पाँचौं पटक संसदमा प्रचण्ड, पूर्वप्रधानमन्त्रीबाट बन्न सक्छन् एक्ला विजेता

तीन पटक प्रधानमन्त्री, पाँच पटक सांसद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनी पूर्वी रुकुमबाट विजयी भएका हुन् । उनले ११ हजार २८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । 

उनले नेकपा एमालेका उम्मेदवार लिलामणी गौतमलाई ७ हजार ३४९ बढी मतान्तरले पराजित गरे । गौतमले ३ हजार ९३३ मत पाएका हुन् । 

विद्यार्थी जीवनमै राजनीतिक चेतना बोकेका प्रचण्डले कक्षा १० पढ्दादेखि नै राजनीतिक गतिविधिमा रुचि देखाएका थिए।

वि.सं. २०२८ सालमा कम्युनिस्ट आन्दोलनसँग औपचारिक रूपमा आबद्धता जनाएका हुन् । त्यसपछि उनको राजनीतिक यात्रा निरन्तर अगाडि बढ्दै गयो । 

२०४६ सालको जनआन्दोलन हुनुअघि उनी मशालका महासचिव भइसकेका थिए । त्यसपछि नेपालको राजनीतिक इतिहासलाई नै मोड दिने घटनामध्ये एक वि.सं. २०५२ साल फागुन १ गते सुरु भएको सशस्त्र आन्दोलनको नेतृत्व उनले गरे ।

त्यस्तै, २०५८ सालमा प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बने भने सोही वर्ष उनले जनमुक्ति सेनाको सर्वोच्च कमान्डरको जिम्मेवारी पनि सम्हाले । 


उनी पहिलो पटक २०६५ सालमा प्रधानमन्त्री बनेका थिए भने त्यसपछि २०७३ र तेस्रो पटक २०७९ मा प्रधानमन्त्री बनेका थिए । 

वि.सं. २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं–१० बाट निर्वाचित भएका उनी वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित भएका थिए । 

२०७४ मा चितवन–३ बाट निर्वाचित भएका उनी २०७९ मा गोरखाबाट निर्वाचित भएका थिए । यस पटक उनी रुकुम पूर्वबाट विजयी भएका हुन् । यो उनको संसदमा पाँचौं पटक हो । यस पटक उनी वियजी हुने सायद एक्ला पूर्व प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढेको छ । 

Share News