
काठमाडौं । नेपाली बजारमा युरोपियन सिरिजको नयाँ ट्रयाक्टर भित्रिएको छ । भारतीय कम्पनी पिटीपिएल ट्रेडर्सले निर्माण गरेको एभेन्जर ट्रयाक्टर नेपालमा भाजुरत्न एग्रोले बिक्रीवितरण सुरु गरेको हो ।
नेपालको माटो र बाटोलाई सुहाउँदो उक्त ट्रयाक्टर २५ एचपीदेखि १०० एचपीसम्मको रेन्जमा टु व्हील तथा फोर व्हिलमा उपलब्ध छ ।
नेपालमा बाहिरी प्रविधि तथा उच्चकोटीको ट्रयाक्टरको लाईनमा सस्तो तथा उचित मूल्यमा विभिन्न सुविधासहितको एभेन्जर ट्रयाक्टर गत साउनमा नेपाल भित्रिएको हो ।
नेपाल भित्रिएको छोटो समयमा नै बिक्री वितरण सँगै ग्राहकबाट राम्रो प्रतिक्रिया आएको कम्पनीका व्यापार प्रमुख ताराबहादुर थापा बताउँछन् ।

स्पट सर्भिसिङको व्यवस्था
कम्पनीले ट्रयाक्टरको प्रयोगकर्ताको समस्यालाई ख्याल गर्दै सर्भिसिङमा २ वा २ हजार घन्टाको छुट दिएको छ । यस्तै कम्पनीले लोनमा ट्रयाक्टर खरिद गर्नेलाई स्पट फाइनान्सिङको सुविधा पनि दिने भएको छ ।
कम्पनीका अनुसार एक पटक ट्रयाक्टर किनेपछि २ वर्षसम्म ड्राइभर र तेल बाहेक अन्य कुनै मर्मतमा खर्च गर्नु पर्दैन । आवश्यक पर्ने सबै मर्मतसम्भार कम्पनीले फिल्डमा नै गएर उपलब्ध गराउँदा ट्रयाक्टरको मर्मतका लागि किसानलाई ६० हजार रुपैयाँभन्दा बढी नाफा हुने थापाको अनुमान छ ।
‘बिक्री पछिको सेवालाई विशेष ख्याल राख्दै स्पटमा नै गएर सेवा दिने तथा सर्भिस र पार्टपुर्जाको वितरणमा कुनै कमिकमजोरी हुन नदिने तर्फ हामी प्रतिबद्ध छौँ । कृषिप्रधान देश नेपालमा आधुनिक कृषि उपजकोे प्रयोगमा जोड दिन हामीले ट्रयाक्टर खरिदमा विभिन्न कृषि औजारहरु निःशुल्क रुपमा दिएका हौँ’, उनले भने ।

चाडपर्वमा ३ लाखसम्म नगद छुट
कम्पनीले नेपालमा चाडपर्व सुरु हुन लागको भन्दै नयाँ ट्रयाक्टर खरिद गर्दा आकर्षक उपहारसँगै नगद छुटसम्मको योजना ल्याएको छ । व्यवसाय प्रमुख थापाका अनुसार कम्पनीले चाडपर्वको अवसर पारेर विभिन्न एचपीको ट्रयाक्टर खरिदमा नगदसहित छुटसँगै कृषि औजार समेत दिएको हो ।
कम्पनीले तराई र पहाडी क्षेत्रका ग्राहकलाई छुट्टाछुट्टै छुट दिएको छ । जसमा तराईका किसानलाई ५० एचपीभन्दा कम एचपीको नयाँ ट्रयाक्टर खरिदमा २ लाख २० हजार रुपैयाँ नगद छुट तथा उपहार दिएको छ ।
जसमा कम्पनीले १ लाख ८० हजार रुपैयाँ बराबरको रोटाभेटर, ४५ हजार रुपैयाँ बराबरको कल्टिभेटर, निःशुल्क बीमा र ३० हजार रुपैयाँ बराबरको ३२ इञ्चको एलईडी टिभी उपहार स्वरुप उपलब्ध गराएको उनी बताउँछन् ।
‘ट्रयाक्टर खरिदकर्ताले कृषि औजार लैजाने वा नगद छुट लिने २ वटा अप्सनमध्ये एउटा अप्सन रोज्न सक्नुहुन्छ, हामीले सामाग्रीको मूल्यलाई आधार बनाएर नगद छुट चाहिएमा उपलब्ध गराउने गरेका छौँ’, उनले भने ।
यस्तै, उनका अनुसार कम्पनीले पहाडी क्षेत्रका ग्राहकलाई ५५ एचपीभन्दा माथिको ट्रयाक्टर खरिदमा ३ लाखसम्म नगद छुट दिएको छ । कम्पनीले नयाँ ट्रयाक्टर खरिदमा यसअघि दिएको छुटसँगै चाडपर्व अफर गरी ठूलो रकम छुट दिएको उनी बताउँछन् ।
के छ एभेन्जर ट्रयाक्टरको विशेषता ?
कम्पनीका अनुसार सो ट्रयाक्टरमा आकर्षक लुक्स तथा बलियो विभिन्न आधुनिक फिचरहरु रहेका छन् । जस्तैः पावर स्टेयरिङ्ग, तेलमा डुबेको डिस्क ब्रेक, ड्राई टाईप एयर फिल्टर, १२ बाई १२ सिङ्कक्रोमेस गियर, हाईटेक तथा हाई लिफ्टीङ्क क्यापासीटी ।
अन्य ट्रयाक्टरमा १६ सय क्यापासिटीको लिफ्टीङ्क रहेकोमा एभेन्चर ट्रयाक्टरमा १८ सय क्यापासिटी रहेको छ । जसले गर्दा सामग्री उठाउन र लिएर हिँड्दा सहज हुन्छ ।
‘हामीले ल्याएको एभेन्जर ट्रयाक्टर पूर्णरुपमा भारतमा नै बनेको हो । हामीलाई आवश्यक पर्दा सम्पूर्ण पार्टपूर्जा सस्तो तथा शुलभ दरमा पाइनुका साथै आवश्यकता अनुसार भनेको समयमा पाइने हुँदा मर्मतका लागि समेत सहज हुने कम्पनीले अपेक्षा गरेको छ,’ थापाले भने ।

विक्रीपछिको सेवामा निश्चिन्तता
यसअघि पनि नयाँ ब्राण्डका ट्रयाक्टरहरु नेपाल नभित्रिएका होइनन् । तर, केही ट्रयाक्टरहरु आएको केही समयपछि नै आयातकर्ता वेपत्ता भए । त्यसैले ट्रयाक्टर खरिद गर्नेहरुलाई समस्या हुने गरेको छ । तर, आफूहरुले ल्याएको एभेन्जर ट्रयाक्टरमा यस्तो समस्या नहुने थापा बताउँछन् ।
‘यसअघि नेपालमा विभिन्न मोडलका ट्रयाक्टरहरु नभित्रिएका हैनन् । तर केही ट्याक्टर नेपाल भित्रिएर कम्पनी बन्द भएका छन् । हामीले २५ वर्ष पूरानो कम्पनीले उत्पादन गरेको सामग्री ल्याएका हौं, हामी आफैं नेपालका विभिन्न क्षेत्रमा सक्रिय छौँ, उपभोक्ताले कम्पनी बन्द हुन्छ वा भाग्छ भनेर डराउनु पर्दैन,’ व्यापार प्रमुख थापाले थपे ।
देवज्योति गुप्र अन्तरगतको भाजुरत्न एग्रो प्रा.लि.ले ट्रयाक्टरसँगै ट्रयाक्टरका लागि आवश्यक पर्ने पार्टपूर्जा, कृषि क्षेत्रका लागि आवश्यक पर्ने औजारहरु समेत बिक्री वितरण गर्दै आएको छ । कृषि औजारसँगै कम्पनीले किसानलाई आधुनिक उपकरणकोे प्रयोगका विषयमा समेत सहजीकरण गर्दै आएको छ ।
कम्पनीले ११ लाख ४९ हजार रुपैयाँदेखि २७ लाख ४९ हजार रुपैयाँसम्मका विभिन्न एचपीका ट्रयाक्टरहरु बिक्री वितरण गरेको छ ।
३० प्रतिशत डाउनपेमेन्ट
कम्पनीले फाइनान्सिङ सुविधाका लागि प्राेग्रेसिभ फाइनान्स कम्पनीसँग एमओयू गरेको छ । पहिलो चरणमा फाइनान्ससँग एमओयू गरेको कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग फाइनान्सिङ सुविधाको लागि सम्झौता गर्नेगरी छलफल भइरहेको जनाएको छ ।
ट्रयाक्टर खरिद गर्न आवश्यक पर्ने कुल रकममध्ये ३० प्रतिशत डाउनपेमेन्ट (नगद बुझाएपछि) बाँकी रहेको ७० प्रतिशतका लागि फाइनान्स कम्पनीले ऋण उपलब्ध गराउँछ ।