काठमाडौं । व्यक्तिसँग आ–आफ्नै किसिमका गुण, स्वभाव, चरित्र र विशेषता हुन्छन् । एउटा व्यक्तिसँग भएको विशेषता अर्को व्यक्तिसँग नहुन सक्छ । भनिन्छ नी, ‘भगवानले सबैलाई एउटा–एउटा गुण तथा विशेषता दिएर पठाएका हुन्छन् ।’ तर, सीमित व्यक्तिमा बहुगुण र विशेषता हुन्छन् ।
अर्घाखाँचीका टेकराज न्यौपानको जन्म गरिब परिवारमा भयो । किसानको छोरा । लामो मिहेनत र संघर्षपछि व्यवसायी बन्छन् । व्यवसायबाटै धेरैको मन जित्छन् । उनको व्यवसायप्रतिको इमानदारिता र ग्राहकलाई गर्ने व्यवहारले उनलाई धेरैले रुचाउँछन् । उनलाई राजनीति गर्ने मोह चल्छ र पाइँला राजनीतितर्फ मोड्छन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाको वडा नम्बर ७ मा जन्मिएका टेकराज न्यौपाने अहिले सोही गाउँपालिकाको नेतृत्व गरिरहेका छन् । हिजो पसलमा सेवा लिन आउने सेवाग्राहीहरु आज पनि उनका सेवाग्राही बनेका छन् । तर, निःशुल्क । हिजो सामान बिक्री गरेर ‘साहुजी’ बनेका न्यौपाने आज सिंगो पालिकाका अभिभावक बनेका छन् ।
५७ वर्षका टेकराज हिजो व्यवसाय गर्दा जति फुर्तिला र मिहेनती थिए उनको त्यो सक्रियता आज पनि उति नै छ । बिहान–बेलुका घाँस दाउरा गर्दै बाल्यकाल बिताएका उनी पछि व्यवसायी हुँदै अहिले पालिकाका अभिभावक बनेका छन् ।
‘गाउँको एउटा सामान्य किसानको छोरा हुँ, सामान्य पारिवारिक माहोलमा मेरो जन्म भयो, संघर्ष गर्दै जाँदा चाहेको सफलता पनि हात लाग्दो रहेछ,’ न्यौपानेले विगत स्मरण गर्दै भने । घरका कान्छा छोरा टेकराजको संघर्षको फेहरिस्थ भने लामो छ ।
टेकराजले कक्षा तीनसम्मको अध्ययन जिल्लाकै विद्या बिनोद विद्यालयबाट गरे । कक्षा ४ देखि १० सम्म शारदा माध्यमिक विद्यालयबाट पास गरे । विद्यार्थी जीवनमा आफु औसत विद्यार्थी भएको उनी सुनाउँछन् । १० कक्षा पास गरेपछि उनी उच्च शिक्षा पढ्न भारततर्फ लागे ।
‘भारत पढ्न गइयो तर पढाई पुरा गर्न सकिएन, साइला दाई बितेको खबरले पढाइलाई बिचैमा छाडेर नेपाल आउनु पर्यो, त्यसपछि पढाइलाई निरन्तरता दिन सकिएन, प्लसटु पास नगर्दै पढाइ छोडें,’ उनले विद्यार्थी जीवन सुनाउँदै भने ।
उनले पढाइलाई निरन्तरता नदिने भएपछि गाउँमै व्यवसाय गर्ने निधो गरे । वि.सं. २०४२ मा एउटा पसल सञ्चालन गरे । ‘सुरुमा गाउँमा सबै सामान पाइने किराना पसल खोलेँ, व्यवसाय राम्रै चल्यो,’ उनले भने, ‘अब व्यवसाय विस्तार गर्ने योजना बनाएँ ।’
लामो समय गाउँमा पसल सञ्चालन गरेपछि उनलाई शहरमा पसल सञ्चालन गर्ने सोच आयो । उनले गाउँको पसललाई छाडेर वि.सं. २०६७ बाट बुटवलमा भाँडा पसल सञ्चालन गरे । त्यहाँ पनि राम्रै बिजनेस भएको उनी बताउँछन् ।
‘आफूलाई व्यवसायमा सफल भएको म ठान्छु, पढाइलाई निरन्तरता दिन नसकेता पनि व्यवसायमा चाहिँ सफल भएँ, सानै व्यवसाय भए पनि व्यापारमा राम्रै प्रगती गरियो भन्ने महसुस भएको छ,’ उनले भने ।
…त्यसपछि बने अध्यक्ष
टेकराज न्यौपाने व्यवसायसँगै राजनीतिमा पनि सक्रिय बने । सफल व्यवसायीका रुपमा आफुलाई चिनाएका उनी हुन त विद्यार्थीकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । परिणामस्वरुप उनको सक्रियताको सम्मान गर्दै नेकपा एमाले पार्टीले टिकट दियो र उनी २०७९ को स्थानीय तहको निर्वाचनमा पाणिनी गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बने र जिते पनि ।
उनले वि.सं. २०४९ सालमा एमाले पार्टीको गाउँ कमिटीको सचिव भएर काम गरे । इलाका कमिटीको इचार्ज हुँदै जिल्ला कमिटीको सदस्य भएर पनि काम गरेको अनूभव उनीसँग छ ।
उनी वि.सं. २०५४ सालमा अड्गुरी गाविसको अध्यक्षको पदमा चुनाव नलडेको होइन । तर, उनी पराजित बने । उसो त उनले २०७४ को स्थानीय तहको निर्वाचनमा चुनावी माहोलमा प्रतिस्पर्धा गर्ने योजना उनले गरेपनि टिकट पाउन सकेनन् ।
तर, २०७९ मा व्यवसायको जिम्म्मेवारी छोरालाई सुम्पिँदै उनी पाणिनी गाउँपालिकाकाको अध्यक्ष बने । उनको जितले पालिकाले विकासमा फड्को मार्ने अपेक्षा स्थानीहरुको छ ।
सम्वृद्ध पालिका बनाउने सपना
गाउँपालिकाको अध्यक्षको रूपमा निर्वाचित भइसकेपछि टेकराज पालिकाको विकास र सम्वृद्धिको लागि दौडधूप गरिरहेका छन् । कृषि र पशुमा आधारित रोजगारी सिर्जना र यस क्षेत्रको विकासको लागि काम गरिरहेको उनी बताउँछन् ।
अध्यक्ष न्यौपाने गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण गरी सञ्चालन ल्याएको बताउँछन् । पालिकाले अहिले १५ शैयाको अस्पताल निर्माण गरिरहेको छ । गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकास तथा पहिचान र प्रचार प्रसार गर्ने कार्यमा पनि जुटेको उनी बताउँछन् ।
उनले प्रत्येक वडामा स्वास्थ्य चौकीका भवन निर्माण भइरहेको बताउँदै लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुर्याएको बताए । ‘संघ र प्रदेशबाट समयमा बजेट नआउँदा पालिकालाई केही समस्या परिरहेको छ, हामीले आँटेको काम पूरा गर्न समस्या भइरहेको छ,’ उनले भने ।
चुन ढुङ्गाको उत्खनन गर्ने काम भएपछि पालिकाको आन्तरिक आम्दानी पनि बढ्ने उनको विश्वास छ । गाउँमै मान्छे अडिने वातावरण बनाउने कार्यक्रम बनाउन आवश्यक रहेको उनी बताउँछन् ।
‘गाउँमा मान्छे रित्तिँदै छन्, गाउँमै मान्छे अडिने वातावरण कसरी बनाउने भन्ने विषय चुनौतिपूर्ण छ, हाम्रो पालिकामै प्राविधिक शिक्षा पढाइ हुन्छ, तर मान्छे गाउँमै अडिन चाहँदैनन्,’ उनले भने । आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने हुटहुटी राखेका टेकराज अहिले सम्वृद्ध पालिका बनाउनका लागि खटिरहेका छन् ।