सुदुरपश्चिममा रास्वपाको हालसम्म ५ क्षेत्रमा जित, को कहाँबाट ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुदुरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ५ सिट जितेको छ ।  डडेल्धुरामा ३४ वर्षपछि नेपाली कांग्रेसको गढ ढलेको छ । डडेल्धुराबाट रास्वपाका डा. ताराप्रसाद जोशी १९ हजार १३१ मतसहित विजयी भएका छन् । 

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नैनसिंह महरलाई ७ हजार १० मतको फराकिलो अन्तरले पछि पारे । त्यसैगरी, नेकपाका मानसिंह मालले ६ हजार ८३४ मत पाए भने एमालेका चक्र स्नेही ३ हजार २६ मतसहित चौथो स्थानमा रहे ।

कञ्चनपुरमा पनि रास्वपाले शानदार प्रदर्शन गर्यो । कञ्चनपुर-२ मा दीपक बोहरा ३३ हजार ९५२ मतसहित विजयी भए, कांग्रेसका नारायणप्रकाश साउँदले १० हजार ८२७ मत ल्याए भने एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ मत प्राप्त गरे । 

कञ्चनपुर-३ मा ज्ञानेन्द्र सिंह महताले २७ हजार ११८ मत ल्याएर कांग्रेसका हरि प्रसाद बोहरालाई १७ हजार ६७५ मतान्तरले पराजित गरे ।

कैलालीमा पनि रास्वपाको प्रभुत्व देखियो । कैलाली-१ बाट कमोल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भइन् । कैलाली-३ बाट जगतप्रसाद जोशी २० हजार ३५९ मतसहित फराकिलो अन्तरले जिते ।

कैलाली-५ बाट आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित निर्वाचित भए । यो जितसँगै रास्वपाले सुदुरपश्चिमका परम्परागत कम्युनिस्ट र कांग्रेसको गढमा आफ्नो प्रभुत्व स्थापित गरेको छ । अन्य क्षेत्रमा मतणना जारी छ । 

Share News