विकासन्युज

नेपाल आयल निगमले सेयर जारी गर्ने, चुक्ता पुँजी १० अर्ब पुर्याउने

काठमाडौं, २० साउन । नेपाल आयल निगमले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । हाल निगमको चुक्ता पुँजी करोड ६७ लाख १५ रहेका छ । निगमले त्यसलाई बढाएर ३० करोड पुर्याउने निर्णय भर्खरै सम्पन्न निगमको बार्षिक साधारण सभाले गरेको थियो । निगमले सर्वसाधारणलाई सेयर जारी गरेर आफ्नो पुँजी १० अर्ब पुर्याउने लक्ष्य राखेको छ । आइपिओ जारी गर्ने सम्बन्धमा अध्ययन गर्न निगमले समिति नै गठन गरिसकेको छ । निगमले पुराना सेयरधनीलाई ५५ प्रतिशत, रणनीतिक साँझेदारलाई १५ प्रतिशत र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । हाल निगममा आपुर्ति मन्त्रालयको ६१ दशमलब ४४, अर्थ मन्त्रालयको १९ दशमलब ६१, आपुर्ति व्यवस्थापन विभागको १७ दशमलब ३२, नेशनल ट्रेडिङको शुन्य दशमलब ७६, राष्ट्रिय बिमा कम्पनीको शुन्य दशमलब ४७, नेपाल बैंकको शुन्य दशमलब २३ र राष्ट्रिय बाणिज्य बैंकको शुन्य दशमलब १५ प्रतिशत सेयर हिस्सा रहेको छ । इण्डियन आयल कर्पाेरेशन, हिन्दुस्तान पेट्रोलियम तथा विश्व अन्य तेल कम्पनीहरु जस्तै नेपाल आयल निगमले पनि सेयर जारी गर्न लागेको हो । ३७ अर्ब नोक्सानीमा रहेको निगमले भर्खरै ऋण तिरिसकेको छ । यद्यपी अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा आएको भारी गिरावटका कारण मात्रै निगमले ऋण तिर्न सकेको हो ।

कोनाजोले समाले एनएमबि माइक्रोफाइनान्सको सीईओ पदभार

पोखरा, २० साउन । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको पद तिर्थरत्न कोनाजोले समालेका छन् । संस्थाको केन्द्रीय कार्यालय पोखरा २९, हेम्जामा आयोजित एक स्वागत कार्यक्रमका बीच बुधवार उनले पदभार ग्रहण गरेका हुन् । कोनाजोले लघुवित्तको क्षेत्रमा चुनौती रहेको बताउदै त्यसका लागि थप मेहनत गर्न जरुरी भएको बताए । वित्तीय संस्थाको संचालक समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा आगामी दुई वर्षका लागि चयन गरेको हो । नेपाल बैंक, हिमालयन बैंक हुँदै आरएमडिसी (रुरल माइक्रोफाइनान्स वित्तीय संस्था) मात्र करिव १७ वर्ष काम गरेका कोनाजो बैकिङ र लघुवित्त क्षेत्रमा अनुभवी व्यक्ति हुन् । २५ जिल्लामा लघुवित्त सेवा प्रदान गर्न राष्ट्र बैंकबाट स्वीकृत पाएको एनएमवि माइक्रो फाइनान्सले हिमाली तथा पहाडी जिल्लाहरुमा ३३ वटा शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । गत असार मसान्तसम्ममा करिव ३६ हजार सदस्य मार्फत ९४ करोड कर्जा लगानी गरी १९ करोड वचत संकलन गरेको उक्त संस्थाले जानकारी दिएको छ । यस संस्थाको हाल चुक्ता पूँजी ४ करोड ६० लाख रुपैयाँ रहेको १ः१.२ को अनुपातमा हकप्रद शेयर निष्काशनको प्रक्रियामा रहेको छ । हकप्रद शेयर निष्काशन पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी १० करोड १२ लाख पुग्ने छ ।

मिडियालाई उत्तरदायी र जवाफदेही बन्न मानवअधिकारको आग्रह

काठमाडौं, २० साउन । प्रेस काउन्सिल नेपाल र महिला मानवअधिकार रक्षकहरुको सञ्जालद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रियामा महिला अधिकारकर्मीहरुले अझैंपनि महिलाहरु विभिन्न प्रकारका हिंशावाट प्रताडित हुनु परिरहेको र केही मिडियाले महिलाको व्यक्तिगत जीवनलाई लिएर हिंशालाई प्रोत्साहन गरिरहेको धारणा राखे । सो अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीले महिलाको विषयमा मिडिया संवेदनशील हुनुपर्ने बताउँदै पत्रकारितामा महिलालाई स्थापित गराई जिम्मेवारी प्रदान गर्न सकेमात्र महिलामाथिको हिंशा कम भई शक्तिकरणमा टेवा पुग्ने धारणा राख्नुभयो । मिडियालाई व्यवस्थित, मर्यादित, उत्तरदायी, जवाफदेही बनाउनेतर्फ काउन्सिलको भूमिकालाई थप प्रभावकारी गरिने बताए । कार्यक्रममा महिला मानवअधिकारकर्मी डा. रेणु अधिकारी, डा.मीना आचार्य, डा. बिमला राई पौड्याल, सुनिता दनुवार, विमला तामाङ्, बिना वुधाचार्य, पवित्रा सुवेदी, सिर्जना पुन, भाविशा कोईराला, जया लुईटेल, शर्मिला कार्की, शान्तालक्ष्मी श्रेष्ठ, कल्याणी शाह, सविता पोखरेल लगायतले लोकतन्त्र÷गणतन्त्र आएर महिला नै राज्यको महत्वपूर्ण निकायमा नेतृत्व गरेपनि महिलामाथि हुने हिंशामा कमी नआएको, महिलालाई बस्तुको प्रचारको साधन बनाईएको, महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको, महिलाका व्यक्तिगत विषयलाई समाचार बनाई केही मिडियाले मानवअधिकारको हनन् गरेको भन्दै दण्डहीनताको अन्त्यका लागि आग्रह गरेका छन् ।

पेनड्राइभलाई सेक्रेट राख्न चाहनुहुन्छ, यि ६ स्टेपमा राख्नुस् पेनड्राइभमा पासवर्ड (तस्विरसहित)

काठमाडौं, १८ साउन। पेनड्राइभ सानो भएपनि काम भने ठूलो गर्छ । तर पेन ड्राइभबाट डाटा सार्दा त्यो लिक हुने खतरा त्यतिकै हुन्छ । तपाइँलाई थाहा नहुन सक्छ पेन ड्राइभमा पासवर्ड हालेर यसलाई सुरक्षित बनाउन सकिन्छ । Bitlocker एन्क्रिप्शनको प्रयोग गरेर आफ्नो डाटालाई सुरक्षित पार्न सकिन्छ । तर यसका लागि तपाइँको ल्यापटपमा विण्डोज 7 Ultimate OS वा यस पछि आएका अपरेटिङ सिष्टममा मात्र काम गर्छ । यसरी राख्नुस् पेनड्राइभमा पासवर्डः स्टेप १ पेनड्राइभलाई कम्प्युटरमा कनेक्ट गर्नुस् । यदि पेनड्राभमा डाटा छ भने स्क्यान गर्नुस् खाली छ भने फर्म्याट गर्नुस् । अनि राइट क्लिक गर्नुस् र “Turn on bitlocker” छनौट गर्नुस् । स्टेप २ एक विण्डो खुल्छ र आफै बन्द हुन्छ । यसपछि प्रोसेस स्टार्ट हुन्छ । जव विण्डो खुल्छ त्यसमा तपाइँ पेनड्राइभलाई कसरी लक गर्न चहनु हुन्छ भनेर सोध्छ । त्यहाँ Use a password to unlock the drive अप्सनमा क्लिक गर्नुस् । स्टेप ३ आफुलाई ठिक लागेको पासवर्ड छान्नुस् । next बटनमा क्लिक गर्नुस् । त्यहाँ bitlocker recovery key सेभ गर्नका लागि सोध्छ । तपाइँले पासवर्ड भुलेमा यो प्रयोगमा आउँछ । स्टेप ४ Save to file अप्सन चुनेपछि कम्प्युटरको लोकेसन सोध्छ तपाइँले recovery Key सेभ गर्नु पर्छ । लोकेसन ब्राउज गरेर रिकभरी Key लाई सेभ गर्नुस् । स्टेप ५ यसपछि तपाइँलाई अर्को विण्डो देखिन्छ । यहाँबाट next बटनमा क्लिक गर्नुस् र Start Encrypting आउने बेला सम्म Next मा क्लिक गरिराख्नुस् ।   स्टेप ६ एन्क्रिप्शन शुरु भएपछि प्रोसेस कम्प्लीट हुन केही समय लाग्छ । प्रोसेस पूरा भएपछि पेनड्राइभलाई डिसकनेक्ट गर्नुस् र फेरि कनेक्ट गर्नुस् । अव तपाइँको पेनड्राइभ पासवर्ड नहाले सम्म खुल्दैन ।

नयाँ ल्यापटप किन्दै हुनु हुन्छ, यि सिरिजका ल्यापटप केहि फरक छन्

काठमाडौं, १८ साउन। ल्यापटप किन्न जाँदा सबैमा आउने दुविधा हो, कुन कम्पनीको ल्यापटप किन्ने? र्याम, हार्ड डिस्क कति चाहिन्छ? प्रसोसर कस्तो हुनुपर्छ? कामको प्रकृती हेरर यी ल्यापटका यी विशेषत तय गर्न सकिन्छ। सामान्य प्रयोगको लागि २ जीबी र्याम वा ४ जीबी र ग्राफिक्स र प्रोगार्मिङको लागि हो भने ८ वा १६ जीबीका र्याम सहितको ल्यापटप उपयुक्त हुन्छ। ल्यापटपमा बढी भन्दा बढी डाटा, फिल्म तथा गित स्टोर गरिन्छ भने अलिबढी क्षमताकै हार्डडिस्क उपयुक्त हुन्छ। प्रोसेसर पनि र्याम अनुसार नै तय गरिन्छ। क्यालकुलेसन (जस्तै एनिमेसन, प्रोग्रामिङ) बढी गरिन्छ भने प्रोसेसर पनि नयाँ जेनेरेसनका शक्तिशाली नै खोजिन्छ। यहाँ ७ ल्यापटपको बारेमा चर्चा गरिएको छ। Dell Inspiron 15 7000 Series ल्यापटपमा गेम खेल्न रुचाउने र व्यावसायिक काम गर्ने दुवै प्रयोगकर्तालाई यो ल्यापटपले निराश बनाउदैन। टच स्क्रिस विशेषता सहित किन्न पाइने यो ल्यापटपमा कोर i5 र I7 प्रोसेसर राखिएको छ। यसमा १६ जीबी र्याम अनि एनभिडिया जिफोर्स GTX 960M GPU, १२८GB SSD सहित १ टिबीको हार्ड डिक्स रहेको छ। Dell Alienware 15 हेभी ग्राफिक्स ह्यान्डल गर्न सक्ने यो ल्यापटप विन्डोज १० अपरेटिङ सिस्टम सहित बजारमा उपलब्ध छ। यसमा १६ जीबी र्याब, इन्टेल कोर स्काइलेक प्रोसेसर र १ टिबी हार्ड डिस्क रहेको छ। अन्यमा भन्दा यसमा बढी पोर्ट र राम्रो क्यामेरा जडान गरिएको छ। XPS 13 Laptop डेलको अर्को यो ल्यापटप पनि विन्डोन १० सहित उपलब्ध छ। १३.३ इन्च QHD+ रिजोलुसन डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर सहित यसमा ८ जीबी र्याम 256 GB SSD राखिएको छ। यसको इन्फाइनाइट एज डिस्प्ले प्रयोगकर्ताले नौलो अनुभव पाउँछन्। HP Spectre 13 एचपीको यो नयाँ ल्यापटप कम्पनीले विश्वकै पातलो रहेको दाबी गरेको छ। १३ इन्चको फुल एचडी डिस्प्ले, इन्टेल स्काईलेक प्रोसेसर, विन्डोज १० सहित आउने यो ल्यापटपमा ८ जीबी र्याम राखिएको छ। Acer Predator G9-792 एसरका ल्यापटपले पनि राम्रै बजार लिएको छ। १७ इन्चको डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर र ६४ जिबीसम्मको र्याम, १ टिबी हार्डडिस्क, विन्डोज १० सहित आउने ल्यापटपमा एनभिडियाको शक्तिशाली ग्राफिक्स कार्ड लगाइएको छ। Asus ZenBook Pro UX501VW ताइवानी कम्पनीको यो ल्यापटपमा १५.६ इन्चको अल्ट्रा एचडी डिस्प्ले, इन्टेल कोर i7 स्काईलेक प्रोसेसर, १६ जिबी र्याम, ५१२ जिबी हार्ड डिस्क र एभिडियाको शक्तिशाली ग्राफिक्स कार्ड जडान गरिएको छ। Apple Macbook Pro इन्डस्ट्रीकै उत्कृष्ट ल्यापटपमा पर्ने एप्पलको म्याकबुक प्रोमा १६ जिबी र्याम, ५१२ जिबी हार्डडिस्क, १५.४ इन्च रेटिना डिस्प्ले, इन्टेल कोर i7 प्रोसेसर, एचडी रिजोलुसन क्यामेरा सहित मेटलको बडीले सुसज्जित गरिएको छ।

नेप्से र सीडिएसलाई सिस्टम अडिट गर्न सेबोनको निर्देशन, सेयर कारोबार सुरक्षीत बनाउन जोड

काठमाडौं, १९ साउन । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज र सीडिएस एण्ड क्लियरिङ हाउसलाई सिष्टम अडिट (प्रणाली लेखापरीक्षण) गर्न निर्देशन दिएको छ । सेयर कारोबारलाई सुरक्षीत र नियमित बनाउनको लागि सेयर कारोबार प्रणालीको अवस्थाको विस्तृत अध्ययन गरी आवश्यक सुधार गर्न बोर्डले निर्देशन दिएको हो । बोर्डले दुबै संस्थालाई यसै साता सो निर्देशन जारी गर्दै बोधार्थ अर्थमन्त्रालयलाई समेत पठाएको छ । सिस्टम अडिट गराउन बोर्डले दिएको निर्देशन नेप्सेले मंगलबार प्राप्त गरेको नेप्सेका सहायक प्रवक्ता मुरारी पराजुलीले बताए । नेपाल स्टक एक्स्चेञ्जले २०६४ सालमा स्टल गरेको प्रविधि (सफ्टवेयर) प्रयोग गर्दै आएको छ । त्यतिबेला दैनिक ४० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर कारोबार हुने गरेको थियो । हाल दैनिक २ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुन थालेको छ । सीडिएस एण्ड क्लियरिङ हाउसले २०६८ सालमा प्रयोग गरेको प्रविधि प्रयोग गर्दै आएको छ । त्यतिबेला दैनिक १० करोडको सेयर कारोबार हुने गरेको थियो । पहिला दैनिक ३ घण्टा सेयर कारोबार हुने गरेकोमा अहिले दैनिक ४ घण्टा कारोबार हुदै आएको छ । सम्बन्धित संस्थाहरुले प्रयोग गरेको प्रविधि पुरानो हुँदै गएको, कारोबार बढ्दै गएकोले सिस्टम अडिट जरुरी देखिएको धितोपत्र बोर्डको भनाई छ । कम्पनी सञ्चालन गर्दा जनशक्तिको सट्टा प्रविधिको प्रयोग बढ्दै गएपछि आर्थिक लेखापरिक्षणको साथै प्राविधिक पक्षको पनि लेखापरिक्षण गर्ने अभ्यास संसारभर बढ्दै गएको छ । ठूलो कारोबार गर्ने संस्थाहरुले सिष्टम अडिटलाई उच्च प्राथमिकता दिने गरेका छन् । नेपालमा पनि वाणिज्य बैंकहरुले सिस्टम अडिट गर्ने अभ्यास शुरु भईसकेको छन् । तर नेप्से र सीडिएस कम्पनीले अहिलेसम्म सिष्टम अडिट गराएका छैनन् । कम्पनीको आर्थिक हिसाव कितावको लेखापरिक्षण चाटर्ड एकाउण्टेन्टले गर्छन भने सिस्टम अडिट इन्जिनियरले गर्ने गर्छन् । सिस्टमले राम्रोसँग काम गरेको छ छैन, सिस्टमले गल्ती देखिएको छ कि छैन भन्ने तथ्यहरु इन्जिनियर्सले पत्ता लगाउने छन् र सिस्टममा सुधार वा आवश्यक परिवर्तनको लागि उचित सुझाव दिन्छन् ।

१५ सुत्रिय माग राख्दै पर्यटन श्रमिकहरु टानमा

काठमाडौं, १९ साउन । बढ्दो महंगी अनुसार हरेक दुई वर्षका पर्यटन श्रमिकको तलब भत्तामा हेरफेर गर्नुपर्ने लगायत माग समेटी पर्यटन श्रमिकहरुले ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) मा १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन(यूनिट्राभ), नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ, अखिल नेपाल क्रान्तीकारी पर्यटन मजदुर संघ गरि चार मजदुर संगठनले टानका अध्यक्ष चन्द्र रिजाल समक्ष संयुक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र अनुसार श्रमिक संगठनहरुले निम्न बुँदाहरुलाई प्राथमिकताका साथ उठान गरेका छन् । १. पर्वतीय तथा पदयात्रा क्षेत्रका मजदुरको खाइ पाई आएको ज्याला र तलबमा २५ प्रतिशत वृद्धि गरिनुपर्ने । २. विगतको टान कार्यसमिति र श्रमिक युनियन बिच भएको सहमति अनुसार एक करोड पचास लाखको कल्याणकारि      कोष स्थापना गरिनुपर्ने । ३. कम्पनीको नाम खुलाएर पर्यटन श्रमिकको स्थाइ÷अस्थाइ परिचयपत्रको ब्यवस्थापन गरिनुपर्ने । ४. श्रमिकको रोजीरोटी एवं बिदेशीको सुरक्षाका लागि कुनै पनि बिदेशी नागरिक ट्रेकिङ जाँदा अनिवार्यरुपमा                     श्रमिकको प्रतिनिधित्व गराईनुपर्ने । ५. श्रमिकको दुर्घटना बिमाबापत १५ लाख र मेडिकल बिमाबापत ७ लाखको व्यवस्था गराईनुपर्ने । ६. ट्रेकिङ मजदुरलाई चार्डपर्व खर्चबापत प्रतिव्यक्ति १० हजार प्रदान गर्ने व्यवस्था मिलाईनुपर्ने । ७. अनुभवी, दक्ष र अनुमतिपत्र प्राप्त गाइडलाई मात्र ट्रेकिङमा पठाइनुपर्ने । ८. माउण्टेन गाइडको सेवा सुबिधामा ४० प्रतिशत वृद्धि गरिनुपर्ने । श्रमिक संगठनहरुले २१ दिन भित्र आफ्ना जाहेज मागहरुलाई सम्बोधन नगरिए ट्रेकिङ रुट नै चल्न नदिने चेतावनी समेत दिएका छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष चन्द्र रिजालले टान बाट गर्न सकिने सबै माग पुरा गराउने प्रतिबद्धता व्यक्त गरे । मजदुरको कल्याणकारी कोष स्थापना गराउनुपर्नेतर्फ आफुले पनि विशेष ध्यान दिएको बताउँदै उनले श्रमिकहरुका बारेमा राज्यले सम्बोधन गर्नुपर्ने विषयहरुलाई पुरा गराउनेतर्फ पनि सहयोग गर्ने बताए ।

कहाँ पुग्यो पुननिर्माण ? कहिले ठडिन्छन् जनताका घर ? कहिले उठ्छन् हाम्रा धरोहर ?

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकले ३९ औं प्रधानमन्त्रीका रुपमा पाएको छ । नौ महिना प्रधानमन्त्री बनेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली सत्ताबाट बाहिरिँदा उनी माथी पुननिर्माणको काम गर्न नसेको आरोप काँग्रेस र माओवादीले लगाए । त्यसलाई चिर्ने प्रयास स्वरुप ओलीले पुननिर्माणका सवालमा हालसम्म भएका कामहरुको फेहरिस्ता सार्वजनिक गर्न भ्याए । प्रचण्डले पुननिर्माणको कामलाई कुन गतिमा अघि बढाउँछन हेर्न बाँकी छ । यद्यपी प्रचण्डले पुननिर्माणलाई तिब्र गतिमा अघि बढाउने घोषणा गरिसकेका छन् । केपी ओली माथी जसरी काँग्रेस, माओवादीले प्रश्न गरे त्यसरीले अब उनीहरुमाथी प्रश्नहरु बर्सिनेछन– कहाँ पुग्यो पुननिर्माण ? कहिले ठडिन्छन् जनताका घर ? कहिले उठ्छन हाम्रा धरोहर ? कहिले ठडिन्छन जनताका घर ? हालसम्म ११ जील्लाका ७ लाख १७ हजार ७ सय १८ घरधुरीको फोटोहरु सहितको तथ्यांक संकलन भएको छ । तीमध्ये ५ लाख ३३ हजार ४ सय ५४ घरहरु पूर्ण क्षति भई तिनका घरपरिवारहरु दुई लाख रुपैयाँ नीजि आवास अनुदान प्राप्त गर्ने सूचीमा परेका छन् । आंशिक घर क्षति भएकाहरुलाई ५० हजार अनुदान दिने व्यवस्था गरिएको छ । २ लाख ८९ हजार २ सय ९२ घरधनीसँग अनुदान सम्झौता भैसकेको छ । ४२ हजार ८ सय ८२ घरधनीको बैंक खातामा रकम जम्मा भैसकेको छ । कहिले उठ्छन् हाम्रा धरोहर ? सरकारले २०७२ माघ २ गते रानीपोखरी र ललितपुरको बुङ्मतीमा विशेष कार्यक्रम गरी पुनर्निर्माण राष्ट्रिय महाअभियानको थालनी गरेको थियो । भूकम्पले करिव ७ सय ५७ वटा पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएकामा पुरातत्व विभागबाट हालसम्म ५१ वटा सम्पदाहरुको पुनर्निर्माण कार्यका लागि टेण्डर भई १७ वटा सम्पदाहरुको पुनर्निर्माण कार्य भइरहेको छ । बुङ्मती, खोकना, साँखु लगायतका बस्तीहरु तथा करिव २३ वटा सम्पदाहरुको पुनर्निर्माण कार्यका लागि भारत सरकारले सहयोग गर्दैछ । चीनियाँ सहयोगमा बसन्तपुर दरबार क्षेत्र अन्तर्गतका नौ तले बसन्तपुर दरबार तथा नुवाकोटको दरबार सहितका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण गर्ने गरी सम्झौता भइसकेको छ । स्वयम्भुको अनन्तपुरको पुनर्निर्माण कार्य भइरहेको छ । पाटनको मणिमण्डप, भक्तपुरको फसिदेग तथा हनुमान ढोकाको वंशगोपाल मन्दिरहरुको पुनर्निर्माण कार्य द्रूत गतिमा अघि बढेको छ । ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा २ करोड जम्मा भइसकेको छ । भक्तपुरको दरबार क्षेत्र तथा अन्य पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्य जर्मन सरकारको करिव १ अर्ब १० करोड रुपैयाँ बराबरको सहयोगमा भक्तपुर उपमहानगरपालिका मार्फत भइरहेको छ । पाटन दरबार क्षेत्रको पुनर्निर्माण कार्य काठमाडौं उपत्यका संरक्षण कोष मार्फत भइरहेको छ । बौद्धनाथ स्तूपाको पुनर्निर्माण कार्य बौद्धनाथ क्षेत्र विकास समितिमार्फत करिव १८ करोड रुपैयाँ लागतमा भैरहेको छ । ललितत्रिपुरा सुन्दरी मन्दिर क्षेत्र लगायत थापाथलीदेखि त्रिपुरेश्वरसम्मको बागमती किनारका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण कार्य काठमाडौं विश्वविद्यालय, गुठी संस्थान, कामनपा तथा पुरातत्व विभागद्वारा गर्ने गरी कार्य अघि बढाइएको छ । पुननिर्माणमा कर्मचारी हालसम्म प्राधिकरणमा जम्मा ९७ जना स्थायी सेवाका कर्मचारी उपलब्ध छन् भने २८ जना करार सेवा अन्तर्गत कार्यरत छन् । सहरी विकास मन्त्रालय अन्तर्गत जम्मा २७२६ जना, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत ४७६ जना, शिक्षा मन्त्रालय अन्तर्गत जम्मा १६८ जना, तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत जम्मा ८३ जना गरी कूल ३४५३ जना कर्मचारी तथा विज्ञ जनशक्ति पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा संलग्न छन् । दाताको प्रतिवद्धता २०७२ साल असार १० गते भएको अन्तर्राष्ट्रिय सम्मेलनमा करिव ४ खर्ब १० अर्ब रुपैयाँको प्रतिबद्धता व्यक्त गरिएको थियो । त्यसमा पहिले नै अन्य क्षेत्रमा प्रतिबद्धता गरिएका नियमित योजना तथा कार्यक्रमका लागि छुट्याइएको रकम समावेश भएकोले सो रकम घटाउँदा जम्मा करिव ३ खर्ब ५० अर्ब रुपैयाँ मात्रको वास्तविक प्रतिबद्धता आएको थियो । पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न करिव ८ खर्ब ३८ अर्ब आंकलन गरिएको छ । कति आयो पैसा ? हालसम्म विभिन्न मुलुक तथा दातृ निकायहरुबाट १ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको वित्तीय सहयोग सम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ भने थप ८५ अर्ब रुपैयाँ बराबरको वित्तीय सहयोगका लागि सम्झौताको अन्तिम चरणमा पुगेको छ । कुन क्षेत्रको पुननिर्माणमा कति रकम ? ग्रामीण आवासमा २ खर्ब ८६ अर्ब, सहरी आवासमा ९० अर्ब, कृषि, पशुपालन र सिँचाईमा २६ अर्ब ८९ करोड, वाणिज्य र उद्योगमा ११ अर्ब, सञ्चारमा ४ अर्ब ९३ करोड, सांस्कृतिक सम्पदामा ३३ अर्ब ८० करोड, विपद् जोखिम व्यवस्थापनमा ४ अर्ब २४ करोड, शिक्षामा १ खर्र्ब ८० अर्ब ६२ करोड खर्च हुने आंकलन गरिएको छ । विद्युत तथा वैकल्पिक उर्जामा १५ अर्ब २ करोड, रोजगारी र जीविकोपार्जनमा ५ अर्ब ८७ करोड, वन तथा वातावरणमा २८ अर्ब ४५ करोड, वित्तीय क्षेत्रमा ३३ अर्ब ४७ करोड, लैङ्गिक तथा सामाजिक समावेशितामा ४ अर्ब ६४ करोड, सुशासनमा ३ अर्ब ६ करोड, सार्वजनिक भवनमा २९ अर्ब ७७ करोड, स्वास्थ्यमा १७ अर्ब ४९ करोड, खाद्य सुरक्षामा ७ अर्ब ४६ करोड, सामाजिक सुरक्षामा ७ अर्ब ७५ करोड, पर्यटनमा ९१ करोड, यातायतमा २४ अर्ब ९२ करोड र खानेपानी तथा सरसफाईमा २१ अर्ब २४ करोड लाग्ने आंकलन गरिएको छ । कति रकम छुट्टियो पुननिर्माणमा यो रकममध्ये चालु आर्थिक वर्षमा गर्नु पर्ने खर्चका लागि सरकारको बजेटमार्फत १ खर्ब ४० अर्ब तथा गत आवमा फ्रीज नहुने रकमबाट करिब २८ अर्ब गरी कूल १ खर्ब ६८ अर्ब रकम विनियोजन समेत गरिएको छ । एनजिओ/आइएनजिओ के गर्दैछन् ? निजी आवास पुनर्निर्माण गर्दा राष्ट्रिय गैरसरकारी संस्थाले कम्तिमा ५० वटा र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कम्तिमा २५० वटा आवासहरुको पुनर्निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ । एनजिओ तथा आइएजिओले सञ्चालन खर्च कूल परियोजना लागतको २० प्रतिशत भन्दा बढी गर्न नपाउने व्यवस्था गरिएको छ । गैर सरकारी संस्थाहरुको १ सय ४ वटा प्रस्तावहरु स्वीकृत भई १९ हजार ४ सय ५२ वटा निजी आवास पुननिर्माणका लागि १७ वटा विभिन्न गैरसरकारी संस्थाहरुबाट प्राप्त प्रस्तावहरु स्वीकृत गरिएको छ । त्यसका लागि ४० अर्ब लागत पर्नेछ । प्राबिधिकको बन्दोबस्ती भूकम्प अति प्रभावित १४ जिल्लाका प्रत्येक गाविसमा दुई जना इन्जिनियर, एक जना सब इन्जिनियर र एक जना एसिस्टेन्ट सब इन्जिनियरहरुको व्यवस्था हुने गरी सहरी विकास मन्त्रालयमार्फत १ हजार ३ सय ४६ जना इन्जिनियर, ५ सय २१ जना सब इन्जिनियर तथा ५ सय ७५ जना असिस्टेन्ट सब इन्जिनियरहरु परिचालन गरिएको छ । सम्बन्धित घरधनीले अनुदान सम्झौताका बखत प्राधिकरणद्वारा स्वीकृत १७ प्रकारका डिजाइन वा तोकिएको मापदण्डको सूचीका आधारमा घर बनाउने गरी छनौट गर्न सक्नेछन् वा भूकम्प प्रतिरोधी डिजाइन अनुरुप आफै घर नक्सा समेत पेश गर्न सक्दछन् । पुनर्निर्माणका लागि करिव १ लाख ५० हजार दक्ष सिकर्मी तथा डकर्मीहरुको उत्पादन गर्ने लक्ष्य राखिएको छ । आगामी कार्तिक महिनाभित्रै करिव ३० हजार दक्ष निर्माणकर्मीहरुको उत्पादन गर्ने गरी आवश्यक कार्य अघि बढाइएको छ । भूकम्प प्रभावित ११ जिल्लाका करिव ५ हजार वटा वडाका प्रति वडामा औषतमा कम्तिमा ६ जनाका दरले कम्तिमा ३० हजार डकर्मी तथा सिकर्मी उत्पादन हुनेछन् । सार्नुपर्ने बस्तीहरु जोखिमयुक्त भनिएका ४ सय ७५ वटा बस्तीहरुको वृहतअध्ययन गरी वास्तविक जोखिमयुक्त बस्तीहरुको पहिचान गर्नका लागि प्राधिकरणको संयोजनमा खानी तथा भूगर्भ विभाग, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग तथा भूसंरक्षण विभाग सहितको टोली परिचालन गरिएको छ । टोलीले हालसम्म १ सय १७ वटा बस्तीहरुको अध्ययन गरी ५६ वटा बस्तीहरु सार्नुपर्ने, ४० वटा बस्तीहरुलाई सुरक्षित गराउन सकिने तथा २१ वटा बस्तीहरु सुरक्षित रहेको प्रतिवेदन सहित असुरक्षित बस्तीहरुको स्थानान्तरणका निम्ति सम्भावित स्थानहरुको सिफारिस गरेको छ भने थप बस्तीहरुको अध्ययनका लागि आवश्यक कार्य अघि बढाइएको छ । कति थियो भूकम्पको क्षति ? २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र तत्पश्चात्का परकम्पहरुका कारण ८ हजार ७ सय ८० जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय जना घाइते भएका थिए । विपद्पछिको आवश्यकता आंकलन (पिडिएनए) प्रतिवेदन अनुसार १७ हजार चौपाया एवं ४० हजार घरपालुवा पंक्षी मरेका थिए । ४ लाख ९८ हजार ८ सय ५२ वटा व्यक्तिगत घर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने २ लाख ५६ हजार ६ सय ९७ वटा व्यक्तिगत घरहरु आंशिक क्षति भएका थिए । करिव ९ हजार विद्यालयका १९००० भन्दा बढी कक्षाकोठाहरु पूर्ण रुपमा र ११,००० भन्दा बढी कक्षा कोठा आंशिक रुपमा क्षति भएका थिए । त्यस्तै ११ सय वटा स्वास्थ्य चौकी एवं अस्पतालहरु, २ हजार ६ सय ५६ वटा सरकारी कार्यालय पूर्णरुपले क्षति भएका थिए । ३ हजार ६ सय २२ आंशिक रुपले क्षति भएको थियो । भूकम्पका कारण ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको क्षति हुन पुगेको थियो । पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि करिव ८ खर्ब ३८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखाएको छ ।