कानुन निर्माणमा ढिलाइ भएको निर्वाचन आयोगको गुनासो
काठमाडौं, ६ भदौ । सरकारले संविधानमा तोकिएको समयभित्र तीन वटै तहको निर्वाचन गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले भने आवश्यक पर्ने नौ कानुन र अन्य सहयोग सरकारसँग माग गरेको छ । नेपालको संविधानमा २०७४ माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख भएका सन्दर्भमा सरकारले सोही मितिको सीमाभित्र कार्य पूरा गर्ने प्रतिबद्धता दोहो¥याएको छ । निर्वाचनको तयारीका सन्दर्भमा आज बहादुर भवनस्थित आयोग कार्यालय पुगी प्रमुख आयुक्त लगायत पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट र आन्दोलनरत पक्षसँग वार्ता गरी निर्वाचनको राजनीतिक वातावरण जुटाउन सरकार लागिपरेको र आवश्यक अन्य कानुन निर्माणमा पनि लाग्ने विश्वास दिलाए । मधेसकेन्द्रित दलले सात प्रदेशको सङ्घीयता र सीमाङ्कन अस्वीकार गरी संविधान संशोधनको माग गर्दै आएको छ । आन्दोलनरत पक्षसँगको वार्ता सकारात्मक भएको जनाउँदै उनले स्थानीय निकाय पुनःसंरचना आयोगलाई असोजभित्र स्थानीय तहको पुनःसंरचनासम्बन्धी प्रतिवेदन दिन भनिएको जानकारी दिए । सकेसम्म निर्वाचनभन्दा कम्तीमा चार महिनाअघि मिति निर्धारणको काम हुने विश्वास व्यक्त गरे । आयोगले सकेसम्म छ महिनाअघि मिति तोक्न सुझाव दिएको छ । भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री रमेश लेखक, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे एवम् मुख्यसचिव डा सोमलाल सुवेदीका साथ पुग्नुभएका प्रधानमन्त्री दाहालले भने, “संविधानले तोकेको समयमा सबै तहको निर्वाचन गर्नुपर्छ, समयमा निर्वाचन हुन नसके संविधान कार्यान्वयन हुँदैन, संविधान कार्यान्वयन नभए मुलुकको भविष्य नै खतरामा पर्ने स्थिति आउन सक्छ ।” उनले संविधान अनुसार पहिला स्थानीय तह, त्यसपछि प्रदेश र केन्द्रको निर्वाचन हुन्छ, यसमा उल्टोपाल्टो हुँदैन भन्दै सकिन्छ भने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ गर्र्नेतर्फ विचार गर्न आग्रह गरे । प्रधानमन्त्री दाहालले निर्वाचनमा मत प्रतिशत सीमा (थ्रेसहोल्ड) राख्ने विषयमा मुख्य शक्तिबीच समझदारी हुने पनि अवगत गराए । मन्त्री लेखकले निर्वाचन गर्न सरकार र आयोगले गर्नुपर्ने कामबारे स्पष्ट पार्ने गरी सूची तयार गर्न आग्रह गर्दै सरकार आफ्नो प्रतिबद्धताबाट पछि नहट्ने बताए । नयाँ कानुन आयोगले प्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीलाई विभिन्न तहको निर्वाचनसँग सम्बन्धित नौ कानुन बन्नुपर्ने जनाएको छ । केही ऐनमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भएको तथा केही मस्यौदा तयारी गरी गृह मन्त्रालयमा पठाइएकामा व्यवस्थापिका–संसद्मा प्रस्तुत हुनुपर्ने छन् । आयोगले मस्यौदामा सरकारबाट प्रतिक्रिया आउन ढिलाइ भएको गुनासो गरेको छ । स्थानीय तहको निर्वाचन गर्न गाउँपालिका, नगरपालिका, विशेष स्वायत्त वा सुरक्षित क्षेत्रको सीमा निर्धारण आयोगको प्रतिवेदन अनुरुप मतदाता नामावली सङ्कलन, मतदान केन्द्र पुनरवलोकन र मतदाता नामावली अद्यावधिक/व्यवस्थापन गर्न स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आउँदो असोजभित्र कार्यान्वयनमा आइसकेको हुनुपर्ने आयोगको सुझाव छ । प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचन अलग अलग समयमा हुनुपर्ने संवैधानिक र कानुनी अवस्था रहेकाले आवश्यक कानुन निर्माण भइसकेपछि निर्वाचनका लागि सामान्यतः १२० दिन समय चाहिने बताए । आयोगले सार्वजनिक खरिद ऐनका आधारमा नभई अलग्गै निर्वाचन कानुनबाट निर्वाचनसम्बन्धी आवश्यक सामान खरिदको व्यवस्था गराउन माग गरेको छ । आयोगमा हाल तीन सदस्य पद रिक्त छ । रासस
नबिल बैंकलाई सर्वोत्कृष्ट वाणिज्य बैंकको सम्मान
काठमाडौं, ६ भदौ । नबिल बैंंकले “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोत्कृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको छ । उद्योग तथा वाणिज्य महासंघका पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठले राजधानीमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले भने “ प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको गौरव हो र विषम आर्थिक तथा राजनैतिक अस्थिरताका बावजुद बैंकले इच्छाए अनुसारको कार्य सम्पादन गर्न सक्नु भनेको बैंकका हिस्सेदारहरुको हितको संरक्षण प्रति बैंकको अथक प्रयत्नको स्पष्ट प्रमाण हो ।” बैंकका अनुसार गत आर्थिक वर्षमा बैंकको खुद मुनाफा २ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । जसले यस बैंकलाई निजीका बैंकहरु मध्येमा शिर्ष स्थानमा नै कायम राखेको बैंकले जनाएको छ ।
नेपाल टेलिकमद्धारा ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच विस्तार
काठमाडौं, ६ भदौ । नेपाल टेलिकमले ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पु¥याई सेवा उपलब्ध गराउन थालेको छ । उक्त माइक्रोवेभ लिंक स्थापना पश्चात १७० एमविपिएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडिएसएल, टुजि, इभिडिओ इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुने कम्पनीले जनाएको छ । साथै भविष्यमा थ्रीजि र वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिने छ । यसबाट विशेषगरी कर्णालीबासी उपभोक्ताहरुले अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार कम्पनीले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको छ । यस अघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यस अघि मुगु जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पु¥याएको थियो । नेपाल टेलिकमका प्राविधिकहरु मार्फत भौगोलिक दृष्टिले निकै कठीन उच्च पहाडी क्षेत्रमा ट्रान्समिसन उपकरणहरु जडान गरी सेवा सञ्चालन गरिएको हो । आगामी दिनमा सम्भव भएका अन्य ग्रामीण क्षेत्रमा समेत माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।
नेपाल लाइफ ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्डबाट पुरष्कृत
काठमाडौं, ६ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार तेस्रो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । न्यूबिजिनेस एज प्रालिको आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो । कम्पनीले आर्थिक वर्ष २०७२/७३ अवधिमा कुल बीमा शुल्क आम्दानी १० अर्ब २५ करोड रुपैयाँ हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । जीवन बीमा व्यवसायको क्षेत्रमा करिब ३५ प्रतिशत बजार हिस्सा ओगटी अग्रणी कम्पनीको रुपमा आफ्नो पहिचान कायम राखेको छ । साथै, यस कम्पनीले आफ्नो बिमितहरुलाई प्रतिवर्ष प्रति हजार बिमाङ्कमा बोनस ६५ देखि ८२ रुपैयाँसम्म प्रदान गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अनुमति विना सञ्चालित ४४ गाडी नियन्त्रणमा
चितवन, ६ भदौ । चितवनमा ‘रुट परमिट’विनै र एकठाउँको ‘परमिट’ लिएर अर्को ठाउँमा गाडी सञ्चालन भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार परमिट विना नै गाडी चलाइएको पाइएपछि कारबाही थालिएको छ । पर्यटक बोक्ने भनेर अनुमति लिएका गाडीले समेत अन्य यात्रुलाई चढाउने गरेको भेटिएपछि प्रहरीले यस्ता गाडीको समेत निगरानी थालेको प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय चितवनले रुट परमिट विना नै यातायात सञ्चालन गरेको पाइएपछि यस्ता गाडी सञ्चालनमा रोक लगाएको हो । जिल्लामा अभियान नै चलाएर अनुमति नलिएका गाडी सञ्चालनमा रोक लगाइएको र कारबाहीसमेत थालिएको भेटवालले जानकारी दिए । उनका अनुसार दक्षिण चितवनको माडी क्षेत्र भएर चल्ने माडी ठोरी हुलाकी सडकका गाडी कार्वाहीबाट बढी प्रभावित भएका छन् । जिल्लामा अहिलेसम्म ४४ वटा गाडीलाई अहिले कारबाही गरिसकिएको छ र अभियान अझै जारी छ । भेटवालका अनुसार अनुमति नभएकालाई मात्र होइन, विदेशी पर्यटक बोक्ने भनेर स्वदेशी बोकेका तथा एउटा क्षेत्रमा परमिट लिएर अर्को क्षेत्रमा चलाइएका गाडीलाई समेत कारबाही थालिएको छ । सरकारले पर्यटक बस भनेर विदेशी बोक्नका लागि भन्सारदर नै घटाएको हुन्छ । यसरी छुटमा गाडी ल्याएर अन्य सर्वसाधारण मान्छे बोक्न नपाइने भेटवाल बताउछन् । चितवनका ग्रामीण क्षेत्र माडीसँगै जगतपुर, मेघौली, शक्तिखोर, देवघाटलगायत क्षेत्रमा यातायात सेवा अनुमति विना नै सञ्चालन हुँदै आएको छ । मुख्य राजमार्गमा चल्ने गाडीको मात्रै ‘परमिट’ छ । यातायात व्यवसायी हितमान गुरुङ आफूहरुले पटक पटक अनुमति माग गरेको भए पनि सरकारले उपलब्ध गराउन ढिलाइ गरेको बताए । दक्षिण माडीमा वीरगन्जको अनुमति पाएका गाडी सञ्चालन हुँदै आएका छन् । कारबाही थालिएपछि अहिले ग्रामीण क्षेत्रमा गाडी सञ्चालन भएका छैनन् । रासस
२० वटा बैंकले बढाए प्रति सेयर आम्दानी, किन घट्यो विदेशी लगानीका ठुला बैंकको इपिएस ?
काठमाडौं, ६ भदौ । आर्थिक वर्ष २०७२/७३ मा अधिकांश बाणिज्य बैंकको प्रति सेयर आम्दानी(इपिएस) उल्लेख्य मात्रामा वृद्धि भएको छ । भूकम्प र भारतीय नाका बन्दीका कारण आर्थिक वृद्धिदर शुन्य दशमलब ७७ प्रतिशतमा खुम्चिँदा समेत बैंकहरुको प्रति सेयर आम्दानी ठुलै मात्रामा वृद्धि भएको हो । विदेशी लगानीमा सञ्चालित ठुला बैंकका रुपमा रहेका स्ट्याण्डर्ड चाटर्ड बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको प्रति सेयर आम्दानी भने घटेको छ । नविल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एमएमबी, नेपाल बंगलादेश बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकहरुको प्रति सेयर आम्दानी उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ । प्रति सेयर आम्दानीलाई कुनै पनि वित्तिय संस्थाको मुल्यांकनको प्रमुख आधार मानिँदै आएको छ । नविल बैंकको प्रति सेयर आम्दानी ५७ रुपैंयाँ ५२ पैसाबाट बढेर ५९ रुपैंयाँ ४१ पैसा पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको ३० रुपैंयाँ ९२ पैसाबाट वृद्धि भएर ३५ रुपैंयाँ ८२ पैसा पुगेको छ । हिमालयन बैंकले पनि ३२ रुपैंयाँ ८७ पैसा रहेको प्रति सेयर आम्दानीलाई ४२ रुपैंयाँ ५८ रुपैंयाँ पुर्याएको छ । एमएमबी बैंकले पनि आफ्नो प्रति सेयर आम्दानीलाई २१ रुपैंयाँबाट बढाएर २८ रुपैंयाँ ६६ पैसा पुर्याएको छ । जनता बैंकले पनि आफ्नो प्रति सेयर आम्दानीलाई करिब दुई गुणाले वृद्धि गर्न सफल भएको छ । आर्थिक वर्ष २०७१/७२ मा जम्मा ७ रुपैंयाँ ३४ पैसा प्रति सेयर आम्दानी रहेको जनता बैंकले आर्थिक वर्ष २०७२/७३ मा आइपुग्दा १७ रुपैंयाँ ७९ रुपैंयाँ बनाएको हो । कुमारी बैंकले पनि प्रति सेयर आम्दानी करिब दुई गुणाले नै वृद्धि गर्दै १४ रुपैंयाँ ५१ पैसाबाट २७ रुपैंयाँ ४२ पैसा पुर्याउन सफल भएको हो । यस्तो छ २४ वटा बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी
मर्जरमा रहेका तीन संस्थाले दिए कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम
काठमाडौं, ६ भदौ । महालक्ष्मी फाईनान्स लिमिटेड, सिद्धार्थ फाईनान्स लिमिटेड तथा मालिका विकास बैंक लिमिटेडले स्ट्राटेजिक प्लानिङ फर द सस्टिनेबल ग्रोथ अफ अपकमिङ महालक्ष्मी डेभलपमेन्ट बैंक विषयक तालिमको आयोजना गरेका थिए । बैंकले कर्मचारीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको हो । बिजनेस एण्ड इन्भेष्टमेन्ट म्यानेजमेन्ट (बिआइएम) ले आयोजना गरेको सो कार्यक्रममा उक्त संस्थाहरुका २१ जना अधिकृत स्तरका कर्मचारीहरुले भाग लिएका थिए । यी संस्थाहरु एक आपसमा गाभिई महालक्ष्मी विकास बैंक लिमिटेड नामको राष्ट्रिय स्तरको विकास बैंकको रुपमा संयुक्त कारोवार गर्ने तयारीमा रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तीन वायुसेवाको उडान बन्द, ६ वटा जहाज ग्राउण्डेड
काठमाडौं, ६ भदौ । नेपालका चल्तीका तीन वटा वायुसेवाको उडान बन्द भएको छ । दुईवटा वायुसेवाको उडान संचालन अनुमति (एओसी) खारेज भएको छ भने एउटा वायुसेवाको एओसी भएर पनि जहाज नहुँदा उडान हुन सकेको छैन ।| नियमति उडानको आन्तरिक वायुसेवा सिम्रिक एयरलाइन्ससँग उडानयोग्य चारवटा जहाज भएपनि एओसी नवीकरण नभएको कारण एक सातादेखि उडान बन्द छ । सिंगल इन्जिनका अन्य दुईवटा वायुसेवा मकालु एयर र एयर काष्टमण्डपको पनि उडान संचालन हुन सकेको छैन । यी दुई सिंगल इन्जिनका दुबै वायुसेवाको एकएक जहाज दुर्घटना भएपछि बाँकी जहाज ग्राउण्डेड भएका हुन् । नियमति उडानको सिम्रिक एयरलाइन्सले १५ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान इजाजतपत्र (लाइसेन्स) नवीकरण नगराएका कारण गत साउन ३१ गते आइतबारदेखि उडान बन्द छ । यो वायुसेवाको १५ महिनासम्म अनुमति नवीकरण नभएपछि चलिरहेकै वायुसेवा भएपनि अनुमति खारेजीमा पुगेको हो । पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले मन्त्रालयले दिएको चार वर्षको अनुमतिपत्रलाई सिम्रिकले १५ महिनाको समय दिदाँसम्म नवीकरण गरेन । चार वर्षे इजाजतको म्याद सकिएको एक वर्षसम्म नवीकरण नभए स्वतः खारेजीमा जाने नियम रहेको उनले बताए । सिम्रिकलाई पछिल्लो पटक तीन महिनाको समय दिइसकेको र सो समयमा पनि अनुमति नवीकरण नगरेका कारण स्वतः खारेजमा गएको तर्क राईले संचार माध्यमार्फत दिएका छन् । सिम्रिकले भने भूकम्प र नाकाबन्दीका कारण समयमा नै नवीकरण गर्न नभ्याएको र मानवीय त्रुटिका कारण नवीकरण फेल हुँदा उडान नै बन्द गर्नुपरेको बताएको छ । यो वायुसेवाले पर्यटन सचिव स्तरबाट आवश्यक पहल नभएका कारण एक पटककालागि भन्दै मन्त्रिपरिषद्सम्म नै आफ्नो इजाजत नवीकरणको फाइल अगाडि बढाउन लगाएको छ । एयरलाइन्सको अनुमति खारेजी प्रकृयामा गएकोले र पर्यटन मन्त्री नियुक्त नभएकोले पनि सिम्रिकको काम पर्यटन मन्त्रालयबाट हुन नसकेको मन्त्रालय स्रोतको भनाइ । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रीपरिषद्ले मात्रै लाइसेन्स नविकरण गर्न सक्छ, अन्यथा सिम्रिक एयरले नयाँ वायुसेवाकै प्रकृयामा नयाँ अनुमति लिनुपर्छ । नयाँ वायुसेवाको लाइसेन्स लिनु पर्दा २० करोड रुपैयाँको चुक्ता पूँजी, २० लाख रुपैयाँ बैंक ग्यारेन्टी, १० हजार निवेदन शुल्क, हरेक उडान रुटको लागि ३० हजार रुपैयाँसहित आवेदन दिनुपर्ने पनि मन्त्रालयको भनाई छ । समस्यामै परेको वायुसेवालाई उद्धार गरेर सिम्रिक सुरु सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले घरजग्गाबाट डुब्न लागेको राजेद्र शाक्यको गुण एयरलाइन्सलाई किनेर सिम्रिक एयरलाइन्स बनाएका हुन । चार वर्ष अगाडि घरजग्गा कारोबारबाट आर्थिक समस्यामा परेपछि शाक्यको ऋण स्वाप गरेर (सकारेर) थापाले गुण एयरलाइन्स लिएका हुन । गुणमा त्यतिबेला दुई वटा वायुसेवा थियो । गुणले घरजग्गा समस्याकै कारण एउटा जहाज बेचेर दुईवटा बाँकी बनाएपछि सिम्रिकले किनेको हो । गुणको ७५ प्रतिशत शेयर लिएर संचालन सुरु गरेको सिम्रिकले तीन वर्ष अगाडि मात्रै अग्नि एयरका जहाज पनि संचालन गर्न थालेका हुन । घरजग्गा कारोबारबाटै समस्यामा परेको सुधिर बस्नेतको वायुसेवा अग्नि बन्द भएपछि सिम्रिकले संचालन गरेको हो । अग्निका पाँचवटा जहाज भएपनि सिम्रिकले दुईवटा मात्रै आवश्यक मर्मत गरेर उडाएको थियो । हाल दुईवटै सिम्रिकले आफ्नो बनाइसकेको छ । सिम्रिक एयरलाइन्स संचालन गर्नु पहिले थापाको सिम्रिक एयर नामको हेलिकोप्टर कम्पनी रहेको थियो । यो अहिले पनि संचालनमै छ । डेढ दशकदेखि हेलिकोप्टर संचलान गरिररहेका थापाले यो हेलिकोप्टर संचालनको सुरुवात पनि तत्कालिन कर्णाली एयरको हेलिकोप्टर किनेर उड्डयन क्षेत्रको व्यवसाय सुरु गरेका हुन । कर्णाली एयर आर्थिक समस्यामा परेपछि थापाले नै उद्दार गरेका हुन । हेलिकोप्टर र एयरलाइन्सको सुरुवात नै अरुलाई अप्ठारो पर्दा उद्दार गरेर भएको भएपनि अहिले मानवीय त्रुटि र हेलचेक्राइका कारण थापाको वायुसेवा सिम्रिकको उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताए । मकालुसँग जहाज अभाव र काष्टमण्डपको अनुमति रद्द सिंगल इन्जिनको वायुसेवा मकालुको एउटा जहाज गत साउन २० गते दुर्घटना भएपनि यो वायुसेवासँग एउटा मात्रै जहाज रहेको छ । यो एउटा जहाज पनि प्राविधिक समस्याका कारण बिग्रिएर थन्किएकोले एक महिनादेखि नै उडानमा छैन । काष्टमण्डप एयरको पनि गत फागुनमा एउटा जहाज दुर्घटना परेपछि अर्को एउटा बिग्रिएर थन्किएको थियो । काष्टमण्डपको फागुनमा भएको जहाज दुर्घटनाको नेपला नागरिक उड्डयन प्राधिकरणल आवश्यक जाँच गर्दा उडान मापदण्ड पूरा नगरेको पाइएकोले भएको अर्को एउटालाई पनि उड्न निदएको छैन । प्राधिकरणका अनुसार प्राधिकरणले यो वायुसेवाको सुरक्षाकै लागि उडान अनुमति रद्द गरेको हो । आवश्यक मापदण्ड पूरा गरेर आएको अवस्थामा उडान अनुमति नवीकरण हुनसक्ने प्राधिकरण स्रोतको भनाइ छ ।