काठमाडौं । यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन प्रणाली बन्द गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि अनलाईन आवेदन रोकिएको जनाएको हो ।
‘हालसम्म परेका अनलाईन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकाले चैत १ गतेदेखि अर्काे सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र अनलाईन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुनरोध छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।
कोरोका भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पटक/पटक सवारी लाइसेनको अनलाईन आवेदन तथा परीक्षण रोकिएको थियो । लामो समयदेखि बन्द रहेको अनलाईन आवेदन विभागले गत कात्तिक ९ गतेदेखि सुचारु गरेको थियो ।
लामो समयदेखि आवेदन रोकिएपछि एकैपटक धेरैले आवेदन दर्ता गरेपछि विभागले नयाँ आवेदन रोकेको हो ।