मत खसाल्न उद्योगी व्यवसायी उत्साहित, कसले कहाँबाट गरे मतदान ?

काठमाडौं । आज प्रतिनिधिसभाको निर्वाचन देशभर जारी छ । बिहानैदेखि सुरु भएको मतदानमा हरेक पेसा र व्यवसायमा संलग्नहरू सहभागी भएका छन् ।

सधैं उद्योग व्यवसायमा केन्द्रित हुने उद्योगी व्यवसायीले निर्वाचन केन्द्रित गरेर आज आफ्नो उद्योगधन्दाहरू नै बन्द गरेका छन् । सम्पूर्ण मजदुरहरूलाई मतदानको अधिकार प्रयोग गर्न छुट्टी दिएका छन् । साथै व्यवसायीहरू आफै पनि मतदानमा सहभागी बनेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले काठमाडौं विशालनगरस्थित मिलन केन्द्र मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको बताए । 

‘यो मतदानबाट मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने अपेक्षा गरेको छु,’ उनले भने, ‘त्यस्तो नेतृत्वबाट स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुक अघि बढ्ने विश्वास हामीले गरेका छौं । 

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डेले कुलेश्वरस्थित कृषि सामग्री संस्थानको मतदान केन्द्रबाट भोट खसाले भने चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवालले बागबजारस्थित पद्यकन्या क्याम्पस मतदान केन्द्रबाट मतदान गरेको विकासन्युजलाई बताए । 

अग्रवालले आफूले उत्साहितका साथ मतदान गरेको बताए । उनले भने, ‘मेरो मत केवल नेतृत्वका लागि होइन । समृद्धि र आत्मनिर्भर नेपालको सपनाका लागि हो । ’

यस्तै, पाण्डेले पनि उत्साहित तरिकाले भोट खसालेको बताए । उनले यसपटक मतदानस्थलको वातावरण शान्तिपूर्ण र व्यवस्थित रहेको सुनाए । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि मतदान गरेका छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नं १ को पुतलीसडकस्थित पदमोदय माविको मतदान केन्द्रबाट मतदान खसालेको बताए । 

उनले भने,‘ हामी निकै आशावादी छौं । यसपटकको निर्वाचनबाट असल र स्थिर सरकार बन्नेछ । जुन हाम्रा नीति, नियम, कानुनहरू छन्, यी सबै संशोधन हुनेछन् ।’ 

यस्तै, नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले कास्कीको पोखरास्थित राम आधारभूत विद्यालयबाट मतदान गरे । उनले भने, ‘उत्साहित छौं । यसपटक मत परिवर्तन भएर आउने जस्तो देखिएको छ । माहोल शान्तिपूर्ण छ ।’

 नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छाले सीतापाइला माविबाट मतदान गरेका छन् । यस्तै, नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले बालुवाटारस्थित महेन्द्र माविबाट मतदान गरेका छन् । मतदान व्यवस्थित र शान्तिपूर्ण रहेको व्यवसायीहरूको भनाइ छ ।  

व्यवसायीहरूले जेनजी आन्दोलनबाट धेरै नोक्सानी निजी क्षेत्रले बेहोरेको बताउँदै आगामी दिनहरूमा यस्तो नहुने बताएका छन् ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान भइरहेको छ । प्रत्यक्षतर्फ ६५ वटा राजनीतिक दलका उम्मेदवारले ६१ वटा निर्वाचन चिह्नमा प्रतिस्पर्धा गरिरहेका छन् । 

जसमा ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी कुल ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । 

Share News