काठमाडौं । बालेन शाह चढेको हेलिकप्टर सुरक्षा चुनौतीका कारण बीचमै फर्किएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह काठमाडौंमा मतदान गरिसकेपछि हेलिकप्टरमार्फत झापा जिल्ला जाँदै थिए।
तर झापामा सुरक्षा चुनौती रहेको जानकारी सुरक्षा निकायबाट प्राप्त भएपछि हेलिकप्टर फर्काइएको हो । बालेनको सचिवालयका प्रेस सदस्य सुरेन्द्र बजगाईंका अनुसार सुरक्षा निकायले सम्भावित अवरोधको संकेत गर्दै नजान सल्लाह दिएपछि टोली काठमाडौं फर्किएको हो ।
उनका अनुसार रास्वपाबाहेक अन्य दलका केही कार्यकर्ताबाट सुरक्षा चुनौती बढ्न सक्ने जानकारी आएको थियो । झापा जानुअघि निर्वाचन सम्बन्धी सबै प्रक्रिया तथा अनुमति निर्वाचन आयोग लगायत सम्बन्धित निकायबाट लिइसकिएको पनि उनले बताए ।
शाहलाई २१ गते काठमाडौं-झापा रुटमा मात्र हेलिकप्टर प्रयोग गर्न अनुमति प्रदान गरिएको निर्वाचन आयोगको पत्रमा पनि उल्लेख छ ।
सो रुटमा हेलिकप्टर प्रयोग गर्दा लाग्ने खर्चको छुट्टै अभिलेख आयोगले मागेका बखत उपलब्ध गराउने गरेर आयोगले अनुमति दिएको थियाे ।
हेली एभरेस्टको ‘नाइन एन-एओबी’ उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहान ९ः१२ बजे काठमाडौंबाट झापातर्फ प्रस्थान गरेको थियो । तर सुरक्षा अवस्थालाई मध्यनजर गर्दै हेलिकप्टर फर्काइएपछि शाह आज झापा नजाने भएका छन् ।