नक्कली प्रमाण पत्र धारी प्रहरी विरुद्ध मुद्धा
काठमाडौं, ३२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्क्ली प्रमाण धारी प्रहरी अधिकृत विरुद्ध मुद्धा दायर गरेको छ । आयोगले पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर बहादुर बस्नेतले सुरु नियुक्ती प्रयोजनको लागि पेश गरेको बिहार इन्टरमिडीयट शिक्षा परिषद पटनाको नक्कली प्रमाण पत्र पेश गरेको प्रमाण फेला परेपछि बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । नउले सन १९९३ मा आईए तह उत्तिर्ण गरेको प्रमाण पत्र पेश गरेका थिए ।
चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो, सम्बन्ध नयाँ उचाईमा पुगेको दावी
काठमाडौँ, ३१ जेठ । चीनको भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । उनले नेपाल भ्रमणको निम्तो सम्बन्धी पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गरेका हुन । चीन भ्रमणमा रहेको उपराष्टपति पुन नेतृत्वको नेपाली टोलीले कुन्मिङका विभिन्न कार्यक्रममा भाग लिनुका साथै चीन सरकारका उच्च पदाधिकारीसँग भेटघाट गरेको छ । उपराष्ट्रपति पुनले चौथो चीन साउथ एसिया एक्स्पो र २४औँ कुन्मिङ मेला भएको स्थान दियान्ची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रको अवलोकन गरेका थिए । मेलामा रहेका १०० भन्दाबढी कक्षको अवलोकनपछि उनले उद्घाटन वक्तव्य दिएका थिए । उनले सो अवसरमा चीन र दक्षिण एसियाबीच आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको आदानप्रदानका लागि एक्स्पो महत्वपूर्ण हुने बताए । बेइजिङस्थित नेपाली राजदूतावासद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार उपराष्ट्रपति पुनले एक क्षेत्र एक सडक पहलकदमीबाट क्षेत्रीय विकासमा सहयोग गर्नुका साथै हाम्रा आर्थिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुन, चीनका उपप्रधानमन्त्री वाङ तथा अन्य दक्षिण एसिया र दक्षिणपूर्व एसियाका उच्च नेताहरुले एक्स्पो र व्यापार मेलाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । उपराष्ट्रपति पुनले ११औँ चाइना साउथ एसिया बिजिनेस फोरमलाई सम्बोधन गर्दै २१औँ शताब्दीको एसियाली सपना पूरा गर्न चीन र दक्षिण एसियाका देशबीच सहयोगमा जोड दिए । उनले सहभागी प्रतिनिधिमण्डलहरु र व्यवसायीलाई नेपाल आएर विभिन्न प्राकृतिक स्रोतहरुमा ठूलो स्तरमा लगानी गर्न आह्वान पनि गरेका थिए ।
एजेन्टहरुले ब्रम्हलुट गरेको भन्दै एयरपोर्ट भन्सारमा यूनिट्राभको आन्दोलन
काठमाडौं, २८ जेठ । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र रहेको भन्सार बिभागमा एमाले समर्थित पर्यटन मजदुर युनियन यूनिट्राभले विगत ४ दिनदेखि आन्दोलन गरिरहेको छ । सबै मजदुर संगठनको समान प्रतिनिधित्व, एजेन्टले गरिरहेको ब्रम्हलुट अन्त्य, भन्सार कार्यालयको संरचना र प्रणालीगत ढंगले कार्यहरु हुनुपर्ने, कानुन अनुरुप भन्सारका कार्यहरु, मजदुरहरुले आफुले तोकेको समय अवधीसम्म काम गर्नुपर्ने लगायतका माग राखी यूनिट्राभमा आबद्ध मजदुरहरु आन्दोलित बनेका हुन् । त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा एजेन्ट संघले आफ्नो हिसाबले मजदुरहरुको नियुक्ति र राजनीतिक पार्टीको भर्तीकेन्द्रजस्तो बनाएर विगत ३० वर्षदेखि अनियमितता गर्दै आएको एमाले समर्थित मजदुरहरुको आरोप रहेको छ । कार्यालयका भन्सार प्रमुखले वार्ताका माध्यमबाट समस्या समाधानका उपाय निकाल्न पटक पटक गरेको आग्रहलाई पनि एजेन्टहरुले वेवास्ता गर्दै हिडेको भन्द मजदुरहरु अझै आक्रोशित बनेका छन् । यी सबै परिदृष्यले त्यहाँ कार्यरत एजेन्टहरु सकेसम्म भन्सारमा ब्रम्हलुट गर्न उद्धृत रहेको प्रष्ट हुने यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुली बताउँछन् । भन्सारमा प्रतिदिन ३० टन सामान भित्रने गरेको मजदुरहरुको भनाई छ । त्यसमा प्रति केजीको २ रुपैंया ५० पैसाका दरले ग्राहक/सर्वसाधारणबाट रकम उठाउने गरेको र श्रमिकको नाममा लुट मच्चाउने गरेको मजदुरहरुको आरोप छ । भन्सारमा भईरहेको अनियमितताबारे राज्य पनि मौन बसेको, हवाई सुरक्षामा ध्यान नदिई मनोमानी ढंगले पास वितरण गर्ने गरेको लगायतका विषयलाई उठान गर्दै उनीहरुले त्यहाँका अनियमितता छानबिन गर्नुपर्ने माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने निर्णय गरेका छन् । यसका लागि उनीहरुले मजदुरहरुको हस्ताक्षर संकलन कार्यलाई तिव्रता दिएका छन् । साथै यस विषयमा अर्थ मन्त्रालयको पनि ध्यानाकर्षण गराउने भएका छन् । मजदुरहरुले शान्तिपूर्ण आन्दोलनको वेवास्ता गरिए एयरपोर्टमा हुने गरेका सम्पूर्ण कार्यहरु ठप्प पार्न पनि पछि नपर्ने चेतावनी दिएका छन् ।