समानुपातिकमा रास्वपाको अग्रता कायमै, कटायो ५ लाख मत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम राखेको छ । प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि रास्वपाले अत्याधिक सिट जित्ने देखिएको छ । समानुपातिकको १० लाख २ हजार १८ मत गणना हुँदा रास्वपाले ५ लाख १२ हजार २१५ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १ लाख ७२ हजार १७५ मत पाएको छ । नेकपा एमालेको १ लाख ३६ हजार १७६ मत छ । नेपाली कम्युनिष्ट पार्टीको ६९ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार २४१ र श्रम संस्कृति पार्टीको १८ हजार ४८७ छ ।

राष्ट्रिय परिर्वतन पार्टीले १४ हजार १६६ मत ल्याएको छ । पूर्व मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक तर्फ राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिह्न बाँसुरीमा भोट मागेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ४ हजार ४२३, एकल चिह्न जाँतोको ३ हजार ५४२, जनता समाजवादी पार्टी नेपालको ३ हजार ३७२ र नेपाल मजदुर किसान पार्टीको ३ हजार २८२ मत छ । समानुपातिकबाट निर्वाचत हुन कुनै पनि दलले देशभरीबाट सदर मतको तीन प्रतिशत मत प्राप्त गर्नुपर्दछ ।

प्रत्यक्ष तर्फ शनिबार राती १० बजेसम्म रास्वपा ७६ स्थानमा विजयी भएको छ भने ४६ स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसको ११ जित ७ अग्रता, एमालेको ४ जित ८ अग्रता र नेपाली कम्युनिष्ट पार्टीको ३ जित र ५ स्थानमा अग्रता छ । राप्रपाले एक स्थानमा जितेको छ भने स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिएको छ ।

Share News