विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने

काठमाडौं, २० असार । एक हप्ताअघिदेखि बिग्रेको विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने भएको छ ।असार १३ गते सोमबारको अविरल वर्षाले चावहिल, गौशालाको ढल विद्युतीय शवदाह यन्त्रको पम्पमा जमेपछि यन्त्र बन्द भएको थियो । पम्पमा जमेको ढल निकाल्न सोमबार खानेपानी तथा ढल निकास विभागबाट जेट मेसिन ल्याएर सफा गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिए। “पम्प सफा गरेर सकेसम्म मङ्गलबार नसके बुधबार विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइनेछ, यन्त्रमा समस्या छैन अविरल वर्षासँगै आएको बाढी र ढलले पम्पमा आएको समस्या समाधानमा लागेका छौँ” – उनले भने । विसं २०७२ माघ १० गतेदेखि नेपालमै पहिलो शवदाह गृह सञ्चालनमा आएको थियो । यन्त्र सञ्चालनमा आएदेखि हालसम्म एक हजार ८०० शवदाह गरिएको कोषले जनाएको छ । रासस

गेट कलेजको पूर्वविद्यार्थी सम्मेलन सम्पन्न

काठमाडौं, २० असार । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)को पहिलो पूर्वविद्यार्थी सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलानले विवेक पौडलको अध्यक्षतामा गेट आल्मुनाइ फोरम गठन गरेको छ । राजधानीको मण्डिखाटारस्थित रहेको गेट कलेजले विगत नौ वर्षदेखि नेपालमा विश्वस्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको छ । “नेपालमै अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापनको डिग्री लिन चाहने हामी युवाका लागि गेट कलेजले एउटा अवसर प्रदान गरिदियो,” हाल गोकर्ण फरेस्ट रिसोर्टका प्रबन्धक रहेका पौडलले सम्मेलनमा भने, “गेट कलेजमा अध्ययन गरेका विद्यार्थीहरू आज हामी नेपालका विभिन्न पाँच तारे होटलदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न निकायहरूका कार्यरत छौं ।” सम्मेलनमा दिइएको जानकारीअनुसार गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरू अष्ट्रेलिया, जर्मनी, हङकङ, यूएइए, बहराइन, कतार, मलेसिया र चीनमा अभ्यासरत छन् । सन् २००७ मा सुरु भएको कलेजबाट हालसम्म ३९१ जनाले अध्ययन पूरा गरेका छन् र हाल ३२५ जना विद्यार्थीहरू अध्ययनरत रहेका कलेजले बताएको छ । यसबाहेक गेट कलेजको भातृ संस्था गेट भोकेनसलतर्फ २००० जनाले होटल व्यवस्थापनका विभिन्न आयाममा आवधिक प्रशिक्षण पूरा गरिसकेका छन् । गेट भोकेसनलतर्फ अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान टेफको मान्यताप्राप्त कोर्ष नियमित सञ्चालनमा छ । गेट भोकेसनलको कोर्षलाई सीटीईभीटीद्वारा मान्यता प्रदान गरिएको छ भने त्रिभुवन विश्वविद्यालयले गेटको एकेडेमिक कोर्षलाई मान्यता प्रदान गरेको छ । “गेट कलेजमा हामी नेपाली विद्यार्थीले मात्र नभइ विभिन्न १६ देशका विद्यार्थीले अध्ययन पूरा गरेका छन्,” पौडेलले भने । कार्यक्रममा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले होटल व्यवस्थापन शिक्षाको अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रयोगात्मक पक्षमा बढी ध्यान दिइएको कारणले नै कलेजको शिक्षा विशिष्ट रहेको बताएका छन् । “गेट कलेज मूल्य, मान्यता, नैतिकतायुक्त र स्वच्छ शैक्षिक वातावरणमा विश्वास राख्दछ । हामी यस कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्य र उनीहरूको गुणस्तरीय शैक्षिकस्तरप्रति पूर्ण प्रतिबद्ध छौं,” लकाईंले भने । उनले कलेजले गुणस्तरीय शैक्षिक स्तर कामय गर्नमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनमा गेट कलेजको पहिलो ब्याचदेखि एघारौं ब्याचसम्मका नेपाल तथा विभिन्न मुलुकमा होटल, रेष्टुराँ, ट्राभल एजेन्सी र अन्य निकायमा संलग्न, आफ्नै स्वःव्यवसायमा संलग्न करिब सयजना विद्यार्थीको सहभागिता थियो । यस्तो सम्मेलन हरेक वर्ष आयोजना गरिने रहेको गेट आल्मुनाइ फोरमका अध्यक्ष विवेक पौडेलले जानकारी दिएका छन् ।

विद्युत् महसुल बढाउने निर्णय फिर्ता लिन माग

काठमाडौं, २० असार । नेपाल विद्युत् प्राधिकरणले साउन १ गतेबाट २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने भनी गरेको निर्णयको नेकपा माओवादीले विरोध गर्दै फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको छ । “ नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ” महसुल वृद्धिबारे पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ “यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसका विरुद्ध कडा सङ्घर्षमा जाने विषय अवगत गराउँदछ ।” प्राधिकरणले हालै घाटा र सेवा शुल्क कारण देखाई आगामी साउन १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा ११।२५ देखि २२.१५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । मूल्य वृद्धिमा निजी विद्युत् कम्पनीको स्वार्थ, विदेशी विद्युत् कम्पनीबाट महँगो मूल्यमा विद्युत् आयात गर्ने रणनीति, विद्युत्को खरिदमा डलरको खेती र विद्युत् प्राधिकरण, विद्युत् महसुल निर्धारण आयोग तथा सम्बन्धित मन्त्रालयका सचिव एवम् सरकारको भ्रष्टाचार एवम् कमिसनको खेल खेल्ने उद्देश्य अन्तरनिहित भएको बताउँदै विज्ञप्तिमा विद्युत् अधिकार जनताको आधारभूत आवश्यकताअन्तर्गत खानेपानी पछिको दोस्रो महत्वपूर्ण पक्ष हो भनिएको छ । रासस