बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं । आसन्न निर्वाचनको मुखमा राष्ट्रिय सुरक्षा व्यवस्थाबारे उच्चस्तरीय छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेर अगाडिबाट सुरु भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार (आज) बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, सुरक्षा निकायका उच्च अधिकारी लगायतको सहभागी रहेको छ । 

निर्वाचन अवधिभर देशभर शान्ति–सुरक्षा सुदृढ बनाउने, संवेदनशील क्षेत्रहरूको पहिचान गर्ने तथा सम्भावित जोखिम न्यूनीकरणका उपायबारे विस्तृत छलफल भइरहेको बताइएको छ ।

विशेषगरी सीमावर्ती क्षेत्र, ठूला सहर तथा विगतमा निर्वाचनका बेला तनाव देखिएका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरिएको छ । आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्ने, गस्ती बढाउने र गुप्तचर संयन्त्र सक्रिय बनाउने रणनीति पनि बैठकको एजेन्डामा रहेको बुझिएको छ ।

सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याउँदै सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको स्रोतको भनाइ छ । 

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको गतिविधि बढेसँगै सुरक्षा संयन्त्रलाई समन्वयात्मक र चुस्त बनाउने विषयमा समेत जोड दिइएको छ।

Share News