एक करोड डलर ल्याउन २३ लाख खर्च, डलर अभाव भएपनि चार्टर गरेर ल्याउँदै राष्ट्र बैंक

काठमाडौं ८, कात्तिक । बजारमा नगद डलर अभाव हटाउनका लागि राष्ट्र बैंकले सिंगापुरबाट कात्तिक महनिाभित्र १ करोड डलर ल्याउने भएको छ । राष्ट्र बैंकले सिंगापुरको सीएमबी बैंकबाट डलर ल्याउने व्यवस्था मिलाउनका लागि कार्यकारी निर्देशक जनकबहादुर अधिकारीलाई केही दिन अगाडि सिंगापुर पठाएको छ । अधिकारीले सिंगापुरमा गएर गरेको सम्झौता अनुसार एकैपटक १ करोड डलर नेपाल ल्याइने छ । राष्ट्र बैंकले १ सय रुपैयाँ नोटका दरले १ करोड डलर सिंगापुरबाट चार्टर्ड गरेर ल्याउन लागेको हो । यसरी नेपालमा नगद डलर ल्याउँदा राष्ट्र बैंकलाई २३ हजार अमेरिकी डलर खर्च हुनेछ । कारोबार दैनिकबाट

बाफिया विवाद टुंग्याउन सरकारको प्रस्ताव, विधेयक फेरि संसदमा पेश गरिदै

काठमाडौं ३, कात्तिक । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया)मा उत्पन्न विवाद मध्यमार्गबाट समाधान गर्न प्रस्ताव गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराको प्रस्ताव पारित भए अहिलेको विवाद ‘गिभ एन्ड टेक’मा आधारित भएर टुंगिनेछ । अर्थमन्त्री भएपछि संसद्को अर्थ समिति बैठकमा पहिलोपटक बाफियामाथि धारणा राखेका अर्थमन्त्री महराले विवादलाई मध्यमार्गी तरिकाले टुंग्याउने प्रस्ताव गरेका हुन् । महराले सरकारले पेस गरेअनुसारको विधेयक पारित भएमा वित्तीय क्षेत्र सुधारमा सजिलो हुने बताए । ‘विधेयकमाथि धेरैपटक छलफल भइसकेको छ, विवाद भएका विषयलाई मध्यमार्गी तरिकाले टुंगो लगाएर पारित गर्दा सबैको हितमा हुने देखिन्छ,’ महराले भने । अर्थ मन्त्रालयसँग सम्बन्धित रहेको विधेयकमा अर्थमन्त्रीले समिति बैठकमा लिने अडान तथा सुझाव महत्वपूर्ण मानिन्छ । महराले सोमबार विवाद रहेका आठ वटा बुँदालाई केही परिमार्जन गरेर पारित गर्नुपर्ने संकेत गरेका छन् । अर्थ समितिले उपसमिति गठन गरेर दफावार छलफल गरेर संसद्मा पेस गरेको बाफियामा बैंक सञ्चालक रहेका सांसदले चलखेल गरेर व्यावसायिक स्वार्थअनुसार ऐन बनाएकोमा आलोचना भएपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विधेयक समितिमा फिर्ता ल्याएका थिए । संसद्ले अर्थ समितिलाई विधेयक निर्माणमा विवादित बनेका आठ बुँदामा छलफल गर्न निर्देशन दिएको छ । विवादित विषयमा अध्यक्षको कार्यकाल हटाएको, संस्थापक सेयरको स्वामित्व सात वर्षमा परिवर्तन हुने तथा कुनै पनि फर्म तथा कम्पनीमा ५० प्रतिशत स्वामित्व रहेका व्यक्तिलाई सञ्चालक बन्न रोक लगाएको विषय हटाइएको समाचार बुधबारको कारोबार दैनिकमा छापिएको छ । अर्थमन्त्रीको भनाइले विवादित आठ वटा बुँदामा समितिले केही परिमार्जन गर्ने गरी ऐन पारित गर्ने सम्भावना बढेको छ । अर्थमन्त्रीलाई साक्षी राखेर विधेयक पारित गर्ने भन्दै अर्थसमिति सभापति प्रकाश ज्वालाले विवाद रहेका आठ वटा बुँदाको छलफलमा अर्थमन्त्री महरालाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरे ।

हरेक नेपालीको खल्तीमा साढे १५ हजार रुपैयाँ, बजारमा भएका सबै नोटको बराबारी हिसाव गणनामा मात्रै सिमित

काठमाडौं १, कात्तिक । तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफै जानुन्न्। नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँडने हो भने एक जना नेपालीको भागमा साढे १५ हजार रुपैयाँ परेको समाचार राजधानी दैनिकमा  छ। नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ३० असोज २०७३मा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन्। केन्द्रीय तथ्थांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ । यो तथ्यांक अनुसार एकजना नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए। राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर बजारमा पठाएका र पुनः राष्ट्र बैंक नफर्केका नोटलाई चलन चल्तीमा रहेका नोट भनिन्छ । यसमा बैंक तथा बित्तीय संस्था, सहकारी संस्था तथा एटिएम मेसिनमा रहेका नोटसमेत गणना हुन्छ ।