नतिजा स्वीकार्दै महेश बस्नेतले भने : अब रचनात्मक प्रतिपक्ष बन्छौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचनमा सहभागी भएका उम्मेदवारले यसपटकको परिणाम आफ्नो पक्षमा नआएको स्वीकार गरेका छन् । उनले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भन्दै परिणामलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका छन् ।

उनले विजयी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार राजिब खत्रीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै चुनावी अभियानमा दिनरात खटिएका पार्टीका नेता-कार्यकर्ता र समर्थकप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

उनका अनुसार राजनीतिमा हार-जित स्वाभाविक प्रक्रिया भए पनि जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै हार्दैन । अब आफ्नो भूमिका रचनात्मक प्रतिपक्षको रूपमा रहने उल्लेख गर्दै उनले जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने बताए ।

उनले जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँकी जीवन पनि जनताको सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

Share News