काठमाडौं । प्लाष्टिक उत्पादक उद्योगहरुले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक उत्पादन तथा बिक्री गर्न नपाउने भएक छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरे अनुसार सो प्लाष्टिकको उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाइएको हो ।
वन तथा वातावरण मन्त्रालयका अनुसार साउन १ गतेदखि प्लाष्टिजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक सपिङ मल, डिपार्टमेन्टल स्टोर लगायतका सबै व्यापारिक प्रतिष्ठानमा बिक्री गर्न रोक लगाइएको हो ।
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पूरानो मेसिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा सरकारले थप लगानी बराबरको पुुँजीगत अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य पनि सुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउनका अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको पर्सिपल्टदेखि नै बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको हो ।
सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।
‘बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं, बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिका सहित अघि बढ्नुहोस्, अर्थमन्त्री पौडेलले भने-बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ ।’
अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा सुरु गर्नका लागि कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वयन प्रकृया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिए ।
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोत सम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरुकाे उपस्थिति थियाे ।
यसैगरी नियमितरुपमा अर्थ मत्रालय र सम्बन्धित मन्त्रालय तथा निकायहरुसँग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने योजना रहेको छ । दुई दिन अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गरेका थिए ।