काठमाडौं । अटोमोबाइल्स एशोसियसनको अफ नेपाल (नाडा) को आगामी अध्यक्षका लागि दुई ठूला व्यवसायीक घराना चुनावी मैदानमा उत्रिएका छन् ।
नाडाको आगामी नेतृत्वको लागि फोर्स मोटरको नेपालको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापा र सुजुकी कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले प्यानलसहित अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन ।
चौधरी हालका कार्यसमिति उपाध्यक्ष हुन भने थापा पूर्वउपाध्यक्ष हुन । नाडाको आगामी कार्यालयका लागि सर्वसहमतिको ढोका खुल्ला भएको भन्दै दुबै समूहले प्यानल नै बनाएर उम्मेद्वारी घोषणा गरेका हुन ।
चौधरी ठूला व्यवसायी घरानाबाट हुन् भने थापा मोपसलबाट व्यवसाय गर्दै आएका हुन ।
आफूले यसअघि पनि नेतृत्वका लागि दाबी गरेको भएपनि सहमतिका लागि त्याग गरेको भन्दै थापाले यसपटक त्यस्तो त्याग हुन नसक्ने बताएका छन् । यस्तै, चौधरीले पनि आफूलाई धेरै अटो व्यवसायीहरुको समर्थन रहेको भन्दै पछि नहट्ने बताएका छन् ।
बुधबार अध्यक्षसहित १८ जनाको प्यानल घोषणा गरेका चौधरीको साथमा नाडाको हालको कार्यसमितिका ८० प्रतिशत सदस्यको साथ रहेको छ ।
चौधरीले घोषणा गरेको प्यानलमा टाटा गुप्रका सिईओ राजनबाबु श्रेष्ठ, हिरोका अभिक ज्योति, महिन्द्राका बरदान बस्नेत र यामाहाका मिलनबाबु मल्ल रहेका छन् ।
साथै हाल नाडाको कार्यसमितिका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी पनि उनकै समूहमा रहेका छन् ।
यता थापाले घोषणा गरेको प्यानलमा हुन्डाईको आधिकारिक बिक्रेता तथा लक्ष्मी गुप्रको साथ रहेको छ । पोखराकै व्यवसायी रहेका लक्ष्मी गुप्रका कार्यकारी निर्देशक निराकर श्रेष्ठ तथा नाडाका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक विक्रेता आकाश गोल्छाले थापालाई सहयोग गरेका छन् । उनको साथमा दिपक अग्रवाल, कपिल शिवाकोटि र शुभाषिष थपलिया र महिला प्रतिनिधिको रूपमा बीवाईडीकी यमुना श्रेष्ठ रहेकी छिन् ।
यस्तैगरि, हिक्टो प्रालिका प्रदिपमान प्रधान, अमर ज्योति रञ्जित, रिकन्डिसन व्यवसायी बीएन पाठक, दिप्रेन्द्रकुमार मिश्र, नारायण प्रसाद पौडेल, नवराज भुषाल, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन कन्साकर र सञ्जय कुमार खेतान उनको प्यानलमा खुलेका छन् ।
नाडाको आगामी ४५ औं वार्षिक साधारणसभा यहि मंसिर २२ र २३ गते सोल्टी होटलमा हुँदैछ ।