कर्मचारीले मतदान गर्न नपाए ३ लाख बढी मत समानुपातिकमा खेर जाने

सहजीकरण भइरहेको आयोगको भनाइ

काठमाडौं । आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ । हरेक मतदातालाई मताधिकारको अधिकार छ र सम्बन्धित स्थानमा गएर मतदान गरिरहेका छन् । निर्वाचनमा खटिएका कर्मचारीहरूको हकमा भने उनीहरूले आफू खटिएको सम्बन्धित बुथबाटै समानुपातिकमा मात्र मतदान गर्न पाउने प्रावधान छ ।

मतदानमा खटिएका तथा ड्युटीमा खटिएका निजामती कर्मचारी, प्रहरी, सेना लगायतले अस्थायी मतदान केन्द्रमा आफ्नो परिचय पत्र देखाएर समानुपातिकमा मतदान गर्न पाउँछन् । यद्यपि आफूहरूले मतदान गर्न नपाएको भनेर कर्मचारीहरूले गुनासो गरिरहेका छन् ।

मतदान अधिकृतले मतदान गर्न दिन रोकेको भनी कर्मचारीहरूले गुनासाे गरेका छन् । कर्मचारीहरूलाई मतदान केन्द्रमा नाम नभएकाले मतदान गर्न पाउँदैन भनेर रोकिरहेको एक प्रहरी अधिकृतले बताए । यदि उनीहरूले मतदान गर्न पाएनन् भने ३ लाख भन्दा बढी मत समानुपातिकमा खेर जाने देखिन्छ ।

यस सम्बन्धमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले सहजीकरण गरिरहेको बताए ।यद्यपि यो विशेष आयोगसम्म आउनु नपर्ने र मुख्य निर्वाचन अधिकृतले हरेक जिल्लामा मतदानको व्यवस्था मिलाउने अधिकार भएको बताए ।

उनले भने, ‘यो अस्थायी नामावली तयार गर्ने सम्बन्धित जिल्लाले मिलाउने विषय हो । काठमाडौंमा अलिअलि केही कुरा आएकाे छ । हाम्रा साथीहरूले सहजीकरण गर्दै हुनुहुन्छ । नामावली अद्यावधिक गर्ने बेलामा केहीको छुटेको हो कि भन्ने कुरा हामीले पनि थाहा पाएका छौँ । साथीहरू सहजीकरणमा जुटिरहनु भएको छ ।’

उनले सबैले मतदान नै गर्न पाउने कुराको निश्चित भने नभएको संकेत गरे । भट्टराईले भने, ‘के छ स्टाटस यताबाट हुन सक्ने जति सहयोग भएकाे छ । वास्तवमा यो आयोगमा आउन नपर्ने विषय हो जिल्लाबाट मुख्य निर्वाचन अधिकृतहरूलाई प्रमाणित गर्ने अधिकार दिइएको छ । यहाँ केही छुटेको भन्ने भएकाले गर्ने उहाँहरूले हो, आयोगले नीतिगत सहजीकरण गर्ने हो ।’

Share News