काठमाडौं । सरकारले ५० हजार अमेरिकी डलरभन्दा महंगा सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गरी गत वर्षदेखि लगाएको प्रतिबन्ध हटाइएको जानकारी गराएको छ । विश्वव्यापी रुपमा बढेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण विदेशी मुद्रा संचितमा नकारात्मक असर पर्ने भन्दै सरकारले गत वर्षको चैत २४ गतेदेखि ५० हजार अमेरिकी डलरभन्दा महंगा सवारी साधान आयातमा प्रतिबन्ध लगाएको थियो ।
सरकारले गरेको नयाँ व्यवस्था अनुसार अबदेखि नेपालमा जति मूल्यको पनि सवारी साधन आयात गर्न बाटो खुलेको छ ।
सरकारले केराउ, सुपारी, छोकडा र मरिचमा भने परिमाणात्मक बन्देज लगाएको छ ।
नयाँ व्यवस्था अनुसार चालु आर्थिक वर्षको बाँकी अवधिमा ८० हजार मेट्रिक टनसम्म केराउ आयात गर्न पाइने भएको छ । सरकारले गत वर्षको चैत २४ गते नै केराउ आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।
यस्तै, चालु आर्थिक वर्षको बाँकी अवधिमा २५ हजार मेट्रिक टन सुपारी आयात गर्न पाइने भएको छ । सरकारले सुपारी आयातमा पनि गत वर्षको सोही मितिदेखि पूर्ण प्रतिबन्ध लगाएको थियो ।
आज प्रकाशित राजपत्रका अनुसार चालु आर्थिक वर्षमा ५ हजार मेट्रिक टन छोकडा आयात गर्न पाइने भएको छ । सरकारले गत वर्षको चैत २४ गतेदेखि नै छोकडा आयातमा पनि पूर्ण प्रतिबन्ध लगाएको थियो ।
यस्तै, मरिच आयातमा पनि परिमाणात्मक बन्देज लगाइएको छ । गत वर्षको चैत २४ गतेदेखि मरिच आयातमा लगाइएको पूर्ण प्रतिबन्ध हटाउँदै सरकारले चालु आर्थिक वर्षको बाँकी अवधिमा १५ हजार मेट्रिक टन आयात गर्न पाउने व्यवस्था गरेको छ ।