मुख्यमन्त्री शाहद्वारा मतदान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीचुहा नगरपालिका-१ स्थित कालिका मावि मतदान केन्द्र ‘क’मा मतदान गरेका छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उनले आज केहीबेर अघि मतदान गरेको उनको सचिवालयले जनाएको छ । यसैगरी पूर्वमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले कैलाली क्षेत्र नं ४ अन्तर्गत गोदावरी नगरपालिका-१ स्थित घण्टेश्वर मावि मतदान केन्द्रमा मतदान गरेका छन् । यहाँ मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका निर्वाचन कार्यालयले जनाएको छ । 

यहाँ कैलाली निर्वाचन क्षेत्र नं ५ अन्तर्गत धनगढी उपमहानगरपालिका ८ का १०१ वर्षीय ज्येष्ठ नागरिक रघुनाथ जोशीले धनगढी मावि मतदान केन्द ‘घ’ मा मतदान गरेका छन् । यसैगरी भीमदत्त नगरपालिका १० निवासी १०६ वर्षीय ज्येष्ठ नागरिक गङ्गादत्त भट्टले कञ्चनपुर क्षेत्र-३ अन्तर्गतको सिद्धनाथ मावि जिमुवा मतदान केन्द्र ‘ख’ मा मतदान गरेका छन् । 

Share News