काठमाडौं । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा २०८१ सालको नतिजाभन्दा ४.१७ प्रतिशतले सुधार भएको देखिएको छ । २०८१ सालको नतिजामा ६१. ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा २०८२ सालको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भए ।
यो वर्ष २ लाख ८४ हजार १ सय ६० अर्थात् ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ४६ हजार ५ सय ७ अर्थात् ३४.०२ प्रतिशत विद्यार्थी ननग्रेडेड भए । गत चैत २९ गते सम्पन्न भएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी थिए । यो नतिजा गएको वर्षभन्दा ४.१७ प्रतिशतले बढी हो ।
विगतका वर्षमा करिब तीन महिनापछि प्रकाशित हुने नतिजा यो वर्ष २९ दिनमै सार्वजनिक हुँदा शिक्षामन्त्री सस्मित पोखरेलले राज्य संयन्त्रको सामूहिक प्रतिवद्धता कार्यक्षमताको महत्त्वपूर्ण उदाहरण भएको बताएका छन्।
२०८१ सालको एसईई नतिजा २०८० सालको नतिजाभन्दा १३.९५ प्रतिशतले सुधार भएको थियो । २०८० मा ४७.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । एक वर्षमा १३ प्रतिशतले नतिजामा सुधार गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको मिहिनेत भनेका थिए ।
प्रत्येक सरकारले नतिजा सुधारमा जस लिन खोजेपनि यो सुधारलाई शिक्षामा सुधार भएको मान्न नसिकिने विज्ञहरू बताउँछन् । अझै चार प्रदेशको नतिजा राष्ट्रिय औसतभन्दा कम भएकाले दुई/चार प्रतिशत नतिजामा सुधार आउँदैमा सिकाइमा गुणस्तर भएको मान्न नसकिने उनीहरूको तर्क छ । समग्र नतिजामा सुधार देखिए पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशको नतिजा राष्ट्रिय औसतभन्दा कमजोर देखिएको छ ।
२०७८ सालमा ४६ प्रतिशत विद्यार्थी ग्रेडड भएकोमा पाँच वर्षपछि अर्थात् २०८२ सालमा करिब ६६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । झट्ट सुन्दा यो नतिजाले शिक्षा क्षेत्रमा बिस्तारै सुधारको संकेत गरेको देखिए पनि विज्ञहरू भने यसलाई सुधार भन्न नमिल्ने बताउँछन् ।
उनीहरूका अनुसार हरेक वर्ष नतिजामा तीन/चार प्रतिशतले सुधार हुनु भनेको प्राकृतिक हो, यो हरेक वर्ष आफै हुन्छ । गत वर्षभन्दा ४ प्रतिशतले नतिजा सुधार हुनु अर्थात् २०७८ सालको नतिजासँग तुलना गरेर शिक्षामा सुधार भएको हो भन्न नसकिने विज्ञहरू बताउँछन् ।
शिक्षाविद् डा. विष्णु कार्की यो नतिजाले शिक्षामा सुधार भएको भन्न नमिल्ने बताउँछन् । उनी सरकारले एक महिनाभित्रै नतिजा प्रकाशन गर्नु गत वर्षभन्दा चार प्रतिशतले नतिजामा सुधार आउनु राम्रो संकेत भए पनि शिक्षामा सुधार भएको भन्न नमिल्ने उल्लेख गर्छन् । उनी एक महिनाभित्रै नतिजा निकाल्न सक्नु सकारात्मक कदम भएको धारणा राख्छन् ।
यस्तो छ पाँच वर्षको नतिजा
२०८२ सालको परीक्षामा दुई लाख ८४ हजार १ सय ६० अर्थात् ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ४६ हजार ५ सय ७ अर्थात् ३४.०२ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् । २०८१ सालमा ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी भएकोमा ६१. ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
२०८० सालको एसईई परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । यो नतिजा सार्वजनिक हुँदा सरकार र सरकारी विद्यालयको निकै आलोचना भएको थियो । सरकारले नतिजा सुधारका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको थियो ।
२०७९ को एसईईमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए भने २०७८ को एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जनाले फारम भरेका थिए । तर ४ लाख ९५ हजार ७५१ मात्रै थियो ।
चार जीपीए ल्याउने विद्यार्थीको संख्या
२०८० यता फोर जीपीए ल्याउने विद्यार्थीको संख्या पनि बढ्दै छ । जीपीए ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २०८२ सालमा ४८ हजार ३ सय ९२ छ भने अघिल्लो वर्ष २०८१ मा यस्ता विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ थियो ।
यस्तै, २०८० सालमा भने ३१ हजार २ सय ९ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका थिए । त्योभन्दा अघिल्ला वर्षहरूमा यो संख्या अझ कम थियो । २०७९ सालको एसईई नतिजामा ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ थियो भने २०७८ सालको एसईई नतिजामा ९ हजार ६ सय ३३ जना विद्यखर्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए ।
यो वर्ष अर्थात् २०८२ सालको एसईई नतिजामा ७ जना विद्यार्थीले १.६० देखि २ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, २ देखि २.४० जीपीए ल्याउने ५ हजार १ सय ९० जना, जीपीए २.४० देखि २.८० ल्याउने ५५ हजार ९ सय ७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ९४ हजार २ सय २२ जना रहेका छन् । यस्तै, जीपीए ३.२० देखि ३.६० ल्याउने ८० हजार ३ सय ७२ जना, ३.६० देखि ४ जीपीए ल्याउने ४८ हजार ३ सय ९२ जना रहेका छन् ।
२०८१ सालको एसईईमा १.६० जिपीएदेखि २.०० ल्याउने विद्यार्थी ८ जना थिए । २.००देखि २.४० ल्याउने ४ हजार १ सय २६ विद्यार्थी थिए भने २.४० देखि ३.८० ल्याउने विद्यार्थी ४८हजार ४ सय ७९ विद्यार्थी थिए । यस्तै २८० देखि ३.२० ल्याउने विद्यार्थी ८९ हजार १ सय २४, ३.२० देखि३.६०ल्याउने विद्यार्थी ४१ हजार ३ सय ८५, ३.६० देखि ४०० ल्याउने विद्यार्थी ४८ हजार १ सय ७७ थिए ।
२०८० सालको एसईई परीक्षामा १.६० जिपीएदेखि २.०० ल्याउने विद्यार्थी ६ जना थिए । यस्तै २.००देखि २.४० ल्याउने २ हजार ९ सय ५० विद्यार्थी थिए भने २.४० देखि ३.८० ल्याउने विद्यार्थी ४१ हजार ४ सय ८७ विद्यार्थी थिए । यस्तै २.८० देखि ३.२० ल्याउने विद्यार्थी ७८ हजार ८ सय ७४, ३.२० देखि३.६० ल्याउने विद्यार्थी ६८ हजार २ सय ५६ थिए भने ३.६० देखि ४०० ल्याउने विद्यार्थी ३१ हजार २ सय ९ थिए ।
२०७९ को एसईईमा ०.८०देखि १.२० ल्याउने विद्यार्थी २ हजार २ सय, १.२०देखि १.६० ३८ हजार ७ सय ७०, १.६० देखि २.०० ल्याउने ४८ हजार ४ सय ४७, २.०० देखि २.४० ल्याउने १ लाख २२ हजार ९३, २.४०देखि २.८० ल्याउने ८९ हजार ३ सय ३१ , २.८० देखि ३.२० ल्याउने ७२ हजार ३ सय ६२, ३.२० देखि ३.६० ल्याउने ५५ हजार ६९, र ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ थियो ।
यस्तै २०७८ को एसईईमा ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थी ३२ हजार ८० (०.६६ प्रतिशत), १.२ देखि १.६ जीपीए ल्याउने ४४हजार ५ सय ८६ (८.९९ प्रतिशत), १.६ देखि २.० जीपीए ल्याउने १००५९४ (२०.२९ प्रतिशत), २.० देखि २.४ जीपीए ल्याउने ११२७३३ (२२.७४ प्रतिशत), २.४ देखि २.८ जीपीए ल्याउने ९०५५८ (१८.३१ प्रतिशत), २.८ देखि ३.२ जीपीए ल्याउने ६९९०० (१४.१० प्रतिशत), ३.२ देखि ३.६ जीपीए ल्याउने ४१६२७ (८.४० प्रतिशत) र ३.६ देखि ४ जीपीए ल्याउने ९६३३ (१.९४ प्रतिशत) थिए ।
हराएका विद्यार्थीको खोजी खोइ ?
सरकारले हरेक वर्ष नतिजामा दुई/चार प्रतिशत सुधार गरे पनि अझै शिक्षा क्षेत्रमा राम्रो काम गर्न सकेको छैन । शिक्षाविद् कार्की अझै ३४ प्रतिशत विद्यार्थी नन् ग्रेडेड हुनु भनेको राम्रो नभएको बताउँछन् । उनी यो संख्या निकै धेरै रहेको दाबी गर्छन् । योभन्दा अर्को चुनौतीको कुरा झण्डै ४० प्रतिशत एसईई दिने विद्यार्थी बीचमा हराउँदा पनि कसैले चासो नदेखाएको भन्दै उनले असन्तुष्टि राखे ।
२०७२ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थीले २०८२ सालमा एसएईई दिएका थिए । जबकि त्यो बेला ९ लाख विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तर कक्षा १० को परीक्षा हुँदा करिब ४ लाख विद्यार्थी बिचबाटोमा हराएका छन् । ‘हामीले नतिजामा सुधार आयो भन्दै गर्व गरिराख्दा ४० प्रतिशत विद्यार्थी बीचमा हराए । यो विषयमा न हामी शिक्षामा चासो राख्नेले खोजी गर्यौं न जिम्मेवार तहमा रहेका व्यक्तिले खोजी गरे, यो तीतो यथार्थ हो,’ कार्कीले भने।
उनी यो विषयमा तीनै तहका सरकारले काम गर्नुपर्ने बताउँछन् । यदि सुधार हुने हो भने २० प्रतिशतको हिसाबले सुधार हुनुपर्ने बताउँछन् ।
कार्की भन्छन्, ‘जसरी कक्षा ८ भनेको आधारभूत तह हो कक्षा १० भनेको माध्यामिक शिक्षको तह होइन एउटा कक्षामात्र हो यसलाई अरू वार्षिक परीक्षा जस्तै सामान्य रुपमा लिइनुपर्छ, यसलाई कुनै बोर्डले लिनुपर्ने परीक्षा होइन ।’ उनी कक्षा १० मा ६६ प्रतिशत नभई झण्डै ९०/९५ प्रतिशत विद्यार्थी पास हुनुपर्ने बताउँछन् ।