संयुृक्त अरब इमिरेट्समा अलपत्र ३० जनाको उद्धार गर्न निर्देशन
काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त अरब इमिरेट्स (युएइ)मा अलपत्र परेका ३० नेपाली कामदारको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । चौकीदारका रुपमा ११ महिनाअघि काम गर्न दुबईको सारजहाँमा एक कम्पनीमा गएका उनीहरुलाई चार महिनादेखि पारिश्रमिक नदिइएपछि बिचल्ली परेको खबर सार्वजनिक भएपछि उद्धार गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सचिवलाई पत्र लेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले अलपत्र परेका उनीहरुलाई छिटो उद्धार गरी नेपाल ल्याउन र त्यसको जानकारी कार्यालयलाई दिन निर्देशन दिएको छ । रासस
क्यान कमटेकमा अवलोकनकर्ताहरुको भीड, आईटी कम्पनीबीच आकर्षक योजना दिन प्रतिस्पर्धा
काठमाडौं, २४ भदौ । बिहीवारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को दोस्रो दिन पनि अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता देखिएको छ । दोस्रो दिन ४९ हजार ५ सय ११ जनाले अवलोकन गरेको क्यानले जनाएको छ । मेलाको अहिलेसम्म ८८ हजार ६ सय ७८ जनाले अवलोकन गरेका छन् । प्रदर्शनीमा सहभागि कम्पनीहरुले नयाँ नयाँ उत्पादनहरु सार्वजनिक गरेका छन् । आकर्षक अफर हरु सार्वजनिक गर्न कम्पनीहरुबीच तिव्र प्रतिस्पर्धा चलेको पाइएको छ । ‘कम्पनीहरुले प्रदान गरेको सहुलियत र विभिन्न आकर्षक स्किमहरुले अवलोकनकर्ताहरुलाई राहत दिलाएको हामीले अनुभूति गरेका छौं’ क्यान महासंघका महासचिव विश्व राम बलामी भने । कमटेकको शिर्ष प्रायोजक सुविसु केवलनेटले क्लियर टिभी तथा इन्टरनेटमा विशेष अफर ल्याएको छ । प्रदर्शनीमा सुविसुले केवल इन्टरनेट र क्लियर टिभीको आकर्षक अफर घोषणा गरेको हो । जस अनुसार २ हजार ९ सय ९९ रुपैंयामा क्लियर टिभी र ५ हजार ९ सय ९९ रुपैंयामा केवल इन्टरनेट उपलब्ध गराएको छ । त्यस्तै सुविसुले केवल इन्टरनेट र क्लियर टिभी कम्वो अफरहरु पनि सार्वजनिक गरेको छ । यि अफरहरुमा एचडी सेटअप बक्स र वायरलेस केवल मोडियम निःशुल्क प्रदान गरिरहेको छ । त्यस्तै कमटेकको एशोसियत स्पोन्सर सामसुङले ल्याएको विभिन्न उत्पादनहरुमा अवलोकनकर्ताको ध्यान केन्द्रित भएको पाइयो । सामसुङले ल्याएको फ्ल्यागसिप नोट सेभेन आकर्षणको केन्द्र बन्यो । यो फोन आधा घण्टासम्म पानीमा डुबे पनि केही नहुने कम्पनीले दावी गरेको छ । यसका साथै सामसुङले एस बाइक मोड, अल्टा डेटा सर्भिस मोड, टर्वाे स्पिड टेक्नोलोजी, अल्टा पावर सेभिङ मोड भएका जे सेरिजका फोनहरु उपलब्ध गराएको छ । साथै भर्चुअल रियालिटी डिभाइसको रोचक अनुभव लिन सकिने सुविधा पनि दिएको छ । कमटेकको डायमण्ड स्पोन्सर नेपाल टेलिकमले ५० रुपैंयामा ५० रुपैंया नै ब्यालेन्स भएको जिएसएम प्रिपेड सिमकार्ड वितरण गरिरहेको छ । त्यस्तै प्रदर्शनीमा फाल्कोन इन्टरनेशनलले थ्रिजी, फोरजी र डुअल ब्यान्ड गिगाबाइट राउटरहरु सार्वजनिक गरेका छन् । कम्पनीले कुनै पनि उत्पादनको खरिदमा बुलगार्ड इन्टरनेट सेक्यूरिटी निःशुल्क उपलब्ध गराएको छ । कम्पनीले १९ सयदेखि ४ हजार रुपैंयासम्मका राउटरहरु प्रदर्शनीमा राखेको छ । यी राउटरहरुबाट वायरलेस एक्सेसका साथै फाइल सेयरिङ, मिडिया स्ट्रिम गर्न तथा एफटिपी सेट गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै जेडटिईले बी २, बी ३ र ब्लेड एस ५ फोन सार्वजनिक गरेको छ । कम्पनीले हरेक फोनको साथमा सेल्फी स्टिक निःशुल्क प्रदान गरिरहेको छ । सागर डिष्टीब्युसनले एनइसी ब्राण्डको १००० मोडलको नयाँ पीबीएक्स सिष्टम ल्याएको छ । भिओआइपी सपोर्ट गर्ने यसले ८ देखि १२८ ओटासम्म एक्सटेन्सन पोर्ट सपोर्ट गर्छ । त्यस्तै मर्कन्टाइल अफिस सिष्टमले एस ब्राण्डको कन्भर्टेवल डिभाइस स्विच अल्फा १२ ल्यापटप र ट्याब्ल्लेट ल्याएको छ । त्यस्तै बेल्ट्रोनिक्सले वाइफाइ राउटरको ब्याकअप ल्याएको छ । जसको प्रयोगबाट लोडसेडिङमा पनि ५ घण्टासम्म इन्टरनेट चलाउन सकिने कम्पनीको दावी छ । माइक्रोलाइफले ल्याएको स्वास्थ्य परिक्षण मेसिनहरु पनि अवलोकनकर्ताहरुको नजरमा प¥यो । त्यस्तै ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले जडान शुल्क निःशुल्क गर्नुका साथै सेट अप बक्स र फाइवर राउटरमा सहुलियत दिएको छ । त्यस्तै अर्काे कम्पनी भायनेटले पनि फाइवर होम क्यान अफर ल्याएको छ । भायनेटले निःशुल्क जडान सुविधाका साथै एक महिना निःशुल्क इन्टरनेट सुविधाको अफर सार्वजनिक गरेको छ । वेबसर्फरले पनि जडान शुल्क र वाइफाइ राउटर निःशुल्क गर्नुका साथै दुई महिनाको बोनस र नगद छुटको अफर ल्याएको छ । ब्रोडलिंकले पनि निःशुल्क जडान, फ्रि भ्वाइस कल, फ्रि डिभाइस लगायतका स्किमहरु ल्याएका छन् । त्यस्तै मेलामा राखिएको जीपीएस भेहिकल ट्रयाकिङ सिष्टमले पनि धेरैको ध्यान खिचेको पाइयो । कमटेकमा ब्रडर ब्राण्डका नयाँ प्रिन्टर तथा फोटोकपी मेसिनहरु विशेष छुटसहित उपलब्ध गराएको छ । प्रदर्शनीमा ल्यापटप, स्मार्टफोन, पावरबैंक, पेनड्राइभ, मेमोरी, चार्जर लगायतका स्टलहरुमा अवलोकनकर्ताहरुको भरिभराउ देखियो । प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, इलेक्टिोनिक्स सेक्यूरिटी तथा सेप्mटी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय वटा स्टलहरु रहेका छन् । कमटेकको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैंया र विद्यार्थीहरुलाई २५ रुपैंया तोकिएको छ । एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षासहित आयोजित प्रदर्शनी आगामी २६ गतेसम्म संचालन हुनेछ ।
प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेद्वारा राजीनामा
काठमाडौँ, २४ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरी बुझाइएको राजीनामापत्रमा उच्चस्तरीय राजनीतिक सहमति एवम् पछिल्लो दिनमा देखिएको असहज अवस्थाका कारण आफूले पदबाट हट्ने निर्णय गरेको उल्लेख छ । विसं २०७१ मङ्सिर १३ गते प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका काफ्लेको कार्यकाल तीन महिना मात्रै बाँकी थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले काफ्लेले राजीनामा गरेको जानकारी दिए । प्रधानमन्त्रीलाई बुझाइएको राजीनामापत्र आजै ऊर्जा मन्त्रालयमा आइपुगेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । नयाँ प्रक्रियामा आधारमा प्राधिकरणको नेतृत्व चयन गर्ने तयारीमा मन्त्रालय रहेको बुझिएको छ । रासस
भन्सार कार्यविधिहरु सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी संसदबाट अनुमोदन, भान्सार प्रशासन सरल हुने, व्यवसायीलाई दोहोरो लाभ
काठमाडौं, २४ भदौ । भन्सार कार्यविधिहरुको सरलीकरण तथा सामन्जस्यीकरण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी व्यवस्थापिका संसदले अनुमोदन गरेको छ । उक्त प्रस्ताव उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा पेश गरेका थिए । अन्तर्राष्ट्रिय व्यापार तथा विनिमय सम्बन्धी कार्यविधि र अभ्यासहरुको सरलीकरण तथा विभिन्न देशहरुकाबीचमा सामञ्जस्यीकरण गर्न यो महासन्धीको पक्ष राष्ट्र हुन आवश्यक छ । यसबाट अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त सुधार र आधुनिकीकरणका विधिअनुरुप नेपालको भन्सार प्रशासनलाई अगाडि बढाउन, भन्सार प्रक्रियाहरुलाई सरल बनाई एकरुपता कायम गर्न, भन्सार समुदायबीच नेपालको भन्सार प्रशासनले गरेका सुधार तथा आधुनीकिकरणका व्यवस्थाका लागि यो महासन्धीको पक्ष राष्ट्र बन्नु जरुरी थियो । अब नेपालको भन्सार प्रक्रिया र कार्यविधिहरुमा हुने सहजीकरणले राजस्व चुहावट नियन्त्रण गर्न, व्यापार लागत न्यूनीकरण गर्न तथा भन्सार कानूनहरुको कार्यान्वयनमा देखिने विविधताको अन्त्य गरी अनुमानयोग्य र पारदर्शी बनाउन सहयोग पुग्ने भन्सार विभागले जनाएको छ । ‘यसबाट भन्सार सम्बन्धी ऐन, नियम, कार्यविधि र प्रक्रियाहरु अन्तर्राष्ट्रिय स्तरका हुनेछन्’ भन्सार विभागका प्रबक्ता सूर्य सेढाईले बताए । नेपालको भन्सार कानून र कार्यविधिमा सुधार र भन्सार संगठनमा आधुनिकीकरण भई सरकारले प्राप्त गर्ने राजस्वको संरक्षणमा टेवा पुग्नेछ साथै भन्सार सुधार र आधुनीकिकरणमा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न थप सम्भावना बढ्ने उनको भनाई छ । माल वस्तुको घोषणा गर्ने तरिका, कागजातको आधिकारिकता, नमूनाको छनौट,मालवस्तुको भौतिक परीक्षण, प्रयोगशाला सम्बन्धी व्यवस्था, मालवस्तुको लिलामको प्रक्रिया, महसुल फिर्ता, राजस्व भुक्तानी प्रक्रिया, कानूनी, कारबाही, घोषणा प्रक्रिया परिवर्तन तथा पुनरावेदन जस्ता व्यवस्थाहरु छन् । यो महासन्धीको पक्ष राष्ट्र बन्न नेपालले २०६८ सालदेखि तयारी शुरु गरेको थियो । तयारीका क्रममा मौजुदा भन्सार कानूनको अध्ययन तथा विश्लेषण गर्दा अनिवार्य रुपमा पूरा गर्नुपर्ने १२२ वटा मापदण्डहरु मध्ये ९७ वटा मापदण्डहरु अहिलेको कानूनमा समावेश भइसकेका र बाँकी २५ वटा मापदण्डहरु पनि कानूनको संशोधन तथा परिमार्जन गर्नुपर्ने देखिएकाले सो को प्रारम्भिक मस्यौदा समेत तयार भइसकेको विभागले जनाएको छ । संशोधन गर्नुपर्ने प्रावधानहरुमा मुख्यतः माल वस्तुको घोषणा गर्ने तरिका, कागजातको आधिकारिकता, नमूनाको छनौट,मालवस्तुको भौतिक परीक्षण, प्रयोगशाला सम्बन्धी व्यवस्था, मालवस्तुको लिलामको प्रक्रिया, महसुल फिर्ता, राजस्व भुक्तानी प्रक्रिया, कानूनी, कारबाही, घोषणा प्रक्रिया परिवर्तन तथा पुनरावेदन जस्ता व्यवस्थाहरु छन् । आपूर्तिकर्तालाई सम्झौता बेगरको सामान फिर्ता गर्न वा भन्सारमा छाड्न सक्ने र त्यस्तो अवस्थामा तिरेको भन्सार महसुल फिर्ता हुने विषय पनि परिमार्जन गर्नुपर्ने देखिएको छ । प्रशासनिक निर्णयबाट पूरा गर्नुपर्ने मापदण्डहरु अन्तर्गत व्यापारिक क्षेत्रसँग भन्सारले औपचारिक परामर्श सम्बन्ध राख्ने तथा मालवस्तुको भौतिक परीक्षण गर्नुपर्ने देखिएमा सम्भव भएसम्म एकै समयमा परीक्षण गर्न सुनिश्चित गरिने विषय रहेका छन् ।
पशुपति पेन्ट्सको दशैं तिहार योजना, बम्पर पुरस्कार रोयल एन्फिल्ड बाइक
काठमाडौं, २४ भदौ । पशुपति पेन्ट्सले उपभोक्ताहरुका लागि नयाँ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै र तिहार लक्षित गर्दै ‘महापर्वको रङेत्सव’ उपहार योजना सार्वजनिक गरेको हो । ‘महापर्वको रङेत्सव’ योजना अन्तर्गत पशुपति पेन्ट्सको खरिदमा उपभोक्तालाई एउटा उपहार कुपन उपलब्ध गराइन्छ । कम्पनीका अनुसार उपहार कुपनका लागि चालिस हजार वा सो भन्दा बढी मूल्य बराबरको पेन्ट्सको खरिद गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ । यसरी उपलब्ध गराइएको उपहार कुपनहरु मध्यबाट गोलाप्रथा मार्फत विजेताको छनोट गरिनेछ । विजेतालेहरुले स्मार्ट टीभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, स्मार्टफोन, चाँदी, सुन लगायत उपहारहरु जित्न सक्नेछन् । योजनाको बम्पर उपहारका रुपमा १ जना भाग्यशाली विजेतालाई कम्पनीका तर्फबाट रोयल एण्फिल्ड बाइक प्रदान गरिने जानकारी दिइएको छ । उक्त योजना भदौ १५ देखि कार्तिक ३० गते सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।
एक लाख ५७ हजार कमिसन लिने इन्जिनियरविरुद्ध आरोपपत्र दायर
काठमाडौं, २४ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेक भुक्तानी दिने क्रममा कमिसन लिने इन्जिनियरविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दाङका इन्जिनियर रामदुलारीशरण भगतले ठेक्कानुसार निर्माण भई चेक भुक्तानी गर्ने क्रममा दश प्रतिशत कमिसन मागेको आयोगको ठहर छ । अभियुक्त भगतले ठेक्का रकमको दश प्रतिशतले आउने रकम एक लाख ५७ हजार रुपैयाँ निर्माण व्यवसायीसँग माग गरिरहेको भन्ने उजुरी आधारमा आयोगले अनुसन्धान गरेको थियो । आयोगले उक्त रकम घुस लिएको अवस्थामा नियन्त्रणमा लिई कानुन बमोजिम जरिवाना माग दाबीका साथ शुक्रबारआरोपपत्र दायर गरेको जनाएको छ ।
सेयर बजारमा ८ अर्ब ५२ करोडको कारोबार, परिसूचक बढेर १८२३ अंकमा
काठमाडौं, २४ भदौ । यो साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । सो हप्ता ४१ हजार ८०५ कारोबारबाट ८ अर्ब ५२ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबरका एक अर्ब १६ लाख ७९ हजार सात सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २३.३३ प्रतिशत बढि हो । यस साता सेयर बजारमा नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.२२ अंकले बढेर अन्तिम दिन १८२३.०५ अंकमा पुगेको छ । सातामा बीमा समूहको परिसूचक ८२ अंकले बढेको छ । जलविद्युत र होटल समूहको परिसूचक क्रमशः ६६ र २४ अंकले बढेका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.३९ अंकले बढेर ३९५.५७ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम ( ७६ करोड ८८ लाख २० हजार रुपैयाँ) को आधारमा नेपाल बंगलादेश बैंक लि. अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१४ लाख ३४ हजार कित्ता) को आधारमा एनएमवि सुलभ इन्भेस्टमेन्ट फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (६६८२ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि. अग्रस्थानमा रहेको छ ।
फष्ट माईक्रोफाइनान्सले पुँजी ६८ करोड बनाउने, ३० प्रतिशत बोनस सेयर, सतप्रतिशत हकप्रद सेयर
काठमाडौं, २४ भदौ । फष्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकले चुक्ता पूँजी २३ करोडबाट वृद्धि गरि ६८ करोड रुपैयाँ पुर्याउने योजना नेपाल राष्ट्र बैंकमा बुझाएको छ । भदौ २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई दुई आर्थिक वर्षमा कुल ३० प्रतिशत बोनस सेयर दिने र १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार बैंकले पुँजी वृद्धि योजना राष्ट्र बैंकमा बुझाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस जारी गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी २३ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनश पश्चात बैंकको चुक्ता पूँजी २६ करोड ४५ लाख रुपैयाँ पुग्ने छ । बोनस सेयर वितरण पछि बैंकले २ बराबर १ हकप्रद जारी गरी चालु वर्षमै बैंकको चुक्ता पूँजी ३९ करोड ६९ लाख रुपैयाँ पुर्याउने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनमा आफ्नो पूँजी वृद्धि योजना बुझाएको हो । राष्ट्र बैंकले यहि भदौ मसान्तभित्र लघुवित्त वित्तीय संस्थाहरुलाई वृद्धि पूँजी योजना बुझाउन निर्देशन दिएको थियो । बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट मुनाफाबाट १५ प्रतिशत वोनस शेयर वितरण गरि पुँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ पुर्याउने भएको छ । त्यसैगरी बैंकले आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तसम्ममा २ बराबर १ का दरले हकप्रद सेयर निष्काशन गरी ६८ करोड ४३ लाख ९४ हजार पु¥याइने जनाएको छ । नेपाल राष्ट्र बैंकले होलसेल बैंकिङ गर्ने माइक्रो फाइनान्सहरुको चुक्ता पुँजी २०७५ असार मसान्तसम्ममा कम्तिमा ६० करोड रुपैयाँ बनाउनु पर्ने व्यवस्था गत असारमा जारी गरेको मौद्रिक नीतिमा गरेको छ ।