मन्त्री छोडेर चुनावी मैदानमा गएका चार मन्त्री : खरेल र पुन अगाडि, घिसिङ दबाबमा

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका ४ मन्त्रीहरूले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल, शिक्षामन्त्री महावीर पुन र खेलकुद मन्त्री बब्लु गुप्ता चुनावी मैदानमा उत्रिएका हुन् । 

चारैमध्ये सञ्चारमन्त्री जगदिश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ उज्यालो पार्टीबाट र शिक्षामन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका छन् । 

प्रारम्भिक मतगणनाले ललितपुर-२ मा खरेललाई स्पष्ट अग्रता दिएको छ । उनले ३ हजार १९९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ४९३ मत पाएका छन् भने नेकपा एमालेका प्रेमबहादुर महर्जन ४०७ मतसहित तेस्रो स्थानमा छन् । प्रारम्भिक नतिजाले खरेलको जिततर्फ बलियो संकेत गरेको देखिन्छ । 

काठमाडौं-३ मा भने पूर्वऊर्जामन्त्री घिसिङ र रास्वपाका राजुनाथ पाण्डेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार पाण्डेले ६ हजार ५ सय ८४ मत ल्याउँदा घिसिङ ४ हजार २ सय २० मतमा सीमित छन् । दुई हजारभन्दा बढी मतले पछि परेका घिसिङलाई जित निकाल्न चुनौतीपूर्ण देखिएको छ ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन पनि अगाडि छन् । 

सिराहा-१ मा भने खेलकुद मन्त्री बब्लु गुप्ता उम्मेदवार रहे पनि मतगणना सुरु भएको छैन । यस क्षेत्रमा नेपाली कांग्रेसका रामसुन्दर चौधरी र नेकपा एमालेका रामशंकर यादव मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । तर, देशभरि र मधेस प्रदेशको राजनीतिक रुझानलाई हेर्दा गुप्ता पनि जितका बलिया दाबेदार मानिएका छन् ।

निर्वाचनको प्रारम्भिक परिणामले अन्तरिम सरकारका मन्त्रीहरूको राजनीतिक भविष्य कस्तो बन्छ भन्ने चासो बढाएको छ । 

Share News