काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको शान्त र औपचारिक देखिने परिसर मंगलबार बिहानैदेखि एकाएक राजनीतिक-आर्थिक हलचलको केन्द्रमा परिणत भयो । सामान्यतया साहित्य, विचार र विमर्शका लागि चिनिने प्रज्ञा भवन मंगलबार भने उद्योगी-व्यवसायीहरूको भीड, चुनावी रणनीति, हातमा पर्चा समाउँदै मत माग्ने दौडधूप र स-सानो समूहमा चलिरहेका संवादले भरिएको थियो । वातावरणमा एक किसिमको ‘निर्वाचन उत्सव’ र ‘आर्थिक शक्ति सन्तुलन’ को अदृश्य तनाव सँगसँगै महसुस हुन्थ्यो ।
प्रवेशद्वारदेखि नै दृश्य फरक थियो । सवारी साधनको लाम, सुरक्षाकर्मीको सक्रियता र भित्र छिर्दै गर्दा देखिने उम्मेदवारका समर्थकहरूको घेरा । यी सबै दृश्यले आजको दिनलाई एउटा पृथक किसिमको उत्सवको माहोल बनाइरहेको थियो ।
भित्र पस्दा कसैले फोनमा रणनीति मिलाउँदै थिए, कसैले हात जोड्दै मत मागिरहेका थिए, त कसैले पुराना चिनजानलाई सम्झाउँदै आफ्नो पक्षमा उभिन आग्रह गरिरहेका थिए ।
यही भीडबीच नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ल भने अलि फरक दृश्य प्रस्तुत गरिरहेका थिए । एशोसिएटतर्फको प्यानल सूची हातमा लिएर उनी अक्षर चिन्नै गाह्रो भएको भन्दै गुनासो गरिरहेका थिए ।
‘यो त सानोतिनो अक्षरमा छ, पढ्नै गाह्रो भयो,’ उनले छेउछाउका साथीहरूलाई भनिरहेका थिए । वरिपरिका साथीहरू उनलाई ठूलो अक्षरको पम्पलेट खोजिदिन तल्लीन थिए । चेम्बरका पूर्वअध्यक्षको गरिमामय परिचय भए पनि त्यो क्षणमा उनी एक साधारण मतदाता झैं देखिन्थे । अन्ततः उनले आफ्नो मत एशोसिएटतर्फ खसाले र भीडभाडमा हराए ।
त्यसैबेला नजिकैको क्यान्टिनमा अर्कै दृश्य चलिरहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल चिया कप समाउँदै आफ्ना तीन वर्षे कार्यकालको समीक्षा गरिरहेका थिए । भीडको कोलाहलभन्दा अलि टाढा बसेका उनी शान्त देखिन्थे । तर, उनको बोलीमा आत्मविश्वास स्पष्ट झल्किन्थ्यो ।
‘कार्यकाल सफल भयो,’ उनी भन्दै थिए, ‘अब अध्यक्ष हुनुअघि जस्तो सक्रिय थिएँ, फेरि त्यही भूमिकामा फर्किन्छु।’
सञ्चारकर्मीसँग अध्यक्ष चन्द्रप्रसाद ढकाल ।
उनको आवाजमा थकानभन्दा बढी सन्तुष्टि थियो । आगामी दिनमा देश-विदेश भ्रमण गर्ने, सहयोगीहरूलाई भेटेर धन्यवाद दिने र आफ्ना निजी परियोजनामा केन्द्रित हुने योजना उनले सुनाए । विशेषगरी कैलालीमा निर्माणाधीन जालपादेवी केबलकारलाई छिटो सम्पन्न गर्ने उनको प्राथमिकता रहेको उनले बताए । सार्वजनिक नेतृत्वबाट निजी उद्यमतर्फ फर्किने उनको तयारी, सायद, अर्को चरणको संकेत थियो ।
परिसरको अर्को कुनामा भने एक अर्बपति व्यवसायी चुनावी माहोल नियाल्दै चिया र चुरोट तानिरहेका थिए, (व्यक्तिको गोपनीयताको कारण नाम उल्लेख नगरिएको) ।
उनको नजर भीडमाथि घुमिरहन्थ्यो । कसले कसलाई भेट्दैछ, कुन समूह कति सक्रिय छ । सबै उनले शान्त रूपमा अवलोकन गरिरहेका थिए ।
यता नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं भने चिनजानका मतदातालाई बोलाएर ‘कसलाई भोट दिने ?’ भन्ने जिज्ञासामा व्यस्त देखिन्थे । चुनावी गणित केवल उम्मेदवारको मात्र होइन, पर्यवेक्षकहरूको पनि चासोको विषय बनेको थियो ।
निर्वाचनको अर्को पाटो अझ रोचक थियो । स्वतः अध्यक्ष बन्ने तयारीमा रहेका अञ्जन श्रेष्ठ औपचारिक ‘निश्चितता’ हुँदाहुँदै पनि लाइनमै उभिएर आफ्ना उम्मेदवारका लागि मत मागिरहेका थिए । त्यो दृश्यले शक्ति र विनम्रताको मिश्रण देखाउँथ्यो । उता वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल पनि उत्तिकै सक्रिय थिए । मतदाता भेट्दै, हात मिलाउँदै, आफ्नो पक्षमा समर्थन जुटाउँदै थिए उनी ।
अञ्जन श्रेष्ठ ।
वस्तुगत उपाध्यक्षका उम्मेदवारहरू शिवप्रसाद घिमिरे र नरेशलाल श्रेष्ठ परम्परागत पोसाकमा टोलीसहित मत माग्दै हिँडिरहेका थिए । उनीहरूको उपस्थितिले आधुनिक व्यवसाय र परम्परागत पहिचानको सन्तुलन झल्काउँथ्यो ।
शिवप्रसाद घिमिरे र नरेशलाल श्रेष्ठ
एशोसिएटतर्फका प्रबलजंग पाण्डे र ज्योत्सना श्रेष्ठ पनि मतदातासामु हात जोड्दै, एक-एक व्यक्तिसँग संवाद गर्दै समर्थन बटुलिरहेका थिए । जहाँ व्यक्तिगत सम्बन्ध र विश्वास चुनावी अंकगणितभन्दा कम महत्वपूर्ण थिएन ।
ज्योत्सना श्रेष्ठ र प्रबलजंग पाण्डे ।
जिल्ला-नगरतर्फका उम्मेदवारहरू दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा एउटै स्थानमा उभिएर मत मागिरहेका थिए ।
कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ ।
जिल्लानगरकै उपाध्यक्षका उम्मेदवार उमेश डालमिया र कल्पना गैरेको टोली पनि सामूहिक रूपमा मतदातासँग पुगिरहेको देखिन्थ्यो । चुनावी प्रतिस्पर्धा तीव्र भए पनि धेरै ठाउँमा सहकार्य र आपसी सम्मानको झल्को प्रस्ट देखिन्थ्यो ।
उमेश डालमिया र कल्पना गैरे ।
अर्बौं रुपैयाँको कारोबार गर्ने उद्योगी-व्यवसायीहरू आज भने सामान्य मतदाताजस्तै लाइनमा उभिएका थिए । महँगा गाडीबाट ओर्लिएका उनीहरू चिया-चुरोटको साथमा चुनावी गफमा रमाइरहेका थिए । कसैले मत खसालेर बाहिरिँदै थिए, कसैले अन्तिमसम्म ‘कसलाई दिने’ भन्ने द्विविधामा छलफल गरिरहेका थिए ।
महासंघको ६०औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भइसकेको छ । विधानअनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य पदका लागि दुई प्रमुख समूह- श्रेष्ठ र ढकाल समूहबीच प्रतिस्पर्धा केन्द्रित छ ।
महासंघमा ४ उपाध्यक्षसहित कुल ७३ पदका लागि निर्वाचन भएको हो । उपाध्यक्ष पदमा जिल्ला-नगरतर्फ २, एशोसिएटतर्फ १ र वस्तुगततर्फ १ जना चयन हुनेछन् । यस निर्वाचनमा एशोसिएटतर्फ १ हजार ८५२, जिल्ला-नगरतर्फ १२९, वस्तुगत संघतर्फ १०७, वस्तुगत महासंघतर्फ १७, द्विराष्ट्रियतर्फ ८ र संस्थापकतर्फ १२ जना मतदाता सहभागी भएका छन् ।

दिन ढल्दै जाँदा भीड क्रमशः पातलो हुँदै गयो । तर, दिनभरि देखिएको चहलपहलले एउटा स्पष्ट सन्देश छाड्यो । यो केवल एक संगठनको निर्वाचन मात्र होइन । यो नेपालको आर्थिक नेतृत्व कसले र कसरी सम्हाल्ने भन्ने प्रश्नसँग जोडिएको प्रक्रिया हो । कमलादीको त्यो परिसरले आज शक्ति, सम्बन्ध, प्रतिस्पर्धा र सहकार्यको जटिल तर रोचक कथा बोलेको थियो । जसको प्रभाव केवल महासंघभित्र सीमित रहने छैन, देशको आर्थिक दिशासम्म फैलिनेछ ।
महासंघमै आवद्ध एक व्यक्तिले समुहगत संवादमा सुस्त रुपमा भनिरहेका थिए, ‘यस पटकको चुनाव धेरै महँगो भयो, कार्यकारिणी सदस्यका लागि पनि लाखौं खर्च गर्नुपर्यो, पदाधिकारीले त करोडौं खर्च गरे ।’