमे जलविद्युत् कम्पनी र सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा समेत छत्र थापाको संग्लनता भेटिएपछि जीएनजी कम्पनीका अन्य सञ्चालकहरु पनि अनुसन्धानको घेरामा आएका हुन् । नेशनल हाइड्रोपावर कम्पनी, चिलिमे जलविद्युत् कम्पनी र सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा जीएनजी कम्पनीका सञ्चालकहरुको संग्लनता भेटिए पनि हरेक पटकको कारोबार फरक÷फरक तरिकाले फर्जी कारोबार गरेको देखिएको छ । नेशनल हाइड्रोपावरको २५ लाख कित्ता स्वामित्व नखुलेको, कम्पनीले हकप्रद सेयर जारी गरेर उठेको रकम हिनामिना गरेको भन्दै लगानीकर्ता दीपक कार्की र प्रकाश रजौरेले दुई बर्षअघि पनि पटक पटक आवाज उठाउँदै आएका थिए । नेशनल हाइड्रोपावर कम्पनीको सेयरमा कम्पनीको स्तरबाट नै गलत अभ्यास भएको देखिएको थियो । तर चिलिमे जलविद्युत् र सानिमामाईको फर्जी कारोबारमा व्यक्तिगत संलग्नता रहेको नेप्सेका उच्च अधिकारीहरुको बुझाई छ । नेशनल हाइड्रोपावर कम्पनीको करिब ११ हजार कित्ता फर्जी सेयर कारोबार गरेको अनुभव लिइसकेका छत्र थापा र उनको टोली अन्य कम्पनीहरुको समेत फर्जी सेयर कारोबारमा अग्रसर भए । थापा फन्र्टलाइनमा देखिएपनि मुख्य योजनाकार भने गोपाल घिमिरे रहेको पनि हालसम्मको अनुसन्धानबाट देखिएको छ । बागबजारमा कार्यालय नै खोलेर यो समूह सक्रिय रहेको खुलेको छ । ‘सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा यो समुहले बजार सञ्चालकहरुको कमजोरीको फाइदा उठाएको देखिन्छ,’ दोस्रो स्रोतले भने । सानिमामाइ हाइड्रोपावर कम्पनीको १९ कित्ता र एक सय ४३ कित्ता सेयर राफसाफको क्रममा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा पुगेको तर नामसारी भएर खरिदकर्ताले नपाएको देखिन्छ । ‘सीडीएससीबाट ती सेयर हराएको देखिन्छ, त्यही सेयरको नक्कली प्रमाणपत्र बनाएर कारोबार गरिएको आशंका गरिएको छ,’ अर्का स्रोतले भने । सीडीएससीले सेयर राफसाफको लागि दुवै पक्ष स्वयं उपस्थित हुनुपर्ने नियम दुई बर्ष अघि लगाएको थियो । ब्रोकर कर्मचारीका स्टाफ नै प्रमाणपत्र बोकेर सीडीएससीमा जाने गर्दथे । दुई पक्षको उपस्थितिमा मात्रै सेयर राफसाफ गरिन्थ्यो । तर यही क्रममा सानिमामाईको सेयर सीडीएससीमा पुगेर हराएको देखिने दोस्रो स्रोत बताउन्छ । चिलिमे जलविद्युत् कम्पनीको भने फर्जी सेयर नै बनाएर कारोबार गरेको, सेयर धितोको रुपमा समेत राखेको देखिन्छ । ‘चिलिमे जलविद्युत् कम्पनीको फर्जी सेयर बनाएर ल्याएको यस समुहले आफ्नै नाममा म्याचिङ कारोबार गरे, तर फर्जी सेयरको कारोबार भएको थहा भएलगत्तै ब्रोकर कम्पनीको सक्रियतामा यसको खुलासा भएको हो,’ सम्वद्ध स्रोतले भन्यो । चिलिमे जलविद्युत् कम्पनीको अनुसुची ‘अस्थाई सेयर’ बनाएर म्याचिङ गरेको देखिन्छ । कम्पनीको करिब १३ हजार पाँच सय कित्ता यस्तो सेयर बनाइएको देखिन्छ । कम्पनीको यही सेयर ब्ल्यांक ट्रान्सफरमा समेत कारोबार गरिएको देखिन्छ । यसरी ब्ल्यांक ट्रान्सफरमा कारोबार गरेको चिलिमेको करिब सात हजार कित्ता सेयर युनाईटेड फाइनान्समा समेत धितोमा राखेको खुलेको छ । ब्रोकर नम्बर ६ अग्रवाल सेक्युरिटीजको जमानीमा फाइनान्सले बीटी रसिदको आधारमा कर्जा समेत प्रवाह गरेको छ । फर्जी सेयरको कारोबार भएको खुलासा भएपछि युनाईटेडले आइतवार अग्रवाल सेक्युरिटिजसंग छलफल समेत गर्ने भएको छ । सामान्यतया आफुसंग भएको एकमुष्ट सेयरलाई टुक्रा पारेर बेच्नुपर्दा लगानीकर्ताहरुले अनुसुची फारम भरेर अस्थाई प्रमाणपत्रको लागि कम्पनीमा आवेदन दिनुपर्छ । मानौं कुनै लगानीकर्ताको नाममा एक सय कित्ताको एउटै प्रमाणपत्र छ र उसले ५० कित्ता बिक्री गर्न चाहेमा सेयर टुक्र्याउनु पर्ने हुन्छ । कम्पनीमा लगानीकर्ताले सक्कल प्रमाण पत्र सहित अनुसुची फारम भरेर सेयर टुक्र्याउँन कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । कम्पनीले सक्कल प्रमाणपत्र खिचेर न्युनत्तम १० कित्ताको दरमा टुक्राएर अस्थाई पुर्जा दिन्छ । यस्तो पुर्जा कम्पनीबाट प्रमाणिकरण भएको हुन्छ । समुहले कम्पनीको नक्कली छाप, लेटर प्याड नै बनाएर अस्थाई प्रमाणपत्र बनाएको भेटिएको हो । नेशनल हाइड्रो ११ हजार कित्ता, चिलिमे जलविद्युत्को १३ हजार पाँच सय कित्ता र सानिमाइमाइको करिब एक सय ६२ कित्ता गरि लगभग ३० हजार कित्ता सेयरको फर्जी काम भएको देखिन्छ । नेशनल हाइड्रो कम्पनीमा देखिएको विवाद, समस्या बर्षाैसम्म नियमक निकायले सल्टाउँन नसक्दा त्यसैबाट यो समुह प्ररित भएर फर्जी कारोबारमा लागेको देखिन्छ । नेप्सेले भने अनुसन्धानको क्रममा हाल अग्रवाल सेक्युरिटिज ( ब्रोकर नम्बर ६), जे एफ सेक्युरिटिज (ब्रो. ७), सिप्रवी सेक्युरिटीज (ब्रो.२२) र श्रीहरी सेक्युरिटीज (ब्रो.५६)को कारोबार रोक्का गरेको छ । नेप्सेले यस बिषमा अध्ययन गर्न प्रवक्ता शम्भु पन्त सहित तीन जनाको एक कमिटि गठन गरेको छ । कमिटिले एक साता भित्र अध्ययन प्रतिवेदन दिने बुझिएको छ । पन्तले यस बिषयमा भने अहिले कुनै जानकारी दिन नमिल्ने बताए । स्रोतका अनुसार अहिले नेप्से र नियमक निकाय धितोपत्र बोर्डबीच यस बिषयमा कुनै सार्वजनिक वक्तव्य नदिने सहमति भएको छ । ‘यस अनुसन्धानमा प्रभाव पर्ने भएकोले कसैले पनि सार्वजनिक अभिव्यक्ति नदिने निर्णय गरेको हो,’ नेप्से स्रोतले बतायो ।
सुक्ष्म निगरागनीमा रहेका कर्जालाई असल कर्जाबाट अलग्याउनु पर्ने, पाँच प्रतिशत नोक्सान व्यवस्था गर्नुपर्ने
२९ फागुन । बैंक तथा वित्तीय संस्थाले असल कर्जा अन्र्तगत सुक्ष्म निगरानीमा रहेका कर्जालाई सुक्ष्म निगरानी बर्गको कर्जामा नै राख्नु पर्ने भएको छ । यस्तो कर्जामा पाँच प्रतिशत नोक्सानको समेत व्यवस्था गर्नुपर्ने निर्देशन नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको छ । राष्ट्र बैंकले कर्जाको बर्गीकरण चार भागमा बाँड्दै आएकोमा सुक्ष्म निगरानी बर्ग थप गरेर पाँच भागमा बिभाजन गरेको हो । असल कर्जाको बर्गिकरणमा राष्ट्र बैंकले भाका ननाघेको र तीन महिनाको भाका नाघेको कर्जा राख्नु पर्ने व्यवस्था गरेको छ । यही वर्गमा रहेको कर्जाको सुक्ष्म निगरानी भइरहेको अवस्थामा भने त्यसलाई सुक्ष्म निगरानी बर्गको कर्जाको रुपमा बैंकहरुले छुट्याउनु पर्ने भएको छ । असल कर्जा र सुक्ष्म कर्जा दुवै सक्रिय कर्जाकै रुपमा रहने छन । तर यी कर्जामा नोक्सानी व्यवस्था गर्दा भने फरक फरक हुनुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ । असल कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले एक प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ तर सुक्ष्म निगरानीमा रहेको कर्जाको लागि भने पाँच प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । तीन महीनादेखि ६ महिनासम्म भाका नाघेका कर्जालाई बै.क तथा वित्तीय संस्थाले कमसल कर्जाको रुपमा लिनुपर्ने र २५ प्रतिशत नोक्सान व्यवस्था गर्नुपर्ने हुन्छ । त्यस्तै, ६ महिनादेखि एक बर्षसम्म भाका नाघेका कर्जा शंकास्पद बर्गमा पर्ने र यस्ता कर्जाको लागि ५० प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । एक बर्षभन्दा बढि भाका नाघेका कर्जा भने खराब कर्जामा रहने र यस्ता कर्जाको लागि शत प्रतिशत रकम राख्नु पर्ने व्यवस्था छ । पुनर्संरचना गरेको, पुनर्तालिका गरेका, कमसल, शंस्कादपद र खराब कर्जालाई निष्क्रिय कर्जाको रुपमा लिइने गरिएको छ । त्यस्तै, राष्ट्र बैंकले दुई लाख रुपैयाँसम्मको चेक सट्दा भने बैंक तथा वित्तीय संस्थाले शुल्क लिन नपाउँने व्यवस्था गरेको छ । यसअघि कम रकमको चेक साट्दा पनि शुल्क लिने गरेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत र वयवस्थापकिय पद तीन महिनाभन्दा बढि समय रिक्त राख्न नपाउँने समेत नयाँ व्यवस्था गरेको छ ।
चिलिमे र सानिमामाइको फर्जी सेयर कारोबार भएको आशंका, नेप्सेले गर्यो चार ब्रोकरको कारोबार रोक्का
२८ फागुन । फर्जी सेयर कारोबार भएको आशांकामा नेप्सेले चार ब्रोकर कम्पनीको कारोबार रोक्का गरेको छ । सेयर टुक्रर्याउँदा दिने ‘अनुसुची’ (अस्थाई प्रमाणपत्र) को फर्जी कारोबार भएको आशंकामा नेप्सेले ती ब्रोकरको कारोबार रोक्का गरेको हो । नेप्सेले अग्रवाल सेक्युरिटिज ( ब्रोकर नम्बर ६), जे एफ सेक्युरिटिज (ब्रो. ७), सिप्रवी सेक्युरिटीज (ब्रो.२२) र श्रीहरी सेक्युरिटीज (ब्रो.५६)को कारोबार रोक्का गरेको हो । नेप्सेले बिभिन्न बिषयमा छानबिन गर्न भन्दै यी कम्पनीलाई कारोबारबाट रोक्का गरेको हो । स्रोतका अनुसार चिलिमे जलविद्युत् कम्पनी र सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी अस्थाई प्रमाणपत्रको कारोबार भएकोले उनीहरुमाथी छानविन गरिएको हो । कति कित्ता सेयरको कारोबारमा समस्या आएको भन्ने खुल्न सकेको छैनन । सम्बन्धित ब्रोकरहरुले पनि यसमा कुनै प्रतिक्रिया दिएका छैनन् । सामान्यतया आफुसंग भएको एकमुष्ट सेयरलाई टुक्रा पारेर बेच्नुपर्दा लगानीकर्ताहरुले अनुसुची फारम भरेर अस्थाई प्रमाणपत्रको लागि कम्पनीमा आवेदन दिनुपर्छ । मानौं कुनै लगानीकर्ताको नाममा एक सय कित्ताको एउटै प्रमाणपत्र छ र उसले ५० कित्ता बिक्री गर्न चाहेमा सेयर टुक्र्याउनु पर्ने हुन्छ । कम्पनीमा लगानीकर्ताले सक्कल प्रमाण पत्र सहित अनुसुची फारम भरेर सेयर टुक्र्याउँन कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । कम्पनीले सक्कल प्रमाणपत्र खिचेर न्युनत्तम १० कित्ताको दरमा टुक्राएर अस्थाई पुर्जा दिन्छ । यस्तो पुर्जा कम्पनीबाट प्रमाणिकरण भएको हुन्छ । विहीवार छानविनमा रहेका ब्रोकर कम्पनीहरु मार्फत् भएका बिभिन्न कम्पनीका अस्थाई प्रमाणपत्र कम्पनीबाट प्रमाणित नै भएको केहीको दाबी छ । तर यसमा कुनै पक्षले पनि विस्तृत जानकारी बाहिर ल्याएको छैन । स्रोतका अनुसार छानविन प्रक्रिया चलिरहेकोले यसबिषयमा कसैले पनि सार्वजनिक अभिव्यक्ति नदिने निर्णय भएको छ । ‘छानविनमा प्रभाव पर्ने तथा लगानीकर्तामा नकारात्मक सन्देश जाने भएकोले नेप्से र धितोपत्र बोर्डका कसैले पनि यसबारेमा तत्काल केही उल्लेख नगर्ने सहमती भएको छ,’ ती स्रोतले बताए । विहीवार नै नेप्सेका पदाधिकारी रहने गरि छानविनको लागि तीन सदस्यीय टोलि गठन भएको छ । यो टोलीले छानविनको क्रममा रहेका ब्रोकरहरुको पुराना कारोबारहरुको समेत अध्ययन गर्ने भएको छ । यसैबीच बुधवार नै ललितपुर प्रहरीले प्रकाश तिमिल्सिनालाई फर्जी सेयर प्रमाणपत्र कारोबारमा संलग्न रहेको भन्दै प्रक्राउ गरेको छ । गिरोह नै संलग्न रहेर फर्जी सेयरको करोबार भएको र करिब दुई करोड रुपैयाँको कारोबारमा समस्या रहेको हुन सक्ने आशंका गरिएको छ । गिरोहले बागबजारमा कार्यालय नै खोलेर फर्जी सेयर कारोबार गरिरहेको , हस्ताक्षर प्रमाणिकरण समेत आफैले गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको ललितपुर प्रहरीले उल्लेख गरेको छ । नेप्सेमा गठन भएको कमिटिले एक साता भित्र अध्ययन प्रतिवेदन दिने बुझिएको छ ।
यस्तो बन्यो धुलिखेल–बर्दिवास सडक (फोटो फिचरसहित)
२८ फागुन । राजधानी काठमाडौंलाई तराईसँग सवैभन्दा छिटो जोड्ने बीपी राजमार्गको निर्माण सम्पन्न भएको छ । तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाले २०१६ सालमा धुलिखेलवाट सिन्धुली सडक निर्माण गर्नको लागि जापान सरकारसँग गरेको प्रश्तावले २०७१ सालमा मूर्त रुप लिएको छ । आगामी मे महिनामा सो सडक नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम जापान सरकारले बनाएको छ । जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको धुलिखेल–बर्दिवास सडकको लम्बाई १ सय ६० किलोमिटर छ । सडक निर्माणको लागि मात्रै करिब २५ अर्ब जापानी येन खर्च लागेको जापानी दुतावासले जानकारी गराएको छ । सडक निर्माण कार्य सन् १९९५ देखि सुरु भएको थियो । जापान सरकारले सो सडकलाई चार खण्डमा विभाजन गरेर निर्माण गरेको छ । सिन्धुली बजारदेखि बर्दिवाससम्मको खण्डलाई पहिलो खण्डको रुपमा निर्माण गरिएको छ । ३७ किलोमिटर लामो सो खण्ड निर्माणको लागि २ अर्ब १ करोड ९० लाख जापानी येन खर्च भएको छ । सो खण्ड सन् १९९८ मै निर्माण सम्पन्न भएको छ । खुर्काेटदेखि सिन्धुलीसम्मको खण्डलाई दोस्रो खण्डमा विभाजन गरेर निर्माण गरिएको थियो । ३६ किलोमिटर लामो सो खण्ड निर्माण गर्नको लागि ८ अर्ब २० करोड ४० लाख जापानी येन खर्च लागेको छ । सो सडक खण्ड सन् २००९ को मार्चमा निर्माण सम्पन्न भएको छ । नेपालथोकदेखि खुर्कोटसम्मको सडक खण्डलाई तेस्रो खण्डमा विभाजन गरेर निर्माण गरिएको छ । यो खण्ड ३७ किलोमिटर लामो रहेको छ भने निर्माण गर्नको लागि ८ खर्ब ७७ करोड १० लाख जापानी येन खर्च भएको छ । सवैभन्दा अन्तिममा निर्माण सम्पन्न भएको खण्ड पनि यहि नै हो । यो खण्डको निर्माण गत १ मार्चमा मात्रै सकिएको हो । धुलिखेलदेखि नेपालथोकसम्मको खण्डलाई चौथो खण्डको रुपमा विभाजन गरी निर्माण गरिएको थियो । सो खण्ड बनाउन ५ अर्ब ५ करोड ५० लाख जापानी येन खर्च लागेको छ । यो खण्डको निर्माण सन् २००५ मा सकिएको छ । यो खण्डको लम्बाई ५० किलो मिटर रहेको छ । यस्तै जापान सरकारले सो सडकसँगै सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली र महोत्तरी जिल्लामा गरी थप ३२ स्थानमा गाडी चल्न मिल्ने पुल पनि निर्माण गरिदिएको छ । यस्तो पुल बनाउनको लागि थप ५६ करोड रुपैयाँ सहयोग दिइएको छ ।
युटिएल र स्मार्टको युनिफाईड लाईसेन्स खोस्ने तयारी
२७ फागुन । नेपाल दुर सञ्चार प्राधिकरणले युटिएल र स्मार्ट टेलिकमको युनिफाईड सेवा सञ्चालन सम्बन्धी लाईसेन्स खोस्ने तयारी थालेको छ । १७ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले लाईसेन्स ओगटेर बस्ने कम्पनीहरुको लाईसेन्स खोस्ने तयारी भैरहेको बताएका हुन् । उनले नेपालको दुर सञ्चार सेवामा एनसेलको एकाधिकार बढ्दै गएको र सो कम्पनीसँग प्रतिष्र्धा गर्न सक्ने नयाँ कम्पनीको आवश्यकता औल्याउँदै लाईसेन्स लिएर पनि सेवा सञ्चालन नगर्ने कम्पनीहरुको लाईसेन्स खोस्न लागिएको बताएका हुन् । स्मार्ट टेलिकमले युनिफाईड लाईसेन्स लिएको दुई बर्षसम्म पनि सेवा सुचारु गरेको छैन भने युटिएलले लाईसेन्स पाएर पनि लगेको छैन् । दुई बर्षदेखि दुई लाईसेन्स ओगटेर पनि सेवा सञ्चालन नगरेपछि नेपालको टेलिकम्युनिकेशन क्षेत्रमा एनसेलको बजार हिस्सा निरन्तर बढिरहेको छ । प्राधिकरण अध्यक्ष झाले नेपालमा सेवाको गुणस्तर र शुल्कमा अझै पनि प्रतिष्पर्धा हुन नसकेको बताउँदै नयाँ शसक्त सेवा प्रदायक कम्पनी आवश्यक रहेको बताएका थिए । ब्रोड ब्याण्ड नीति मन्त्री परिषदमा पठाई सकिएको र केहि दिन भित्रै आइसीटी निती समेत तयार हुने बताउँदै नयाँ निती अनुसार ऐन समेत संसोधान आवश्यक रहेको धारणा राखेका थिए । ग्रामिण दुर सञ्चार कोषको शिघ्र परिचालन अध्यक्ष झाले झण्डै १० अर्बको हाराहारीमा रहेको ग्रामिण दुर सञ्चार कोषको रकम प्रयोगको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । अप्टिकल फाइबर नपुगेका ग्रामिण क्षेत्रमा सो रकम मार्फत फाईबर बिच्छ्याउनका लागि अन्तराष्ट्रिय परामर्श दाताको छनौट समेत अन्तिम चरणमा रहेको उनको भनाई थियो । झाले नेपालको दुर सञ्चार क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले त्यसको परिपुर्तिका लागि प्राधिरण समेत लागिपरेको धारणा राखेका थिए । त्यस्तै, पुर्वाधार सह प्रयोगको निती मार्फत एउटै एन्टेनामा कम्तिमा पनि तीन वटा कम्पनीले सेवा दिने योजना अघि सारिएको जानकारी पनि दिएका थिए । उनले कर्मचारीको सेवा सुबिधा लागि बिनियमावली संसोधनका क्रममा रहेको जानकारी पनि पनि दिए । हाल प्राधिकारणमा जम्मा ४० जना मात्रै कर्मचारी रहेको बताउँदै उनले दरबन्दी थप्ने सोँच बनाएको स्पष्ट समेत पारे । बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्रालयका सचिव सुनिल बहादुर मल्लले नेपालको दुर सञ्चार क्षेत्रमा जनताको सरल र सहज पहुँच बढाउन नयाँ ढंगले अघि बढ्नु पर्ने धारणा राखेका थिए । नेपालमा हाल ९६ प्रतिशत जनतामा दुर सञ्चार सेवा पुगेको छ भने ३८ प्रतिशतमा इन्टरनेट सेवा पुगेको छ ।
नेशनल लाइफ इन्स्योरेन्समा बिशाल ग्रुप पस्दै, नेप्से स्थिर
२७ फागुन । नेशनल लाइफ इन्स्योरेन्समा अशोक अग्रवालको समुह बिशाल ग्रुपले लगानी बढाइरहेको छ । बुधवार नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको १० करोड रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । यी सेयर रीता मल्ल (कम्पनीका निर्देशक डम्बरबहादुर मल्ल) ले बिक्री गरेको तथा अग्रवाल समुहले खरिद गरेको बुझिएको छ । हाल कम्पनीमा अग्रवाल समुहको नदेखिने अनुपातमा सेयर स्वामित्व रहेको छ । गत बर्ष करिब ७०/७५ हजार कित्ता सेयर खरिद गरेको अग्रवालले क्रमिक रुपमा लगानी बढाइरहेको छ । बुधवार भएको कारोबार पनि करिब चार महिना अगाडी नै डिल भएको हो । बुधवार अग्रवाल समुह र समुहसम्बद्ध कम्पनीहरुले ९५ हजार कित्ता सेयर किनेको छ । अग्रवाल समुहसंग यसअघि रहेको ७० हजार कित्ता र सेयर र बुधवार खरिद गरेको सेयरको आधारमा करिब दुई प्रतिशतभन्दा (एक लाख ६५ हजार कित्ता) बढि सेयर स्वामित्व पुगेको देखिन्छ । दोस्रो त्रैमाशमा कम्पनीको चुक्तापूँजी ७८ करोड ३९ लाख अर्थात् कुल ७८ लाख ३९ हजार कित्ता सेयर रहेको छ । रीता मल्लसंग भने ४ प्रतिशत सेयर रहेको कम्पनीको पछिल्लो बार्षिक वित्तीय विवरणले देखाउँछ । बुधवार नेप्से परिसुचक भने स्थिर देखिएको छ । नेप्से ०.३७ अंकले घटेको छ । नेप्से घटेर ९७९ बिन्दुसम्म पुगेपनि त्यसपछि बढेको छ । तर नेपाल टेलिकम सुचीकृत ‘अन्य’ समुहको परिसुचक करिब चार अंकले बढेपनि नेप्से वृद्धि भयो । बजार बन्द हुँदा नेप्से परिसुचक ०.३७ अंकले घटेर ९८४.०६ बिन्दुमा आइपुगेको छ । यसदिन प्रमुख सुचक बैंकिङ, बीमा, जलविद्युत् लगायतको परिसुचकमा सुधार देखिएको छैन । यही कारणपनि बुधवारको अन्तिम समयको वृद्धि पनि मननयोग्य वृद्धि भने देखिदैन । यस दिन कारोबार रकम भने उल्लेख्य नै छ । यस दिन ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसले बजारमा लगानीको समस्या नरहेको तर मोलमोलाई बढि रहेको कारण बजार घटेको देखिन्छ ।
डेपुटी गभर्नरलाई किन बनाइदैन गभर्नर ?
२७ फागुन । नेपाल राष्ट्र बैंकमा सोह्रौ गभर्नर पाउने अन्तिम तयारीमा छ । राष्ट्र बैंक ऐन २०५८ संचालनमा आएपछि गभर्नर पद निकै शक्तिशाली मानिए पनि त्यो अघि पनि सो पद उत्तिकै आकर्षणको केन्द्र थियो । यसअघि नेपाल राष्ट्र बैंकमा १५ जना गभर्नर भैसकेपनि जम्मा ४ जना मात्रै डेपुटी गभर्नरलाई सरकारले गभर्नर बनाएको थियो । अहिलेसम्म डेपुटी गभर्नरबाट गभर्नर बन्ने सौभाग्य पाउनेहरुमा गणेशबहादुर थापा, हरिशंकर त्रिपाठी, सत्यन्द्रप्यारा श्रेष्ठ र विजयनाथ भट्टराई मात्रै हुन् । पछिल्लो समय राष्ट्र बैंककै पूर्व कर्मचारीलाई गभर्नर बनाउने क्रम बढे पनि डेपुटी गभर्नरबाट गभर्नर बन्ने अवसर पाउने संख्या भने निकै कम छ । डेपुटी गभर्नरलाई गभर्नर नबनाइनुको पछाडि खास कारण डेपुटी गभर्नर बन्ने ब्यक्तिको योग्यता र उनीहरुको राजनीतिक पृष्ठभूमि प्रमुख कारण भएको मानिएको छ । राष्ट्र बैंक ऐन २०५८ ले अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने तीन सदस्यीय सिफारिस समितिको सिफारिसको आधारमा गभर्नर नियुक्ति गर्नुपर्ने ब्यवस्था गरेको छ । यसो हुदा अर्थमन्त्री बन्ने ब्यक्तिको पार्टीप्रति बफादार ब्यक्तिलाई गभर्नर बनाउने परिपाटी स्थापित भएको छ । राष्ट्र बैंककै बहालवाला कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बनाउनु पर्ने तर डेपुटी गभर्नरलाई नै गभर्नर बनाउनु पर्ने बाध्यकारी ब्यवस्था नभएकोले वाहिरवाट गभर्नर बन्नेको संख्या बढी भएको हो । डेपुटी गभर्नरलाई नै गभर्नर बनाउने क्रम बढी नभएपनि राष्ट्र बैंककै पूर्व कर्मचारीलाई गभर्नर बनाउने क्रम बढेको पूर्व गभर्नर दीपेन्द्रवहादुर क्षेत्रको भनाइ छ । ‘म पनि त्यहिको पूर्वकर्मचारी हूँ,’ क्षेत्रीले भने– अहिलेका गभर्नर पनि राष्ट्र बैंककै पूर्व कर्मचारी भएकोले त्यहिकालाई गभर्नर बनाउने परिपाटी बढेको देखिन्छ । राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर राख्ने कानुनी ब्यवस्था छ । राष्ट्र बैंक ऐन २०५८ कार्यान्वयनमा आएपछि गभर्नर सिफारिस समितिले एक जना डेपुटी गभर्नरको नाम सिफारिस गर्दै आएको छ । तर सो ऐन आएपछि विजयनाथ भट्टराई मात्रै डेपुटी गभर्नरवाट गभर्नर बन्न सफल भएका छन् । जबकि यसविचमा राष्ट्र बैंकले तिलकबहादुर रावल, विजयनाथ भट्टराई, दिपेन्द्रबहादुर क्षेत्री र युवराज खतिवडा गरी ४ जना गभर्नर पाइसकेको छ । यस्तै राष्ट्र बैंककै बरिष्ठ कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बनाउने गरिएकोले उनीहरुको क्षमता कमजोर भएको र राष्ट्र बैंक जस्तो महत्वपूर्ण निकायको नेतृत्व लिन नसक्ने देखिदा पनि डेपुटी गभर्नरलाई गभर्नर बनाइएका कम उदाहरण भएको एक थरीको तर्क छ । दुई जना डेपुटी गभर्नर हुने र एक जना गभर्नर बन्ने अवस्था देखियो भने अर्काेले खुट्टा तान्ने प्रबृत्तिका कारण पनि डेपुटी गभर्नरबाट गभर्नर बन्नेको संख्या कम भएको बताउने गरिएको छ । बर्तमान गभर्नर डा. खतिवडाको कार्यकाल आगामी ५ चैतमा सकिने भएकोले अवको केहि दिन भित्रमा नै सरकारले नयाँ गभर्नर नियुक्ति गरिसक्नु पर्नेछ ।