काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको बैंकिङ सम्बन्धी समस्या समाधानका लागि बैंकिङ समाधान केन्द्र सुरुवात गरिने बताएका छन् ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १०० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले उद्योगी, व्यवसायीहरुलाई बैंक सम्बन्धी विभिन्न समस्या आइपर्ने गरेकाले ति समस्याहरुलाई समाधान गर्नका निम्ति उद्योग वाणिज्य महासंघले नेपाल बैंक एशोसिएसन सँग सहकार्य गरेर बैंकिङ समाधान केन्द्र बनाउन लागेको बताएका हुन् ।
उनले उद्योगीहरुको श्रम सम्बन्धी समस्या समाधानका लागि पनि विज्ञ समुह बनाएर कानुनी परामर्श तथा सहयोग उपलब्ध गराउने पनि बताए ।
‘छुट्टै बैंकिङ समस्याको लागि एउटा संरचना तयार गरेका छौं । यसमा हामीले नेपाल बैंक एशोसिएसनसँग सहकार्य गरेर उनीहरुको पनि सहभागिता हुनेगरी एमओयूमा हस्ताक्षर गर्दैछौं । अब बैंकिङ सम्बन्धी कुनै समस्या भयो भने राष्ट्र बैंकमा जानुभन्दा पहिला हामीले त्यो समस्या समाधान गर्नका लागि एउटा बैंकिङ समाधान केन्द्र सुरुवात गरेका छौं । कुनैपनि हाम्रा सदस्य साथीहरुलाई श्रम सम्बन्धी समस्या भयो भने हामी विज्ञ समुहमा राख्छौं र त्यो विज्ञ समुहमा कानुनी सल्लाहकारहरु पनि हुन्छन् र उनीहरुले कानुनी परामर्श दिनेछन् र समितिले सहयोग गर्नेछ ।’, उनले भने ।
अध्यक्ष गोल्छाले साना तथा मझौला उद्योगी व्यवसायीहरुले बैंकबाट ऋण लिनको लागि महासंघले सहजीकरण गर्ने पनि बताए । यसको निम्ति बैंक एशोसिएसन सँग सम्झौता भएको पनि उनको भनाई छ । त्यस्तै व्यवसायीहरुबीच लेनदेन लगायतका कुनै समस्या निम्तिए समस्या समाधान गर्ने प्रयास स्वरुप मेलमिलाप केन्द्रको सुरुवात गरिएको पनि उनले जानकारी दिए ।
यस्तै अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपर १० दिनभित्र सार्वजनिक गर्ने समेत जानकारी दिए । उक्त भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार तयार समेटिएको बताए । त्यसका साथै उद्योग तथा व्यवसायको विकास, रोजगारीको विकासलगायतका विषय पनि भिजन पेपरमा समेटिने बताइएको छ ।