पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको बताए ।
‘बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मतदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ,’ उनले भने ।
उनका अनुसार मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ । सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न उनले आह्वान गरे ।
मतदान सम्पन्न भए लगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उनले जानकारी दिए ।
मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनको भनाइ छ । साथै उनले मतदानमा युवाहरूको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको बताए ।