काठमाडौं । कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचार गर्न नेपाल राष्ट्र बैंकसँग नाडाले माग गरेको छ ।
बिहीबार विज्ञप्ती जारी गर्दै नाडाले वित्तिय निकायहरुले व्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्ने बताउँदै यसलाई पुन विचार गर्न राष्ट्र बैंकलाई माग गरेको हो ।
उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई वर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित छ । र यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैङ्कसंग नाडाकोतर्फबाट अनुरोध गरिएको छ, विज्ञप्तीमा भनिएको छ ।
यस्तै नाडाले एलसी मार्जिनमा ब्याज दिन पनि राष्ट्र बैंकसँग माग गरेको छ । नाडाले हाल कायम एलसी मार्जिनको मापदण्ड तत्काल परिमार्जन गर्न र त्यसो नगरे मार्जिन धितोमा ब्याजको व्यवस्था गर्न राष्ट्र बैंकसँग माग गरेको हो ।
हालै मात्र राष्ट्र बैंकले एक निर्देशिका जारी गर्दै सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम ५ प्रतिशतदेखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।