दशैंअघि कार चढ्ने सपना अधुराे बन्दै

<p>काठमाडौं । टाटाको विद्युतीय कार नेक्सन इभी नेपालमा भित्रिएको करिब एक महिना भयो । उपभोक्ताले अहिलेसम्म ५०० भन्दा बढी गाडी खरिदका लागि बुकिङ गरिसकेका छन् । ग्राहक दशैं अघि नै नयाँ गाडी चढ्न चाहन्छन् । उनीहरु आफ्नो गाडी कहिले आउँछ भनेर टाटाको आधिकारिक बिक्रेता सिपद्री ट्रेडिङमा सोधखोज गर्छन । तर, कम्पनी भने ग्राहकको माग अनुसार [&hellip;]</p>

काठमाडौं । टाटाको विद्युतीय कार नेक्सन इभी नेपालमा भित्रिएको करिब एक महिना भयो । उपभोक्ताले अहिलेसम्म ५०० भन्दा बढी गाडी खरिदका लागि बुकिङ गरिसकेका छन् । ग्राहक दशैं अघि नै नयाँ गाडी चढ्न चाहन्छन् ।

उनीहरु आफ्नो गाडी कहिले आउँछ भनेर टाटाको आधिकारिक बिक्रेता सिपद्री ट्रेडिङमा सोधखोज गर्छन । तर, कम्पनी भने ग्राहकको माग अनुसार गाडी दिन नसकेकोमा निराश बनेको छ ।

‘बुकिङ गरेका ग्राहकलाई छिटोभन्दा छिटो गाडी दिने हाम्रो प्रयास छ, तर गाडी उत्पादकले नै हाम्रो माग अनुसार गाडी दिन सकेको छैन,’ सिपद्री ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने ।

बुक गर्ने सबै ग्राहकलाई सन् २०२१ को अन्त्यसम्ममा गाडी दिन सकिन्छ कि भन्ने आशा उनले सुनाए । राजनबाबुको जस्तै अनुभव छ हुण्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठको पनि छ । आपूर्ति भन्दा माग २५÷३० प्रतिशत बढी रहेको उनले बताए ।

भक्स्वागत मोटर्सको आधिकारिक विक्रेता पूजा इन्टरनेशनका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेको भोगाई पनि उस्तै छ । ‘मासिक गाडीको बुकिङ १२० वटा छ । तर महिनामा ३० वटा भन्दा बढी गाडी दिन सकिएको छैन,’ विजुक्छेले भने ।

‘अहिले गाडी बिकेन भन्ने समस्या होइन, ग्राहकको माग अनुसार गाडी दिन नसक्नु समस्या हो’ नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका अन्जन श्रेष्ठ भन्छन्–‘यो समस्या नेपालको मात्र होइन, विश्वभरको हो, एउटा ब्राण्डका गाडीमा मात्र होइन, सबै ब्राण्डका गाडीको समस्या हो ।’

गाडीमा प्रयोग हुने सेमि अटो चिप्स विश्व अटो बजारमा अभाव भएको छ । उक्त चिप्स प्रर्याप्त उपलब्ध नहुँदा गाडी उत्पादक कम्पनीहरुको उत्पादन बृद्धि हुन सकेको छैन ।

किन अभाव भयो चिम्स ?

सिप्रदी ट्रेडिङका सिनियर म्यानेजर सावजङ सिजापतिका अनुसार विश्वभर कोभिड महामारी पछि गाडी बजारमा मन्दीको प्रक्ष्येपण गरियो । गाडी उत्पादक कम्पनीहरुले स्पेयर पार्टस् खरिदका आदेशहरु समेत रद्द गरे । त्यहि क्रममा चिप्सका अडरहरु पनि रद्द गरिए ।

तर, विश्वको अटोबजार विज्ञहरुले गरेको प्रक्ष्येपणभन्दा फरक भयो । माग कम हुनुको सट्टा उच्च दरले वृद्धि भयो । ‘विश्व बजारमा अटोमोवाइल्सको माग ३० प्रतिशतले वृद्धि भएको छ । तर चिप्स उत्पादकहरुलको क्षमता ३ प्रतिशतले मात्र विस्तार भयो’ राजनबावु श्रेष्ठले भने–‘यसरी माग र उत्पादन वृद्धिबीचको असन्तुलनले गर्दा विश्वभर नै गाडी माग अनुसार उत्पादन र आपूर्ति हुन सकिरहेको छैन ।’

कोभिड महामारी र लकडाउनका कारण विश्वभरको सार्वजनिक यातायातमा नकारात्मक प्रभाव पर्यो । सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा कोभिड संक्रमणको जोखिम उच्च भएको स्वास्थ्य विज्ञहरुले औल्याए । विश्वका सरकारहरुले पनि सार्वजनिक सवारी कडाईका साथ बन्द गरे । निजी सवारीमा रोग संक्रमणको जोखिम कम भएको जनाउँदै यस्ता सवारीको यात्रा खुकुलो बनाइयो ।

लकडाउनमा सरकारले लिएको नीति र निजी सवारीमा यात्रा गर्दा सरुवा रोगको जोखिम कम हुन सर्वसाधारणको बुझाइपछि निजी सवारीको माग बढेको महासंघको उपाध्यक्ष अन्जन श्रेष्ठ बताउँछन् ।

‘कोभिड महामारीपछि मोटर साइकलको माग पनि बढ्यो, कार, जीप, भ्यान जस्ता निजी ४ पाङ्ग्रे सवारीको पनि माग बढेको छ’ श्रेष्ठ भन्छन्–‘यसले सर्वसाधारणलाई सुरक्षित बनाउनुको साथै आर्थिक गतिविधि बढाउन पनि मद्दत पुगेको छ, सरकारको राजश्व वृद्धिमा पनि सहयोग पुगेको छ ।’

Share News