विकासन्युज

साँखु सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित साँखुमा रहेको सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु भएको छ ।     पौष शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा हजारौँ भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । माधवनारायण मेलामा १७५ ले व्रत गरिरहेको समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए ।    मेलामा महिला १६२ र पुरुष १३ को सहभागिता छ । मेला माघ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको पहिलो दिन दाताको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टिसमेत गरिएको समितिले जनाएको छ ।     मेलामा सालीनदीमा स्नानसहित माधवनारायण र स्वस्थानी माताको पूजा, आराधना आकर्षणको केन्द्रमा रहने गरेको छ । मेलामा विशेषगरी शनिबार बढी भक्तजनको उपस्थिति रहने गर्छ ।   

रास्वपाको समानुपातिक सूचीबाट सचिन ढकालले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा उनको नाम समावेश भएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि ढकालले शनिबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन् । फेसबुकमा सार्वजनिक वक्तव्यमा उनले नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणवश बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन् । ढकालले युवाको सामूहिक नेतृत्वमार्फत सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन् । समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरेकोमा पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको धारणा राखेका छन् । ‘नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ,’ ढकालले उल्लेख गरेका छन् । ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन् । उनी पर्यटन तथा हस्पिटालिटी व्यवसायमा संलग्न छन् ।

विश्व विद्युतीय सवारी बजारमा चीनको वर्चस्व बढ्दै

काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी सवारी डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब आठ दशमलव छ प्रतिशतले घटेको शुक्रबार जनाएको छ । यससँगै वार्षिक विद्युतीय सवारी बिक्रीमा चीनको बीवाईडीले पहिलो पटक टेस्लालाई उछिनेको छ ।  कम्पनीका तथ्यांकअनुसार टेस्लाले सन् २०२५ मा करिब सोह्र लाख पचपन्न हजार विद्युतीय सवारी उत्पादन गरेको थियो भने करिब सोह्र लाख छत्तीस हजार सवारी डेलिभर गरेको थियो । सन् २०२४ मा भने कम्पनीले करिब सत्र लाख त्रिहत्तर हजार सवारी उत्पादन र सत्र लाख उनान्नब्बे हजार सवारी डेलिभर गरेको थियो । अमेरिकामा विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन दिने कर छुट सन् २०२५ को सेप्टेम्बरमा हटाइएपछि टेस्लाको बिक्रीमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ । सन् २०२५ को चौथो त्रैमासिकमा टेस्लाले करिब चार लाख चौँतीस हजार सवारी उत्पादन गरेको थियो भने चार लाख अठार हजारभन्दा बढी सवारी डेलिभर गरेको थियो । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सोह्र प्रतिशतले कम हो । यसैबीच, चिनियाँ कम्पनी बीवाईडीले सन् २०२५ मा विश्वव्यापी रूपमा करिब बाइस लाख सत्तावन्न हजार विद्युतीय सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब सत्ताइस दशमलव छ प्रतिशतले बढी हो  । बीवाईडीका अनुसार चीनबाहिर एशिया, युरोप र ल्याटिन अमेरिकाजस्ता बजारमा पनि यसको बिक्री तीव्र रूपमा बढिरहेको छ ।  टेस्ला अझै पनि अमेरिकाको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता कम्पनी हो र घरेलु विद्युतीय सवारी बजारको करिब पैँतालीस प्रतिशत हिस्सा ओगटेको छ । तर, बिक्री घट्दै जानुले अमेरिकी विद्युतीय सवारी बजारमा समग्र सुस्तता देखिएको संकेत गरेको छ । अटोमोबाइल अनुसन्धान संस्था कक्स अटोमोटिभका अनुसार सन् २०२५ को नोभेम्बरमा अमेरिकामा सबै ब्रान्डका विद्युतीय सवारी बिक्री अघिल्लो वर्षको तुलनामा चालीस प्रतिशतभन्दा बढीले घटेको थियो । उद्योग विश्लेषकहरूका अनुसार सन् २०२६ मा पनि अमेरिकामा विद्युतीय सवारी बिक्री कमजोर नै रहने अनुमान गरिएको छ । रासस   

बीमाको महत्व विद्यालय तहदेखि पढाइने, प्राधिकरण–शिक्षा निकायबीच छलफल

काठमाडौं । विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा बीमा शिक्षा सम्बन्धी विषयवस्तु समावेश गर्ने विषयमा नेपाल बीमा प्राधिकरणले सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शनिबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा सामाजिक अध्ययन विषय समितिका पदाधिकारी, विज्ञ र लेखकहरूको सहभागिता रहेको थियो । विद्यालय तहका सामाजिक अध्ययन पाठ्यपुस्तक परिमार्जन तथा पुनर्लेखनका क्रममा बीमा शिक्षा समेट्ने विषयमा ठोस निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले विद्यालय तहदेखि नै बीमाको आवश्यकता र महत्वबारे पाठ्यपुस्तकमार्फत जानकारी दिनु आवश्यक रहेको बताए । उनले बीमालाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्न प्रारम्भिक तहदेखि नै सचेतना आवश्यक रहेको उल्लेख गरे । 'बीमाले मानव जीवन र सम्पत्तिको वित्तीय सुरक्षण गर्छ भन्ने जानकारी सानैदेखि दिनुपर्छ,' अध्यक्ष शर्माले भने, 'यसले बीमाको दायरा विस्तार, लागत घटाउने, जोखिम न्यूनीकरण गर्ने र समग्रमा मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउँछ ।' शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यार्थीहरूले विद्यालय तहबाटै बीमाका बारेमा बुझ्न सकून् भन्ने उद्देश्यले सामाजिक अध्ययन पाठ्यपुस्तकमा बीमा सम्बन्धी विषयवस्तु समावेश गरिँदै आएको बताए । उनले पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरिरहेको जानकारी दिँदै परिमार्जित पाठ्यक्रम सबै प्रक्रिया पूरा गरी आगामी २०८४ सालको शैक्षिक सत्रदेखि देशव्यापी रूपमा लागू गरिने बताए । त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक तथा सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्रा.डा. रामकृष्ण तिवारीले सामाजिक अध्ययनका पाठ्यपुस्तक लेखन र प्रश्नपत्र निर्माणमा बीमा सम्बन्धी विषयवस्तु समावेश गर्न विषय विज्ञ र लेखकहरूलाई आग्रह गरे । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले विद्यालय तहका सामाजिक अध्ययन विषयका प्रस्तावित पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकामा समावेश गर्न सकिने बीमा शिक्षा सम्बन्धी विषयवस्तु पहिचान गरी सुझावसहित पाठ्यक्रम विकास केन्द्रलाई उपलब्ध गराइने जानकारी दिए । कार्यक्रममा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा शिक्षा सम्बन्धी प्रस्तुति दिएका थिए । छलफलका क्रममा कक्षा ४ देखि १२ सम्मका प्रस्तावित पाठ्यक्रममा समावेश गर्न सकिने बीमा शिक्षा सम्बन्धी विषयवस्तुहरूबारे विस्तृत विचार–विमर्श भएको थियो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सामाजिक अध्ययन विषय समिति तथा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, विज्ञ र लेखकहरूको सहभागिता रहेको थियो ।

सुनिल शर्माले मोरङको विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने

मोरङ । मोरङको रतुवामाई नगरपालिका- ९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिव चार करोड रुपैयाँको लागतमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गरेका हुन् । विद्यालय भवनको शिलान्यास गर्दै डा. शर्माले १० कोठे अत्याधुनिक भवनमा कम्प्युटर ल्याव र शौचालयसहित करिव ६ हजार ४ सय वर्गफुट क्षेत्रफलमा निर्माण हुने बताए । विद्यालय भवनको शिलान्याससँगै विद्यालयको नाम पनि परिवर्तन गरी श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय राखिएको छ । रतुवामाई नगरपालिकाको आधारभुत तथा माध्यमिक शिक्षा ऐन, २०७२ (तेस्रो संशोधनसहित) अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर विद्यालयको नाम परिवर्तन गरिएको हो । डा. शर्माले काठमाडौं डिकल कलेजअन्तर्गत एमबीबीएस, बीडीएसलगायत उपलब्ध सबै विषयमा पीएचडीसम्म अध्ययन गर्न सकिने गरी थप एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा समेत गरेका छन् । छात्रवृत्तिमध्ये ५० लाख रुपैयाँ विद्यालयलाई जग्गा दान गर्ने स्वर्गीय नरेन्द्रबहादुर थापाको नाममा, २५ लाख रुपैयाँ डा. शर्माका हजुरबुवा स्वर्गीय गुणलाल न्यौपाने नाममा र २५ लाख रुपैयाँ जिजुबा. गणपति न्यौपानेको नाममा स्थापना गर्ने उनले घोषणा गरे । डा. शर्माले आफूले अध्ययन गरेको विद्यालयमा लगानी गर्नु नै विद्यालयप्रतिको ऋण तिर्ने प्रयास भएको बताए । ‘५० लाख बराबराको हजुबुबाको नाममा हामीले छात्रवृत्ति थप गरिदिन्छौँ । भवन त साँढे ३ करोडको बन्यो, बन्यो, ४ करोड पनि पुग्नसक्छ । यो थप हो । ५० लाख बराबरको छात्रवृत्तिको नाम नै श्री नरेन्द्रबहादुर थापा छात्रवृत्ति कार्यक्रम हुन्छ । मेरो जि बा गणपति न्यौपाने र हजुरबुबा गुणलाल न्यौपानेको नाममा २५/२५ लाख गरेर हामीले आज यसै कार्यक्रमबाट भवन र उपचार सुविधा बाहेक अरु एक करोड रुपैयाँको हामीले यो विद्यालयमा न्युनतम ५ वर्ष पढेको र आर्थिक स्थिति कमजोर यो विद्यालयबाट एसईई दिएको विद्यार्थीहरुमध्ये एमबीबीएस, बीडीए पढ्न छात्रवृत्ति उपलब्ध गराउनेछौँ,’ उनले भने । रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंह, कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा. शर्माको योगदानको प्रशंसा गर्दै यस्तो निःस्वार्थ सहयोगले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे ।

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुंदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – खोरीया– मरेनी – जलजला– गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने गत असार महिनामा ट्र्याक (मार्ग) खुलेको सडक प्रयोग गरेर धवलागिरी गाउँपालिकाको बा १ झ ७०७ नम्बरको गाडी पहिलो पटक शुक्रबार ढोरपाटन पुगेको हो । धवलागिरी गाँउपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, योजना अधिकृत हरिहर पनेरु, पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावल र प्राविधिक जनक धानुककोको टोली मुनादेखि नयाँ सडक प्रयोग गरेर ढोरपाटन पुगेको हो । 'बेनीदेखि ७५ किमीको दुरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरी गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण आधारका रुपमा लिएका छौ,' उनले भने 'बागलुङदेखि ढोरपाटन जोड्ने सडकको तुलनामा आधा भन्दा धेरै छोटो यो सडक पुर्वी रुकुमसँग जोडिएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बन्न सक्छ ।' मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने छोटो दुरीको सडक पनि हो । हाल प्रयोगमा आइरहेको बागलुङदेखि ढोरपाटन जोड्ने सडकको दुरी एक सय २६ किमी छ । गत आर्थिक वर्षमा सङ्घीय सरकारले बिनियोजन गरेको रु. पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजना मार्फत म्याग्दीको धवलागिरी गाउँपालिका–२ मरेनीदेखि देखि ढोरपाटनको जलजला सम्म सडकको ट्र्याक खुलेको छ । मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ गत असारमा निर्माण भएको नौ किमी सडक हालै मर्मत गरेर सवारीसाधन सञ्चालन गर्ने बनाइएको हो । घुम्ती र ग्रेड सुधार गर्न बाँकी यो सडकमा पर्ने तीन हजार मिटर भन्दा बढी उचाईको जलजला क्षेत्रमा हिउँ नपरेको अवस्था जिप, ट्याक्टर र मोटरसाइकल सञ्चाल नगर्न सकिने उपाध्यक्ष पुनले बताए । मुनादेखि तल्लो जलजलाको दुरी १४ किमी छ । ढोरपाटनबाट जलजला जोड्ने १० किमी कच्ची सडक यसअघिनै जोडिएको थियो । मुना–जलजला–ढोरपाटन खण्डमा पर्ने खोलाहरुमा मोटरेबल पुल नभएकाले बर्खामा यातायात सञ्चालन गर्न समस्या छ । बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनीदेखि मुना–खोरीया–मरेनी हुँदै जलजला करिब ६४ किमी सडकको मार्ग खुलेको हो । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खुलेमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किमी दूरी छोटिने जानकारी दिए । उनका अनुसार पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्छ । धवलागिरी–२ खोरियामा छ वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किमीको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले चार वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो । बेनी देखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकार मार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले बताए । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ । पुर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार तीन सय २५ बर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष हो । विश्वभरका शाहासी शिकारीहरुको गन्तब्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकहरुको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरु छन् । रासस

आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् । यसैगरी काभ्रेपलान्चोकका दुईवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लम्जुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले मात्रै ३३ लाख बराबरको खच गर्न पाउनेछन् । भौगोलिक विकटताका आधारमा खर्चको सीमा अन्यत्रभन्दा बढी राखिएको आयोगले जनाएको छ । आयोगले सुगम जिल्लाका निर्वाचन क्षेत्रमा न्यूनतम २५ लाख बराबर मात्रै खर्च गर्न सक्ने व्यवस्था गरेको छ। पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै सबैभन्दा कम खर्च गर्न पाउने व्यवस्था गरिएको छ । ती निर्वाचन क्षेत्रमा काठमाडौं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी तेह्रथुम, पर्सा १, २ र ३, रसुवा काठमाडौं २, ४, ५, ९, १०, ललितपुर १ र २ मनाङ, कास्की २ र रुकुम पूर्वका उम्मेदवारले २७ लाख बराबरको खर्च गर्न पाउनेछन् । यस्तै, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । त्यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख बराबरको चुनावी खर्च गर्न पाउँछन् । आयोगले यसपटक बैंक तथा वित्तीय संस्थामा खाता खोलेर निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

मर्मतपछि रसुवागढी जलविद्युत् केन्द्रबाट ६८ मेगावाट राष्ट्रिय प्रसारणमा

रसुवा । गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवम् नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मत सुधारपश्चात् ३७ मेगावाट गत मङ्सिर महिनामा र ३१ मेगावाट हालै उत्पादन गरिएको हो । सफाइ एवम् मर्मत बाँकी नै रहेको र अर्कोतर्फ क्षमता अनुसार उत्पादन गर्न बाँकी ४३ मेगावाट आगामी जेठ–असारबाट उत्पादन हुने जनाइएको छ । पानीको प्रवाह घट्न गएका कारण सुक्खायाममा विद्युत् उत्पादन घट्ने जलविद्युत् केन्द्रले जनाएको छ । बाढीका कारण उपकरण तथा संरचनामा क्षति पुग्दा जलविद्युत् केन्द्रले तीन अर्ब ५१ करोड रुपैयाँ क्षति बेहोर्नुपरेको थियो ।