विकासन्युज

नेपाल एसबिआई बैंकले फेवाताल सफा गर्ने

काठमाडौं, २० भदौ । नेपाल एसबिआई बैंक लिमिटेड र पोखरा उपमहानगरपालिकाबीच पोखराको फेवातालको सौन्दर्यकरण तथा सरसफाई सम्बन्धि समझदारीपत्र सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमकाबीच बैकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत विजयकुमार त्यागी र पोखरा उपमहानगरपालिका कार्यालयका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत ओमराज पौडेलले उक्त समझदारीपत्र अदान प्रदान गरेका छन् । समक्षदारीपत्र बमोजिम बैंकले फेवातालको किनार (बाराहीघाट देखि गैह्राको चौतारासम्म) मा हाल निर्माण भएको फुट ट्रयाकमध्ये १०० देखि २०० मिटर क्षेत्र वरिपरी अधिकतम १५ वटा विश्राम स्थल/अवलोकन सेड निर्माण गर्नेछ । साथै, बैंकले सो वरिपरि आकर्षक बगैँचा तयार पार्ने र हरियालीको विकास गर्ने कार्य गर्नेछ । सोही समझदारीपत्र अन्तर्गत बैंकले उक्त स्थानमा स्थानीय एवं बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ पिउने पानी वितरण कक्ष, बैंकिङ् टर्मिनल कक्षको समेत निर्मा/विकास गर्ने विज्ञप्तिमा उल्लेख छ । हाल बाराही घाटमा निर्मित उद्धार टावरको सौन्दर्यकरण तथा सोको वरपर न.पा.ले तोकेको क्षेत्रफलसम्मको ल्यान्ड स्केपिङ् समेत बैंकले गर्नेछ । संरचना निर्माणका अतिरिक्त बैंकले निर्माण गरेको एवं सौन्दर्यकरण गरेको सम्पुर्ण संरचनाको ५ वर्षसम्स मर्मत संभार गर्ने जिम्मेवारी समेत बैंक स्वयंले निर्वाह गर्नेछ । उपरोक्त कार्यहरु आरम्भ गर्न बैंकलाई आइतबार देखिनै कार्यादेश समेत प्रदान भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत उक्त क्रियाकलापहरु गर्ने भएको हो ।

एभरेष्ट बैंकको ८६औं एटिएम सेवा ललितपुरको गुरुद्धारामा

काठमाडौं, २० भदौ । एभरेष्ट बैंकले ललितपुरको गुरुद्धारा, कुपन्डोलमा आफ्नो ८६औं एटिएम सेवा प्रारम्भ गरेको छ । बैंकले कुपन्डोल, ललितपुर क्षेत्रका ग्राहक तथा सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ सो स्थानमा शाखाको उद्घाटन गरेको हो । उक्त सेवाको गुरुद्धारा गुरुनानक सत्सँगका अध्यक्ष प्रितम सिंह र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एकेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरु, बैंकका संचालकहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । बैंकले हाल ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेप्से परिसूचक दोहोरो अंकले बढेर १८३८ अंकमा, एक अर्ब ९२ करोडको कारोबार

काठमाडौं, २० भदौ । सोमबार नेप्से परिसूचक १९ दशमलब ७ अंकले बढेर १८३८ दशमलब ९० अंकमा पुगेको छ । सो दिन १४४ कम्पनीको २२ लाख ४७ हजार कित्ता सेयर एक अर्ब ९२ करोड १६ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको २६ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बङ्गलादेश बैंकको १८ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, कसमस डेभलपमेन्ट बैंक र कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन सबैभन्दा बढी बोटलर्स(नेपाल) का लागानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सोमबार उत्पादनमूलक समूह र बीमा समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । होटल समूह ४९, बैंकिङ् समूह २६, विकास बैंक समूह ११, अन्य समूह १०, हाइड्रोपावर समूह ७ र फाइनान्स समूहको परिसूचक ६ अंकले बढेका छन् । उत्पादनमूलक समूह र बीमा समूहको परिसूचक क्रमशः ३३ र शून्य दशमलब ३८ अंकले घटेका छन् ।

भूकम्पपछिको पुननिर्माणमा बीमा अनिवार्य, बीमा क्षेत्रको बजार विस्तार हुने

काठमाडौं, २० भदौ । भूकम्पपछिको पुननिर्माणका क्रममा बन्ने सबै नीजी तथा सार्वजनिक संरचनाको बीमा अनिवार्य गरिने भएको छ । व्यवस्थापिका संसदको विकास समितिले भूकम्पपछिको पुननिर्माणका क्रममा तयार हुने सबै संरचनाको अनिवार्य बीमा गर्न निर्देशन दिएको हो । सोमबार बसेको विकास समितिको बैठकमा रौतहटका सांसद रामकुमार भट्टराईले पुननिर्माणका क्रममा बन्ने सबै खाले भवन तथा संरचनाको बीमा अनिवार्य गर्नुपर्ने आवाज उठाएका थिए । भट्टराईको सोही माग अनुसार विकास समितिले पुननिर्माणका क्रममा बीमालाई अनिवार्य गर्न सरकारलाई निर्देशन दिएको हो । ‘हामी ८ खर्ब भन्दा बढि खर्चेर पुननिर्माणको काम गरिरहेका छौं, त्यसको बीमा गरेर जोखिम हस्तान्तरण गरिनु आवश्यक छ, ताकी भावी पीडिले प्राकृतिक विपत्तिको सामना गर्दा जोखिम हस्तान्तरण होस’, सांसद भट्टरईले भने । समितिक सभापति रबिन्द्र अधिकारीले समितिको निर्देशन पढेर सुनाउँदै भने–‘भूकम्पपछिको पुननिर्माणका क्रममा तयार हुने सबै खाले निजी तथा सार्वजनिक संरचनाहरुको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिन्छ ।’ विकास समितिको निर्देशनसँगै बीमा कम्पनीहरुको व्यवासायमा ठुलो मात्रामा वृद्धि हुनेछ । भूकम्पमा पनि करिब सात लाख घर पुर्णरुपले ध्वस्त भएको पछिल्लो सर्वेक्षणले देखाएको छ भने १० हजार सार्वजनिक विद्यालय ध्वस्त भएका छन् । त्यसका अलवा करिब एक हजार स्वास्थ्य संस्था र सैयौं पुरातात्विक सम्पदा पुर्णरुपले क्षति भएका छन् । समितिको निर्देशनसँगै ती सबैको बीमा गराउने बाटो खुलेको छ ।

आन्तरिक वायुसेवा अन्तर्राष्ट्रिय उडानमा, श्री र सिम्रिकको तयारी तीब्र

काठमाडौं २०, भदौ । नेपालका आन्तरिक उडानका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमार्फत हवाई पहुँच विस्तार गर्न थालेका छन् । आन्तरिक उडनमा नियमित सेवा प्रदान गर्दै आएको वायुसेवा कम्पनी बुद्ध एयरले २०६६ असोजबाट सुरु गरेको अन्तर्राष्ट्रिय उडान नियमित नभएपनि चार्टर भएपनि हालसम्म जारी छ । हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरले दशक अघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति लिएर अफ्रिकी राष्ट्रसम्म पुगेर सेवा दिइरहेको छ । यो वाहेक थप सेवा र सुविधा दिने तयारीमा दुबै वायुसेवा लागेको छन् । आन्तरिक वायुसेवाले आफ्नो अन्तर्राष्ट्रिय पहुँच बढाउने बलियो आधार अन्तर्राष्ट्रिय नै हुने ठहर गर्दै एक पनि अर्को वायुसेवाको दायरा फराकिलो बनाउन पनि थालेका छन् । पहिले आन्तरिक बजारमा टिक्ने र अन्तर्राष्ट्रियमा जाने सोच बनाएर हवाई उडानमा प्रवेश गरेका वायुसेवाले अन्तर्राष्ट्रिसम्मको पहुँच बढाउन थालेको हुन । श्री एयरले प्रकिया अगाडि बढायो नेपालकै ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले फिक्स विंग्स जहाज संचालन गर्ने घोषणा र अन्तर्राष्ट्रिय पहुँच विस्तारको घोषणा एकैपटक गर्ने भएको छ । यो वायुसेवाले १० वटा जहाज ल्याएर आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ । यो वायुसेवा कम्पनीले आन्तरिक तथा अन्तराष्ट्रिय उडान गर्न अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ । श्रीले वायुसेवा संचालन अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिएको श्री एयरका कर्पोरेट निर्देशक अनिल मानन्धरले बताए । हाल हेलिकोप्टर व्यवसायमा पकड जमाएको श्रीले मन्त्रालयबाट एक साताभित्रमा नै अनुमति पाउने र जहाज संचालको योजना सार्वजनिक गर्ने जानकारी दिएको छ । श्रीले डेढ दशकभन्दा बढी अवधि हेलिकोप्टर सेवा सञ्चालनबाट बटुलेको अनुभवपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानको जहाज संचालन गर्न लागेको हो । पर्यटन मन्त्रालयले पनि श्रीलाई लाइसेन्स दिने विषयमा प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार फाइल उठाएर निर्णयको लागि पर्यटन मन्त्री जीवनबहादुर समक्ष पुगेको बताएको छ । मन्त्रीले आवश्यक अध्ययन गरेर निर्णय दिने पनि मन्त्रालयको भनाइ छ । पर्यटन मन्त्री स्तरिय निर्णयले नै कुनै पनि वायुसेवाले अनुमति पाउने प्रावधान छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलका अनुसार श्रीले बढाएको प्रक्रिया अनुसार जहाज उडान अनुमति दिन कुनै समस्या छैन । जहाज ल्याउछु र उडान गर्छु भन्ने कम्पनीलाई प्रोत्साहन दिनुपर्ने पनि उनको बुझाई छ । यो वायुसेवाले आन्तरिक उडानका लागि ५० सिटसम्मका जहाज सञ्चालन गरिने गर्ने र अन्तर्राष्ट्रिमा भने एक सयदेखि १ सय १० सिट क्षमताका जहाजबाट सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । श्रीले आन्तरिक उडानका लागि क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरमा निर्मित ५० सिट क्षमतायुक्त ‘सिआरजे–२००’ सिरिजका तीनथान जहाज पहिलो चरणमा ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष अनुमति मागिसकेको छ । ती जहाजबाट काठमाडौंलाई आधार बनाएर भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीका लागि नियमित उडान गर्ने योजना अगाडि सारेको छ । अन्तर्रा्ष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त तीनथान जहाज पहिलो चरणमा ल्याइने मानन्धरले जानकारी दिए। उड्डयन प्राधिकरणको नियम अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न न्यूनतम दुईदुई थान जहाज चाहिन्छ । श्री ले पनि सोही नियम अनुसार दुइटै सेवाका लागि तीनतीन थान जहाज ल्याउन लागिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भने भारतीय सहर नयाँदिल्ली, मुम्बई, बैंगलोर, कोलकाता, हैदराबाद र वनारस उडान गर्ने योजना रहेको पनि श्रीले जानकारी दिएको छ । पहिलो चरणको अन्तर्राष्ट्रिय उडानको सफलतापश्चात एयरवसको एक सय ५० सिट क्षमता सरहको जहाज ल्याएर युएई साउदी अरब, थाइल्याण्ड मलेसियालगायत गन्तव्यमा उडान गर्ने श्री एयरले जानकारी दिएको छ । कार्गोमार्फत अन्तर्राष्ट्रिय उडानको तयारीमा सिम्रिक गुण एयरलाइन्स खरिद गरेर सिम्रिक एयरलाइन्स भएको चार वर्षमा नै सिम्रिकले अन्तर्राष्ट्रिय उडानको घोषणा गरेको छ । गुणका दुई र अग्नि एयरका दुई जहाज किनेर चार वटा संचालन गरिरहेको यो वायुसेवाले अमेरिकी वायुसेवासँग सहकार्य गरेर अन्तराष्ट्रिय उडान गर्ने सम्झौता गरिसकेको छ । संयुक्त राज्य अमेरिकाको वायुसेवा कम्पनी सफायर ग्लोवल एयरवेजसँगको सहकार्यमा सिम्रिकले अन्तराष्ट्रिय उडान गर्ने गरी आन्तरिक तयारी गरिरहेको बताएको छ । सम्झौतामा सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र सफायर ग्लोवल एयरवेजका अध्यक्ष क्याप्टेन राहुल एस पुरानिकले हस्ताक्षर गरिसकेको नेपालमा नै आन्तरिक तयारीको काम नसकिएको सिम्रिकले जानकारी दिएको छ । सिम्रिक इन्टरनेसनल कार्गो एयरलाइन्स र सफायर ग्लोवल एयरवेजको संयुक्त लगानीमा नेपालबाट यो वायुसेवा संचालन हुने उल्लेख छ । सिम्रिकले नेपालमा यात्रु उडान नभएर कार्गो उडान मात्रै गर्ने गरी सफायरसँग सम्झौता गरेको हो । करीब १६ अर्ब रुपैयाँको लगानीमा ७० प्रतिशत सफायरको र ३० प्रतिशत सिम्रिकको शेयर हुने गरी सम्झौता गरेको सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको भनाइ छ । यतिले हिमालय चलायो आन्तरिक उडानको वायुसेवा कम्पनी यति एयरले तिब्वत एयरलाइन्सँगको सहकार्यमा हिमालय एयरलाइन्स संचालन गरेको छ । २०६४ माघ ६ गतेबाट एयर अरेवियासँगको सहकार्यमा आन्तरिक वायुसेवा कम्पनी यति एयरले अन्तर्राष्ट्रिय उडानको फ्लाई यति संचालन गरेको थियो । आन्तरिक व्यवस्थापन मिलाउन नसकेका कारण यो वायुसेवा ६ महिना पछि संचालन गर्न सकेन । यो वायुसेवाले गत फागन अन्तिम साता नेपलामा जहाज भित्र्याएको भएपनि नियमति उडान भने गते जेठ १९ गतेबाट सुरु गरेको हो । यतिले फ्लाइ यतिलाई नै नयाँ रणनीतिक साझेदार खोजेर पुनः हिमालय एयरलाइन्ससँगको नाममा उडान संचालन गरेको हो । हिमालयले हाल एउटा जहाजमार्फत काठमाडौं कतार नियमित उडान गरिसकेको छ । यो वायुसेवामा यति एयरकै लगानी प्रमुख रहेको छ । अन्तर्राष्ट्रिय पहुँच बढाउने तयारीमा बुद्ध एयर विसं २०६६ देखि नै अन्तर्राष्टिय उडानको अनुमति लिएर नेपालसँग सीमानासँग जोगिएको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको बुद्धले पनि जहाजको संख्यासँगै उडान पहुँच बढाउने तयारी थालेको छ । यो वायुसेवाले हाल भारतको वनारसमा चार्टर उडान गरिरहेको भएपनि जहाज थप गरेर नियमतिमा जाने योजना बनाएको बताएको छ । यो वायुसेवाले अन्तर्राष्ट्रिय उडान गन्तव्य पनि बताउने योजना अगाडि सारेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । भुटानको नियमित उडान बन्द गरेर भारतको लखनउ उडान गरिरहेको बुद्ध एयरले थप दुईवटा एटीआर ७२ जहाज थप गरेर सीमा क्षेत्रका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न चाहेको उल्लेख छ । यो वायुसेवाले मन्त्रालयमा दुई वटा जहाज थपको अनुमति मागेको छ । जहाज विस्तारसँगै उडान पहुँच बढाउँदै सौर्य एयर आन्तरिक उडानमा पछिचल्लो सयम थपिएको वायुसेवा कम्पनी सौर्य एयरले पनि जहाज विस्तारसँगै उडान क्षमता बढाउने भएको छ । यो वायुसेवासँग आन्तरिक उडानको एउट मात्रै जहाज छ । आगामी सेप्टेम्बर भित्र एउटा र त्यसको ६ महिनामा अर्को जहाज थप गरेर उडान पहुँच बढाउने सौर्य एयरका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए । दुई वर्ष देखि ५० सिट क्षमताका जहाज संचालन गरिरहको यो वायुसेवाले आन्तरिक व्यवस्थाप नमिलेका कारण जहाज नै बेच्च चाहेको थियो । नयाँ रणनीतिक साझेदार भित्र्याएर यो वायुसेवाले जहाज विस्तारको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । यो वायुसेवाका जहाज ५६ सीट क्षमताको भएको र बुद्ध एयरसँग भएको ७३ सीट क्षमताको एटीआर भन्दा पनि तीब्र गतिमा उड्ने जहाज हो । सौर्यले पनि जहाज थप गर्ने अन्तर्राष्ट्रिय उडानसम्मको योजना बनाइरहेको जानकारी दिएको छ ।

नील आर्मस्ट्रङ्गसँगै चन्द्रमामा पाइला टेक्ने व्यक्ति विराटनगर आउँदै

मोरङ, २० भदौ । चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै अर्का यात्री बज एड्रिन मङ्गलबार विराटनगर आउँदै छन् । पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उनी पनि चन्द्रमामा पुगेका थिए । सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने तय भएको कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन उनी मङ्गलबार विराटनगर आउन लागेका एभरेस्ट साइन्स सेन्टरका निर्देशक दिलीप अधिकारीले जानकारी दिए । अन्तरिक्ष यात्री सोमबार काठमाडौं आइपुग्ने छन् । एल्ड्रिनले मङ्गलबार ठूलो सङ्ख्यामा विद्यार्थीमाझ चन्द्रमामा पाइला राख्दाको अनुभव सुनाउनु हुने छ भने मङ्गल ग्रहमा बस्ती बसाउन सकिने योजनाबारे पनि आफ्नो योजनाबारे प्रस्ट पार्ने बताएका छन्। रासस

भूकम्प पीडितले घर बनाउन थप एक लाख पाउने पक्का

काठमाडौं, २० भदौ । भूकम्प पीडितले निजी आवास निर्माणका लागि थप एक लाख पाउने भएका छन् । भूकम्प पीडितलाई नीजि आवास निर्माणका लागि एक लाख रुपैंयाँ थपेर तीन लाख पुर्याउने तयारी अन्तिम चरणमा पुगिसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी दिएका हुन् । ‘भूकम्प पीडितलाई घर बनाउन थप एक लाख दिने तयारी भैसकेको छ, केहि दिन भित्रै निर्णय हुन्छ’, प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदको विकास समितिमा भने । उनले हाल दिइएको दुई लाख रुपैंयाँले जनताको घर निर्माण सम्भव नहुने भएकाले सरकारले थप एक लाख दिएर तीन लाख अनुदान पुर्याउन लागेको समेत बताए । प्रधानमन्त्री दाहालले पछिल्लो समय पुननिर्माणको कामले गतिलिएकोमा खुसी व्यक्त गर्दै भने–’म प्रधानमन्त्री हुँदा जम्मा ४३ लाख पीडितको खातामा पहिलो किस्ताको रकम जम्मा भएको थियो, अहिले त्यो दुई लाख ७२ हजार ९ सय ६२  पुगिसकेको छ, यसले पुननिर्माणको काम तिब्र गतिमा अघि बढेको देखाउँछ ।’ उनले जनतालाई घर बनाउने रकम उपलब्ध गराउन असहज भएमा हेलिकप्टरमा सेना र पैसा पठाएर भएपनि वितरण गर्ने समेत बताए । हाल सरकारले भूकम्प पीडितलाई दुई लाख नगद अनुदान दिने भनेको छ । त्यसको पहिलो किस्ता वापत हाल ५० हजार रुपैंयाँ धमाधम वितरण भैरहेको छ । दोश्रो किस्तामा ८० हजार र तेश्रो किस्तामा ७० हजार दिने कार्यबिधी रहेको छ । दाताहरुको सहयोगबिना आफ्नै ढुकुटीबाट पैसा खर्च गर्ने हैसियतमा सरकार नरहेको बताउँदै दाताहरुका सर्त मान्न बाध्य भएको समेत स्विकार गरेका थिए । ‘दाताले नदिएसम्म आफ्नै ढुकुटीबाट पैसा खर्च गर्न सक्ने हैसियतमा छैनौं, पैसा लिएपछि दाताहरुका केहि सर्त मान्नय बाध्य छौं’, प्रधानमन्त्री दाहालले भने । उनले असोज भित्रै निर्वाचनसँग सम्बन्धीत सबै ऐन ल्याइसक्ने र चैतमा स्थानिय निकायको निर्वाचन गराएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

‘एसियन को–अपरेटिभ समिट’मा भाग लिन प्रधानमन्त्रीलाई निमन्त्रणा

काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आगामी असोज २२ गतेदेखि सुरु हुने एसिएन कोअपरेटिभ समिटमा भाग लिन थाइल्यान्ड सरकारले निमन्त्रणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसान्टले भेटवार्ता गरी एसियाली मुलुकका सरकार प्रमुखहरु सहभागी हुने उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैंककमा हुने दोस्रो सम्मेलनमा सहभागिताका लागि थाई सरकारका तर्फबाट राजदूत भुट्टीसान्टले निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् । सो अवसरमा नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध र आपसी हितका बारेमा समेत छलफल भएको थियो । रासस