आईपीओमा कयौं गुणा बढी आवेदन पर्नुले लगानीका लागि नागरिक आतुर छन् भन्ने बुझिन्छ- ढकाल

<p>वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओमा कयौं गुणा बढी आवेदन पर्नुले नागरिक लगानीका लागि आतुर रहेकाे बुझिने बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारण सभामा बाेल्दै उनले साे बताएका हुन् । कम्पनीले माग गरेकाे भन्दा कयाैं गुणा आवेदन पर्नुले नागरिकसँग धेरै पैसा छ भन्ने स्पष्ट हुने उनी बताउँछन् । [&hellip;]</p>

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओमा कयौं गुणा बढी आवेदन पर्नुले नागरिक लगानीका लागि आतुर रहेकाे बुझिने बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारण सभामा बाेल्दै उनले साे बताएका हुन् ।

कम्पनीले माग गरेकाे भन्दा कयाैं गुणा आवेदन पर्नुले नागरिकसँग धेरै पैसा छ भन्ने स्पष्ट हुने उनी बताउँछन् ।

‘नेपालमा एउटा सानो आईपीओ खुल्दा पनि कति गुणा बढी आवेदन पर्छ यसबाट हामीसँग कति धेरै पैसा छ भन्ने स्पष्ट हुन्छ । यो अवस्था भनेको नागरिक लगानीका लागि आतुर भएको अवस्था हो भन्ने बुझेर देशले स्वदेशी र विदेशी लगानीका लागि इन्करेज हुने खालको नीति, नियम तथा वातावरण बनाओस्’, उनले भने ।

साथै, उनले निजी क्षेत्र देशको आर्थिक विकासका लागि ‘रियल एक्टर’ रहेकाे बताएका छन् ।

‘मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय छ । निजी क्षेत्रले रोजगारी सृजना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पुराउने र पूर्वाधार निर्माण र यसको विकासमा पनि मुख्य भुमिका खेलेको छ, त्यसैले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर नै हो ।’, उनले भने ।

संघको सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि उनले स्पष्ट गरे । उनले यहाँका जति पनि समस्या र मुद्दाहरु छन् तिनलाई नियममनकारी निकायमा लग्नका लागि विरगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने र महासंघले सम्बन्धित निकायमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालमा कर तिर्ने देशहरुको हिसाब गर्ने हो भने १९० देशहरुको हिसाब गर्दा हामी १७५ स्थानमा रहेको पनि उनले जानकारी गराए । त्यस्तै लजिस्टिकको हिसाबले ११४ वटा देशलाई तुलना गर्दा खेरी हामी १०८ औँ नम्बरमा परेको अवस्था रहेको उनले बताए । देशमा व्यवसायिक क्रियाकलापहरु बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको तथ्यांक प्रस्तुत गर्दै उनले आफू नेपालको निजी क्षेत्रको एक प्रतिनिधित्वका हिसाबले त्यसमा सुधारका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघको सदस्यको रुपमा विरगन्ज उद्योग वाणिज्य संघले सक्रियमरुपमा काम गरेको बताए । उनले आगामी दिनमा वीरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गरेर व्यवसायिक गतिविधिलाई अझै सक्रिय रुपमा अगाडी बढाउने बताए ।

त्यसैगरी व्यवसायिक गतिविधिलाई बढाउनको लागि कर तिर्ने वातावरणको हिसाबले १९० देशहरुका तुलनामा नेपाल १७५औं नम्बरमा रहेको पनि उनले जानकारी दिए ।

‘लजिस्टिककको हिसाबले हेर्दा ११४ देशहरुलाई तुलना गर्दा नेपाल १०८औं नम्बरमा परेको थियो भने सडक संजालमा १०१ औं स्थानमा रहेको छ ।’, उनले भने ।

साथै, गुणस्तरको हिसाबले १२० औं नम्बरमा परेको अवस्था स्पष्ट पार्दै यस तथ्याकंले व्यवसायिक गतिविधिलाई बढाउनको लागि धेरै पछाडी रहेको उनले तर्क गरे । उनले देशमा लगानीको वातावरण निर्माण गर्न र निजी क्षेत्रमैत्री नीतिको अख्तियार गर्न देशका तीन तहका सरकारले सहज र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

तीन तहको सरकारको मेकानिजम देशमा व्यावसायिक प्रमोट गर्ने हिसाबको हुनुपर्ने उनको सुझाव थियो ।

Share News