काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अटो व्यवसायीहरुलाई राष्ट्र बैंकले निशानामा राख्नुको कारण बुझेका छन् । नेपाल राष्ट्र बैंकले सवारी साधन आयातको एलसी खोल्न रोक लगाएपछि असन्तुष्ट अटो व्यवसायीहरु शुक्रबार प्रधानमन्त्री शदेउवालाई भेट्न बालुवाटार गएका थिए ।
अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधिले प्रधानमन्त्री देउवासँग भेट गर्दै एलसी खोल्न सहयोग गरिदिन आग्रह गरेका थिए । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतीले राष्ट्र बैंकले कडाइ गरेपछि शुक्रबार प्रधानमन्त्रीसँग आयातको विषयमा छलफल भएको बताए ।
‘हामीले प्रधानमन्त्रीसँग राष्ट्र बैंकको पछिल्लो निर्णयले समस्या भएको विषय राख्यौं, उहाँ हाम्रो समस्याप्रति सकारात्मक हुनुहुन्छ, उहाँले अटो क्षेत्रलाई नै राष्ट्र बैंकले किन निशाना बनाएर भनेर पनि सोध्नु भएको थियो, यस विषयमा उहाँले आफुले राष्ट्र बैंकसँग नै जवाफ माग्ने भन्नु भएको छ,’ महासचिव उप्रेतीले भने ।
राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सवारी साधन लगायत अन्य विलासिताका वस्तु आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले अतिआवश्यक बाहेकका वस्तुको आयातको एलसी नखोल्न बैंक तथा वित्तीय संस्थालाई मौखिक निर्देशन समेत दिइसकेको छ ।
व्यापारी निरुत्साहित
नाडाका पदाधिकारीहरु राष्ट्र बैंकको यो निर्णयले अटो क्षेत्रलाई निरुत्साहित बनाएको बताइरहेका छन् ।
सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो ।
विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको थियो ।
सोमबारको निर्देशन अनुसार मंगलबार नाडाका पदाधिकारीले आकष्मिक बैंठक बस्दै सरकारले अटो व्यवसायीलाई पटक–पटक प्रहार मात्र गरेको निष्कर्श निकालेको हो ।
महासचिव उप्रेतीले राष्ट्र बैंकको पछिल्लो निर्णयले २ खर्ब बढी लगानी गरेका अटो व्यवसायी समस्यामा परेको बताए ।
‘समग्र अटो क्षेत्रमा हामी व्यवसायीको २ खर्ब बढी लगानी जोखिममा परेको छ, हामीले देशभर ५० हजारभन्दा बढी मानिसलाई रोजगारी दिएका छौँ, वार्षिक रुपमा अटो व्यवसायीले मात्र सरकारलाई डेढ खर्ब बढी राजश्व भुक्तानी गर्ने गरेका छौँ’, उनले भने, ‘यति ठूलो लगानी रहेका हामी व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने ठाउँमा पटक÷पटक हामीलाई निशानामा राख्ने काम भयो ।’
२ महिनाको स्टक
राष्ट्र बैंकको निर्देशनपछि हाल गाडीको सम्पूर्ण आयात बन्द भएको छ । महासचिव उप्रेतीले आयात रोकिएपछि व्यवसायीसँग साढे २ महिनाका लागि पुग्ने गाडी र पार्टसहरु मात्र मौज्दात रहेको बताए ।
‘ग्राहकको रोजाई अनुसारका सवारी साधन अहिले हामीसँग छैन, अहिले नयाँ आएको मोडल व्यवसायीसँग छैन्, अगाडी आएका र पूराना गाडी तथा पार्टसहरु साढे २ महिनाका लागि पुग्ने हाम्रो अनुमान छ ।’