ऊर्जा क्षेत्रमा परिवर्तनको अपेक्षा गर्दै ऊर्जा व्यवसायीले दिए भोट

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ललितपुर महानगरपालिका-४ जाउलाखेल मतदान केन्द्रबाट भोट दिएका छन् । प्रतिनिधिसभा निर्वाचनबाट आउने सरकारले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानको लागि भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले यसपटकको निर्वाचनमा खासै उत्साह नदेखिएको बताए ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष मोहन डांगीले आफ्नो गृहजिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय ह्वाकु मतदान केन्द्रबाट मतदान गरे । उनले देशलाई ऊर्जामा पूर्ण आत्मनिर्भर बनाउन अब जलाशययुक्त जलविद्युत आयोजनामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

डांगीले नेपालमा हालसम्म धेरैजसो आयोजनाहरू रन अफ रिभर प्रकृतिका भएकाले हिउँदको माग धान्न कठिन भइरहेको उल्लेख गरे । 

उनले भने, ‘हामी अहिले पनि ऊर्जामा पूर्ण आत्मनिर्भर हुन सकेका छैनौं । अबको आवश्यकता जलाशययुक्त आयोजना नै हो । सरकारले नाफा-घाटा नहेरी बनाउने बुढीगण्डकीजस्ता आयोजनाभन्दा तेह्रथुममा सम्भाव्यता रहेका आयोजनाहरू आर्थिक रूपमा अझ बढी लाभदायक छन् ।’

आफू तेह्रथुमको विकास र विशेषगरी जलविद्युत क्षेत्रको समृद्धिसँग जोडिएकाले आफ्नो मतदान पनि सोही एजेन्डामा केन्द्रित रहेको उनले स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष डांगीले आठराई क्षेत्रको ऐतिहासिक र शैक्षिक महत्त्वको चर्चा गर्दै यस क्षेत्रलाई शिक्षितहरूको थलोका रूपमा चिनाए ।

श्री ३ मोहन शमशेरको पालामा स्थापित त्रि–मोहन विद्यालय र विसं. २०१७ सालदेखि नै क्याम्पस सञ्चालनमा आएको सन्दर्भ जोड्दै उनले आठराईको पहिचान जोगाउनु पर्नेमा जोड दिए । ‘आठराई एउटा ब्रान्ड हो, जहाँको शैक्षिक इतिहास निकै पुरानो छ,’ उनले भने । 

विगतका राजनीतिक आन्दोलनहरूमा सक्रिय सहभागी हुँदै आएको बताउँदै उनले यसपटकको निर्वाचन निकै सौहार्दपूर्ण र शान्तिपूर्ण भएकोमा खुसी व्यक्त गरे । निर्वाचनअघि केही डर र संशय रहे पनि जनताले उत्साहपूर्वक र शान्तिपूर्ण वातावरणमा मतदान गरेको उनले बताए । 

उनले ७६२ मेगावाटको तमोर जलाशययुक्त जलविधुत् आयोजना नेपाल सरकारले अनुमति पत्र दिएमा सरकारसँग १ पैसा नमागी ऐन/कानुनले तोकेको राजश्व तिरेर आगामी १० वर्षमा निर्माण गर्ने अठोट गरिरहेको बताए। अब आउने सरकारले त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उपाध्यक्ष उत्तम भ्लोन लामाले मकवानपुरको मार्खुको बनदेवी मतदान केन्द्रबाट मतदान गरेका छन् । यस्तै, महासचिव बलराम खतिवाडले काठमाडौं ५ बाट मतदान गरेका छन् । उनले टोखा नगरपालिका ६ हात्तीचोक मतदान केन्द्रबाट भोट दिएका छन् । 

Share News