काठमाडौं । रुकुम पूर्वमा पूर्वप्रधानमन्त्रीमध्ये नेकपा संयोजक पुष्पकमल दाहाल विजयी भएका छन् । दाहाल ११ हजार २ सय ८२ मतसहित विजयी भएका हुन् ।दाहाल लगातार पाँचौँपल्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
दाहालका निकटतम् प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ९ सय ३३ मत पाए । त्यस्तै कांग्रेस उम्मेदवार कुसुम थापाले ३ हजार २ सय ८० मत पाउँदा रास्वपाका लखनकुमार थापाले ७९१ मत ल्याए । त्यस्तै प्रलोपाका सन्दीप पुनले २०१ मत ल्याए ।
पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित र काठमाडौं १० बाट पराजित भएका थिए । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।
२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भए । पूर्वमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको आग्रहमा गोरखा २ मा गएर विजयी भएका थिए ।
तर विजय भएपछि दुई नेताबीच तिक्तता बढेको थियो । जेनजी आन्दोलनका कारण संसद् विघटन भएपछि २१ फागुन २०८२ को निर्वाचनका लागि उनी पूर्वी रुकुम पुगेका हुन् ।