काठमाडौं । स्कोडाको कुशक कार नेपाल भित्रिएसँगै विशेष गरेर तीन कम्पनीका कारबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । हुण्डाईको क्रेटा, कियाको सोनेट र स्कोडाको कुशक गाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
स्कोडाको कुशक गाडी हालसालै मात्र नेपाली बजारमा भित्रिए पनि हुण्डाईको क्रेटा र कियाको सोनेट भने नेपाली बजारमा उपलब्ध थिए ।
यी तीन कम्पनीका गाडीको मूल्य, सुविधा, इन्जिन क्षमता जस्ता केही पक्षमा समानता पनि छ । सोही कारण हामीले यी तीन गाडीको तुलना गर्ने प्रयास गरेका छौं ।
क्रेटा
नेपालको लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको क्रेटा गाडी भिञ्याएको हो । हुण्डाईको क्रेटा गाडी कोरियाली कम्पनीले बनाएको गाडी हो ।
क्रेटा गाडी ४६ लाख ५६ हजार रुपैयाँदेखि ७४ लाख ९६ हजार रुपैयाँसम्मका ६ वटा भेरियन्ट नेपालमा भित्रिएको हो । उक्त गाडीमध्ये ४ वटा पेट्रोल र २ वटा डिजेल इन्जिन रहेका छन् ।
पेट्रोलमा १५ किलोमिटर माइलेज र डिजेलमा १७ देखि २१ किलोमिटर प्रतिलिटर माइलेज दिने क्रेटा गाडीका भेरियन्टहरुको क्षमता रहेको छ । यस्तै पेट्रोल र डिजेल दुबैमा १९० डाउन्स क्लियरेसन्स एमएम र इन्जिन क्षमता पेट्रोलमा १५९१ र डिजेलमा १३९६ देखि १५८२ सिसीसम्म रहेका छन् ।
सोनेट
कियाको सोनेटका लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले उक्त गाडी भित्राएको हो । सोनेटका ४ भेरियन्ट अहिले नेपाली बजारमा उपलब्ध छन् ।
हाल नेपाली बजारमा किया सोनेटको मूल्य क्रेटा र कुशकको तुलनामा केही कम रहेको छ । भारतमा निकै लोकप्रिय बनेको उक्त गाडी ३५ लाख ९० हजार रुपैयाँदेखि ५७ लाख ९० हजार रुपैयाँसम्मका रहेका छन् । एक वटा पेट्रोल र तीन वटा डिजेल गरी हाल नेपाली बजारमा ४ भेरियन्ट उपलब्ध छन् ।
कुशक
नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा कुशक गाडी नेपालमा भित्र्याएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ ।
विशेषता
किया सोनेटका गाडीमा ६ वटा एयरव्याग ७ स्पिकर, १०.२५ एचडी टचस्क्रिन, वायरलेस फोन चार्जर, लेदरको सिट तथा डोर प्यानल र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट लगायतका सुविधा दिइएको छ । यसको ग्राउन्ड क्लियरेन्स २११ एमएम र बुट स्पेस ३९.२ लिटरको छ ।
यस्तै, स्कोडा कुशकको अगाडिको भागमा चौडा र स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फग ल्याम्प रहनुका साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट एलोइ ह्विल छ । साथै, पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्ड एलडी टेललाइट छ ।
कुशकमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि रहनेछ ।
कुशकमा सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि छ । त्यस्तै, इएससी सबै भेरियन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ ।
यस्तैगरी, हुण्डाईको क्रेटा गाडीमा ६ वटा एयरब्याग, गाडी स्थिरता प्रबन्धक, सहायक नियन्त्रण, रियर पार्किङ असिस्ट सिस्टम, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण लगायतका विशेषता छन् ।