विकासन्युज

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

नारायण ढुङ्गाना काठमाडौं । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’ का रुपमा विकास भएको छ । सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरू भन्छन्, ‘यो कार्यक्रम हात्ती र मान्छे बीचको सम्बन्ध सेतु मात्रै बनेको छैन, हात्ती संरक्षणको सन्देश दिन र चितवनमा पर्यटक आगमन वृद्धि गर्न सफल भएको छ ।’ भीमकाय हात्तीका गतिविधि प्रस्तुत गरी चितवनको पर्यटन प्रवर्द्धन र वन्यजन्तु संरक्षणको प्रयास थालिएको २१ वर्ष पुगेको छ । सन् २००४ मा सुरु गर्दा हात्ती क्याराभान र ‘अन्तर्राष्ट्रिय हात्ती दौड’ प्रतियोगिताका रुपमा आयोजना गरिएको थियो । कार्यक्रमले केही वर्षमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमायो । पछिल्ला समयमा पशु अधिकारका कुरा उठेपछि अझै हात्तीमैत्री कार्यक्रम कसरी आयोजना गर्न सकिन्छ भनेर चिन्तन मनन हुँदै परिमार्जित रुपमा हात्ती महोत्सव आयोजना भइरहेको छ । यसपालि पुस ११ शुक्रबारदेखि सुरु भएको महोत्सव आइतवार सम्पन्न भएको छ । ‘यो चितवनकै पर्याय र सौराहाको ब्राण्ड भइसकेको कार्यक्रम हो,’ क्षेत्रीय होटल संघ चितवनका पूर्व कोषाध्यक्ष तथा होटल सेभेनस्टारका सञ्चालक माधव दुवाडी भन्छन् । उनले हात्ती महोत्सवकै कारण यो अफ सिजनमा सौराहामा २० देखि ३० प्रतिशतसम्म पर्यटक भित्र्याउन सफल भएको दावी उनले भने । अहिले क्रिसमको समय हो । अंग्रेजी नयाँ वर्ष संघारमा रहेको छ । यो समयमा आएका पर्यकटहरु क्रिसमस मनाउन आफ्नै देश फर्किन्छन् । विगतमा अहिले जस्तो नेपालमा आन्तरिक पर्यटकको चाप थिएन । पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक आएनन् भने सुनसान हुने गर्छ । अफ सिजनमा फर्किन लागेका पर्यटक रोकेर बसाई लम्ब्याउन र नयाँ पर्यटक बोलाउन यस्ता कार्यक्रम उपयुक्त मानिने पर्यटन विज्ञ विश्व सुवेदीको प्रतिक्रिया छ । सौराहामा रहेका हात्ती चितवनकै सान हो । यहाँ टाँगा, घोडाहरू लोप भइसके । हात्तीका गतिविधिले वन्यजन्तु पर्यटनमा ठूलो योगदान पुगेको हात्ती विज्ञ डा कमल गैरे बताउँछन् ।  उनी भन्छन्, ‘वन्यजन्तु पर्यटनका लागि हात्ती नभइ हुन्न, संरक्षणका लागि पनि हात्ती चाहिन्छ कुनै बाघ, गैंडा वस्तीमा आउँदा हात्ती नै प्रयोग गर्नुपर्छ, त्यसैले पर्यटनसँग हात्तीलाई नजिस्क्याउनु, सम्बन्ध विस्तार गर्नुले वन्यजन्तु पर्यटनमा महत्वपूर्ण टेवा पुग्छ र पुगेको पनि छ, यो हात्ती महोत्सव त्यसैको पर्याय हो ।’ यसरी सुरु भएको थियो हात्ती महोत्सव क्रिसमसका समयमा सौराहामा पर्यटक शून्य भए । विदेशी पर्यटक नआउँदा र आएका पर्यटक फर्किँदा सौराहा सुनसान हुन्थ्यो । सन् २००४ मा हात्ती दौडको सुरुवात गर्ने मध्येका एक क्षेत्रीय होटल संघ चितवनका तत्कालीन उपाध्यक्ष हरिभक्त घिमिरेका अनुसार कोरियामा बस्ने नवराज पन्तले हात्ती क्याराभानको प्रस्ताव गरेका थिए । पर्यटकका समूह घुमाउन ल्याउने हुँदा सौराहामा धेरै हात्ती देखेपछि उनले सो प्रस्ताव गरेका थिए । त्यसबेला क्षेत्रीय होटल संघका अध्यक्ष हुनुहुन्थ्यो घनश्याम श्रेष्ठ, उपाध्यक्ष हरिभक्त घिमिरे उनीहरूसँगै अग्रज पर्यटन व्यवसायी गिरिधारी चौधरी, शङ्कर सैंजु, रामकुमार अर्यालबीच छलफल भयो र क्षेत्रीय होटल संघले कार्यक्रम गर्ने निष्कर्ष निकाल्यो । अनि हात्तीको क्याराभान (लस्कर) र हात्ती दौड प्रतियोगिता आयोजना गरिएको घिमिरेले सुनाए । सन् २००४ बाट प्रतियोगिता सुरु भयो । देश र विदेशका नाम चलेका पर्यटनसँग सम्बद्ध संस्था सहभागी भए । विश्वका पत्रकारको ध्यान तान्यो र कार्यक्रम विश्वव्यापी बन्यो । त्यसपछि व्यवसायी उत्साहित भए । कार्यक्रम देखाउँदा आन्तरिक र बाह्य पर्यटकको चाप राम्रो भएकाले अझै व्यवस्थित गर्दै जाने निधोमा व्यवसायीहरू पुगे । त्यसबेला मुख्य आकर्षण हात्ती दौड भए पनि टाँगा, गाडा, डुंगा दौडका कार्यक्रम हुन्थे । विभिन्न मुलुकका व्यावसायिक घरानाले स्पोन्सर गरेका हुन्थे । झण्डै एक दशक हात्ती दौड प्रतियोगिता राम्रै भयो । चितवनको ब्राण्ड बन्यो । विश्वकै एक मात्र कार्यक्रम बन्यो । जसले देश र विदेशका पर्यटकलाई तान्न पनि सफल भयो । अफ सिजनमा पर्यटक आगमन केही बढाएपछि दौडलाई अझै विकसित गरेर अन्य गतिविधि समावेश गर्न थालियो । सौराहाका व्यवसायीहरूलाई यो थप प्रेरणा भने पश्चिम चितवनको मेघौलीमा टाइगर टप्स होटलले आयोजना गर्ने अन्तर्राष्ट्रिय हात्ती पोलोले पनि दिएको थियो । हात्तीमाथि चढेर पोलो स्टिकले भुँइमा रहेको पोलो बललाई पोष्टमा छिराएर खेलिने पोलो खेलमा देशी र विदेशी पर्यटकको बाक्लो चाप हुन्थ्यो । त्यस्तै चाप सौराहामा पनि भित्र्याउन गरिएको प्रयासमा व्यवसायी सफल भए । पछि टाइगर टप्स होटल निकुञ्जबाट हट्यो र विस्तारै विभिन्न जिल्लामा सारिएको पोलो बन्द भयो र सौराहामा आयोजना हुने हात्ती महोत्सव कार्यक्रममा पोलो पनि समावेश गरिएको थियो । हात्ती दौडलाई वृहत् बनाउँदै जाने क्रममा हात्ती महोत्सवकै रुपमा आयोजना गर्न थालियो । त्यसमा हात्तीको वनभोज र हात्ती सुन्दरी प्रतियोगिता थपेसँगै थप आकर्षण भयो । क्रमैसँग अन्य यस्ता कार्यक्रम हुँदै आइरहेका छन् । गणेश भगवानका रुपमा यसपालि हात्तीको पूजा पनि गरिएको छ । हुन त वन्यजन्तु पर्यटनको उत्कृष्ट गन्तव्य हो चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु छ र चितवनको पर्यटक पनि छ । त्यसैले वन्यजन्तुका क्रियाकलाप, उनीहरुका आनीबानी, रहनसहन तथा मौलिक संस्कृति हेर्न पर्यटकहरू यहाँ लालायित हुन्छन् । पर्यटकहरू चितवन र सौराहा घुम्न आउनुको मुख्य चाह नै बाघ, गैंडा, हात्तीलगायत वन्यजन्तु अवलोकन हो । नेपालमा दुर्लभ एक सिंगे गैंडाको मुख्य वासस्थान पनि चितवन हो । महोत्सव हात्तीमैत्री  अहिले हात्ती तथा पर्यटक महोत्सव थप वन्यजन्तुमैत्री बनाउँदै आयोजना हुँदै आएको छ । हात्तीलाई दुःख दिएको भन्दै सन् २०१३ बाटै पशु अधिकारकर्मीहरुले हात्ती दौडको विरोध हुन थालेका थिए । त्यसपछि हात्तीहरुलाई यातना भयो, कुटियो दौडाइयो भनेपछि त्यसको केही वर्षपछि दौड स्थगित गरी हात्ती महोत्सव नाम दिएर हात्तीको वनभोज सुरु गरिएको थियो । हात्तीका छावाबीचको फुटबल सुरु गरियो । छावा बीचको फुटबल खुबै रोमाञ्चक भयो । जनावरले पनि मान्छेले जस्तै फुटबल खेल्न थाले । अजंगको हात्तीले मान्छेले झैँ गोलपोष्ट ताकेर फुटबल सुट गर्दा पर्यटकहरू लालायित भए । दर्शकले भरपूर मनोरञ्जन लिए । त्यसपछि ब्राण्ड नै छावाको फुटबल भयो । अनि हात्ती सुन्दरी प्रतियोगिता र हात्ती वनभोज सुरु भयो र अहिले पनि जारी छ । विभिन्न रङ र चकले छालामा कोर्दा असर गर्ने भन्दै पशु अधिकारकर्मीहरूले त्यसको पनि विरोध गरे । फूटबलको पनि विरोध भयो । फेरि उनीहरूसँग छलफल गरेर कार्यक्रमलाई थप हात्तीमैत्री बनाउने सहमति भयो । गत वर्ष सहमतिसँगै अनुगमनसमेत गरेर हात्ती महोत्सव आयोजना गरिएको थियो । थप हात्तीमैत्री कसरी गर्न सकिन्छ भनेर गत वर्ष सहमति नै गरेर हात्ती महोत्सव आयोजना गरिएको गत वर्षका संयोजक रामकुमार अर्याल स्मरण गर्छन् । अनुगमन समिति नै बनाएर काम गरिएको उनले बताए । विस्तारै यसपालि हात्तीका छावाको पेनाल्टी सुटआउट, सुन्दरी प्रतियोगिता, हात्ती वनभोज, हात्तीको पूजा गर्ने कार्यक्रम आयोजना भएका छन् । हात्ती पोलोको सांकेतिक रुप पनि प्रस्तुत गरिएको थियो । अहिले हात्ती वनभोज पेनाल्टी सुट आउटको विरोध भइरहनुले गलत नियत जोडिएको दावी गर्नुहुन्छ क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनाल ।  उनी भन्छन्, ‘अधिकारकर्मीहरूले वास्तविकता के हो, हात्तीको दिनचर्या के हो रु हात्तीको खाना के हो रु भनेर बुझ्नुपर्छ, उसलाई चलायमान पनि गराउनुपर्छ, एकै ठाउँमा बाँधेर मात्रै राख्न पनि हुन्न, आफ्नो परिवारको सदस्य बच्चादेखि पालेर राखेको हात्तीलाई हान्ने, घोच्ने भन्ने त कुरै आउँदैन ।’ कार्यक्रमकै कारण अहिले सौराहामा पर्यटकहरूको राम्रै उपस्थिति भएको हात्ती महोत्सव संयोजक गुणराज थपलिया बताउँछन् । ‘कुनै पनि क्रियाकलाप हात्ती मैत्री भन्दा बाहिर छैन, हामी व्यवसायीले करोडौं लगानी गरेर आफ्नै सदस्य सरह पालिएको हात्तीलाई यातना दिने भन्ने कुरा कल्पना गर्नै सकिँदैन,’ उनले भने, ‘आएका पर्यटकहरू हात्तीसँगै नजिक हुन, हात्तीका क्रियाकलाप हेर्न, तस्वीर लिन, हात्तीसँग रमाउन चाहन्छन्, पर्यटककै चाहनामा महोत्सव भइरहेको छ, तर विरोध हुनु विडम्बना र अर्थहीन छ ।’ हात्ती महोत्सवको विरोध गर्दै आएका पशु अधिकारकर्मी सुराजन श्रेष्ठ बाहिर देखिँदा रमाइलो देखिए पनि महोत्सवभन्दा पछाडि भने यातना दिने गरेको पाइएपछि हात्तीको अधिकारको लागि आवाज उठाएको बताउँछन् । उनले भने, ‘हात्ती भएर सौराहाको पर्यटकलाई सहयोग पुगेको छ, हात्तीको महत्व पनि ठूलो छ, हात्ती छ र सौराहामा पर्यटक छ भन्नेमा सहमत छु तर हात्तीलाई क्रुर व्यवहारले पर्यटन दिगो हुँदैन, त्यसैको विरोध हो हाम्रो ।’ उनीहरूकै विरोधले हात्ती महोत्सवमा हात्तीको उपयोगका कार्यक्रमलाई परिमार्जन गर्दै थप हात्तीमैत्री बनाउँदै आइएको क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष दीपक भट्टराई बताउँछन् । ३० वर्षसम्म हात्तीको रेखदेख र उपचार गर्नुभएका हात्ती चिकित्सक तथा हात्ती विज्ञ डा कमल गैरे मान्छेलाई त व्यायाम चाहिन्छ, बिहान मर्निङ वाक गर्नुपर्छ, हात्तीका लागि सामान्य खेल खेलाउनु उनीहरुको स्वास्थ्यका लागि राम्रै भएको प्रतिक्रिया दिन्छन् ।  उनले भने, ‘यातना दिनुहुन्न सही कुरा हो, तर सौराहामा त्यसरी यातना दिएर हात्तीका गतिविधि देखाइएको मैले फेला पारेको छैन, अहिलेको अवस्थामा विरोध गर्नु भनेको वन्यजन्तु पर्यटक देख्न नसक्नेहरुको काम हो ।’ रासस

राष्ट्रिय सभा सदस्यका उम्मेदवारले साढे ३ लाख खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले  मतदाता नामावली खरिदका लागि १ हजार रुपैयाँ, सवारी साधनमा ७० हजार रुपैयाँ, सवारी इन्धन १० हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० रुपैयाँ खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ । यसैगरी ढुवानी १० हजार रुपैयाँ, गोष्ठी अन्तरक्रियाका लागि १ लाख रुपैयाँ, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा खर्च १४ हजार ५०० रुपैयाँ खर्च गर्न पाइनेछ ।  त्यस्तै कार्यालय सञ्चालन ७० हजार रुपैयाँ, प्रतिनिधि परिचालन ३० हजार रुपैयाँ र विविध शीर्षकमा ३० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । उम्मेदवारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार, आयोगमा पेस गर्नुपर्नेछ । 

३ वटा उद्योगलाई १ लाख १० हजार जरिवाना, १४ फर्मलाई निर्देशन

काठमाडौं । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुगमन गरी कारबाही गरेको छ । विभागले ३ वटा उद्योग तथा फर्मलाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई १० हजार रुपैयाँ, आरोहण फेसन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान ५०/५० हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ (१) क बमोजिम कारबाही गरेको हो । यसैगरी अन्य १४ वटा उद्योग/फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

राप्रपाले निर्वाचनमा सक्रिय रुपमा भाग लिनेः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुनमा हुने संसदीय निर्वाचनबाट पार्टी नभाग्ने बताएका छन् । राप्रपा मोरङ जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनमा सक्रिय रुपमा सहभागिता जनाउने बताए ।  उनले हिन्दू राष्ट्रको रक्षा गर्ने एक मात्र पार्टी राप्रपा भएकाले यस सम्बन्धमा इमान्दार एवं सक्रिय रुपमा पार्टीको ‘एजेन्डा’ जनतालाई बुझाउन कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए।  अध्यक्ष लिङ्देनले भने, ‘जेनजी पुस्ताको विद्रोह भ्रष्टाचारको अन्त्य र सुशासन कायम  गर्नु हो, निर्वाचन होइन ।’  उनले जेनजी पुस्तासहित मुलुकमा विद्यमान सबै शक्तिबीच गोलमेच सम्मेलन गरी निर्वाचन अगाडि देखिएका माग समाधान गर्न आग्रह गरे।  अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष गोपाल कट्वाल, महामन्त्रीद्वय धवलशम्शेर राणा र राजेन्द्र गुरुङ, रामकुमार सुब्बालगायतले आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराउन जनताको घरदैलोमा जान कार्यकर्तालाई आग्रह गरे । जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

रसुवागढी नाका पुस १७ गतेदेखि सञ्चालनमा आउने, चीन-नेपाल व्यापार फेरि सुरु हुने

काठमाडौं । चीनसँगको मुख्य नाका रसुवागढी आगामी पुस १७ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार रसुवागढीमा बेलिब्रिज निर्माण सम्पन्न भइसकेको छ । २४ असारमा आएको बाढीले मितेरी पुल बगाएपछि नाका पूर्ण रूपमा अवरुद्ध भएको थियो र सडक सम्पर्क समेत विच्छेद भएको थियो ।  नेपाल सरकार र चिनियाँ सरकारको द्विपक्षीय पहल तथा समन्वयमा बेलिब्रिज निर्माण पूरा गरी यसको भार बहन क्षमता र अन्य प्राविधिक परीक्षण पनि सकिएको रसुवा प्रशासनले जनाएको छ । चिनियाँ समकक्षी पक्षले पनि नाका सुचारु हुने जानकारी दिएको छ । यसैबीच, नाका सञ्चालनका लागि ड्राइपोर्टमा गाडी पार्किङ र सामान भण्डारण व्यवस्था समेत पूरा गरिएको छ ।  रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै सर्नु परेको थियो । तर, तातोपानी नाकासमेत बाढी र पहिरोका कारण लामो समय बन्द भएपछि व्यापार प्रभावित भएको थियो ।  यसले चाडबाडको समयमा चीनबाट नेपाल आउने सामान रोकिनु र व्यापारीलाई ठूलो नोक्सानी भोग्नुपर्ने स्थिति सिर्जना गरेको थियो । रसुवागढी नाका पुनः खुल्दै गर्दा नेपाल-चीन व्यापार र मालसामानको आवागमन फेरि सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

राष्ट्रिय घर निर्माण फेस्ट सुरु, पहिलो दिन १५ हजारभन्दा बढी दर्शकको सहभागिता

काठमाडौं । घर निर्माण फाउन्डेसनको आयोजनामा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा हेरिएको फेस्टको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गरेका हुन् ।  निर्माण व्यवसाय क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित आयोजना गरिएको यस फेस्टमा पहिलो दिन १५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । आयोजकका अनुसार फेस्टमा कुल ४० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ भने दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको  छ। फेस्टमा विश्वकै ठूलो इट्टालगायत विभिन्न आधुनिक निर्माण सामग्री तथा प्रविधिहरू प्रदर्शनीमा राखिएका छन्। आइतबारबाट सुरु भएको यो फेस्ट आगामी मंगलबारसम्म सञ्चालन हुनेछ।  आयोजक घर निर्माण फाउन्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहे पनि धेरै ब्रान्डहरूले आफ्ना उत्पादनलाई व्यवस्थित, आकर्षक र प्रभावकारी रूपमा प्रस्तुत गर्न चुनौती भोगिरहेका छन्। सोही समस्याको समाधानका लागि फेस्ट आयोजना गरिएको हो । प्रदर्शनीमा विशेषज्ञहरूको मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्‍याउने अवसर पाउनेछन् । साथै ‘उल्टो घर’, ‘डोम हाउस’ र ६ लाख रुपैयाँ लागतको घर प्रदर्शनीका विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ ।

पाँच महिनामा जीवन बीमकको व्यवसाय ७६ अर्बमाथि, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात (मंसिर) सम्ममा जीवन बीमा कम्पनीहरूले ७६ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले आइतबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरूले १ करोड १५ लाख ३९ हजार १९५ वटा बीमा पोलिसी बिक्री गरी कुल ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले मंसिर महिनामा मात्रै ३ लाख ५६ हजार २६५ बीमालेख जारी गरी १४ अर्ब ६८ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । पाँच महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल लाइफ अगाडि रहेको छ । नेपाल लाइफले मंसिरसम्ममा १७ लाख ९० हजार ८५ वटा बीमालेख जारी गरेर २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।   दोस्रोमा नेसनल लाइफ इन्स्यारेन्सले १३ लाख ४५ हजार ७८८ वटा बीमालेख जारी गरी कुल ९ अर्ब २७ करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा  एलआइसी नेपालले ४ हजार ९०६ वटा पोलिसी जारी गरेर ८ अर्ब १८ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ,  सूर्यज्योति लाइफले ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।  त्यस्तै, एशियन लाइफले ३ अर्ब ७५ करोड १७ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब २३ करोड २५ लाख रुपैयाँ, सानिमा रिलाइनस लाइफले २ अर्ब ८० करोड ५२ लाख रुपैयाँ, मेट लाइफले २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड १८ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

एभरेस्ट समिटियर्स समिट २०२६ काठमाडौंमा आयोजना हुने

काठमाडौं । एभरेस्ट एलायन्स नेपालले ‘हिमालयन इनोभेसन फर अ सस्टेनेबल फ्युचर’ भन्ने मूल नारासहित एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । समिटको घोषणा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर सन् २०२६ मे १७ र १८ मा काठमाडौंमा आयोजना हुने उक्त समिटले सगरमाथा आरोहणको ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै हिमाली क्षेत्रको दिगो भविष्यबारे विश्वव्यापी संवादको थालनी गर्ने आयोजकको लक्ष्य रहेको छ । समिटमा नेपाल तथा विश्वभरका सगरमाथा आरोही, नीति–निर्माता, पर्वतारोहण संस्थाहरू, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहभागिता रहनेछ । हिमाली क्षेत्रको संरक्षण, आरोही सुरक्षा, जलवायु परिवर्तन, दिगो पर्यटन र नवप्रवर्तनका विषयमा उच्चस्तरीय छलफल हुने जनाइएको छ । यसअघि सन् २०२५ मा 'महान व्यक्तित्वहरूको सम्मान, भविष्यलाई प्रेरणा' नारासहित सम्पन्न पहिलो एभरेस्ट समिटियर्स समिटले नेपाललाई विश्व पर्वतारोहण समुदायमा नेतृत्वदायी भूमिकामा स्थापित गर्न महत्वपूर्ण योगदान दिएको आयोजकको भनाइ छ । उक्त समिटले नीति संवाद, अन्तर्राष्ट्रिय सहकार्य र पर्वतीय संरक्षणका क्षेत्रमा ठोस आधार तयार पारेको थियो । एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ लाई केवल स्मरणात्मक कार्यक्रम नभई सगरमाथा आरोहण अनुभवको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन र नैतिक तथा दिगो पर्वतारोहण अभ्यासको प्रवर्द्धन गर्ने दीर्घकालीन मञ्चका रूपमा विकास गर्ने जनाएको छ । समिटमा मुख्य वक्तव्य, विषयगत प्यानल छलफल र नीति संवाद समावेश हुनेछन् । फोहोर व्यवस्थापन, आरोही सुरक्षा, जलवायु जोखिम, हिमाली पर्यटनका चुनौती र समाधानबारे गहन छलफल गरिनेछ । साथै, सगरमाथालाई साझा विश्व सम्पदा मान्दै सामूहिक संरक्षणको आवश्यकता पुनः पुष्टि गरिनेछ । सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, पर्वतारोहण महासंघ, शैक्षिक संस्था, प्रायोजक, विश्वव्यापी आरोहण समुदाय तथा सञ्चार माध्यमलाई समिट सफल बनाउन सहकार्यका लागि आह्वान गरिएको छ । सहभागी हुन इच्छुक सगरमाथा आरोही तथा सरोकारवालाहरूका लागि दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको आयोजकले जनाएको छ । एभरेस्ट एलायन्स नेपाल सगरमाथा आरोही तथा पर्वतीय पेशाकर्मीहरूको राष्ट्रिय सामाजिक मञ्च हो, जसले हिमाली संरक्षण, वातावरणीय दिगोपन, नैतिक पर्वतारोहण अभ्यास र विश्वव्यापी पर्वतीय सहकार्यमा नेपालको नेतृत्व सुदृढ गर्ने उद्देश्य राख्दै काम गर्दै आएको छ ।