अटो क्षेत्रलाई आतंकित पारिएको व्यवसायीको आरोप, नाडाले बोलायो आपतकालिन बैठक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्न दिएको निर्देशनले आफूहरु आतंकित बनेको प्रतिक्रिया अटो व्यवसायीहरुले दिएका छन् । सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्न दिएको निर्देशनले आफूहरु आतंकित बनेको प्रतिक्रिया अटो व्यवसायीहरुले दिएका छन् ।

सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो ।

विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतीले राष्ट्र बैंकको निर्देशनले व्यवसायीहरु हतोत्साही भएको बताए । उनले राष्ट्र बैंकले अटो व्यवसायीलाई आंतकित पार्ने काम गरेको आरोप पनि लगाए ।

‘गाडी आयातमा गरिएको कडाईको विषयमा आधिकारिक रुपमा पत्र पाइसकेका छैनौं, राष्ट्र बैंकले निर्देशन दिएको भन्ने हामीले विभिन्न मिडियाबाट सुनेका छौं, सो निर्देशन सुन्नासाथ हामी व्यवसायीहरु आतंकित बनेका छौं, आयात नै बन्द गर्ने राष्ट्र बैंकको निर्णयबाट देश डुब्न लागेको संकेत बुझिएको छ, मान्छेहरुलाई आतंकित बनाएपछि उनीहरुले आफूसँग भएको रकम बैंकमा जम्मा नगर्ने, भएको निकाल्ने गर्छन्, त्यसले झनै समस्या चर्कन सक्छ,’ उनले भने ।

महासचिव उप्रेतीले राष्ट्र बैंकले दिएको निर्देशनले देश डुब्न लागेको संकेत दिएको भन्दै व्यवसायीहरुले देश छोड्नुपर्ने अवस्था आउन सक्ने बताए ।

‘बैंकले फाइनान्स गर्न सक्छ भने गाडी आयातमा किन कडाई, राष्ट्र बैंकसँग पैसा भएर नै बैंकले फाइनान्स गरेर दिन खोजेको हो कि, देशमा आयात हुने अटोमोबाइल क्षेत्र मात्र हो र, अन्यमा कडाई नगरी किन अटोमोबाइल क्षेत्रमा मात्र कडाई, देशमा अटोमोबाइल नै भएन भने अतिआवश्यक वस्तुको ढुवानी कसरी हुन्छ, जबसम्म अटोमोबाइल क्षेत्र चलायनमान हुँदैन तबसम्म देश समृद्ध बन्न सक्दैन्,’ महासचिव उप्रेतिले भने ।

बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक तथा नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालकी सदस्य यमुना श्रेष्ठ अटो क्षेत्रमा मात्र राष्ट्र बैंकले कडाई गर्नुका पछाडी सन्देह रहेको बताइन् ।

आर्थिक रुपमा अप्ठेरो अवस्था सिर्जना भएकोले आयातमा कडाई गरिएको भए गाडीसँगै अन्य वस्तुको आयातमा पनि कडाइ हुनुपर्ने उनको तर्क छ ।

‘मैले सुनेअनुसार नुन तेल बाहेक सबै वस्तुको आयातमा कडाई गर्ने भनिएको रहेछ, अब सबै क्षेत्रमा कडाई गरिएको भए अटो व्यवसायी बोल्ने कुरै भएन, यदि मैले सुनेभन्दा फरक भयो भने नाडाबाट प्रतिवाद गछौँ’, उनले भनिन ।

राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्न दिएको निर्देशन पश्चात नाडाले मंगलबार दिउँसो कार्य समिति बैठक बोलाएको छ । सो बैठकमा राष्ट्र बैंकले दिएको निर्देशकका विषयमा पनि छलफल हुनेछ ।

यसअघि बैंकले विदेशी मुद्राको संचिति कम भएको भन्दै गाडी आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । यस्तै बैंकले विभिन्न ४७ वस्तुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो ।

Share News